शिक्षामा लगानी, बालुवामा पानी…

ताराप्रसाद पोख्रेल

हाम्रो देशका विद्यार्थीहरुले परिक्षामा निकालेको नतिजा हेर्दा हाम्रो देशको शिक्षा प्रणाली कमजोर हुदै गएको देखिन्छ । सरकारले १० कक्षासम्म निशुल्क पढाउदै आएपनि भनेजस्तो नतिजा आउन सकेको छैन । आजको आवश्यकता सीपमुलक र व्यवहारिक शिक्षा हुनुपर्छ ।

विद्यार्थीहरुलाइ परम्परागत तरिकाले पाठ्यपुस्तक होइन आजको युग सुहाउँदो रोजगारी प्राप्त हुने र पढेर भविष्यमा रोजगारी नपाएपनि आफैँ गरिखान सक्ने सीपमुलक शिक्षा जस्ता पाठ्यक्रम र पाठ्यपुस्तक बनाएर शिक्षा दिनुपर्छ । तर परम्परागत शैलिका पाठ्यपुस्तक सरकारले बनाएर नेपालको शिक्षा यति कमजोर बनाएको छ कि १० कक्षा उतिर्ण भएर +२ पढ्ने विद्यार्थीहरुलाई ६७ भनेको कति हो भनेर सोध्यो भने उनीहरुको जवाफ आउँदैन उल्टो प्रश्न गर्छन् । यो ६७ भनेको के हो ? अंग्रेजीमा भन्नुस न ! भन्छ्न् । उनीहरुले सिक्ने र जान्ने भन्दा पनि घोकन्ते विधि अपनाउने गर्छ्न । विद्यार्थीलाई स्कुल र कलेजमा मात्रै हिइन घरका अभिभावकले समेत ब्यबहारिक शिक्षा दिएका हुदैनन् ।

अब ६७ भनेको कति हो भन्न नजान्ने विद्यार्थीहरु १० बर्ष पछि परिक्षामा फेल नभए पास हुन्छ्न त ? हुन त आजको यो समयमा बिद्यालय तह भनेको पास फेल छुट्ट्याउने होइन विद्यार्थी कुन क्षेत्रमा पढ्न योग्य छ भनेर छुट्याउने हो । इन्जिनियर ,डाक्टर, कृषि,वकालत , मेकानिकल जस्ता बिषयमा बिशिस्ट शिक्षा लिदा चाहिँ फेल भए भने अगाडि जान रोक्नु पर्छ किनकी त्याहा असक्षम ब्याक्ती नपुगोस भनेर । तर यहाँ बिद्यालय तहमै रोकेर उसको जीन्दगी खराब बनाउछ्न । तर यहा हेर्नुस त निजि बिद्यालयको अंग्रेजी मोहमा पर्दा नेपालि बिर्सने अनि सरकारी बिद्यालयका विद्यार्थी अंग्रेजी शिक्षा कमजोर हुदा कसरी विद्यार्थीको नतिजा राम्रो होला ? १० बर्ष सरकारी खर्चमा पढाएर अन्तमा नतिजा आधा मात्र आउदा सरकारी रकम बालुवामा पानी हालेजस्तो हुदैछ । अब एउटा दृष्टान्त दिएर कसरि बालुवामा पानी हालिदैछ भन्ने यहाँ हेरौ ।

