कथा: दोषी चश्मा

विश्‍वेश्‍वरप्रसाद कोइराला

केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चश्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन ।

तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एकदिन सधैंको जस्तो चाकरीमा गएका थिए, तर ५ बज्दा पनि जर्साबको सवारी भएन । आज सवारी हुँदैन कि ? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के । तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे । साँझ पर्न लागेको थियो । सूर्यलाई पश्चिमतिर पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिंदै आएको थियो तर आकाशतिर सूर्यका लामा रश्मि तेर्सिरहेका थिए । साथीभाइसँगै छुट्टिएका, बाटो बिराएका, एक–दुई बादलका टुक्रा आकाशमा रँगमगिंदै थिए । केशवराजलाई यो दृश्यले लोभ्यायो । उनी पनि आज जर्साबको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे ।

अरु दिन भएको भए जर्साबका चाकरी नपाउँदा तिनी कति दुखित् हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो । फूर्तिसँग डेग बढाउँदै धानको लहलहाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए । त्यो टाढाको कालो वस्तु ढुङ्गा हो कि मुढो हो कि, भैँसी हो कि त मानिस नै हो, यो तिनले ठम्याउन सकेनन् । चश्मा कस्तो बेकामको भएछ, तिनले फेरि सम्झे । तर यो बिचारले तिनलाई धेरै बेर चिन्तित पारेन त्यसै बखतमा पछिल्तिरबाट ’भों, भों’ गर्दै एउटा मोटर आयो । मोटरको नम्बर हेरेर ‘स्वस्ति’ गर्नुपर्ने हुनाले, चश्माको घेरालाई देव्रे हातको बुढी र चोर औंलाले समातेर उनले मोटरको नम्बर–प्लेटलाई गौर गरे ।
‘धत्, यो चश्माले ठ्याम्मै काम नचल्ने भयो ।’ मोटरको नम्बर उनले पढ्न सकेनन् । त्यसै बखतमा मोटर हर्र गयो, अनि पो मोटरलाई र मोटरमा राज भएका जर्साबलाई तिनले चिने र हतपताउँदै स्वस्ति गरे । चश्माले यँहा पनि धोका दियो ।

‘चश्माको पावर ठीक भएको भए म स्वस्ति गर्न पाउँथें, चाकरी पुग्थ्यो’, केशवराज हतोत्साह भए । उनले धेरै दिनदेखि आँखा जँचाई नयाँ चश्मा लिने विचार गरेका थिएस कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेशको महत्व तिनले आजै बुझे । चश्मा नफेरी त तिनलाई धेरै थिएन । फेर्न त परिहाल्थ्यो र तिनले फेर्ने निश्चय पनि गरेका थिए । तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन ।

तिनलाई मर्का पर्ने त एउटा अर्को कुरो छ । जर्साबले तिनलाई निश्चय नजर भयो होला । तिनी ठिङ्ग मोटरतिर फर्किरहे, स्वस्ति गरेनन् । यो नटेरेको हुन्छ । उहाँबाट नटेरेकै हो भन्ने ठानिबक्स्यो होला । यतिका दिन चाकरी गर्दा पनि केही बन्दोबस्त जर्साबबाट नहुँदा केशवराजले यस्ता जर्साबलाई के टेर्नु भनेर नटेरेको भन्ने जर्साबका मनमा प¥यो होला । ठूला मानिसहरु इज्जतका कुरामा बडा इखालु हुन्छन् र पछिसम्म सम्झिरहन्छन् । केशवराजलाई बडो गाह्रो प¥यो । तिनका सारा आशा–भरोसा मौसूफ जर्साब होइबक्सन्थ्यो र उहाँले यस्तो भूल धारणा मनमा लिइबक्स्यो भने त तिनको बासै उठ्यो ।

यसरी यो कुरा विचार गर्दै तिनी घर पुगे । साँझ झमक्क परिसकेको थियो । घर पुग्दा तिनलाई रिस उठ्न थालिसकेको थियो । सबभन्दा पहिले त तिनको रिस चश्मामाथि खनियो,‘यो ठाँडो । त्यसपछि आफूमाथि खनियो, ‘यो मूर्ख, काम पहिले बिगारेपछि आँखा देख्ने… दैलो देख्यो ।’

कोठामा पुगेर लुगा फुकाल्न थाले । टिमिक्क परेको सुरुवाल तिनको गोडाबाट हतपत निस्कन खोजेन, त्यसमा तिनको क्रोधको झन् मात्रा बढ्यो र जब सुने भातमा केही बिलम्ब छ, तिनको क्रोधको सीमा रहेन । उर्लदै फलाक्दै तिनी बुइगलमा पुगे, जहाँ दिउँसो राम्ररी नहेरेर किनेको चिसो दाउरालाई फू फू गरी बाल्ने प्रयत्नमा तिनकी धर्मपत्नी लागेकी थिइन् ।

‘जैरी, बडी सिपालु म छु आफूलाई भन्छे, घमन्ड छ यसलाई, आफ्नो पोइलाई टायममा भातसम्म खुवाउन पनि सक्तिन । ए मोरी, के गरिरहेकी थिइस् यतिका बेर ? दुई घडी रात गएपछि चूल्हो फुक्न लागिरहिछस् ? काममा बाहिर गयो, लखतरान भइ घर फर्क्यो र अब गाँस टिप्न पाइएला भन्यो त यहाँ ।’ र अरु के के फलाकिरहे । यो अचानकको क्रोध देखेर तिनकी स्त्री डराउनुको सट्टा छक्क परिन् ।

भात खाएर सुत्दा तिनलाई निद्रा परेन । रातभरि ’अहँ अहँ’ गर्दै बिछ्यौनामा छटपटाइरहे । तिनबाट निश्चय नै ठूलो अपराध भएको छ ! आफ्ना अन्नदाता अगाडि देखिनु, आफूले नटेरेर अभिवादनसम्म पनि नगर्नु, यो त निमकहराम हो, एउटा पाप पनि हो र केशवराजले आफ्नो त चित्त बुझाए । तिनले जानी(जानीकन नटेरेको होइन । हृदय तिनको पवित्र छ, अन्धोले देखेन भनेर कसैले रिसाउनु हुन्छ ? तिनको यसमा केही अपराध छैन । केवल एउटा सानो बिराम छ– पहिले नै चश्मा नसाट्नु, यध्यपि तिनको केही अपराध छैन तर जर्साबको दिलमा त नराम्रो प¥यो होला । जर्साबको मनमा मैले नटेरेको भन्ने भावना त पर्न दिनु हुँदैन । केशवराजले त्यो भूल निवारण गर्ने कुनै युक्ति देखेनन् ।

ननिदाएर छट्पटाएका देखेर तिनकी पत्नीले सोधिन्, ‘किन निद्रा परेन ? केको दुःख छ ? मर्जी होस् न ।’mपहिले त केशवराजलाई यो प्रश्नमा रिस उठ्यो, काम न काज सबै कुरो जान्न खोज्छे र आफ्नो क्रोध काबुमा राखेर केवल ‘केही होइन’ भन्ने मात्र उत्तर दिए । दुलहीबाट यो कुराको बिषयमा केही सल्लाह मिल्न सक्छ भन्ने तिनलाई आशा नै थिएन– यो यत्रो ठूलो कुरा ! त्यसो हुनाले दुलहीलाई केही भन्न उनलाई मन लागेन । तर दुलहीले ढिपी गर्दा त्यो विशेष घटनालाई नभनेर गोल बोलीमा कुरा गरे, ‘मबाट एउटा कसूर भयो । एउटा ठूलो मानिसलाई मैले नटेरेको जस्तो गरेँ । अब के उपाय गर्ने ? तिनी रिसाए भने त बडो बरबाद भयो ।’
केशवराज आत्तिएका थिए । दुलहीले सजिलैसँग उत्तर दिइन्, ‘गएर माफी माग्नुहवस् न ! भैहाल्छ नि ।’

यो युक्ति तिनलाई पनि मन प¥यो र भोली बिहान गई माफी माग्ने निश्चय गरे । अब त तिनलाई निद्रा चाहिएन, तर कहिले बिहान होला भन्ने ध्याउन्नले तिनले बाँकी रहेको रात उपयोगमा ल्याउन सकेनन् र झिसमिसेमै उठेर लुगा लाएर जान तयार परे । केवल घडीले अवेर गरिदियो ।

अझै आठ बज्न तीन घण्टा बाँकी छ । आठ नबजी जर्साबको तल सवेरी हुँदैन । चाकरीबाजको टायमै त्यही हो । पर्खदा पर्खदा तिनले सम्झे । आफ्नो घरमा पर्खनुभन्दा त ढोका नै कुर्नु असल हो नि भनेर छ बजे तिनी जर्साबकहाँ जान भनी हिंडे । साइत नपरेको होइन–खर्पनभरि दहीका कहतरा देखिए, काम सिद्ध हुने भयो ।दुई घण्टा ढोका कुरेपछि बिस्तार चाकरीबाज आउन थाले र दरवारको अघिल्तिरको चौर मान्छेले भरियो । निन्याउरो मुख लाएर केशवराज छुट्टै बसेका थिए । छुट्टै बस्नाको उनको महान् उद्देश्य के थियो भने घुइँचोमा कसलाई नजर हुन्छ कसलाई हुँदैन, थाहा पाइँदैन, राम्रो चाकरी पाइन्छ र एकान्तको मौका प¥यो भने माफीको कुरा पनि बिन्ती गर्न पाइन्छ । पर्खालभित्रबाट घोडाको टापको संगीत सुन्न भनी उत्सुक भैरहेका केशवराजका कानमा जर्साबको क्रुद्ध–वाणी प¥यो ।

कुन्नि के काम बिगार्दा जर्साब सइसमाथि रिसानी भैरहेको थियो । उहाँको शान्त स्वभावका विषयमा सबैको एकमत छ, उहाँले रिसाएको कसैले देखेको छैन । आज किन रिसानी भयो त ? उहाँको क्रोध शब्दका रुपमा पर्खाल छेडी बाहिरसम्म आइरहेको थियो ।

केशवराजले उहाँको रिस थाहा पाए । हिजोको कुराले उहाँलाई निकै चोट परेछ । चोट पर्ने कुरै थियो । ठूला मानिसको अहङ्कारमा धक्का दिनु तिनिहरुको सबभन्दा कोमल स्थानमा स्पर्श गर्नु हो । सहन सक्तैनन् । अहँ, यो क्रुद्ध अवस्थामा केशवराजले माफी माग्नु उचित छैन । कहीँं क्रोधको धारा आफ्नै टाउकोमाथि बग्न गयो भने ? केशवराज घरतिर फर्के ।

बाटामा तिनमाथि नाताकतको दौडाहा भयो । हिजो राति भात पनि राम्ररी खाएका थिएनन् । निद्रा ता पटक्क लागेको थिएन र आफ्ना विरामका विषयको कुरा मनमा खेलाउँदा तिनी बिरामीजस्ता भए । एक डेग हिँड्दा पनि तिनको दम फुल्न थाल्यो । आफ्नो यो अवस्था देखेर उनलाई आफूमाथि दया लाग्न थाल्यो औ नबुझेर सानो कुरामा रिसाउने जर्साबसँग रिस उठ्न थाल्यो ।

‘मेरो कुन ठुलो अपराध हो र ? चश्माले भेट्टाएन, चिन्न सकिनँ, तेसो हुनाले स्वस्ति गरिनँ । सधैं त बिहान–बेलुका गई ढोका कुरी बसिहालेको छु नि । मेरो मनसुवा उहाँलाई नटेर्ने भएको भए यसरी किन चाकरी गर्थेँ ? त्यति पनि त बुझिदिनुपर्छ । उहाँबाट बिनाकारण ममाथि रिसानी हुन्छ भने के लाग्यो मलाई पनि खाँचो छैन । आफूले मर्नु हुँदैन ।’
तर, घर पुग्दा नपुग्दै तिनको यो विचार हरायो र पहिलेकै विचार मनमा आउन थाल्यो । “जसले चाकरीकै भरमा दुई साँझ गाँस टिप्छ, ऊजस्ताले त्यस्ता ठूलासँग टेक राख्ने रे । अहँ अहँ, एउटा भूललाई अर्कोले सच्याउन सक्तैन । गएर माफी माग्नै पर्छ ।

भरे फेरि क्षमायाचनाका निमित्त केशवराजले ढोकातिर प्रस्थान गरे । जर्साबको घोडामा सवारी भयो । केशवराज डरले थर(थर कामिरहेका थिए । भने जस्तो एकान्तको मौका पाएर डरले भकभकाएर बिन्ती गरे– ‘प्रभु ! चश्माको दोष‘‘ माफ पाऊँ ।’जर्साबले घोडा थामेर नबुझेर सोधिबक्सियो,‘के भन्यौ? केको माफी ?’

केशवराजको सातो गयो । जर्साब कति रिसाइबक्सेको रहेछ । माफीसम्म दिन खोजिबक्सिन्न । केशवराजले चारैतिर अँध्यारो देख्नथाले, काम्न लागेको गोडाले भर दिएन । दुवै हातले कपाल समातेर थुचुक्क बसे । जर्साबले धेरै खोजिनिती नगरी घोडा बढाइबक्सियो । घोडाको टापले उडाएको धूलोले सडकको एक कुनामा कपाल समातेर बस्ने केशवराजलाई ढकमक्क ढाक्यो ।

केशवराज एक्कासि ५० बर्षका बूढाजस्ता देखिन थाले । हिँड्दा कम्मरमा हात लाउनु पर्ने भयो, लट्ठीको आवश्यकता परेको तिनले थाहा पाए । केशवराजको कल्पना सत्य निस्क्यो । जर्साब रिसानी भएछ, औ अघोर रिसनी भएछ । घर पुगेर निराश भएर लामो सास तानेर बाहिर जाने लुगा नफुकाली कोटैसमेत बिछ्यौनामा उनी पछारिए र खान्नँ भनेर समाचार पठाए ।

केशवराजको बाँच्ने प्रेरणा जागरित भयो । तिनले यसरी खुट्टा छोड्नु हुँदैन । तिनले जर्साबलाई बुझाउनै पाएनन् । राम्ररी बुझाएको भए जर्साबले निश्चय नै माफी बक्सिन्थ्यो । यहाँ दयाको सागर होइबक्सिन्छ । आफैं आत्तिएर वाक्यै ननिकाल्ने ? सोझै माफ पाऊँ भनेर माफी पाइन्छ ? घटनाको सब इतिहास, चश्माले दिएको धोखा, पछि स्वस्ति पनि गरेको, र मोटरको क्यारेज बाक्स इत्यादि सब खुलासा गरे पो माफी पाइन्छ । भोलिपल्ट बिहान उठेर फेरि ढोकामा गए । जर्साबलाई आदिदेखि अन्त्यसम्म सुनाए । जर्साबबाट मर्जी भयो, ‘बुझें, बुझें, म त्यति पनि बुझ्दिनँ ? तिमी त बडा अनौठाका मानिस रहेछौ । यस्तो जाबो कुरामा ।’

केशवराज निर्धक्क भए । जर्साबबाट बडो करुणा राखी माफी बक्सियो । कति दयालु होइबक्सिन्छ । यी सब गुण भएर त लक्ष्मी पनि यहाँ बास गर्छिन्स, कत्रो सुख छ । यी सब कुरा हिजै बिन्ती चढाएको भए तिनलाई यतिको मानसिक चिन्ता खप्नै पर्ने थिएन । तिनको मन प्रसन्न भयो । हिजोको चिन्ताले र तीन छाक भात नखाएको हुनाले केशवराजलाई निकै गालेछ । सिंढी चढ्दा दुईचोटि बिसाउनु प¥यो । कोठामा पुगेर थाकेको हुनाले उनी बिछ्यौनामा पसारिए । बुइगलमा नअटाई माथि जाने बाटो नपाई भन्साघरको धूवाँ केशवराजको कोठामा रङ्मगिरहेको थियो । तिनले सुतीसुती उँधो मुन्टो लाएर चिच्याए, ‘कति धूवाँ पारेको ?’ तिनकी पत्नीले माथिबाट कुन्नि के भनिन् केशवराजले सुनेनन् र सुन्न पनि खोजेनन् । चिच्याउँदा बल परेर तिनी स्वाँ स्वाँ गर्न थाले । असाध्यै नाताकत भएछ । तिनको मनमा हिजोको विचार खेल्न थाल्यो, ‘बुझें, बुझें, म त्यति पनि बुझ्दिनँ र, तिमी त बडा अनौठाका मानिस रहेछौ । यस्तो जावो कुरामा ।’

धूवाँको एउटा मुस्लो सिंढीमा लडीबुडी खेल्दै एउटा डल्लो भएर तिनको कोठामा आई फुट्यो । कोठा अँध्यारो भयो, तर केशवराज प्रसन्न थिए । माथि ’बुढी’ लाई दाउरा नबलेर कति कष्ट होला ! विचारीले यसै गरी दुस्खसँग जीवन बिताउनु पर्छ । केशवराजले भान्से बाहुन वा बाहुनीसम्म राख्न सकेका छैनन् ।

आफैं पनि केशवराजले सुख पाए र ? दुलही घरको दुःख खेप्छिन्, तिनी बाहिरको । बिहान चाकरीमा दगुर्नु पर्छ, दिउँसो दुई बजेदेखि फेरि चाकरीमा गयो । अरु केही काम छैन । चाकरीको घोडेयात्रा छ । कहिले त ‘जर्साब’ नजरसम्म पनि हुन्न ! केशवराजलाई ग्लानि भयो ।

(यस कथा स्व. विश्‍वेश्वरप्रसाद कोइरालाद्वारा लिखित हो भने यसलाई विभिन्‍न कक्षाका पाठ्यक्रममा पनि समावेश गरिएको छ ।)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय