श्रीमानको यातनापछि मर्छु भनेर पशुपति पुगेकी थिइन् राधिका दासी
यतिबेला काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा कोटीहोम महापुराणा चलिरहेको छ।भव्य पान्डाल, चारैतिर साउन्ड सिस्टम सहितको सयौं माइक र हजारौं भक्तजनको बीचमा एउटी नारी सबैको मन छुने कथा सुनाइरहेकि छन् ।उनको महापुराणका कथाले सबैको हृदय जितेको छ। त्यसैले पनि उपस्थित भक्तजनको ध्यान उनले खिचिरहेकी छन् ।
उनी अर्थात राधिका दासी सबैको मन र मस्तिष्कमा बस्न सक्ने नारी पात्र हुन् । उनको कथा वाचन शैलीले धेरैको ध्यान खिच्न सक्छ। तर, कहिलेकाही राधिकाले भगवान र राक्षसका कथा मात्रै होइन आफ्नै जीवनकथा पनि सुनाउँछिन् । उनको कथाले धेरैलाई रुवाउन सक्छ तर, त्यो भन्दा बढी जिन्दगीबाट हार खाएर मृत्यु रोज्न खोज्नेलाई सकारात्मक पनि बनाउछ।
२०४५ साल भदौ १ मा मोरङको कानेपोखरीमा जन्मिएकि राधिकाको आफ्नै कथा र व्यथा छ।पढाईमा अत्यन्तै तीक्ष्ण र बोलीमा नम्रभाव भएकी राधिकाले १३ वर्षको उमेरमा एसएलसी पास गरेकी थिइन् । संस्कारी परिवारमा जन्मिएकि र मलिन स्वरबाट क्रमशः हाँसीहाँसी बोल्न सुरु गर्ने राधिकाले कहिलेकाहीँ महायज्ञ र कथावाचनमा आफ्नै दु:ख र पिडाको कथा पनि सुनाउन खोज्छिन।तर,आफ्नै कथा भन्न गला अबरुद्ध हुने उनको बुझाइ छ।
पण्डित परिवारको दोस्रो सन्तानका रुपमा जन्मिएकि उनले आफ्नो पढाइ भने काठमाडौंमा पूरा गरेकी हुन्। काठमाडौंमा बसेर पढिरहँदा १८ वर्षको उमेरमा नै उनको सामाजिक परम्परा अनुसार मागी विवाह भयो। तर,राधिकाको लागि त्यो वैवाहिक सम्बन्ध निकै कष्टपूर्ण बन्यो । आफ्नो परिवार र पढाइका विषयमा हजारौं भक्तलाई सुनाइरहँदा उनले आँसु थाम्न गाह्रो हुनेगरेको पनि सुनाइन् । ‘मेरा मातापिताको इच्छामै मेरो विवाह भयो, मैले कुनै प्रेम विवाह गरेकी थिइनँ’, उनी सुनाउँछिन् ।
राम्रो कुल र सम्पन्न परिवार भनेरै छोरीको विवाह गरिदिने निर्णय राधिकाका परिवारले लिएका थिए। पारिवारिक संस्कारले नै राधिकालाई पनि आमाबुवाको रोजाइमा प्रश्न उठाउन मन लागेन। त्यसैले राधिकाले हाँसी खुशी विवाह गरिन् । तर, विवाह भएको केही समयमै उनका श्रीमान् मानसिक बिरामी भएको खुल्यो। केटाका परिवारले झुक्याएर विवाह गरिदिएको देखियो । त्यसपछि पनि राधिकाले परिवार सम्हाल्न सक्छु कि भनेर सात वर्ष कोसिस गरिन् । जसका लागि उनले आफू पढ्दै स्कुल पढाउदै गरेर माइती परिवारलाई सबै दु:ख लुकाइराखिन् । त्यही बिचमा छोरा जन्मियो।
त्यसपछि राधिकाको जीवन झन् संघर्ष र पिडामा धकेलियो। उनले श्रीमानका कारण कति हिंसा भोग्नुपर्यो भन्ने कुरा कहिलेकाहीँ स्रोतालाई समेत सुनाउछिन् । उनको ब्यथा सुनेर भक्तजनले समेत आँसु खसाउँछन् ।
उनी भन्छिन् -‘आफ्नै श्रीमानले रातको ११ बजे कुनै जंगलमा लगेर तलाईं मार्छु भनेर तरबार देखाउँदा कस्तो हुन्छ होला ? म एक्ली छोरी, त्यो प्रेममा हुर्केकी थिएँ, जहाँ मेरा पाँच जना काकाहरूले कहिल्यै भुइँमा राख्नुभएन,अहिले हेर्नुहुन्छ यी हातहरू, त्यो समयमा मेरो हातमा दागैदाग थियो, सिगरेटले पोलेर, मलाई मर्न मात्र मन लाग्थ्यो ।’
छोराको हर्कतबारे जानकार उनका सासु ससुराले पनि श्रीमानलाई सुधार्न कुनै प्रयास नगरेको कारण राधिकामाथि बारम्बार यातना बढ्दै गयो। त्यसपछि सहनै नसक्ने भएर एक दिन राधिकाले जीवन त्याग्ने अप्रिय निर्णय लिइन् । उनले कतै सुनेकी थिइन् कि ‘स्लिपिङ ट्याब्लेट खायो भने त सुतेको सुत्यै मरिन्छ रे !’ त्यसपछि उनले पनि सहज मृत्यु खोज्दै एक बट्टा स्लिपिङ ट्याबलेट बोकेर पशुपतिको जंगलमा पुगिन् । ‘जब पानी निकालेर त्यो ट्याब्लेट खान खोजेको थिए, स्कुलबाट फोन आयो, तपाईंको छोरा सिकिस्त छ भनेर, अनि दौडेर स्कुल पुगे’-उनले दु:खद कहानी खुलाइन ।
त्यसपछि उनको जिवनले अर्को मोड लियो। बिहे भएको सात वर्षपछि श्रीमानसँग बस्न नसक्ने निश्चित गरेर उनले परिवारलाई जानकारी दिइन् ।‘मैले पहिलो पल्ट परिवारलाई त्यतिखेर मात्रै भनेँ, जब अब चाहिँ बस्न सकिँदैन भन्ने निश्चित भयो,’-उनी भन्छिन् । त्यसपछि आफ्नो माइती परिवारसमेतको सहमतिमा उनले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराइन् । तर, अंश पाउन पनि कठिन भयो। किनभने सबै अंश जेठो छोराको नाममा राखिएको रहेछ। उनका श्रीमान् मानसिक रोगी(मेन्टल पेसेन्ट)लाई मुद्दा लाग्दैन भनेर उनले पछि मात्र थाहा पाइन। त्यसपछि राधिकाले छोरालाई विराटनगरको स्कुलमा भर्ना गराइन र आफु भारतको वृन्दावन पुगिन् । त्यहाँ एक जना गुरुले उनलाई जीवन त्यसै खेर नफाल्न, बरु समाजका लागि काम गरेर उपयोग गर्न सल्लाह दिए।
त्यसपछि राधिकाले त्यहीँ बसेर पढ्न थालिन् । ‘सानोमा हजुरबुबाको संगतमा लागेर मैले वेदका मन्त्र पढ्न थालिसकेकी थिएँ, त्यसैले त्यहाँ त्यस्तो गाह्रो भएन,’ उनि सुनाउछिन् । आचार्यसम्म पढेर नेपाल आएकी राधिका दासी यति बेला कयौँको मन जित्ने कथा बाचिका भएर समाज रुपान्तरणमा सक्रिय छिन् । वृन्दावनमा रहँदै धार्मिक प्रवचन दिन थालेकी राधिका पछि आफ्नै देशमा केही गरौं भन्ने सोचेर २०७१ सालमा नेपाल आइन् । नेपाल आएर पहिलो पटक आफ्नै खर्चमा इटहरीमा पुराण लगाइन् । पुराणबाट उठेको रकमले माया घर बनाउन सहयोग गरिन् । माया घर त्यही घर हो, जहाँ अहिले उनका श्रीमान् जस्तै मानिसहरूलाई राखेर उपचार गरिन्छ। त्यस्तै सडकमा बस्ने अशक्त, असहायहरूलाई समेत उद्धार गरिन्छ। माया घरमा परिवारबाट माया नपाएर घरवार बिहिन भएका, गलत संगत वा मानसिक अवस्थाका कारण सडकमा आएकाहरूलाई राखेर उपचार गरी सीप सिकाएर स्वरोजगार बनाउने अनि पुनस्र्थापना गर्ने उद्देश्य छ।