‘क्रान्ति एण्ड द कू: अ पर्सनल हिस्ट्री’- एक अध्ययन

प्रा. खगेन्द्रप्रसाद भट्टराई

खगेन्द्र बहादुर केसीद्वारा लिखित् क्रान्ति एण्ड द कू: अ पर्सनल हिस्ट्री, १९४५ – १९६३ (Kranti and the Coup: A Personal History) पढिसकें । यो पुस्तक लेखकले नेपालीमा लेखेका हुन् र अहिले यसलाई नेपालीबाट अंग्रेजीमा अनुवाद गरिएको हो । नेपालीमा भन्दा अंग्रेजीमा अलि छोटो छ । तर महत्वपूर्ण घट्नाहरु समावेश छन् । अनुवाद गर्ने व्यक्ति प्रविण अधिकारी हुन् र अनुवाद राम्रोसँग गरिएको छ ।

पुस्तक दस अध्यायमा विभाजित छ । परिचय भागमा राजा पृथ्वीनारायण शाहपछि नेपालको शाही दरबारमा देखिएको अराजकता तथा मारकाट पाइन्छ । दरबारको कमजोर अवस्थाको फाइदा उठाई जङ्गबहादुर राणाले सत्ता हात पारेको कुरा छ । जङ्गबहादुरको मृत्युपछि हत्या, हिंसा राणा शासकहरुमा सरेको पाइन्छ । दाजु-भाइ र काका-भतिजाहरुको सत्ता प्राप्तिको लागि संघर्ष देखिन्छ ।

लेखकले चन्द्र शमशेर, भीम शमशेर, जुद्ध शमशेर, पद्य शमशेर र मोहन शमशेरको बारेमा लेखेका छन् । पद्य शमशेरलाई अत्यन्त कमजोर श्री ३ को रुपमा लिइएको छ भने जुद्ध शमशेर अत्यन्त कठोर शासकको रुपमा देखिन्छन् । राणा प्रधानमन्त्रीहरुको अत्याचार र शोषणको चर्चा हुनुको साथै उनीहरुले गरेका केही राम्रा कामहरुको पनि उल्लेख गरिएको छ । राणा शासनको अन्त्य हुनुको कारणहरु पनि दिइएका छन् ।

नेपालमा चन्द्र शमशेरकै पालादेखि नेपाली जनताको हकहीतका लागि आवाज उठेको पाइन्छ । भीम शमशेरको पालामा केही युवाहरुलाई प्रजातन्त्रको लागि आवाज उठाए भनेर थुनामा राख्ने काम भयो । जुद्ध शमशेरले प्रजातन्त्रको माग गर्दै राणाहरुको विरोध गर्ने साहसिला युवाहरु – धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री – लाई फाँसी दिए । विरोधको स्वरलाई, अत्याचारविरुद्धको विरोधको स्वरलाई दबाउने प्रयास भयो । तर समय निरंकुशताको विरुद्धमा थियो । माथि उल्लेख गरिएका शहीदहरुको रगतले युवाहरुलाई प्रजातन्त्र प्राप्तिका लागि लड्न थप बल दियो ।

छिमेकी मुलुक भारतमा भएको ब्रिटिस शासनको अन्त्यले भारतमा बसेका नेपाली युवाहरुलाई प्रत्यक्ष रुपले प्रभावित गरेको थियो । नेपालमा प्रजातन्त्र प्राप्तिका लागि नेपाल प्रजापरिषद् नामको राजनीतिक दलको स्थापना भने भारतमा नेपाली काँग्रेस नामको अर्को दल बन्यो । यसरी देशभित्रका युवाहरु र भारतमा बस्ने नेपाली युवाहरुले जनतालाई राणा शासकहरुको चंगुलबाट मुक्त गर्न संघर्ष गरे । राजा त्रिभुवनले उनीहरुलाई साथ दिए । भारतको पनि साथ सहयोग रह्यो । राणाहरु सत्ता छोड्न बाध्य भए ।

प्रजातन्त्र प्राप्तिमा धेरै व्यक्तिले आफ्नो ज्यान गुमाउनुपर्‍यो, धेरैको महत्वपूणर् सहयोग र योगदान भयो । यस परिवर्तनको लागि भएको क्रान्तिमा विश्वेश्वर प्रसाद कोइरालाको अत्यन्तै सशक्त नेतृत्व रह्न गयो । लेखक बीपीको नेतृत्वको खुलेर प्रशंसा गर्दछन् । उनलाई क्रान्तिको नायक मान्दछन् ।

क्रान्ति त भयो तर नेपालको राजनीति विक्रम सम्वत् २००७ सालदेखि २०१५ सालसम्म राम्रोसँग चल्न सकेन । अनेक उतारचढावहरु भए । विक्रम सम्वत् २०१५ सालमा भएको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत पायो र बीपीको नेतृत्वमा सरकार बन्यो । अब मुलुकले एउटा बाटो पाएको अवस्था थियो । मुलुकको विकासका लागि खाका कोर्न थालिएको थियो । तर राजा महेन्द्रको उच्च महत्वाकांक्षाले गर्दा २०१७ साल पौष १ गते जननिर्वाचित अपदस्थ गरी दल विहीन पञ्चायती व्यवस्था लागू गरियो । यसरी मुलुकलाई पछाडि फर्काउने कुरा राजा महेन्द्रबाट भएको उक्त पुस्तकमा उल्लेख गरिएको छ ।

बी. पी. र राजा महेन्द्रको बारेमा लेखक भन्छन्:

“B. P. wanted a society free of feudalism, exploitation and oppression. What he would forget was that King Mahendra was the biggest feudal lord of the realm, that systematic oppression and exploitation benefitted him the most.

The two men were both young and ambitious, similar in some ways and dissimilar in other- sensitive men of letters both, but also eager to make their mark in the world arena in the fast shifting landscape that was forming after the end of the World War II…

While King Mahendra was an introvert who seldom spoke what was in his heart, B. P. was an extrovert, incapable of keeping anything to himself. It was difficult to gause what King Mahendra thought, and B. P. was nearly transparent in contrast.” (249)

“Apart from Prithivi Narayan Shah, every Shah king of Nepal was excessively fond of wine and women- this is a well established fact. This trend became especially worse after Jung Bahadur usurped most of the rights and duties of the Shahas. Consequently, Shah kings often drank themselves to their death in young age. King Tribhuvan was no exception” (208).

पुस्तकमा पहिलो विश्व युद्धपछि युद्धमा नेपालले बेलायतलाई सहयोग गरेकोले बेलायत खुशी भएर नेपालका राजालाई His Majesty (हिज् म्याजेस्टि) भन्ने पद्वी दिइएको कुरा उल्लेख छ । त्यसभन्दा पहिले राजालाई हिज् हाइनेस् (His Highness) भनेर सम्बोधन गरिन्थ्यो ।

यस्ता अरु धेरै महत्वपूर्ण जानकारी पाउन सकिन्छ, पुस्तक पढ्दा । नयाँ पुस्ताको लागि यो पुस्तक अत्यन्त उपयोगी हुनेछ । पुस्तक २८९ पृष्ठको छ ।

(पुस्तकका लेखक खगेन्द्र केसी यस लेखका लेखकका समकालीन् प्राध्यापक साथी हुन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...