तीज पर्व र नारीको कथा व्यथा
मीरा बस्ताकोटीअहिले हामी नेपालीहरुको महान पर्व तीजको माहोलमा छौं । जसले मनाउने हो उसको घरमा आएको छ । विशेषगरि तीज हिन्दु नारीको लागि मुख्य पर्व हो। जसले तीज मनाउनु हुन्न उहाँहरुले पनि तीज केहो भन्ने चाहिँ अनुभव पक्कै लिइरहनु भएको होला।
यो तीज भनेको कस्तो किसिमको तीज हो त ?
पहिले पहिले छोरी चेलीहरु अहिले जसरी फुत्त आफूलाई मन लाग्दा माइत जान पाउँदैनथे । हामी चेलीबेटी हरेक चाडपर्व कुर्नुपर्थ्यो त्यसकारण चेलीबेटीको महान् चाडलाई हरितालिका तीज र पुरुषहरुको चाडलाई जनै पूर्णिमा भनिन्थ्यो । अरु चाडपर्व सबैको हो भनिन्थ्यो । अहिले त जतिबेला मन लाग्दा पनि माइत जान पाइन्छ तर पहिला त्यस्तो थिएन ।
नारीहरुले कति वेदना मनभित्र लुकाइ परिवारको खटन पटन वा हुकुम बमोजिम चल्नुपर्थ्यो । त्यो समय धेरै पीडा र वेदना मनमा लुकाएर बस्नुपर्ने थियो। आफ्नो जीवन र माइतीघरको संझनालाई पिल्सिएका धुँवाको मुस्लो जस्तो पीडा तीजको गीतबाट मात्र व्यक्त गर्न सकिन्थ्यो। मैले पनि गोरखाको विभिन्न गाउँमा नारीको त्यो पीडा देखेकी थिएँ ।गोरखाको बारपाक भन्ने ठाउँमा अझै मैले सानोमा अनुभव गरेको कुरा के हो भने त्यहाँ सानैमा कति छोरीहरुलाई नपढाउने चलन थियो । म गाउँमा जान्थेँ पढ्न पठाइदिनु न मलाई पनि साथी चाहिएको छ भन्थेँ । तर,उहाँहरु भन्नुहुन्थ्यो ‘छोरी पढेर के गर्ने गाइगोरु बाख्रा चराउनुपर्छ दिउँसो विहान घाँसपात गर्नुपर्छ पढेर काम छैन ।’
तर पनि म आफैंले धेरै जिद्दी गरी गरी कतिपय साथिलाई स्कुल जाने वातावरण बनाए। हाम्रो पालामा ६ महिना शिशु अनि ६ महिनामा १ कक्षा भन्ने चलन थियो । म भन्दा २-३ वर्षले जेठी एक जना दिदी हुनुहुन्थ्यो । उहाँको पनि भर्ना गरिदिन मैले परिवारमा आग्रह गरेँ त्यसपछि उहाँको दाइ गएर भर्ना पनि गर्नुभयो ।
मैले कपी कलम आफ्नै दिएँ पहिला त जानुभयो । पढ्न पनि बेलुकी मेरोमा आउनुहुन्थ्यो कहिले ढिकीजाँतो गर्नुपर्दा र घरमा अन्य काम हुँदा आउनुहुन्थेन । म साथी भएनि घरमै गएर सिकाउँथें । तर घरको आर्थिक अभाव गाइ गोरु बाख्रा चराउन जाने कोही नहुनाले गाउँको ती दिदी पढ्नबाट विहीन हुनुभयो । सात वर्ष लाग्दैमा स्कुल छुटाइ गुनियो चोलो दिने चलन थियो । उनको पनि गुनियो चोलो गरिदिए ।
मलाई धेरै नै रहर लाग्थ्यो उनलाई पढाउन त्यसमा नाम लेख्न सक्ने मात्र बनाइदिएँ । १३ वर्षमा ती दिदीको बिहे पनि भयो । अनी ति दिदीलाई पारिवारिक बन्धनमा बाँधिदिए । माइत आउन पनि पाउनुहुन्थेन छोरा थिए दुईवटा, आमाले छोरी छोरी भन्दा भन्दै मेरो अनुहार हेरेर प्राण गयो । उहाँ आमा बितेको तीन दिनमा आउनु भयो धेरै रुनु भयो रे । अनि उहाँले तिजको गीतमा आफ्नै कहानी सहितको व्यथा पोख्नुहुन्थ्यो ।
छोरी छोरी भन्दा भन्दै प्राण गयो आमाको !
छोरी भइ जन्मनु नै मेरो कस्तो सराप हो !!
उहाँले यस्तै गीतहरु बढी गाउनुहुन्थ्यो । उहाँलाई दुःख मनको बह पोख्न तिज नै कुर्नुपर्थ्यो भने हाम्रो पालामै हामीले देख्यौंं हाम्रो आमा हजुरआमाहरुले के-के देख्नुभयो होला र कति पीडा भोग्नुभयो होला !
त्यसरी हुर्केर बढेर आएका हामीलाई आजभोलिका तीज गीत सुन्दा र भिडियो देख्दा अचम्म मात्रै लाग्दैन कि यो समाज कता जादै छ भन्ने पनि लाग्छ। म आफैंलाई कहिलेकाहिँ यो विकृति देख्दा अचम्म लाग्छ र म कतिपय दिदीबहिनीको फेसबुकमा आएको गीत हेर्दा यस्ता गीत तिजको लागि नराखिदिनुहोला सम्म भन्ने गर्दछु।
तिज भनेको त मनको भाव व्यक्त गर्ने हो । आफ्नै कथा व्यथा पोख्दा कसैलाई असर पनि गर्दैन, देश विदेशमा बस्नुहुने दिदी बहिनीहरुले पनि कति मिठासका मौलिक गीत भनेर बारम्बार सुन्नुहुन्छ । यो हाम्रो संस्कृति हो र यसलाई जोगाउनु हाम्रो धर्म हो । यसलाई हामीले अझै राम्रो बनाउँदै जोगाउँदै लानुपर्छ ।
तिजमा मनमा रहेका तीता मिठा गुम्सिएका गुनासा गितहरु द्वारा बाहिर निकाल्न पाइने पर्व हो । चेलिहरु माइत जान पाएका हुँदैनन् र तिजमा त जान पाइन्छ भन्ने हुन्छ । यदि जान नपाए पनि त्यै कुरा गीत मार्फत सुनाउन पाउछन् ।
संविधानमा जे लेखिएको भएपनी र कानुनी रुपमा जुनसुकै दण्ड वा जरिवाना तोकिए पनि कतिपय सवालमा यो पुरुष प्रधान देश हो र नारीलाई केही दबाबमा नै जीवन यापन गर्नु परेको छ । घरको रक्षक हुनुहुन्छ घरको विषयमा परिवारको विषयमा सोच्नुहुन्छ । उहाँहरु आफ्नो बारेमा कम सोच्ने तर श्रीमान छोराछोरी आफू भोको भएको पनि वास्ता नगर्ने तर उनीहरुको ख्याल बढी गर्ने गर्नुहुन्छ । कतैकतै श्रीमनले नारीलाई नोकरको रुपमा राखेको पनि देखिन्छ ।जुन कुरा अमानवीय र दासयुगको जस्तो देखिन्छ ।
नारीहरु अधिकार माग्न सक्छन् तर,कहिलेकाहीँ परिवारले के भन्ला र समाजले के सोच्ला भन्ने सोचेर आफैं अन्धो जस्तो पनि भइदिन्छन् । किन भन्दा घर परिवारलाई बच्चाहरुको भविष्य पढाइ लेखाइ श्रीमानको अहमता यो परिवारको शान्ति सुख देख्नका लागि मरीज जसरी नारीहरु खुम्चिएर बसेका हुन्छन् ताकि आफ्नो परिवारको डोरीलाई मजबुत बनाएर राख्न सकियोस् ।
हामी कहिलेकाहीँ भन्ने गर्छौं यो त अन्याय नै हो तर सहजमा उत्तर दिन्छिन् म यो घरको शान्ति चाहन्छु । त्यो जवाफ तिजमा सुमधुर आवाजमा गितमा दु:ख-सुख भएर निस्कन्छ । सुनिरहन मन लाग्ने मनमोहक गित वर्षमा एकचोटि डर नमानी हाँसीहाँसी गाइने यो व्यक्त गर्ने नै तिज हो । जसले साच्चिकै नारीको पर्व हो भन्ने पुष्टि गर्दछ। अरुबेला पीडा हुँदा पनि नबोलेर बस्ने दिदीबहिनीको तीजमा गीत मार्फत केही न केही शब्द निस्कन्छन् ।
कतिपय बेला घरका आफन्तले यो तिजमा नचाहिँदा र अलि नसुहाउँदो गीत नगाइदिनुस् पनि भन्नुहुन्थ्यो।त्यो उहाँहरुले हेपेर वा कराएर भन्नुभएको होइन । समाज नभाडियोस,घर परिवार र आफन्तको चित्त नदुखोस वा कसैलाई मर्का नपरोस् भने संझाएको मात्रै हो।आफ्नो परिवार,समाज अनि राम्रो गाऊँ र परिवेशको गीत गाउँदा सबैको मन छोइ मन पखालियोस् वा विकासको कुरा पनि तीजको गीत मार्फत आओस् भन्ने पनि हो।
तिजमा गाउने गीतले कसैको मन दुुुख्ने वा समाजलाई छाडा र बिकृत बनाउने भन्दा पनि देेेश भित्र र बाहिर रहने सबैलाई खुशीले स्वागत गर्न पाइयोस् । देश बाहिर रहेका दिदीबहिनीको लागि पनि उपहार र स्वागत स्वरुप मिठा गितले विकासका बारेमा सन्देश पनि दिन सकियोस् भन्ने सबैले सोच्नुपर्ने हुन्छ । यतिबेला टोल वडाहरु र देशमा भएका विकास र समृद्धिका कुरालाई पनि गीत बनाएर गाउन सके अझै राम्रो हुन्छ। तीजको अवसरमा हामीले एउटा शन्देश दिनुपर्ने हुन्छ कि यो देशमा विकृति नबढोस् देशमा शान्ति बनोस् यही कामना सबैले गरौं ।
फेरि हेर्नुस् त कति चेलीहरुको दुःखलाग्दा हत्या हिंसा बढिरहेको छ नारिहरुले बिनाकारण ज्यान गुमाउनुपरेको छ। यसबारेमा सरकारलाई घच्घच्याउन जरुरी छ । नारीलाई फुटबल जस्तो बनाइ मैदानमा केहि व्यक्तिहरुले स्वार्थ अनुसार खेलाउने समेत गरेका छन् ।कतिपय नारीले आफ्नै परिवारका सदस्य र श्रीमान् बाटै ज्यान गुमाउनुपरेको घटना दैनिक सुन्नुपरेको छ।स्वदेशमा मात्रै नभै विदेशमा रहेका नेपालीको घटना पनि आइरहेका छन् । क्षणिक रीस र आवेगमा आइ नारीको हत्या हुने गरेको धेरै देखिएको छ। मानिसमा रिस डाहा र घमण्ड धेरै बढ्नाले विनाकारण हत्या बढिरहेको छ । सरकारले यसबारेमा पनि ध्यान दिनु जरुरी छ । गीत मार्फत यस्ता कुरामा सरकारको ध्यान खिच्न र घच्घच्याउन जरुरी छ ।
अस्ति भर्खरै अमेरिकामा दुई चेलीको नराम्रो खबर आयो। मुना पाण्डे मारिएको खबर आयो भने ममता काफ्ले बेपत्ता वा उनको पनि हत्या भएको अनुमान छ। ममता काफ्लेको बारेमा अहिले जुन समाचार सुनिन्छ त्यो निकै पिडादायी छ। त्यति सानो बच्चाको न त आमाको न्यानो काख न त बाबाको माया । अब बढ्दै गएपछि त झन् उनको ज्यान जोखिमपूर्ण बन्छ । यस्ता अनन्त ममताहरु बेपत्ता छन् कसैको हत्या भएको छ कसैको अपहरण भएको छ । आखिर यो कुमार्गमा लागेर कसले के पाउँछौ ?
यसमा हामी सबै होस्टेमा हैँसें मिलाई शान्त वातावरण ल्याउनु पर्छ । अरुसँग रिस घमण्ड नलिऊँ हाँसौं अनि हसाऔं सकेसम्म अरुको सहयोग गरिदिऊँ । यस्ता सोचविचार अवस्य पनि हामी नारीबाटै सुरु गर्नुपर्छ है । फेरि पुरुष सबै नराम्रा होइनन् गलत काम गर्दा नारीहरु पनि कतैकतै सहयोगी भएका हुन्छन् नै ।
हामी सबै सचेत रहौं र सबै छरछिमेकमा टोलमा अनि देशभर केही न केही गर्न सक्छौं । हामी महिलाहरुले सक्दो कदम बढाउनु पर्ने जरुरी छ । फेरी मैले जान्ने भएर लेखेकी होइन मेले देखेकी छु, सुनेकी छु धेरै आमा र आफन्त अनि साथीहरुबाट । सुन्दा मन दुख्छ भोग्नेले कसरी भोग्यो जस्तै लाग्छ ।
हाम्रो देशमा यो विकृति हटोस्, सबै राम्रो मार्गमा जान सकौं । हामी शान्त हौं शान्त रहौं शान्ति र समृद्धिले देश फलोस् फुलोस् । आफ्ना आमाबुबा दाजुभाई दिदी बहिनी सबैमा आफ्नो प्रेम भावले यो तिज यो वर्ष सबै उमङ्ग रहोस् । अर्को तिज झन् रमाइलो रहोस् । यही तिजको सबैमा शुभकामना दिन चाहन्छु ।