मानौ कुनै मध्यम माध्यमिक विद्यालयको कुरा गर्दा सामान्यतया एउटा विद्यार्थी निस्कन १० वर्ष लाग्छ । १० वर्ष अघि ५०० विद्यार्थी थिए र अहिले १० बर्ष पछि पनि त्यहिको हाराहारीमा विद्यार्थी हुदा र एउटा कक्षामा बिद्यार्थी अनुपात मिलाएर ३५ जनाको राख्दा शिक्षक लगभग १५ जना शिक्षक चाहिन्छ्न । अब ती १५ जनाको शिक्षकको तलब प्रति शिक्षक मासिक औषत मान्दा ३५ हजारको दरले १५ जनाको ५२५००० पर्छ । १२ महिनाको तलब जम्मा ६३ लाख हुन आउँछ । अब १२० महिना अथवा १० बर्षको तलब ६ करोड ३० लाख खर्च हुन्छ । फेरि १० बर्षमा विद्यार्थी पास भएर उतिर्ण हुने औषत विद्यार्थी अहिलेको नतिजा अनुसार आधा अथवा ५०% मात्र हुन्छ्न । आधा भन्नाले ३५ जना विद्यार्थी मध्धे १७ जना अहिलेको भनाइ अनुसार SEE उतिर्ण हुन्छ्न । यो १७ जना भनेको ठूलो दुध तताएर दहि जमाएर मोहि पार्दा निस्केको नौनी जस्तै हो । जाहा नौनिको मात्र हिसाब गरे जस्तै १० वर्षको नौनी १७ विद्यार्थी हुन । १७ जना विद्यार्थी उतिर्ण गराउदा ६ करोड ३० लाख खर्च आयो । त्यसमा किताब खाजा अनि शिक्षकको दशै भत्ता र अन्य तालिम भत्ता र अन्य खर्चको हिसाब जोडेको छैन । तलब मात्र हिसाब गर्दा १७ जना विद्यार्थी निकाल्न ६ करोड ३० लाख खर्च हुदा प्रती उतिर्ण बिद्यार्थी ३७ लाख भन्दा बढि खर्च हुदो रहेछ । यो खर्चमा माथी थप खर्च नजोडिदा पनि यतिको खर्च हुन्छ भने यो अन्य खर्च जोड्दा झन ज्यादा खर्च प्रती विद्यार्थी हुदो रहेछ । यसो गर्दा बालुवामा पानी भएन ? यो त एउटा स्कुलको कुरा मात्र हो ।

अब यस्तो हुनुमा को दोषी ? को जिम्मेवार ? शिक्षक, प्रधानाध्यापक, सरोकारवाला मन्त्रालय, पार्टी, सरकार या अभिभावक ? सबै गैर जिम्मेवार भएकै कारण यस्तो अवस्था हुन आएको हो । शिक्षा कमजोर हुनुमा सबैको भुमिका छ । सरकारले उचित दरबन्दी विद्यार्थीको अनुपातमा विषयगत काबिल शिक्षकको व्यवस्था नगर्नु, समयमा पाठ्यपुस्तक शिक्षण सामाग्री स्कुलमा नपुर्याउनु, विद्यालय भवन नभएर खुल्ला आकाशमा पढ्नुपर्ने बाध्यता, शिक्षकहरुलाइ तालिमको व्यवस्था नगर्नुले शिक्षामा सुधार हुन नसकेको हो । शिक्षक स्वयम् पनि विद्यालयमा समयमा उपस्थित नभएर विद्यार्थीले पढ्ने कोर्ष पूरा नगरिदिनु, पार्टीको झोले भएर पार्टीकाम लागि पढाइमा बाधा पुर्याउनु , सरकारले दिएको सुबिधा अघिकारको रुपमा सम्झेर लडाइ गर्नु, आफू सक्षम नहुदा पनि पढाउन अघि सरि विद्यार्थीहरुलाइ गलत पढाउनु , शिक्षक स्कुलमा हुदा पनि अल्छिले पढाउन कक्षा कोठामा नगइ अफिसमै मोबाइल खेलाएर बस्नु, विद्यार्थीहरुलाइ पढाइ तरिका राम्रो नजान्नु पनि हुन । प्रधानाध्यापक जिम्मेवार भएर शिक्षकले राम्रो पढाएकी पढाएनन भनेर बेलाबेलामा अनुगमन नगर्नु, शिक्षक र विद्यार्थीहरुलाइ अनुसासनमा राख्न नसक्नु , आफू प्रधानाध्यापक भएर स्कुलमा समयमै नआउनु पनि प्रधानाध्यापकको कमजोरी भएर शिक्षा कमजोर भएको हो ।

त्यसैगरी सरकारले शिक्षामा गुणात्मक फड्को मार्न शिक्षक राम्रा र विषयगत शिक्षक पठाउन नसक्नु, सरकारले खर्च गरे अनुसारको परिणाम या नतिजा राम्रो चाहियो भनेर कडाइ नगर्नु, समयमा पाठ्यपुस्तक र पाठ्य सामाग्री स्कुलमा नपठाउनु, सरकारी स्कुलमा गुणात्मक शिक्षा सरकारको तर्फबाट व्यवस्था गर्न नसकेर विद्यार्थी बाध्य भएर निजि स्कुलमा जादा सरकारी स्कुलमा विद्यार्थीको अभाव हुनु, सरकारले लापरबाही गर्ने शिक्षकलाइ कार्बाही गर्न नसक्नु , सरकारले शिक्षकलाइ तल्लो दर्जाको कर्मचारी सम्झेर उचित तलब नदिदा शिक्षकहरुमा नैराश्यता उत्पन्न भएर पढाउन जागर नलाग्नु जस्ता कारणहरुले नेपालको शिक्षा कमजोर भएको हो ।

सरकारले सरोकारवाला मन्त्रालयलाई पुर्ण जिम्मेवारी नदिएर आफैं सबै अधिकार आफ्ना मातहतमा राख्ने गर्नाले सरोकारवाला मन्त्रालयले आफ्नो काम गर्न नसकेको हो । शिक्षामा असर पार्ने हाम्रा राजनैतिक पार्टी पनि हुन । पार्टीहरुले शिक्षकहरुलाइ पार्टीमा लगाउने बिद्यालयमा अनावश्यक हडताल र आन्दोलन गर्न उक्साउने अनि आफ्ना पार्टीका झोलेलाइ शिक्षक पेशामा लगाउन अनावश्यक दबाब दिने , पार्टीका झोले कथंकदाचित शिक्षक भए भने पढाइमा भन्दा पार्टीको झोला बोक्न लगाउने गर्नाले शिक्षकले पढाउन नपाएर विद्यार्थी कमजोर हुने गर्छ्न ।

अर्को कुरा अभिभावकहरु पनि अलि सक्रिय नभएर विद्यालय लथालिङ्ग भएका छ्न । विद्यालयको सबैभन्दा नजिक अभिभावक हुन्छ्न । त्यहाँ पढ्ने विद्यार्थीका अभिभावकले विद्यालयमा कसरी पढाइ हुँदैछ भनेर बेलाबेलामा स्कुल गएर हेरे शिक्षक र प्रधानाध्यापकलाई राम्रो पढाउन दबाब हुन्छ । विद्यालयमा आफ्ना छोराछोरी पठाएर मात्र हुदैन । त्यहाँ शिक्षकले पढाएका छ्न् कि छैनन् विद्यार्थी घरबाट स्कुल पुगे कि बाटैमा खेल्दैछ्न् त्यो पनि हेर्नुपर्छ अभिभावकले । विद्यालयमा त तिनै अभिभावककै अगुवाइमा विद्यालय व्यवस्थापन समिति पनि हुन्छ । त्यो समितिको काम विद्यालयलाई सरकारले दिएको निर्देशन र सरकारले पठाएका शिक्षक, पाठ्यपुस्तक र पाठ्य सामाग्रीलाई विद्यालयले सही तरिकाले उपयोग गरेको छ कि छैन भनेर हेर्ने हो ।

कुनै पनि विषयको समस्या मात्र हुँदैन । समाधान पनि हुन्छ्न् । समस्या देख्नेले समाधान पनि देखेको हुनुपर्छ । समस्या देखाउनेलाइ समाधान के हो त भन्दा थाहा छैन भन्छ भने त्यो भँडुवा हो । शिक्षा क्षेत्रमा कमजोरी छ्न् भनेर यति सारा कमजोरी देखाएपछि समाधान पनि त्यही कमजोरीमा लुकेको छ । जहाँ यो यो कमजोरी छ भनिएको छ त्यसलाइ मात्रै सुधारेमा ९५% कमजोरी हराएर जान्छ । जति कमजोरी छ्न् तिनिहरुलाइ इमानदारीपुर्वक सुधारे अवश्य नेपालको शिक्षा माथि भनिएझैँ ९५% सुध्रिन्छ नत्र उहीँ हुन्छ बेलैमा सोचौ । नत्र भने बालुवामा जति पानी हाले पनि उस्तै भए जस्तै हुन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय