बाबुरामलाई छाड्नेको पनि राजनीति छैन सुखद !

शिरज शर्मा

नेपाली राजनीतिमा यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताको शिरमा छन् । उनकै पुर्व सहकर्मी पुर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई विचारमा अब्बल भएर पनि सत्ताको पुछारमा पनि छैनन् । अर्थात उनी सत्ताको खेलमा सामेल छैनन् ।

हुन चाहिँ यी दुवै नेता नेपाली राजनीतिमा सँगसँगै उदाए र १० वर्षे जनयुद्धमा पनि सँगै हिँडे । अहिले भने यी दुईको राजनीति अलग अलग धारमा बगिरहेको छ । एउटा बाबुरामले समातेको अग्रगामी विचार सहितको वैकल्पिक शक्ति निर्माणको धार र अर्को प्रचण्डले प्रयोगमा ल्याएको सत्ता र शक्तिको धार।

बौद्धिकता, नैतिकता, विचार, सिद्धान्त र व्यवहारमा समेत यी दुई नेता भिन्न देखिन्छन् । तर, यहाँ कुरा गर्न खोजिएको सन्दर्भ भने प्रचण्ड र बाबुरामको राजनीति कति सफल वा असफल भन्ने होइन । सत्ताको खेलमा प्रचण्ड सधैं बाबुराम भन्दा अब्बल छन् ! सत्ता पाउनका लागि जे पनि बोल्छन् र जोसँग जे पनि गर्छन्, यो प्रचण्डको कला हो। त्यसैले एकाथरीले भन्छन् विचारमा अब्बल भएर पनि बाबुराम राजनीतिमा अभागी पात्र हुन् ।उनको बिचार बुझ्ने र इमानदार भएर साथ दिने थोरै मात्रै छन् ।

बाबुराम असफल हुन् वा होइनन् त्यो उनले राजनीतिक विश्राम लिएपछि बहस गरौंला । अहिलेसम्म पनि उनी नयाँ विचार र वैकल्पिक शक्ति बनाइछाड्ने अठोट लिएर हिँडिरहेकाले बाबुरामलाई गाली गर्नु उचित हुँदैन । तर, बाबुरामलाई असफल भएको मान्ने हो भने उनको पछि लागेर कहिँ पुगिन्न, केही कमाउन सकिन्न र प्रगति हुन्न भन्ने केही पात्रहरुको राजनीतिक जीवनलाई एकपटक हेरौं न त !

बाबुरामको साथमा हुँदा सम्म बार्गेनिङ गरेरै भएपनि पदमा पुगेका तर, अहिले बाबुरामलाई छाडेकाको राजनीतिक जीवन कस्तो छ त ? केही चर्चा गरौं ।

मुख्यतः प्रचण्डकै राजनीतिलाई हेरौं :- हेर्दा त प्रधानमन्त्री पनि उनै र ३६ वर्षदेखि पार्टीको नेतृत्वमा पनि उनै देखिन्छन् । तर, सधैं तनाव, झमेला र उथलपुथल गर्दागर्दै उनको राजनीतिक जीवन भने ‘न टेक्ने डाली, न समाउने हाँगो’ को अवस्थामा छ । बाबुराम, मोहन वैद्य र विप्लव (नेत्रविक्रम चन्द) ले छाडेपछि उनको पार्टीमा विचारको बहस ‘शून्य’ र सिद्धान्त र आदर्श मरेतुल्य छ । न पार्टी बैठकमा कुनै दस्तावेज प्रस्तुत हुन्छ न चुनावमा घोषणा-पत्र लेखिन्छ । अब विस्तार-विस्तार एमालेमा लगेर पार्टी मिसाउने र आफ्ना निकटका केहीलाई केपी ओलीसँग मागेर पद दिलाउने बाहेक अर्को विकल्प प्रचण्डसँग छैन होला !

टोपबहादुर रायमाझी : लामो समय बाबुरामको निकट बनेर प्रचण्डसँग बार्गेनिङ गर्ने रायमाझीको राजनीति पनि सुखद देखिएन। बाबुरामलाई छाडेर प्रचण्ड र अहिले प्रचण्ड पनि छाडेर केपी ओलीसम्म पुग्दा टोपबहादुरले राजनीतिमा मात्रै होइन व्यक्तिगत जीवनमा समेत दु:खद अवस्था भोगिरहेका छन् । नक्कली भुटानी शरणार्थी काण्डमा उनी जेल जीवन बिताइरहेका छन् । अब फेरि उनको राजनीतिमा ‘कम्ब्याक’ असम्भव छ।

रामकुमार शर्मा : बाबुरामलाई साथ दिएको जस्तो गर्ने तर आफ्नो निजि स्वार्थमा लागिरहने स्वभावका मधेसवादी नेता रामकुमार शर्माले पनि बाबुरामपछि प्रचण्ड र प्रचण्डपछि अहिले उपेन्द्र यादव रोजेका छन् । बाबुराम पक्षीय भनेकै आधारमा कुनैबेला जनकपुर धार्मिक विकास समितिको अध्यक्ष समेत भएका शर्मा उपेन्द्र यादवको पार्टी प्रवेश गरेको केही दिनमै अशोक राईको समूहले पार्टी फुटाएपछि जसपा नेपालकै भविस्य खतरामा पुगेको छ । यो अवस्थालाई हेर्दा बाबुराम छाडेपछि आफ्नो राजनीति उकालो लाग्छ भन्ने शर्माको पनि अबको राजनीति त्यति सुखद देखिदैन ।

प्रभु शाह: बाबुराम पक्षमा रहेर तराईमा (खासगरी बारा, पर्सा र रौतहटमा) एकलौटी शासन चलाउन खोज्थे प्रभु शाह । जब बाबुरामले माओवादी छाडेर नयाँ शक्ति निर्माण अभियान सुरु गरे त्यतिबेला प्रभु शाह बाबुरामकै कोटामा संविधान सभा सदस्य थिए । उनले बाबुरामको नयाँ शक्तिमै जोडिने तर प्राविधिक हिसाबले तत्काल सम्भव नभएको भन्दै केही आफू निकटलाई त्यता जोडिन पठाए । तर, जब प्रचण्डले गुलियो बाँड्न थाले प्रभुले बाबुरामलाई धोका दिए । पठाएका मान्छे पनि फिर्ता लगे । अन्ततः उनी माओवादीमै बसे। तर, त्यहाँ पनि उनको लागि सुखद रहेन पछि एमाले प्रवेश गरे। एमालेमा पनि उनलाई नरुचाइएपछि अन्ततः आफैंले आम जनता पार्टी खोलेर अहिले अध्यक्ष भएका छन् ।

खिमलाल देवकोटा :आफुलाई बौद्धिक र कानुनको विज्ञ ठान्ने देवकोटा कुनै समय बाबुरामको मुख्य शक्ति नै मैं हो जस्तो गर्थे। नयाँ शक्ति पार्टी घोषणा सम्म बाबुरामको दाहिने हात भन्दै हिँडेका देवकोटा त्यसपछि माओवादी फर्किने वातावरण बनाउन थाले । उनले नयाँ शक्तिका केही नेता-कार्यकर्तालाई समेत भड्काउन थालेपनि आफ्नै वडामा २ भोट जोड्न नसक्ने उनलाई कसैले पत्याएनन्। अन्ततः एक्लै माओवादी तिर लागे । अहिले उनी माओवादी भित्र त्यति धेरै रुचाइएका पात्र होइनन् र कुनै अवसर पनि पाएको देखिँदैन ।

दिननाथ शर्मा: बागलुङका शर्मा २०५६ पछि मात्रै नेकपा मसाल छाडेर माओवादीमा भित्रिएका हुन् । माओवादी भएदेखि नै बाबुरामसँग निकट रहेका शर्मा अहिले प्रचण्डसँगै छन् । बाबुराम माओवादीमा हुँदा सम्म बाबुरामकै कोटामा मागेर/रोएर पनि मन्त्री समेत भएका शर्माले पछिल्लो समय बाबुरामसँग विचार मात्रै छ पद र पैसा प्रचण्डसँगै छ भनेर बाबुरामलाई धोका दिए । बागलुङका धेरै नेताकार्यकर्ता बाबुरामलाई साथ दिन तयार हुँदा खासै जनाधार नभएका शर्मा माओवादी मै बसे तर, चुनाव लड्न डराए। चुनाव नलड्ने तर सांसद र मन्त्री चाहिँ हुनैपर्ने उनको बालहठलाई अहिले प्रचण्डले समेत बेवास्ता गर्न थालेको बुझिएको छ।

बामदेव क्षेत्री: लामो समय भारत प्रभासको राजनीति गरेका क्षेत्री पनि बाबुरामका खास मानिन्थे। नयाँ शक्ति पार्टी गठनका समयमा सक्रिय नै रहेका क्षेत्री त्यसपछि क्रमशः संगठन निर्माण भन्दा प्रचण्ड पथमा लम्केर छिटोभन्दा छिटो लाभको पदमा पुग्न चाहन्थे। फलस्वरूप नयाँ शक्ति बन्न समय लाग्ने र त्यतिबेला सम्म धानिन नसक्ने देखेपछि सत्ताको रापताप प्रचण्ड तिर छ भन्ने बुझेर क्षेत्री सहित कुमार पौडेल, पासाङ शेर्पा, मुक्ति प्रधान, बलावती शर्मा र देवेन्द्र पौडेल लगायत १५ जना बागबजारको हार्दिक होटलमा भेला भएर माओवादी फर्किने योजना बनाए । त्यसरी फर्केपछि बामदेवले लुम्बिनी प्रदेश योजना आयोगमा नियुक्ति पाए भने देवेन्द्र पौडेलले बागलुङबाट टिकट पाएर शिक्षा मन्त्री हत्याए। त्यसपछि उनीहरुको राजनीतिमा खासै चर्चा छैन । प्रचण्डले पार्टी एमालेमा विलय गराएपछि जनयुद्धका उपलब्धिसँगै ढिलो चाँडो यो समुहको पनि राजनीति पुर्णविराम हुने निश्चित छ।

कल्पना धमला: बाबुराम पक्षीय नेतामध्ये स्पस्ट र नेतृत्वदायी भुमिकामा पुगेकी धादिङकी चेली धमला बाबुराम पक्षमा लागेकै कारण अवसर पाउने नेतामा पर्थिन्। धादिङबाट संविधान सभा सदस्य निर्वाचित भएर विज्ञान-प्रविधि मन्त्री समेत भएकी धमला पछिल्लो समय श्रीमान देवेन्द्र पराजुलीसँगै माओवादी प्रवेश गरिन्। उनी माओवादी प्रवेश गरेपनि पार्टी भित्र उनलाई रिस गर्नेहरु हावी हुँदा उनले क्षमता अनुसारको जिम्मेवारी समेत पाएकी छैनन् । गत निर्वाचनमा बल्ल बल्ल काठमाडौं-९ बाट टिकट पाएपनि जित हासिल गर्न सकिनन्। उनलाई माओवादीकै नेताकार्यकर्ताले भोट दिएनन् ।

देवी खड्का: दोलखाकी नेता देवी खड्का पनि जनयुद्धकालदेखि नै बाबुराम पक्षमा थिइन् । विचारमा स्पस्ट र व्यवहारमा सरल मानिने खड्का बाबुराम पक्षमा रहेकै कारण सांसद हुँदै राज्यमन्त्री सम्म भइन् । तर, अहिले उनको राजनीति पनि सुखद छैन। माओवादी पार्टीमा रहेपनि जिल्लामा उनको पक्षमा नेताकार्यकर्ता नभएको हो वा केन्द्रिय नेतृत्वको नजिक हुन नसकेर हो गएको निर्वाचनमा गठबन्धन भित्र दोलखा माओवादीको भागमा परेपनि उनले टिकट पाइनन् । उनले मात्रै होइन पुर्व प्रदेश सांसद र मन्त्री भैसकेका उनका भाइ विशाल खड्काले पनि टिकट नपाएपछि चुनावी कार्यक्रममा समेत उनीहरुको सहभागिता रहेन ।

हेमराज भण्डारी : धनकुटाका भण्डारी बौद्धिक र तार्किक युवा नेता मानिन्थे। बाबुरामको पक्षमा रहेर पुर्वको राजनीतिमा चम्किलो बन्दै गएका भण्डारीलाई प्रचण्ड र उनका मान्छेले खासै रुचाउँदैनथे। त्यसैले बाबुरामलाई धोका दिएपछि भण्डारीले पनि धोका पाए। गत निर्वाचनमा स्वतन्त्र उठेका उनी एमाले नेता राजेन्द्र राईसँग पराजित भए अहिले राजनीतिमा गुमनाम छन् ।

गङ्गा चौधरी : बाबुरामले नयाँ शक्ति बनाएपछि जोडिएकी दाङकी महिला नेत्री गङ्गा चौधरी पछिल्लो समय गुमनाम छिन् । नयाँ शक्ति छाडेर माओवादी हुँदै एमाले पुगेकी चौधरीलाई एमालेले पनि टिकट नदिएपछि २/४ दिन मज्जैले रुञ्चे स्वरमा चिच्याईन र अन्तिममा स्वतन्त्र उम्मेदवारी दिइन् । तर, उनको कुनै चमत्कार भएन राजनीतिमा अनुहार नै देखाउन लाज हुने गरी मत ल्याएपछि उनी अहिले राजनीतिमा सक्रिय छैनन् ।

करिष्मा मानन्धर : चलचित्रमा पत्याइन छाडेको अवस्थामा बाबुरामको नयाँ शक्तिमा जोडिएर राजनीति गर्न थालेकी नायिका करिष्मा मानन्धर (सुर्यकुमारी) पनि अहिले राजनीति र फिल्म क्षेत्र दुवैबाट गुमनाम छिन् । नयाँ शक्ति घोषणा सभामा मुख्य आकर्षण बनेकी करिष्मा नयाँ शक्ति छाडेर एमाले प्रवेश गरेपछि एकाएक चर्चामा आउने धेरैको अनुमान थियो। तर, एमालेले करिष्मालाई कुनै मत्लब नै नगरेपछि केपी ओलीसँग २/४ वटा फोटो खिच्नुबाहेक उनको अरु भुमिका देखिएको छैन।

हरिशरण आचार्य : २०७४ मा गोरखाबाट गण्डकी प्रदेश सांसद निर्वाचित भएका आचार्य प्रदेश मन्त्री समेत भए। जनयुद्धकै बेलादेखि बाबुरामको पक्षमा उभिएका आचार्यलाई सांसद बनाउँदा बाबुरामले गोरखाका आफ्नै पार्टी भित्रका धेरै नेताको गुनासो सुन्नुपरेको थियो। बाबुरामले धेरै माया गरेको कारण पुल्पुल्लिएका आचार्य पछिल्लो समय आफैं ‘बाबुराम’ बन्न थालेपछि धेरैले रुचाएका थिएनन् । प्रदेश मन्त्री हुँदा पार्टी नीति विपरितका कार्यमा संलग्न भएपछि अन्ततः उनले पार्टीलाई नै धोका दिए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा वक्ता बनेर उपस्थित हुनुबाहेक उनको राजनीतिमा भुमिका छैन।

गङ्गानारायण श्रेष्ठ : लामो समय बाबुरामसँगै बिताएका सिन्धुलीका गङ्गानारायण श्रेष्ठ अहिले बागमती प्रदेशमा आर्थिक मामिला तथा कानुन मन्त्री छन् । विभाजन अगाडि नेसपा सह-अध्यक्ष समेत रहेका श्रेष्ठले पछिल्लो समय बाबुरामलाई छाडेका छन् । महेन्द्र यादव पक्षमा लागेर प्रचण्डसँग फोटो खिचाउन बालुवाटार पुगेका श्रेष्ठले पार्टी नै माओवादीमा मिसाउन प्रयास गरेका थिए । तर, पार्टीका बहुमत सदस्यले त्यसको प्रतिकार गरेपछि गङ्गा सहितका केही नेता ‘न माओवादी, न नेसपा’ को अवस्थामा पुगेका छन् । बाबुरामलाई धोका दिएपछि हाल भैरहेको एकथान मन्त्री पद बाहेक माओवादीमा गएर पनि उनले सम्मानजनक पद पाउने सम्भावना देखिन्न।

