यात्रा संस्मरण: समाज, मियो र ती सहयोगी नानी

प्रा. खगेन्द्रप्रसाद भट्टराई

बहिनी गीताकी सासु ९९ वर्षको उमेरमा वि. सं. २०८० साल चैत्र ३० गते परलोक जानुभयो । दिवंगत हुनुभन्दा अघि उहाँले आफ्नो मरणपछि पार्थिव शरीरलाई देवघाटमा दाहसंस्कार गरिदिनका लागि परिवारका सदस्यहरुलाई भन्नुभएको रहेछ । त्यसैले उहाँको पार्थिव शरीर दाहसंस्कारका लागि काठमाण्डौंबाट देवघाट लगियो र परम्परा अनुसारको तेह्र दिनको काम पनि त्यहीं नै हुने भयो ।

उत्तम, गोविन्द र मैंले यो दुःखको घडीमा परिवारजनलाई समवेदना दिनका लागि वैशाख ६ गते (२०८१) देवघाट जाने विचार गर्‍यौं । विहान ६ बजे नै भाइहरु कुपण्डोल आए; हामी तीन जना कलंकी गयौं र वीरगञ्ज जाने गाडी चढ्यौं । गाडीवालाले ११ बजेतिर देवघाट पुग्ने कुरा गरेका थिए । तर थानकोटबाट नौबिसेसम्मको बाटो विस्तारको कार्य चलिरहेको र ठाउँठाउँमा एकोहोरो मात्रै गाडी चल्ने भएकोले धेरै समय लाग्यो । बाटोमा खाल्टा-खुल्टी हुँदा हिँडाई सहज भएन । गाडीले चौपट्टै उफार्‍यो । धूलो त्यस्तै । एक ठाउँमा उकालो चढ्दै आएको भारी सामान बोकेको ट्रक बाटोमै बिग्रिएकोले थप समस्या भयो । फेरि हामी चढेको बस लोकल बस जस्तो । कन्डक्टरलाई मान्छे देख्‍नै नहुने । गाडी रोक्न लाइहाल्छ । जान्न भन्ने मान्छेलाई पनि जबर्जस्ती गर्न खोज्दछ । यी सबै कारणले निकै ढिलो भयो । एघार बजे पुग्ने सम्भावना देखिएन । गाडीको टायर पंक्चर भएर थप ढिलो भयो । मुश्किलले दिउँसोको एक बजेतिर मात्रै हामी देवघाट पुग्यौं ।

देवघाटमा ज्वाईं माधव ढकाल, ठूलो ज्वाईं मुकुन्द ढकाल, बहिनी गीता, भाञ्जाहरु मुकुट र उत्सव र परिवारका अन्य सदस्यहरुलाई भेटी दुःखमा केही समय साथ दियौं । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गर्‍यौं । देवघाटमा उहाँहरु माडवाडी सेवा समितिको घरमा बस्नुभएको रहेछ, जुन नारायणी नदीको किनारमा छ । भुईं तलाको ठूलो कोठा, सफा छ । भेट्न आउने मानिसहरुले रात बिताउन चाहे माथिल्लो तलामा सुत्ने, बस्ने व्यवस्था छ । कृया बस्ने मानिसहरुले नारायणी नदीमा नुहाउँछन् । काठमाण्डूको पशुपतिमा जस्तो लाइन बसेर नुहाउनु पर्दैन । वरिपरि हरियाली । स्वच्छ वातावरण ।

ठूलो ज्वाईं मुुकुन्द ढकाललाई चाहिं त्यति सञ्चो रहेनछ । केही वर्षदेखि उहाँलाई छालाको रोगले सताएको रहेछ । आधुनिक उपचार पद्धति अनुसार अनेक उपचार गर्दा पनि उहाँलाई राम्रो हुन सकेनछ र केही दिनदेखि नवलपरासीमा रहेको प्राकृतिक चिकित्सालयमा उपचार गराउँदै आउनुभएको रहेछ । त्यसले उहाँलाई निकै लाभ भएको कुरा गर्नुभयो । शरीर पूरै डढेकोमा अहिले विस्तारै कम हँुदै आएको रहेछ । उहाँले त्यस प्राकृतिक चिकित्सालयमा विभिन्न रोगको उपचार प्रभावकारी किसिमले हुने कुराको जानकारी गराउनु भयो । मलाई मधुमेहको समस्या भएको हँुदा, त्यहीं गई उपचार गर्न पनि सल्लाह दिनुभयो ।

यसरी केही समय उहाँहरुसँग बसी हामी विदा भयौं । नारायणी नदीमा गएर हातमुख धोयौं । काली गण्डकी, मस्र्याङदी, बुढी गण्डकी, त्रिशुली (भोटे कोशी) र असंख्य खोल्सा मिलेर नारायणी नदी बन्दछ । अलि माथि काली गण्डकी र त्रिशूली मिसिएको दोभानमा नुहाउँदा ठूलो पुण्य मिल्दछ भन्ने धार्मिक विश्वास छ । माघे संक्रान्तिमा त्यहाँ नुहाउनका लागि धेरै मानिसहरुको भीड लाग्दछ । उत्तमले फेर्ने लुगा बोकेर गएको रहेछ । उसले नुहायो र लुगा फेर्‍यो ।

फर्किने बेलामा मुकुट भाञ्जाको गाडीले हामीलाई मूल सडकसम्म ल्याइदियो । होटलमा बसेर केही नास्ता गर्‍यौं र काठमाडौं आउने गाडीलाई रोक्न सडकमा गएर उभियौं । गाडीहरु आइरहेका थिए, तर धेरै जसो पोखरा जाने । पोखरा त्यति धेरै गाडी जान्छन् जस्तो लाग्दैन थियो मलाई । पोखरा पर्यटकहरुको आकर्षणको थलो त हुँदै हो; त्यसमाथि अहिले प्रदेशको राजधानी भएर पनि होला ।

धेरै बेर कुर्दा बल्ल बल्ल भैरहबाबाट काठमाण्डौं जाने बस आयो । हामीले हात उठाएपछि रोकियो । कन्डक्टरसँग गाडीमा तीन जनाको लागि सिट भए मात्रै जान्छौं भन्यौं; उसले सिट छ भन्यो र हामी गाडी चढ्यौं । तर के सीट हुन्थ्यो ! कुनै सीट खाली छैन । कन्डक्टरलाई भन्दा मुग्लिनमा झर्ने मान्छे छन्, त्यहाँबाट बस्न पाइन्छ भन्यो । तर म सडकमा उभिएर गाडी रोक्ने क्रममै थाकिसकेको थिएँ । हर्नियाको कारणले धेरै बेर उभिन र हिंड्न मलाई गाह्रो हुन्छ । केही बेर गाडीमा उभिएर हिंडेपछि मलाई कहीं कतै बसौं जस्तो लाग्यो । सीटमा बसेका मानिसहरुलाई निरीक्षण गरें, हात राख्ने ठाउँमा यसो सहारा पाइन्छ कि भनेर ।

एक जना अठार-उन्नाईस वर्षकी केटी थिइन्, गोरी, सलक्क परेकी, सिल्की कपाल भएकी । आफ्ना सुन्दर हातले बेलाबेलामा कपाल मिलाउँदै गरेकी । उनलाई भन्ने कुरै भएन । उनको साथमा झ्यालपट्टि करीब छ फिट अग्लो केटो थियो, यति लामा खुट्टा गरेको । अहिलेको जमानाको केटो हो, उसमाथि आशा भएन । छेवैको अर्को सिटमा छेउपट्टि अलि छुच्चो अनुहार गरेको व्यक्ति बसेको थियो । उसले सहयोग गर्दछ जस्तो लागेन । नजिकै अर्को सीटमा एक जना धम्मरधुस व्यक्ति थियो, सीटभन्दा बाहिरको भाग पनि ओगटेर बसेको । उसले झन् के सहयोग गर्ला र भन्ने लाग्यो ।

मलाई उभिएर हिंड्न निकै कष्ट भएपछि सहचालकलाई भनें- ‘म विरामी मान्छे । बूढो पनि भइसकेको छु । उभिएर जान सक्तिनँ । मुग्लिनबाट पनि सिट भएन भने हामी जाँदैनौं, हामीलाई त्यहीं झारिदिनु ।’

मैले सहचालकसँग गरेको कुरा छेउमै बसेकी तिनै अठार-उन्नाइस वर्षकी नानीले सुनिछन् । आफू बसेको सिटबाट उठेर ‘अंकल, तपाईंलाई निकै गाह्रो भएछ, यहाँ आएर बस्नुस्’ भनिन् । उनलाई उठाएर मलाई बस्न असजिलो लाग्यो । मन खुशी भएन । तर मेरो अवस्थाले गर्दा उनलाई धन्यवाद दिंदै म बसें । उनी कहाँ जाने भनेर सोधें । काठमाण्डौं नै आउने रहिछन् । त्यति लामो र अप्ठ्यारो बाटो । मलाई झन असजिलो भयो । भनें, ‘पालैपालो बसौंला है ।’ उनी उभिइरहेकै थिइन् । केही समय पछि सहचालकले उनलाई गाडीको हूड (Hood) मा बस्ने व्यवस्था मिलाइदियो । तर बसाई त्यति सहज थिएन । मलाई भने ठूलो राहत मिल्यो ।

मुग्लिनबाट काठमाडौंको लागि आधि बाटो हिँडेपछि म छेउमा बसेको त्यो अग्लो केटालाई के लाग्यो कुन्नि उ उठेर ‘ए बहिनी, यहाँ बस’ भन्यो र ती नानी मसँगै आएर बसिन् । उनले मप्रति देखाएको व्यवहारले उनको बारेमा केही कुरा जान्ने इच्छा भयो । विस्तारै कुरा गर्दै आयौं । दस जोड दुई सकेर दन्त चिकित्सा (Dentistry) अध्ययन गर्न लागेकी । घर नारायणघाट र काठमाण्डौंको जोरपाटीमा । पहाड घर गुल्मी जिल्ला । बुवा आर्मीमा जागिर खाएर भर्खरै निवृत्त भएको । एउटा भाई प्लस-टु सकेर विदेशमा । गफ गर्दैै थियौं, उनले आफ्ना झोलाबाट फ्रुटी झिकेर मलाई खान दिइन् । मैंले खान मानिन । ‘मसँग अरु पनि छ । खानुस् न अँकल, गर्मी छ, मुख रसाउँछ । भएको चीज बाँडेर खाँदै राम्रो होइन र ?’ भनिन् । त्यति सानी नानीको कस्तो उच्च सोच ! उनको भनाई त बुढाबुढीहरुले आफ्नो खारिएको अनुभवको आधारमा उनी जस्ता केटाकेटीहरुलाई दिनुपर्ने अर्ती हो । मान्छे उमेरले होइन, विचार र असल भावनाले परिपक्व हुन्छ । मलाई त्यस्तो लाग्यो ।

हामी चढेको गाडीको चालक हेर्दा गुण्डा खालको मान्छे देखिन्थ्यो । उसको टाउकाको कपाल निकै छोटो र टुप्पी चाहिं निकै लामो । शरीर मोटो र मध्यम उँचाई । गाडी चाहिं तूफान जस्तै हाँक्ने । अप्ठ्यारो ठाउँमा पनि ओभरटेक गर्दै हिंड्ने । तर आत्मविश्वास भएको जस्तो देखिन्थ्यो । बसको सहचालक उसकै दाजु रहेछ । सहचालकले आफैं उसको बारेमा पछि जानकारी दियो । थाहा भयो- ऊ मगर परिवारमा जन्मिएर पनि रक्सी, जाँड, माछा, मासु, चुरोट आदि केही पनि खाँदो रहेनछ । बडो अनुशासित जीवन रहेछ उसको । यो सबै सुनेपछि मैंले शरीर र अनुहार हेरेर उसको बारेमा गरेको अनुमान गलत सावित भयो । तैपनि मलाई लाग्दछ, अनुहार, शरीर र व्यक्तिको हाउभाउ हेरेर उसको बारेमा धेरै कुरा थाहा हुन सक्दछ ।

चालकले जतिसुकै चाँडो आउन खोजे पनि बाटो खराब भएको हूँदा र जामले गर्दा काठमाडौं रातीको नौ बजे आइपुग्ने भनेकोमा एघार बज्यो । त्यसैले मैंले कल्पनालाई रातीको बेला कसरी घर जान्छौ भनेर सोधें । ट्याक्सी लिएर घर जाने कुरा गरिन् । उनी आज विहान चार बजे घरबाट ट्याक्सीमा कलंकी आएर नारायणघाट गएकी रहिछन्, आफन्तको व्रतबन्ध र पूजामा सहभागी हुन । त्यति राती जोरपाटी एक्लै जाने कुराले उनी निकै साहसी केटी भएको ठानें मैंले । तर त्यो कुरा त्यति ठीक लागेन मलाई, सुरक्षाको दृष्टिकोणबाट । समय खराब छ । रातीको बेला । मैंले उनलाई कि त घरबाट बाबालाई बस पार्कमा लिन आउन भन्नु कि त हाम्रो घर कुपण्डोलमा आज राती बस्ने र भोलि विहानै घर जान भनें । उनले आफ्नो बाबालाई फोन गरिन् र उनका बाबा उनलाई लिन बस पार्क आउने भए ।

बस कलंकी आइपुग्यो । ‘ल, नानी राम्रोसँग जानू,’ भनेर हामी बसबाट उत्रियौं ।

यो स्वार्थी र उपयोगितावादी समयमा कल्पना जस्ता व्यक्तिले मात्रै मियो बनेर समाजलाई जीवन्त राख्न सक्तछन् ।

वैशाख १०, २०८१

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय