चल्तीको फिल्मी ट्रेण्ड बदल्ने ‘पुजार सार्की’

पुष्कर नेपाल

भनिन्छ, चलचित्र समाजको ऐना हो । झट्ट हेर्दा बाहिरी संसारमा देखिएको जीवनशैली, समाज, परिवेश र पात्रलाई फिल्मी शैलीमा उतार्नु चलचित्र निर्माण गर्नु हो। मुख्यगरी फिल्मको कथा, पटकथा, संवाद,अभिनय गर्ने पात्रको छनोट, पात्रहरूको अभिनय, पात्रले बोल्ने भाषा,लगाउने भेषभुषा र त्यसलाई ठ्याक्कै मिल्ने छायांकन स्थलको बिचमा हरेक कुरा मिलाउन सक्नु  चाहिँ निर्देशकिय कला हो । उत्कृष्ट चलचित्र र कुशल निर्देशकको निर्देशकिय क्षमताको मुल्यांकन चाहिँ दर्शकले गर्ने हो।

तर, सुरुमा भनिए जस्तो चलचित्र निर्माण वा निर्देशन गर्दा कुनै कुराको कमि भयो वा टालटुले हिसाबले मात्रै मिलाउन खोजियो भने चलचित्र नराम्रो बन्ने मात्रै होइन निर्माताको पैसा डुब्ने र दर्शकको मन भाँच्चिने खतरा हुन्छ। यहाँ उल्लेख गरिएका क्षेत्र मध्य कैयौं नेपाली सिनेमाहरुले कहिँ न कहिँ गल्ती गरेकै हुन्छन् । यदि गल्ती गरेनन् र थोरै मात्र अभिनय, ग्रामिण परिवेश अनि पात्र छनोटमा ध्यान पुर्‍याउन सकेमा नेपाली दर्शकहरूले सिनेमा मन पराइदिएर अझै नयाँ सिनेमाहरु बनाउन उत्साह थप्नेछन् ।

नेपाली दर्शकलाई केही कुराले मात्र छोयो भने तेस्ता सिनेमाले अरु त्यस्तै दुई/चारवटा सिनेमा बनाउने खर्च जुटाईहाल्छ। त्यसका उदाहरण पनि केही चलचित्रले देखाइसकेका छन् ।

नेपाली सिनेमाले यथार्थता पक्डन सकेन, भारतिय सिनेमाको प्रभाव देखियो, विदेशी फिल्मको नक्कल गर्दै जबरजस्ती थोपरिएको नायकत्व बोकेको सिनेमा मात्र बनाउँछन्, अझ विदेशी सिनेमाको हुबहू ‘अक्कल विनाको नक्कल गर्छ’ भन्ने आरोप नेपाली सिने जगतलाई लाग्दै आएको छ । कतिपय सन्दर्भमा आरोप मात्रै होइन सत्य पनि हुने गरेको छ ।

यसै परिप्रेक्षमाथि तमाम नेपाली सिनेमा‌ माथि लाग्ने गरेको आरोप प्रत्यारोपको दर्हो खण्डन गर्ने ‘ताकत’ लिएर निर्देशक दिनेश राउतको चलचित्र ‘पुजार सार्की’ दर्शकमाझ आएको छ।देश तथा विदेशका हलहरुमा प्रदर्शनमा रहेको चलचित्र पुजार सार्कीले नेपाली दर्शकदिर्घालाई हलतर्फ आकर्षित गरेको स्पष्ट देखिन्छ ।

नेपाली जनताले रुचाउने यथार्थपरक कथा, पटकथा, संवाद तथा नितान्त ग्रामिण परिवेश झल्काउने भाषा, भेषभूषा र  अभिनयले निखारिएको पुजार सार्कीले आफ्नो शिर्षकको सार्थकता पनि पुरा गरेको छ। छायांकन स्थल छनोट र कलाकार छनोट पनि ज्यादै उपयुक्त र सत्यसँग  नजिक छ। कास्कीको पुरानो धार्मिक र ऐतिहासिक महत्त्व बोकेको कास्कीकोटमा यो चलचित्र छायांकन गरिएको छ।

२०४५/०४६ सालको राजनीतिक घटनालाई मुल कथा बनाएपनि चलचित्रले त्यसपछिका राजनैतिक आन्दोलन र गाउँको परिवेश अनि आजसम्म पनि हल हुन नसकेको दलितका मुद्दाको यथार्थ चित्रण गरेको छ। राजनीतिक परिवर्तन पछि सामाजिक जागरण ल्याउन कस्सिएका पुजार(आर्यन सिग्देल) र मैतबहादुर(प्रदिप खड्का)को दु:खद अन्त्य भएर पनि मेघराज खत्री(पल शाह)को राजनीतिक चेतनाले समाज परिवर्तन गराउने हुटहुटी अझै जिवित छ तर पीडा र संघर्ष जारी छ।

यो चलचित्रले एउटा व्यक्तिको मनोद‌शा, व्यवहारिक र पारिवारिक सम्बन्ध, समाजमा रहेका समसामयीक समस्या तथा द्वन्द मात्र प्रदर्शन नगरेर सिङ्गै राष्ट्रको राजनैतिक अवस्था, त्यसले ल्याएको सामाजिक फुट, राजनैतिक क्षेत्रमा जरा गाडेर उभिएको अवसरवाद, सिधासाधा जनतालाई परिवर्तन खातिर टाठाबाठा अगुवाहरु‌ले कसरी प्रयोग गर्छन् र उद्देश्य‌ प्राप्ति पछि दुधमा परेको झिंगा जसरी फ्याँक्छन् भन्ने बुझ्न पुजार सार्की काफी छ।

विकास सुवेदीले लेखेको कथामा चलचित्रले २०४६ सालको परिवर्तन र त्यसले स्थापित गरेको मुद्दालाई पनि पुर्व पन्च र बहुदलवादी मिलेर कसरी भागबन्डा गर्छन् भन्ने नेपाली राजनितीको आजसम्मको प्रवृत्तिलाई पनि सुन्दर ढंगले प्रस्तुत गरेको छ। समग्रमा भन्दा चलचित्र पुजार सार्कीले राजनीतिक अवसरवाद मात्रै होइन समाजलाई कसले कसरी नचाइरहेको छ भन्ने पनि देखाइदिएको छ। नेपाली चलचित्रमा हुने कुनै न कुनै त्रुटिलाई यसले निमिट्यान्न पार्न नसकेपनि थोरै मात्र त्रुटि गरेर उत्कृष्ट फिल्मको रुपमा आफुलाइ उभ्याउन सफल भएको छ।

पुजार(आर्यन सिग्देल)को हरिद्वारको पढाइ र मन्दिरको नियमित पूजापाठमा कथित दलित भनिएकी मैया(अन्जना बराइली)को प्रवेशदेखि मैतबहादुर(प्रदिप खड्का)ले शास्त्र पढेर बाहुन हुने र मगर पूजारको छोरी गौमाया(परिक्षा लिम्बू) सँग बिहे गर्ने सपना देख्ने कुरालाई चे ग्वेभाराको फोटो झुण्ड्याएर पन्चसँग साँठगाँठ गर्ने ‘क्रान्तिकारी कम्युनिस्ट’ हुँदै सिद्धान्त र बिचार नछाड्ने बिद्रोही कम्युनिस्टको आजको दैनिकी सम्मलाई चलचित्र मार्फत उदाङ्गो बनाइएको छ। निर्देशक दिनेश राउतको निर्देशकिय क्षमतामा मनगढन्ते खोट लगाउन सकिएपनि गल्ती भेट्टाउन मुस्किल छ। कयौं अर्थ न बर्थका सिनेमाहरू नेपालमा बन्ने गरेकोमा यो सिनेमालाई भने दर्शकले साँच्चै रुचाएको पाइन्छ ।

ग्रामिण परिवेश प्रस्तुत गर्दा, अलिकति मात्र पनि आधुनिकता नदेखाईनु, कलाकारका भेषभुषालाई र भाषालाई गहन अध्ययन पश्चातमात्र प्रयोग गरिनु, छायांकन स्थल सुन्दर छनोट गर्नु, कलाकारहरु‌ले परिवेशमा भिजेर अभिनय गर्नु आदि यो चलचित्रका सकारात्मक पक्ष हुन् । त्यसैमा जोडिएको एउटा दृश्यमा नागरिकताको टोलीलाई जनगणनाको टोलि भन्न सकेको भए सन्दर्भ मिल्थ्यो।नागरिकता बनाउन आएको टोलिले नाम र जात मात्रै सोध्ने भन्दापनि त्यसलाई जनगणनाको टोली भन्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने मात्रै हो।२०४६ सालको परिवेश देखाईएको सिनेमामा आचार्य पढिसकेका पण्डीतको नागरिकता नहुनु र नागरिकताको लागि आफैंले कुनै प्रमाण वेगर आफ्नो थर परिवर्तन गर्नु अनि टोलीले कुनै प्रमाण नखोज्नु चाहिँ अपत्यारिलो लाग्न सक्छ।

समग्रमा भन्ने हो भने नेपाली फिल्म क्षेत्रमा यत्तिको चलचित्र बन्नु सुखद हो । निर्देशक, लेखक, कलाकार र छायांकार सहित सम्पुर्ण टिमले जसरी मेहनत गरेको छ त्यसको गुलियो फल यतिबेला हलहरुमा लटरम्म फलेको देख्न सकिन्छ।अर्थात सिनेमाले रिलिजको दिनपछि विस्तारै मौखिक विज्ञापनकै आधारमा दर्शकलाई हलसम्म तान्ने कुरा सुनिश्चित गरिसकेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय