आर्या
प्रा. खगेन्द्रप्रसाद भट्टराईसेप्टेम्बर २, २०१९ (भदौ १६, २०७६ वि.सं.) सोमबारका दिन सोफियाले अर्की नातिनीलाई जन्म दिई । डाक्टरको सल्लाह अनुसार विसुले सोफियालाई बिहान ७ बजे Omaha, Nebraska को Methodist Women’s Hospital पुर्याएको थियो । उनीहरु अस्पताल जानुभन्दा अगाडि नै हामी (गातु र म) उठिसकेका थियौं । म गातुभन्दा पहिले नै उठिसकेको थिएँ । तल बैठकमा गएर पर्दा खोलें । पूर्वतिर आकाशमा सुनौलो बादल, सूर्यको प्रथम किरणको कारणले गर्दा बडो आकर्षक, मनमोहक देखिन्थ्यो । सुन्दर बिहानीले शुभ संकेत गरेको जस्तो लाग्यो । केही बेरपछि सडकमा आँखा परे, केही थोपा पानी परेको देखें । पानी पर्ने कुनै लक्षण थिएन । लाग्यो, प्रकृति आज एक सुन्दर कन्यालाई स्वागत गर्न सिंगारिएर बसेकी छन्, आकाशबाट अमृत वर्षा भइरहेको छ । विसु र साफोया अस्पताल हिंड्ने बेलामा भने – बाबु, आजको सुन्दर बिहानीले शुभ-संकेत गरेको छ Best of luck.
केही दिनदेखि हामी चिन्तित थियौं । कारण, डाक्टरले बच्चाको पोजिसन Normal Delivery का लागि ठीक नभएको हुँदा, अवस्थामा सुधार आएन भने, अपरेशन गर्नुपर्ने बताएका थिए । जेठी नातिनी, सियराको पालामा Normal Delivery भएको हुँदा हामी त्यसैको पक्षमा थियौं । बरु केही दिन पर्खनु ठीक हुन्छ भने हामीलाई लागेको थियो । तर डाक्टरले अपरेशन नै गर्नुपर्दछ भनेको खण्डमा हामीले नमान्न मिल्दैन्थ्यो ।
विसुले करीब ३ बजेतिर फोन गर्यो नातिनी जन्मी भनेर । अपरेशन गर्नु परेनछ । बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको कुरा सुनायो । मोबाइलमा नै सानी गुडियालाई देखायो । खुशीको सीमा रहेन । दौडेर गातुलाई नातिनी देखाउन गएँ । गातु घरको माथिल्लो तल्लामा थिईं । तीजको दिन थियो । केही तयारी गर्दै थिई । सियरा खाना खाएर सुतेकी थिई । बाबुले हामीलाई केही समयपछि लिन आउने कुरा गर्यो । हामी तयार भएर बस्यौं र उ आउने बित्तिकै अस्पताल गयौं ।
सियरा आउने मंसिर ४ गते (२०७६-८-४) चार वर्ष पुगेर पाँच वर्षमा प्रवेश गर्दै थिई । ऊ पनि हामी सँगै अस्पताल गई । बहिनी पाएकोमा अत्यन्तै खुशी छ । अस्पतालमा प्रवेश गर्नासाथ भनी- Daddy, I’m really excited, उसको कुरा सुनेर हामीलाई आश्चर्य लाग्यो । त्यति सानो बच्चाको कस्तो अभिव्यक्ति ! सियरा तीन महिनाकी भएदेखि नै Day Care Center मा गई । घरमा भन्दा उसको क्रियाकलाप त्यहीं बढी भयो । अंग्रेजी बोल्ने वातावरणमा बढी उसले बस्नुपर्यो । घरमा विसु र सोफियाले नेपालीमा बोल्ने गरे पनि धेरै बेर प्रत्येक दिन जस्तो अंग्रेजी बोल्ने परिवेशका कारणले नेपाली बोल्न उसलाई असजिलो छ । नेपालीमा बोलेको धेरै कुरा बुझ्दछे तर फर्काउन सक्दिन । कहिलेकाँही हजुरआमा र नातिनीको संवाद अड्किन्छ । मलाई पनि उसले बोलेको सबै बुझ्न गाह्रो छ । उसको तोतेबोलीले राम्रो बुझ्न नसके पनि सुन्दा आनन्द दिन्छ । संगीतमय छ, अमृततुल्य छ ।
अस्पताल प्रवेश गर्यौं । लाग्यो हामी अस्पताल होइन, कुनै राम्रो पाँच तारे होटलमा प्रवेश गर्दैछौं । पानीका आकर्षक फोहोराहरु । फूलका मनमोहक दृश्य । दागरहित Floor र Wall हरु । कहीं कतै फोहोर, दुर्गन्ध छैन । हामी लिफ्ट चढेर सोफी बसेको पाँचौ तल्लामा गर्यौं । परिवारको नयाँ सदस्यलाई स्वागत गर्यौं । फोटा खिच्यौं, रमायौं । सियराका घरमा धेरै खेलौना छन् । तर उसलाई शुरुदेखि नै एउटा ठीकै खालको Snowman भन्ने खेलौना असाध्यै मन पर्छ । त्यसलाई उसले आफ्नो भाषामा पहिले ‘माई’ भन्थी अहिले कहिले ‘माई’ त कहिले Snowman भन्छे । त्यो खेलौना नभई उसलाई हुँदै हुँदैन । त्यो नभई खाना खान्न । उसको Daycare center, Hamilton Heights जाँदा सँगै लिएर जान्छे । सुत्ने बेलामा ‘माई’ साथमै हुनुपर्दछ । विसुले बेलुका ६ बजेदेखि ७ बजेसम्म नानीलाई पढाउँछ । ‘माई’ साथमा भएन भने ऊ पढ्नै सक्तिन, मान्दिन । आज त्यही अत्यन्त प्यारो ‘माई’ उसले बहिनीको सामुन्ने राखेर बहिनीलाई यस धरतीमा स्वागत गरी । गालामा म्वाईं खान कोशिश गरी । आफ्नो कोमल औंलाले सफा कपडामा बेरिएकी सानी बहिनीलाई स्पर्श गरी । अहा ! कस्तो विचित्रको संसार । कति मीठो माया !
हामी सोफियाको कोठामा पुग्दा नर्स त्यही थिई । केही बेरपछि सोफीको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकोले उसको अनुरोधमा हामी बाहिर गयौं । बाहिर ठाउँ ठाउँमा बस्ने व्यवस्था छ । कफी, चिया, बिस्कुट, पाउरोटी, जुस आदि राखिएको छ । इच्छा अनुसार व्यक्तिले खान सक्तछन् । त्यहाँ बस्ने सुत्केरी र कुरुवालाई बाहिरबाट खानाको व्यवस्था गर्नुपर्दैन । अडर अनुसार खाना उपलब्ध हुन्छ । कुनै अस्पताल होइन, होटल जस्तो छ ।

विसु र सोफियाले नानीको नाउँ आर्या (Aarya) राख्ने सल्लाह गरेका रहेछन् । हामीलाई पनि त्यो नाम मन पर्यो । यहाँ बच्चा जन्मिनुभन्दा पहिले नै नाउँको बारेमा स्पष्ट हुनुपर्ने रहेछ । बच्चा जन्मिएपछि आमा र बच्चा दुवैको नाउँ चाहिंदो रहेछ । बच्चाको नाउँ लेखेरै बेडमा टाँस्नु पर्दो रहेछ । डाक्टर र नर्सको व्यवहारले आधा पीडा कम हुने जस्तो छ । बोलीमा सिष्टता छ, हार्दिकता छ । व्यवहार अनुकरणीय छ । सबै कुरा व्यवस्थित छन् । यहाँ आउन पाउने आमाहरु भाग्यमानी हुन् ।
आज आर्या आफ्नो आमाको गर्भबाट यस संसारमा आएकी छ । उसलाई यो संसार कस्तो लाग्दो हो ? म भन्न सक्तिन । यसको रंगीचंगी रुप देखेर दंग पर्न सक्तछे । रमाइलो मान्न सक्तछे । आनन्दित हुन सक्तछे । बगैंचामा फुलेका सुन्दर फुलहरु देखेर रोमाञ्चित हुन सक्तछे । गुलाब किन एउटै रंगको नभएर विभिन्न रंगको हुन्छ ? गुराँस किन थरी थरी रंगको हुन्छ ? एउटै नाउँको फूल पनि किन विभिन्न रंग, विभिन्न आकार प्रकारको हुन्छ ? सयपत्री थरी थरी प्रकारका किन भएका होलान् ? एउटै नाउँ गरेको आँप फल किन विभिन्न प्रकार र स्वादको हुन्छ । लिच्ची कुनै किन बढी स्वादिष्ट हुन्छ ? उसका यी प्रश्नहरु हुन सक्तछन् । यी सुन्दर फूलहरु, मीठा फलहरु र मानव प्रेमले स्वर्ग यही पृथ्वी नै हो कि जस्तो पनि लाग्न सक्तछ । हिन्दू परम्परा अनुसार मनुष्य चोला सबभन्दा उत्कृष्ट चोला मानिन्छ चौरासी लाख जुनीमा ।
चौरासी लाख जुनीको बारेमा म केही पनि भन्न सक्तिन, तर मनुष्य जुनी साँच्चै उत्कृष्ट हो जस्तो लाग्दछ । किनकि मानिस बाहेक अरु कुनै पनि प्राणीले रंगीचंगी फूल देखेर मानिस सरह रमाउन सक्तैन् । प्रकृतिको सौन्दर्यताको रसपान तिनीहरुको क्षमता बाहिरको विषय हो । आकाश र समुन्द्रको निलो रंग देखेर कुन प्राणी, मानिस बाहेक, आनन्दित होला ? मयुरको रंगिन पखेटा र सुन्दर नृत्यले मयुरलाई भन्दा मानिसलाई नै बढी आनन्दित पार्दैन र ? पोखराको डेभिड फल र अमेरिका र क्यानाडाको सिमानामा पर्ने Niagra Falls हेर्दा कुन प्राणी बढी रोमाञ्चित होला ? मेरी आर्या कति रमाउली यो देख्दा ? हामी कति रमाउला यी दृष्यहरु हेर्न पाउँदा ? सूर्य उदाउँदाको दृष्यले कुन प्राणीलाई बढी आनन्द देला ? मानिसहरु मात्रै किन नगरकोट पुगेर सूर्योदयको दृश्य हेर्दछन् ? दार्जीलिङ्गको टाइगर हिलमा बिहानै किन त्यत्रो मानिसहरुको मात्रै भीड ?
सेप्टेम्बर २ को दिन विश्व र सोफिया अस्पताल जाने तयारीमा । आर्या यो रंगी बिरंगी संसारमा आउने तयारीमा । मेरा आँखा उदाउन लागेको सूर्यको रंग पोतिएको बादलका टुक्रहरुमा परे पूर्व दिशामा । अहा ! कस्तो आकर्षक दृश्य ! कस्तो विचित्रको कलाकारिता । कुनै पनि निर्मित कलाले भेट्न सक्तैन । लियोनार्डो डा. भिन्सी, प्याव्लो, पिकासो रेम्ब्रान्ट, माइकलयन्जेलो, राफेल, क्लाउड मोनेट, लैनसिंह वाङ्देल आदि चित्रकारहरुले अझै धेरै सिक्नु पर्ने जस्तो लाग्यो । प्रकृतिको कला कुनै निर्मित कलाभन्दा बढी स्वाभाविक र आध्यात्मिक लाग्यो मलाई । मानिस प्रकृतिसँग प्रतिस्पर्धामा जान सक्दैन तर प्राणीमा मानिसले मात्रै त्यो भव्य सौरम्य दृश्यको आध्यात्मिक अनुभूति गर्न र अलौकिक आनन्द लिन सक्तछ ।
आज सोफिया दंग छ । सफल सुन्दर सृजनामा को दंग पर्दैन र ? आर्यालाई हेर्दै मुस्कुराइरहेकी छ । उसको मुस्कानमा दैवी सुख झल्किन्छ, सन्तोष छ । सफलताको खुशी छ । मनुष्य बाहेक अरु प्राणीले यसरी खुशी व्यक्त गर्न सक्तछन् होला ? भोलि आर्या त्यसै गरी मुस्कुराउने छ । आफ्ना साथीहरुसँग गीत गाउँदै, हाँस्दै, नाच्दै आफ्नो खुशी व्यक्त गर्नेछ । ठट्टा गर्दै खित्का छोडेर हाँस्नेछ । उसले प्रश्न गर्नेछ – यी हरिया जंगल किन हरिया भएका होलान् ? कोइलीको संगीत किन यति मीठो भएको होला ? डाँफे किन यति सुन्दर ? चराहरु आकाशमा उड्दा किन आफूलाई पनि उड्न मन लागेको होला ?
ठूली भएपछि ऊ स्कूल जानेछे, कलेज जानेछे । ठूलाठूला विश्वविद्यालयका पुस्तकालय जानेछे । विगत र वर्तमान पढ्ने छे र भविष्यको कल्पना गर्नेछे । विज्ञान र प्रविधिले गरेको चमत्कारको बारेमा थाहा पाउनेछे । मानिसले समुन्द्रमा गरेको यात्राको बारेमा उसलाई ज्ञान हुनेछ । आकाश र अन्तरिक्षको खोज र अन्वेषणको बारेमा जानकारी हुनेछ । ताराहरु गन्न कोशिश गर्नेछे । मनुष्य जुनी यति सुन्दर हुँदाहुँदै पनि मानिस किन रिसाउँछ । इष्र्या र डाह किन हुन्छ ? अहंकारको ज्वाला किन भड्किन्छ ? एक अर्काको विरुद्ध मानिस किन लड्छ ? – उसका प्रश्नहरु हुन सक्तछन् ।
सिकन्दर युरोपबाट लड्दै भारतसम्म किन आइपुग्नुपर्यो ? ग्रीस र पर्सियाको लडाईं किन भएको होला ? पहिलो विश्वयुद्धमा दुई करोड मानिस मारिनुको के कारण होला ? दोस्रो विश्वयुद्धमा करीव ६ करोड मानिस मारेर को स्वर्ग गयो होला ? वर्तमानमा राष्ट्र राष्ट्र बीचमा किन यत्रो मारामारी ? धर्मभित्र र धर्मधर्मको तथा जाति जातिको बीचमा किन यत्रो काटाकाट ? आर्याले प्रश्न गर्न सक्नेछे र विस्तारै परिपक्व हुँदै जानेछे । इतिहास र वर्तमानलाई बुझ्ने छे । उज्यालो र अँध्यारोको अस्तित्व र अन्तरलाई थाहा पाउनेछे । आफ्नो कदम उज्यालोतर्फ चाल्नेछे । फूलबारी निर्माणमा लाग्नेछे । बगैंचा निर्माणमा लाग्नेछे ।