देवेन्द्र पराजुली : पुर्व विद्यार्थी नेता रहेका देवेन्द्र पराजुली बाबुरामका खास मानिन्थे । हुनपनि बाबुरामको पक्षमा बोलेकै भरमा प्रचण्ड पक्षीय नेताहरूले भुमिगत कालमा उनलाई यातना समेत दिएका थिए । प्रचण्डका मान्छेले पार्टीकै हिरासतमा राखेर झण्डै जिउँदै खाल्डो भित्र पुर्ने सम्मको योजना बनेको भनेर उनी आफैंले भन्थे। अहिले उनै प्रचण्डको जनसम्पर्क समन्वयको जिम्मेवारी लिएर बसेका पराजुलीको राजनीतिक चर्चा भने छैन। उनी पनि श्रीमती कल्पना धमला जस्तै गुमनाम छन् ।

प्रेम तामाङ : नयाँ शक्तिका उदाउँदो नेता रसुवाका युवा राजनीतिकर्मी प्रेम तामाङ २०७४ को निर्वाचनमा बागमती प्रदेश सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । जनयुद्धकालदेखी नै बाबुराम पक्षमा उभिएर पटक पटक लाभको पदमा पुगेका तामाङले पछिल्लो समय बाबुरामलाई छाडेर रसुवा र काठमाडौंमा व्यवसाय सुरु गरे। राजनीतिक व्यक्ति भएकोले व्यवसाय मात्रै गर्दा पहिचान भएन भनेर उनले नेकपा एमाले प्रवेश गरे। तर, अहिले उनी कहिँ कतै देखिदैनन्।

यी केही प्रतिनिधि पात्र मात्र हुन् । बाबुरामको साथ छाडेर चमत्कार गर्छु भन्ने धेरै नेताको अहिले ‘चमत्कार’ भन्दा ‘चित्कार’ बढी छ। माओवादीमा हुनेको अवस्था दयनीय छ भने नयाँ शक्ति बनाउँदाका सबैजसो गुमनाम छन् । कर्मचारी, प्रहरी, कलाकार र नागरिक समाजवाट आएका सबैजसो अहिले गुमनाम छन् । उनीहरुको राजनीति कहिँ कतै जोडिएको देखिन्न। लामो राजनीतिक पृष्ठभुमि भएका जनयुद्धकालिन सहयात्री राम कार्कीदेखि भक्ति लामिछाने, आशा कोइराला, उत्तम कँडेल, गुप्तबहादुर हमाल, नारायण खनाल, प्रल्लाद लामिछाने, विशाल  खड्का लगायतले बाबुरामलाई छाडे तर, उनीहरुको राजनीतिक भविष्य पनि उत्साहजनक देखिन्न।

त्यसैगरी नयाँ शक्ति पार्टीमा जोडिएका दानबहादुर चौधरी, देवि ओझा, रामचन्द्र झा, पुर्व अर्थ सचिव रामेश्वर खनाल, कलाकार सरोज खनाल, अशोक शर्मा, सशस्त्रका एसएसपी ऋषवदेव भट्टराई, नारायण राज पाण्डे, राजनीतिज्ञ विरेन्द्र पोखरेल, कृषि विज्ञ मदन राई, शिक्षा विज्ञ राजेन्द्र केसी, अभियन्ता सुरेन्द्र चौधरी, पाइलट मदन केसी, सुरक्षा निकायका गणेश राई लगायत थुप्रै व्यक्ति अहिले राजनीतिदेखि टाढा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय