अलमल र संकटमा उपेन्द्र यादव
मनोज कुमार कर्णविक्रम संवत् २०६३ सालमा मधेशी जनअधिकार फाेरमकाे नाममा मधेश र मधेशीका अधिकारहरूबारे संयाेजककाे रूपमा देश दुनियाँले उदाएकाे देखेका उपेन्द्र यादव हालसम्म आफूलाई मधेशका मशिहा “भगवान”काे रूपमा देख्छन् । जबकि उनिभन्दा पहिलादेखि नै सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह, २०४२ सालकाे सत्याग्रहताका काँग्रेसबाटै निस्केका रामराजाप्रसाद सिंह तथा राजा त्रिभुवनकै पालामा रघुनाथ ठाकुर “मधेशी”हरू मधेशी अधिकारका लागि शासकवर्गबाट अति प्रताडित तथा “ठाकुर”ले) ज्यानपनि गुमाएका छन् ।
फाेरम दलकाे यात्रादेखि आजसम्म एक दर्जन पटक फुट्नु र जसपा नेपाल बन्ने बेलासम्म २०६४ सालकाे फाेरम ५२ सिटबाट ५ सिटमा संसदमा खुम्चेकाे छ । अपवादबाहेक २०६५ सालदेखि निरन्तर केन्द्र र मधेश प्रदेश सरकारमा भर्खरसम्म उपेन्द्र यादव, जसपा नेपाल सरकारमा थिए भने उनी नेपाल/एशियाका प्राय: दलहरू खासगरी कम्युनिस्टहरूकाे जस्ताे अपरिवर्तनीय “संयाेजक/अध्यक्ष” भईरहेका छन् । मन्त्रीहरू पठाउँदा उपेन्द्रले अन्य जातलाई पनि वास्ता त गरे तर उनी स्वयं र निश्चित व्यक्ति उनका मन्त्रीमा “नाम आउट” भएका मानिन्थे जसकारणपनि पार्टी पटकपटक फुट्याे ।
अवश्य पनि काँग्रेस, एमाले, राप्रपा, माओवादीले मधेशवादी र साना दलकाे अस्तित्व मेट्न भरमग्दुर प्रयास गरेकै हुन् ताकि मधेशीहरूले अधिकारका नाममा शासक हामी पुराना दलकाे हाथबाट “डाडूपन्यू” समावेशिता, समानुपातिक, आरक्षण, संघीयता, प्रदेश संरचना आदिका नाममा नखाेसून् । यिनै आलाेकमा गत ज्येष्ठ २८ गते साेमवार साल २०८१ देखि बुधवार ज्येष्ठ ३० गतेसम्म जसपा नेपालकाे “एकताकाे राष्ट्रिय अधिवेशन” भइरहेकाे छ । यस अघि साल २०६५ मा वीरगञ्जमा महाधिवेशन हुँदा थारूकाे नाममा विजय गच्छेदारहरू फुटेर फाेरम लाेकतान्त्रिक गठन गरेका थिए ।
जसपा नेपालकाे मुद्दाबारे
गत मङ्गलबार जेठ २९ गतेको कान्तिपुर दैनिकमा जसपा युवा नेता तथा मधेश प्रदेशका पूर्व मन्त्री सुरेशकुमार मण्डलका लेखकाे मुख्य बुँदा यस्ता छन्- जसपाकाे आधारक्षृत्र मधेश र समाजवाद दुवै आधारमा माेर्चाबन्दी (मधेशमा कम्युनिस्ट धार समातेकाे); आन्दाेलनकाे ऊंचाई पहिचानमा आधारित स्वायत्त शासनसहितकाे संघीय प्रणाली, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारिणी अधिकार भएकाे राष्ट्रपतीय शासन प्रणाली, पूर्ण समानुपातिक संसद, निर्वाचन प्रणालीमा परिवर्तन, अधिकार र पहिचानमा आधारित राज्यकाे पुन: सीमांकन, बहुभाषिक नीति, एकल आधिपत्यकाे अन्त्य, समानुपातिक समावेशी, सीमान्तकृत समुदायकाे सशक्तीकरण, जातीय तथा लैंगिक विभेदकाे अन्त्य, सामाजिक र आर्थिक न्यायकाे प्रत्याभूति ।
त्यस्तै, कार्यदिशाकाे रूपमा सामन्तवादी, पूँजीवादी साम्यवादी शक्तिकाे विकल्पमा समाजवादी लाेकतान्त्रिक धार निर्माण गरेर जाँदा देश लाेकतन्त्र, संघीयता, गणतन्त्र, सुशासन, समृद्धि, सामाजिक न्याय, समाजवादी लाेकतान्त्रिक युगमा नेपाल प्रवेश गर्ने र त्यसका लागि पहिला जसपा नेपालले वैचारिक, सैद्धान्तिक र दार्शनिक हिसाबले स्पष्टरूपमा मजबूत हुनुपर्ने उल्लेख गर्छन् (कान्तिपुर दैनिक, २०८१ ज्येष्ठ २९ गते मंगलवार, पृष्ठ ५) ।
मंडलले वर्तमान मधेेश प्रदेश ६ टुक्रामा विभाजितलाई बढीमा नारायणी नदिकाे पूर्व र पश्चिमका सबै भागलाई समेटेर मधेशलाई दुई प्रदेशमा मिलाउनुपर्ने, मधेशबाट दुर्व्यसनी, भ्रष्टाचार, विकृति आदि हटाउनलाई जसपा नेपाललाई मजबूत हुनुपर्छ र साेकाे लागि आस्था तथा मुद्दा मिल्नेहरूसँग कार्यगत एकता गर्ने उल्लेख गर्छन् । मंडल उल्लेख गर्छन् कि शासकवर्गले मधेशी-मधेशीलाई धार्मिक अन्धभक्तहरूलाई (चाहे हिन्दू हाेस् वा मुसलमान) आपसमा जुधाएर रमिता हेरी आन्दाेलनलाई कमजाेर बनाउन लागि परेका छन् । अवश्यपनि जसपा नेपालका नेताले आमसञ्चारमा त्यही उल्लेख गर्ने हुन् जे केन्द्रीय अध्यक्षकाे विचार हुन्छन् ।
माथि उल्लेख गरिएझैं स्वयं जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले साेही दिन २०८१ ज्येष्ठ २९ गते मंगलवार “दृष्टि साप्ताहिक”लाई पृष्ठ ५ मा दिएकाे अन्तर्वार्तामा भनेका छन् । यादबले पनि संक्षेपमा संघीयता, समावेशिता, पहिचान, प्रतिनिधित्व र उत्पीडित समुदायहरूकाे मुक्ति र अधिकार, समावेशी लाेकतन्त्र आदिलाई पूर्ण स्थापित गरेर शाेषित, पीडित समुदाय, मधेशी, आदिवासी, जनजाति, दलित, महिला, थारू, मुस्लिमलगायतलाई अधिकार र समावेशिता अझै पुगेन भनेर त्यसमा लाग्नुपर्ने बताउँछन् । अध्यक्ष यादबका अनुसार स्वयं माओवादी अध्यक्ष तथा प्रम प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीहरू संघीयता विराेधी हुन् किनकि क्रमश: हेर्दा प्रम प्रचण्डले कर्मचारी समायाेजन ३० दिनभित्र गर्छु भनेकामा ३० महिनामा पनि नगरेका छन् भने ओलीले संघीयता बाहिरबाट लादिएकाे बताउँछन् ।
उपेन्द्रकाे दाेधार तथा संकट
माथि जसपा नेपालकाे मुद्दाबारे नेताद्वय उपेन्द्र यादव र सुरेश मंडलले सार्वजनिक गर्नुभएका विचारहरूलाई नै हेर्दा उहाँहरू दाेधारमा हुनुहुन्छ भन्ने देखाउँछ, जुन सायद “एकताकाे राष्ट्रिय महाधिवेशन” भनिएकाेमा लगभग दाेधारवाला वा प्रष्ट अध्यक्ष उपेन्द्र यादवले जे अन्तिम बाेल्ने हुन्, त्यही “पार्टी दस्तावेज” पारित पनि हुनेछन् किनकि पार्टीभित्र उपेन्द्रलाई काउन्टर दिने तत्काल अशाेक राईहरूले सात सांसदसहित जसपा निर्वाचन आयाेगमा गैह्रकानूनीरूपमा भएपनि दर्ता गराईसके भने अब बाँकी असहमतिका आवाजहरू “गुम्सिएरै” रहला । यसकाे कारण के हाे भने नेपालमा दल खाेलेर टिकाउनु हाल सामान्य मान्छेकाे बुद्धि र आर्थिक हैसियतले भ्याउने कुरा हाेईनन् ।
माथि अध्यक्ष यादव र नेता मंडलका कुरा के-के समान छन् भने दुवैजनाले पार्टीकाे “स्पष्ट” दृष्टिकाेण बनाउने कुरा स्वीकारेका छन् अर्थात्, पछिल्लाे मधेश आन्दाेलन २०६३ सालदेखि आजसम्म मधेशी आन्दाेलनका मुद्दा र शहीदका नाम सत्ताकाे भर्याङ्गका लागि प्रयाेग गरिए ! अर्काे समानता उहाँहरूमा मुद्दाकाे प्रस्तुतीकरणमा र ठूला स्थापित पुराना मूलधारका भनिएका दलहरूप्रति जसपा नेपालकाे धारणा हुन् । तर, स्वयं नेता उपेन्द्र यादवमा धेरै दाेधार देखिन्छन्, शायद स्वयं प्रम तथा माओवादी सुप्रिमाे प्रचण्डले सिन्धुलीमा उनी स्वयंले जसपा नेपाल फुटाईदिएकाे भाषण छाँटेकाे तथा निर्वाचन आयाेग संवैधानिक निकायबाट स्वतन्त्र भूमीका निर्वाह नभएर एमालेकाे पार्टी एकाई कार्यालय जस्ताे व्यवहारबाट विक्षिप्त भएर बाेलेका हुन सक्छन् (दृष्टि साप्ताहिककाे साेही अन्तर्वार्ता) ।

समयकाललाई स्मरण गर्ने हाे भने २०६३ सालपछि तत्कालीन मधेशी जनअधिकार फाेरम (उपेन्द्र संयाेजक) काे अगुवाईमा फाेरमकाे माग “सम्पूर्ण मधेश एक स्वायत्त प्रदेश”कै मागमा सद्भावना तथा तत्कालीन तराई-मधेश लाेकतान्त्रिक पार्टीहरू ईर्दगीर्दमा घुमिरहेका थिए । तर उनी डा. बाबुराम भट्टराई (तत्कालीन माओवादी उपाध्यक्ष) थिए जसले फाेरमबाट जेपी गुप्ता तथा तमलाेपाबाट हृद्देश त्रिपाठीलाई पहिलाेचाेटी मधेशवादी दलहरूमा वैचारिक घूसपैठ गरेर “दुई प्रदेश”मा सहमति गराएर चितवन पूर्वमा गुप्तालाई र चितवन पश्चिममा त्रिपाठीलाई मुख्यमन्त्री बनाईदिने झाँसा दिएर “एक मधेश-एक प्रदेश” माँग भाँडेका थिए । ईतिहास साक्षी छ कि मधेशीकाे चाहनामा नेताभएर चिप्लिने गुप्तालाई डा. बाबुराम भट्टराईकै सरकारमा सञ्चारमन्त्री छँदै भ्रष्टाचारकाे आराेपमा सर्वाेच्च अदालतबाटै प्रहरीकाे ट्रकमा राखेर डिल्लीबजार जेल पुर्याएर त्यहींकाे “मुख्यमन्त्री” बनाईयाे भने त्रिपाठीले जित्ने चुनावी क्षेत्रलाई टुक्र्याईदिएर आज कुनै “जंगलकाे अज्ञातवास” राजनीतिमा बनाईदिएका छन् । आज सुरेश मंडलले चितवन नभनी नारायणि नदी पूर्व र पश्चिम गरि हालका ६ टुक्रा मधेश प्रदेशलाई दुईटामा समेट्ने भनिरहेका छन् । तर उपेन्द्र स्वयंले पनि बाहिर “एक मधेश – एक प्रदेश” नारा दिएपनि “हिमालिनि” हिन्दी मासिक नेपाली म्याग्जिनमा “काेशी पूर्व र पश्चिम गरि दुई प्रदेशमा मधेशलाई बाँड्न सकिने” अन्तर्वार्ता दिएका थिए । बाेल्ने एउटा नारामा तर सुटुक्क अन्तर्वार्ता दिने अर्काे चाहिँ विचलन वा दाेधार वा जनतालाई धाेका दिने नभई अरू के हुन् ?
उपेन्द्रमा देखिएकाे अर्काे दाेधार भनेकाे स्वयं उनले “मधेश आन्दाेलन” काे मशिहा आफूलाई भनेर “मधेशवाद कुनै वाद हाेईन” भन्ने कुरा कसैकाे दबावमा बाेलेर जनतालाई भ्रममा पारे । उता, मुद्दामा नै मुख्य भ्रम उपेन्द्रमा हेर्दा जसपा नेपालका माथि उल्लेखित दुवै नेताका विचार पढ्दा र ज्येष्ठ २९ गते मंगलवारनै “कान्तिपुर टिभि”मा समेत जनकपुरकाे जसपा नेपाल महाधिवेशनबारे बाईट सुन्दा, त्यसका अन्य नेताहरूका बाईट सुन्दा एकातिर नेपाली काँग्रेसलाई “यथास्थितिवादी” भन्छन् तर “दृष्टि साप्ताहिक”काे अन्तर्वार्तामा उपेन्द्रले भने काँग्रसलाई संघीयता, लाेकतन्त्र, गणतन्त्र स्वीकार गरेका बताएका छन् । अब हेराैं, एकातिर “समाजवादी केन्द्र” बनाएर उनै उपेन्द्रले एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लवहरूसँग मित्रता गरेर काँग्रेसलाई केही मात्र हप्ता/महिनासम्म काँग्रेस-लाेसपा, जनमतहरूलाई एक्ल्याउँथे भने आज कम्युनिस्ट दल/नेताजतिलाई घृणा (माधव नेपालकाे लाचारपनबाहेक) गरि काँग्रेस कित्ताकालाई मित्र ठानिरहेका छन् !
नेता सुरेशले मधेशी, मुस्लिम, महिला, आदिवासी आदिलाई थप अधिकार दिलाउने जसपा नेपालकाे याेजना रहेकाे बताएपनि याे दाेधार कुरा हाे किनकि मुस्लिम लालबाबू राउत गद्दीकाे पालामा भारतबाटसमेत अवैध रेहिंग्याहरू (तलपनि उल्लेखित छ) “स्वागत” गरिएर क्रिश्चियन तथा मुस्लिम विस्तारवादी दलहरूकाे अधिकार र विशेष अधिकारहरूकाे रक्षा गरिए भने सनातन-हिन्दू धर्ममाथि पशुपतिनाथ, जानकी मन्दिर वा बाैैद्ध धर्मावलम्बीका मूर्तिहरू ताेडिएर फालिने, सनातनका मूर्तिहरू विसर्जनमा निरन्तर अवराेध पुर्याईने उच्छृंखल गतिविधिमा निरन्तरता आए । अब कति र कस्ताे थप “सशक्तिकरण” सनातन, जैन, बाैद्ध आदिमाथि आक्रमण गरेर मुस्लिम-क्रिश्चियनहरूलाई गरिने हाे ? अस्थिर मन:स्थितिवाला नेतृत्वले दललाई कुनै दिशा निर्देश दिन सक्दैन ।
मुद्दामा नटिक्नेकाे दलकाे हैसियत उपेन्द्र यादबकै पार्टी मधेशी जनअधिकार फाेरमबाट जनता समाजवादी पार्टी नेपालसम्म आइपुग्दा करिब एक दर्जन चाेटी फुट्नु र २०६४ चैत्रकाे पहिलाे संविधानसभा निर्वाचनमा जितेकाे फाेरम ५२ सिटबाट आज ५ सिट सिंगल डिजिटमा अड्किनु हाे ! अझ चेत् खुल्ला कि अझ जनतालाई मूर्ख बनाउन नारा र मुद्दाहरू दिनहुँ तय गरिएला, ठेगान छैन ।
मधेशमा उपेन्द्रकाे परिचय
उपेन्द्र यादव एक अस्थिर पात्र राजनीतिमा मानिन्छन्, हुनसक्छ कि उनकाे मधेश आन्दाेलन बचाउन साँच्चिकै विगतमा मजबूरी रहेका हाेलान् वामपन्थी दलहरू बदल्ने वा, अब भाेट ब्याङ्क जाेगाउन मधेशकाे पहिचान उनले भारत बिहार र उत्तरप्रदेश राज्यका लालू यादब, अखिलेश यादब जस्तै “मुस्लिम-यादब अर्थात्, एम-वाई, भाई – भाई” काे नारा दिने “मजबूरी” किन नहाेस् ! सन् २०२० काे काराेनाकालमा साे बेला “जन आस्था/दृष्टि” साप्ताहिकमा उल्लेख भएकाे अनुसार उपेन्द्रले भारतबाट बङ्गलादेशी, बर्मेली रेहिंग्या आतंकवादी मुसलमानहरू लखेटिँदा नेपालमा उनिहरूलाई स्थानिय प्रशासनसँग मिलेर नागरिकता र प्रति परिवार घडेरी वा पचास हजार नगद दिई उनिहरूकाे “व्यवस्थापन” काे जिम्मा चीनकाे “लगानी” ललितपुरका एक श्रेष्ठ थरका व्यापारीबाट कपिलवस्तुकाे एक हाेटलमा एक किस्ता स्वरूप नाै कराेड रूपैयाँ बुझेकाे आराेप लागेकाे हाे । अर्थात्, उपेन्द्र यादबलाई मधेशीहरूले भारतभन्दा चीन “मैत्री” भनेर चिन्छन् ।
यस्ताे भनिन्छ कि माओवादीहरू जंगलबाट शहरमा आउँदा शान्तिपूर्ण भनेपनि ज्यादतिहरू गरिरहँदा र देशमा गणतन्त्र माओवादीले ल्याएकाे “क्रेज” एकतर्फी बढिरहँदा उसकाे क्रेज घटाउनलाई उपेन्द्रकाे मधेशी अधिकारकाे फाेरमकाे आन्दाेलनलाई अन्तरीम प्रम तथा काँग्रेस सभापति गिरिजाप्रसाद काेईरालाले गर्न “सघाउन” थाले । जहाँ उपेन्द्र र प्रचण्ड कम्युनिस्टहरूले देश र मधेशमा बर्चस्व कायम गरिरहेका थिए, त्यहाँ लाेकतनन्त्रिक शक्ति तमलाेपा महन्थ ठाकुरकाे अगुवाईमा वृषेशचन्द्र लाल, विजय गच्छेदारहरू ठेट् चेलाहरूलाई पठाएर काेईरालाले खाेल्न लगाए जुन तमलाेपालाई गिरिजाबाबु बित्नुहुँदा सुशील काेईराला, शेरबहादुर देउवा सभापतिहरूले आदरसहित फिर्ता गराउन नसकेकाे दिवंगत काँग्रेस नेतृ मीना पाण्डे र तमलाेपा नेता वृषेशलेपनि साल २०६९ मा यस स्तम्भकारसामु भेद खुलाएका थिए । यहाँ सारांश के आउँछ भने उपेन्द्र नेताबाट कठपुतलीमा पनि परिणत भइरहने मध्ये एक व्यक्ति हुन् नत्र गिरिजाबाबू वा अन्यकाे कुरामा लाग्नुभन्दा मधेशी मागमा स्वविचारले चल्नुपर्थ्याे ।
उपेन्द्रका जसपा नेपालमा आज बाध्यतावश मात्र पाँच सदस्यीय अध्यक्ष मंडल देखाउनका लागि तत्काल बनाईएकाे छ तर महाधिवेशनबाट एक अध्यक्ष उपेन्द्र यादब “चयनित” नै हुनेछन् । अर्थात्, जसपा नेपालमा केन्द्रदेखि जिल्ला आदि संरचनामा यादव एकल जातकाे बाहुल्य देखिन्छ भने नियुक्तिका अवसरहरूमा पनि त्यस्तै देखिन्छ । याे आफैंमा जातीय दम्भ हाे, जसकाे काउन्टरमा जनमत पार्टीका डा. सीके राउतले सतीश सिंह “राजपूत”लाई मधेश प्रदेशमा मुख्यमन्त्री चयन गरिदिएर आफ्नाे दल “भूरावाल” (भूमीहार, राजपूत, ब्राम्हण र लला अर्थात् कायस्थ) विराेधी हुन् काे आराेपलाई चिरेर सित्तैमा मुद्दालाई उपेन्द्रबाट क्याच गरिदिएका छन् ।
अन्त्यमा
उचाट मन:स्थितिवाला चाहे उपेन्द्र यादव हाेस् वा राजेन्द्र महताे, जसले मधेशकाे मुद्दा मधेशवादी अर्का दल वा काँग्रेस, एमाले, माओवादी, राप्रपा आदिमा स्थापित मधेशी नेता जाे एकाधजना छन्, उनीहरूसँग मिल्न नसक्ने, सबै क्रेडिट आफैंले लिने, शहीदकाे रगतलाई सत्ताकाे भर्याङ्ग बनाउने जस्ता गलत कर्म गर्नेहरू आम मधेशी जनता, शहीदका वैरी त हुन् नै साथै जीवनभर कहिल्यै सफल हुन सक्दैनन्, व्यवहारमा परिवर्तन नल्याए अरू काेही “गिरिजाबाबू/ओली/प्रचण्ड/राजा” आदिद्वारा केवल “प्रयाेग” हुने हुन्, क्षणिक सत्ता त पाउने हुन् तर मधेशी जनता भने सधैं ठगिने हुन् !
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक समेत हुनुहुन्छ)

