प्रचण्डको अन्तिम धोका प्रचण्डलाई !
शिरज शर्माप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का आजिवन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो सहकार्य गरेका नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका छन्-‘प्रचण्डले कसैबाट धोका पाएको होइन, सबैलाई धोका दिएका छन्।’
झन्डै ३० वर्ष प्रचण्डसँगै बिताएका डा.भट्टराईले प्रचण्डबारे अझै खरो टिप्पणी गर्दै लेखेका छन्-‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’ बाबुरामले प्रचण्डलाई किन धोखेबाज ठानिरहेका छन् त ? यसको उत्तर बाबुरामले धेरै पटक धेरै ठाउँमा दिइसकेका छन् ! त्यो भन्दा बढी नेपाली जनताले प्रचण्डको बोली र व्यवहारबाट थाहा पाइसकेका छन् । त्यसैले यसमा धेरै टिप्पणी र व्याख्या गरेर समय बर्बाद नगर्दा नै सबैको भलो हुनेछ !
बहुचर्चित सेक्टर काण्डदेखि एकता केन्द्र हुँदै नेकपा माओवादी र त्यसपछि अनेकौं पुच्छर झुन्डिएको माओवादी पार्टी सम्म आइपुग्दा प्रचण्डबाट धोका पाउने व्यक्तिको हिसाब गरिसक्नु छैन । त्यसैले समयक्रममा व्यक्ति-व्यक्तिलाई प्रचण्डले दिएको धोकाको ग्रन्थ लेख्न अहिले समय खर्चनु व्यर्थ हुन्छ। निर्मल लामालाई धोका दिए भनौं कि भक्तबहादुर श्रेष्ठ र नरबहादुर कर्माचार्यको नाम लिनु, अथवा मोहन बैद्द,बाबुराम भट्टराई,सिपि गजुरेल,रामबहादुर थापा,पम्फा भुषालको नाम लिँदा लेखराज भट्ट,जनार्दन शर्मादेखि लेखनाथ न्यौपाने र उर्मिला अर्यालसम्म सबैले कुनै न कुनै कालखण्डमा धोका पाएकै छन् ! हुन त जसले विचार, सिद्धान्त, आदर्श र नैतिकता नै भुलेको हुन्छ भने उसबाट व्यक्तिले धोका पाउनु नौलो होइन। सर्वहारा जनता, दस वर्षे जनयुद्ध, हजारौं सहिद, बेपत्ता र घाइतेको सपनालाई धोका दिने व्यक्तिले अर्को पार्टी र त्यसको नेतालाई धोका दिनु सामान्य हो। जनयुद्ध चलिरहँदा त्यत्रो क्रान्ति र सहकर्मी नेताकार्यकर्तालाई धोका दिएर राजासँग मिल्ने आँट गर्ने पनि उनै थिए क्यारे !
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई झण्डै झण्डै सिध्याउन खोज्ने पनि प्रचण्ड नै हुन् भनिन्छ । जनयुद्धका एजेन्डा स्थापित हुने अवस्थामा पनि आफ्नो पदलाई मुख्य ठानेर सम्झौता गर्ने कमरेड प्रचण्डले स्व.गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपति बनाउँछु भनेर धोका दिएको पनि हो क्यारे ! त्यो त अस्ति भर्खरै राष्ट्रिय सभाको अध्यक्ष बनाउने वचन कृष्ण सिटौलालाई दिएर पछि धोका दिँदै आफ्नै भाइ नारायण दाहाललाई अध्यक्ष बनाएको पनि हो क्यारे ! त्यसको निरन्तरता त गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेसपा सांसद फणीन्द्र देवकोटासम्म पो आइपुग्यो होइन र ?

संविधान सभाबाट संविधान लेख्ने समयमा जनयुद्धका उपलब्धि र जनताका सुझावलाई छाडेर पुरानै दलहरूसँग लम्पसार परेर परिवर्तनका पक्षधर जनतालाई धोका दिने को हो ? तत्कालीन समयमा पार्टी उपाध्यक्ष मोहन वैद्य र डा.बाबुराम भट्टराईलाई फरक-फरक कुरा गरेर धोका दिने अनि जनयुद्धका भगौडा नारायणकाजी श्रेष्ठलाई च्याप्ने को हो ? आफ्नै पार्टीको प्रधानमन्त्री डा.भट्टराईलाई हटाएर खिलराज रेग्मी नेतृत्वको मन्त्रीपरिषद् गठन गर्नुपर्ने बाध्यता के थियो ? त्यसबेला कसले कसलाई पो धोका दियो !
संविधान सभाबाट संविधान जारी भएपछि क्रमशः जनताको आशा र अपेक्षामा कुठाराघात कसले गर्यो ? बाबुरामको नयाँ शक्तिलाई चुनाव चिन्ह नदिनुपर्ने कारण के थियो ? एमालेसँग पार्टी एकता गरेपछि कसको कारण एकता टुट्यो ? जनताको समस्या हल गर्न छाडेर एमाले-कांग्रेस-एमाले भन्दै नाचिरहनुपर्ने के कारण थियो ? सभामुख चुनावमा एमालेतिर, राष्ट्रपति चुनावमा कांग्रेसतिर, उपचुनावमा उपेन्द्र यादव तिर र सत्तामा पुग्न राप्रपासँग पनि पाउ पर्नुपर्ने यो कस्तो उथलपुथल थियो ? यी सबै घटनाक्रममा सबैभन्दा बढी धोका जनतामाथि र सबैभन्दा मजाक राजनीतिक आस्था र विचारमाथि भयो होइन र कमरेड ?
पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा सत्ताका लागी बाँचुन्जेल ‘उथलपुथल’ गरिरहन्छु भन्ने प्रचण्ड आफैं उथलपुथलको भुमरीमा किन परेका होलान् । धोका,धोका र फेरि पनि धोका दिन खप्पिस प्रचण्डले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अप्रत्याशित धोका पाएको भनिरहेका छन् । रातारात एमाले-कांग्रेस सत्ता समीकरण हुँदा प्रचण्डलाई धोका भएको माओवादीका अन्य नेताहरूको पनि बुझाइ छ। त्यसैले उनीहरु चाहेर वा नचाहेर प्रचण्डको बचाउ गरिरहेका छन् ।
‘म बाँचुन्जेल राजनीतिक उथलपुथल भइ नै रहन्छ’ भन्ने प्रचण्डले धोका दिनु अगाडि नै उनका सहयात्री बनेर सरकारमा भित्रिएका नेकपा एमालेले कांग्रेससँग सत्ता सहकार्य गर्ने निर्णय गरेपछि माओवादीलाई धोका पाएको महशुस भएको हुनुपर्छ । तर, घटनाक्रमले त्यस्तो देखिँदैन । २०७९ मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि प्रचण्डले कांग्रेस-एमाले-कांग्रेस हुँदै पुन एमालेलाई धोका दिने तयारी गर्दै थिए । यहि १९ महिनामा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,जनमत पार्टी र नेपाल समाजवादी पार्टी समेतलाई सत्तामा ल्याउने र पन्छाउने गरिरहे । के यो राजनीतिक बेइमानी र धोका थिएन ?
प्रचण्डकै सत्ता स्वार्थ र त्यसैको मुनाफा पाइने आशामा डा.बाबुराम भट्टराई नेतृत्वको नेसपाका केही नेता पार्टी छाडेर हिँड्ने अवस्था समेत आयो। त्यसो त उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि बिभाजन भयो र नागरिक उन्मुक्ति पार्टी समेत बिभाजनको डिलमा पुगेको छ।२०७९ पुस १० मा शेरबहादुर देउवालाई धोका दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित बार्दलीमा पुगेका प्रचण्डले त्यसको ३ महिना पनि नपुग्दै पुनः एमाले अध्यक्ष ओलीलाई छाडेर देउवासँगै आइपुगे। देउवासँग बसेर पुनः ओलीसँग कुम जोड्न पुगेका प्रचण्डले फेरि ओलीलाई धोका दिएर हिंड्नै लाग्दा असार १७ गते राति समातिए । त्यसको दुई दिन अघि असार १५ को दही च्युराले ओली-देउवा समीकरण बन्यो !
यसर्थ सधैं मैले मात्रै धोका दिने हो र अरुलाई पङ्गु बनाउने हो भन्ने सोचाइले गर्दा यसपटक भने प्रचण्डले प्रचण्डलाई नै धोका दिए। अर्थात् उनको ‘उथलपुथल’मा प्रचण्डले धोका दिन बाँकी प्रचण्ड मात्रै थिए भने धोका पाउन बाकी पनि उनै प्रचण्ड थिए। त्यसैले यसपटक प्रचण्डले कसैबाट धोका पाएका छैनन् । सधैं अरुलाई ठग्ने, धोका दिने र झुक्याउने प्रवृत्तिले अहिले प्रचण्ड आफैंलाई सिध्याउने तर्फ अघि बढिरहेका देखिन्छन् । फेरि पनि बाबुरामले भनेजस्तै:- ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’
अब प्रचण्डले धोका दिने क्रममा पुर्णविराम लागोस र उनले धोका पनि खानु नपरोस् । नेपाली जनताको समस्या बुझ्ने र स्वस्थ प्रतिस्पर्धाबाट स्वच्छ राजनीति गर्नेलाई जनताले सधैं साथ दिने नै छन् । जनताको रिस र आवेगलाई समयमै बुझेर जनताका दु:खमा साथ दिने अनि विकास र समृद्धिको मुद्दामा वैकल्पिक राजनीतिक शक्तिहरु एक भएर अघि बढ्ने बेला आएको छ। सबैलाई चेतना भया ।

