आहा ! आमा याङ्ग्रीको काख…

काठमाडौं शिवचोकदेखि बिहान ६ बजे हिंडेको सुपर एक्स्प्रेस गाडी ठ्याक्कै ११ बजे तार्केघ्याङ पुगेर रोकियो । हेलम्बु गाउँपालिका-१ स्थित तार्केघ्याङमा भेटिए वाङ दोर्जे लामा र पेम्बा लामीनी। यी दुई जना मिलेर तार्केघ्याङमा होटल याङग्री पिक संचालन गरेका रहेछन् ।
यात्राको क्रममा बाटोमा मेलम्चीको चिया, हेलम्बु गाउँको चना र तिम्बु माथिको जंगलको काफल अनि ऐंसेलुको कारण भोक लाग्न पाएको थिएन। त्यसैले होला तीन ग्रुप पछि मात्रै खाना खाने पालो आउँदा पनि कुनै गुनासो गरिएन।
खानापछी हाम्रो १० जनाको टोली ‘लौरो’ टेकेर उकालो लागियो । यात्रामा ‘लौरो’ चाहिन्छ भनेर बसको यात्रामै हुँदा हामी सबैले भन्यौं अर्थात मनन गर्यौं तर, लौरो खोज्ने प्रयास सम्म गरेनौं । तर, ‘तिमीहरु आँट गर,म पुर्याउछु’ भनेझैं होटल याङ्ग्रीपिक कै आँगनमा प्रयाप्त लौरो देख्यौं । त्यै लौरो माग्नुपर्ला वा किन्नुपर्ने भएपनी किनौला भन्दाभन्दै होटल संचालकले नै ‘लौरो लैजानु तर फिर्ता ल्याउनु र त्यहीँ राख्नु’ भन्ने उर्दि जारी गरे। हामी खुशी भयौं । सबैले आ-आफ्ना रोजाइका लौरो त्यहीँबाट लिएर अघि बढ्यौं ।

स्थानीयको लागि १ घन्टाको उकालो भनिएको बाटो काट्न हामीलाई ठ्याक्कै २ घन्टा ९ मिनेट लाग्यो। हामी समयमै बेसक्याम्प पुग्यौं । बाटोमा लाली गुराँस फूलेर झरिसकेको भएपनी बेसक्याम्पको होटल छेउमै प्रयाप्त सेतो गुराँसले हामीलाई कुरिरहेको देखेर हाम्रो थकाइ सबै मेटियो। गुराँस देखेपछि नानु दाहाल, रचना पौडेल र प्रशिला निरौलाले टिकटक, रिल र फोटो सेसन सुरु गरिहाले । हातमै गुराँस लिएर फोटो खिच्न थालेपछि पुष्कर नेपाललाई गीत फुरिहाल्यो !
म त लालीगुराँस भएछु…..
बनैभरी फुलिदिने,मनैभरी डुलिदिने…..।


बेसक्याम्प पुगेपछि पहाडको टुप्पोमा झलमल्ल बत्ती बलेको सुन्दर दृश्य देखिने रहेछ । हाम्रो भोलिपल्टको गन्तव्य नै त्यै झलमल्ल बत्ती बलेको ठाउँ पुग्नु थियो। यात्राका १० जना मध्ये सबैभन्दा कान्छो सदस्य थिए १२ वर्षिय सानिध्य निरौला । दिउँसोको हिँडाइले नै केही थकित देखिएको उसले त्यो टुप्पोमा जाने कुरालाई च्यालेन्जको रुपमा लिएको थियो। यद्यपि उ खुशी थियो । त्यो खुशी उसले यात्राभर कायम राख्यो। उसले यात्रामा न कुनै गुनासो गर्यो, न अनावश्यक माग तेर्साएर नाइँनास्ती गर्यो । जे गर्यो उसले रमाइलो गर्यो।
यात्रामा ६० वर्ष पूरा गरेका दुई जना जेष्ठ सदस्य थिए रामबाबु पौडेल र पुरुषोत्तम निरौला । उमेरले १ महिनाको जेठो कान्छो र नाताले मामा भान्जा पनि। एक महिनाले भएपनी सबैभन्दा जेष्ठ सदस्य हुनपाएकोमा मख्खै थिए रामबाबु । हामी उनलाई घरी-घरी ‘सिनियर सिटिजन’ भन्दै हाँसो मजाक गर्थ्यौं। साच्चै उनले यात्राभर हामीलाई अभिभावकत्व देखाए।यात्राको पुरै समय रामबाबुको अभिभावकत्व पाएर हामी सबै खुशी थियौं ।

भोलिपल्ट विहानै हामीलाई बेसक्याम्पदेखि आमायाङ्ग्री यात्रामा निस्कनु थियो। त्यो दिन टुप्पोमा पुगेर बेसक्याम्प मात्रै होइन हामीलाई तार्केघ्याङ नै झर्नु थियो। जसको लागि हामिले त्यो दिनको बेसक्याम्पदेखि आमायाङ्ग्री सम्मको उकालो र फेरी ओरालो सकेर पनि अघिल्लो दिनको तार्केघ्याङदेखी बेसक्याम्प सम्मको दुरि सबै पार गर्नु थियो। त्यसैले हामीले साँझको खाना खाएपछि नै प्लान बनायौ कि बिहान ४ बजे उठेर हिड्ने ।
बिहान छिटो हिंड्दा हामीलाई चुनौती र अवसर दुबै थियो। चुनौती भनेको वनको बाटो,अध्यारो र भालु भेटिन सक्ने अनि त्यसको संभावित आक्रमण । अवसर भनेको जति छिटो आमा याङ्ग्रीको टुप्पोमा पुग्यो त्यहाँबाट देखिनेमनोरम दृश्य । त्यसैले हामीले चुनौती पनि लियौ र अवसर पनि। बिहान ४ बजे हामी ठ्याक्कै बाटो लाग्यौं । करिब ४५ मिनेट जति हामीले मोबाइल बालेर यात्रा गर्यौ।
पूर्वमा भर्खर उदाउँदै गरेको सूर्यको सुनौला किरण। तल सेताम्मे बादलको तलाउ। अनि सिमसिम पानी र सेतै फूलेका गुराँसले हाम्रो थकाइलाई बिर्साइदिएको थियो। अघिल्लो दिन बाटोमा भेटिएका एक अपरिचितले आमायाङ्ग्री टुप्पोमा पुग्न कति समय लाग्ला भन्ने जिज्ञासामा भनेका थिए:- ‘मलाई २ घन्टा तपाईंहरुलाई ३ घन्टा लाग्छ।’

उनले आफुलाई बलियो देखाउन २ घन्टा र हामीलाई कमजोर देखाउन हो वा किन ३ घन्टा लाग्छ भने पत्तो पाइएन। तर ,त्यो कुरालाई हाम्रो कृष्ण खतिवडाले भने ती अपरिचितले ‘होच्याएको पो हो कि’ भनेर च्यालेन्जको रुपमै लिनुभएछ । पेशाले बैंकर भएको कारण पनि हुनसक्छ कृष्ण खतिवडाले ती अपरिचितसँग यात्रामा लाग्ने समयको ‘डेबिट र क्रेडिट’ सहितको हिसाब मिलान टुप्पोमै पुगेर गरौंला भन्ने सोचेछन् । नभन्दै भोलिपल्ट हिँडेपछि थाहा भयो ती अपरिचित मित्र हामी भन्दा ३ मिनेट अगाडी पुगेछन् । तर, अझै उनको फुर्ती र दम्भ भने घटेको थिएन । हामीलाई जित्न भन्दा पनि आफ्नो लाज ढाक्न श्वासप्रश्वास नै बन्द हुने गरी ३ मिनेट अघि पुगेका उनले प्याच्च बोले:- तपाईंहरुको सुर्योदय छुट्यो !
त्यसदिन पानी परिरहेको र आकाश धुम्मिएको कारण आमा याङ्ग्रीमा पुगेपछि हामीले सुर्योदय र खुलेको हिमाल चाहिँ देख्न सकेनौं तर, नजिकै फराकिलो चउर। अनि चउरमा फर्फराईरहेका रंगीन लुङ्दारहरू। बीचमा चार तले गुम्बा र वरिपरिका लुङ्दारलाई छोएर आएको चिसो हावाको स्पर्श भने मज्जैले लिन पाइयो ।
रामबाबु पौडेल, पुष्कर नेपाल र मेरो चाहिँ यो यात्रा पटकपटकको असफल प्रयासपछि जुरेको थियो । यसअघि हामीले योजना बनाइरह्यौ तर, कार्यान्वयन भएको थिएन । योजनाकै बिचमा एकपटक मोटरबाइक लिएर पनि निस्किएका हामी पाल्चोकी दर्शन गरेर फर्किएका थियौं । त्यसैलाई लिएर कहिलेकाहीँ रचना पौडेल र नानु दाहालको झटारो सुन्नुपर्थ्यो ‘हामी समेत जाने भनेको यात्रामा एक्लै एक्लै गएर कसरी पूरा हुन्थ्यो ! यसपटक सबैको इच्छा अनुसार यात्रा भयो र सुखद पनि रह्यो।

आमा याङ्ग्री पिक (३,७७५ मिटर)मा पुगेपछी हामी सबैले एकै स्वरमा भनिहाल्यौ:- ‘आहा ! ‘स्वर्ग पनि यस्तै हुन्छ होला है !’
बादल भित्रबाटै भएपनी सुर्यले न्यानो किरण दिइरहेको थियो। हिमालको काख र बादलको तलाउ माथि हामी मस्त थियौं । त्यसपछि सुरुभयो टिकटक,रिल र फोटो सेसन। ओहो ! क्यामेरा र मोबाइलले पो फुर्सद पाउनै मुस्किल । फोटोमा त्यतिधेरै मन नगर्ने पुरुषोत्तम निरौला समेत पो पोज पोजको फोटोमा देखिन थाले। तल झरेर क्यामेरा हेर्दा पो थाहा भयो सबैको फोटो खिच्दा खिच्दै आक्कल झुक्कल बाहेक आफ्नै फोटो छुटेछ !
एक छिन अघिसम्म थकानले निन्याउरो अनुहार बनाएका भ्रमण टोलिका जेष्ठ सदस्यद्वय रामबाबु र पुरुषोत्तम निरौला सहित पुष्कर नेपाल,कृष्ण खतिवडा र सचिन्द्र निरौला अनि कान्छो सदस्य सानिध्य निरौला डाँडामा पुगेपछि नाच्न थालिहाले नि ! ए साच्चै ! नानु दाहाल,रचना पौडेल र प्रशिला आचार्यको त कुरा गर्नै पो बिर्सेको ! हुन त कुरै नगरेपनी ‘क्यामेरा होस कि मोबाइल’ आफुतिर फर्केको देखेपछि फोटो र टिकटकको लागि यी ३ जना हरेक समय तयार !
अनि गीतमा भिडियो बनाउन सुरु भैहाल्यो। खिच्ने मै थिए, नाच्ने सबै थिए। भिडियोमा मुख्य भुमिका नानु,रचना,प्रशिला र सच्चिन्द्रले लिएपछि रामबाबु,पुष्कर नेपाल र कृष्ण खतिवडा अतिथि भुमिकामा मात्रै सिमित देखिए !
आमा याङ्ग्रीको मेलामा……
कालो चस्मा लाउ भन्छ।

गीतको लय र भाव कता पुग्यो चाहिँ थाहा भएन तर, सबै नाचे। मैले पनि आमा याङ्ग्री गुम्बा,घरिघरि देखिने हिमाल र बादल अनि गुराँसलाई पृष्ठभूमि राखेर धेरै तस्बिर खिचेँ। तस्वीर खिच्दै गर्दा सम्झिए आहा ! प्रकृतिले सिंगारेको तर,नेताले बिगारेको सुन्दर मेरो देश ! स्वर्ग जान सातजुनी तपस्या गर्नै नपर्ने अनि जिउँदै स्वर्गको अनुभुती गर्न पाइने हाम्रो देशलाई हामीले कहिले बुझ्ने र कहिले चिन्ने होला !
झन्डै ४५ मिनेटको बसाई पछि हामी ओरालो लाग्यौं । बिहान झिसमिसेमै उकालो लागेका कारण छुटेका मनोरम दृश्य,ढुङ्गाको आकृति र गुराँस सहित अन्य फूल अनि बनस्पतिको मज्जा लिदै हामी बेसक्याम्प आइपुग्यौ। जहाँ हाम्रो लागि भोकको साथी ‘ब्रेकफास्ट’ तयार गरेर होटलका भाइहरु बसिरहेका थिए। हामी ओरालोमा करिब १० मिनेट जति घनघोर पानीको सामना गर्न बाध्य भयौं । त्यो माथिको शुन्दर दृश्य अझै आँखा अगाडि घुमिरहेकोले होला त्यो पानीको चुटाइलाई पनि हामिले थप मनोरंजनकै रुपमा लिएर ब्रेकफास्ट पछि तार्केघ्याङ ओर्लियौं । जहाँ होटल याङ्री पिकका संचालक वाङ दोर्जे लामा र पेम्बा लामीनी हाम्रो लागि लन्च तयार पारेर कुरिबसेका थिए।दिउसोको १२ बजे अगाडि नै हामी तार्केघ्याङ आइपुगेपनी गाडी भोलिपल्ट मात्रै फर्किने भएकोले हामिले वाङ दाइ र पेम्बीनी भाउजुकै होटलमा विश्राम गरेर भोलिपल्ट बिहान ६:२० मा काठमाडौ फर्कियौं।

कहाँ हो आमा याङ्ग्री कसरी जाने ?
सिन्धुपाल्चोक जिल्लाको उत्तरपश्चिम भेगमा अवस्थित हेलम्बु गाउँपालिका-१ मा रहेको छ आमा याङ्ग्री। यहाँको उचाई ३७७५ मिटर हो। तार्केघ्याङबाट वेस क्याम्पसम्म ६ किलोमिटर जति मोटर बाटो छ। तर, पदयात्रा गर्दा मोटर बाटो होइन जंगलको उकालो जानु राम्रो हुन्छ। तार्केघ्याङदेखी बेसक्याम्प पुग्न २ देखि ३ घण्टा लाग्छ। बेस क्याम्पमा बास बसेर भोलि बिहान वेस क्याम्पबाट २.५ किलोमिटर ठाडो उकालो चढेर आमा याङ्ग्रीमा पुग्न करिब २ देखि ३ घण्टा लाग्छ। हामी चाहिँ १ घन्टा ५४ मिनेटमा पुग्यौं ।
साविक महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बु गरी पाँच गाविस मिलाएर २८७.२६ बर्ग किमि क्षेत्रफलको हेलम्बु गाउँपालिका बनाइएको हो । यसको केही भाग लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्छ। हेलम्बु अन्तर्गत पर्ने तार्केघ्याङ, मेलम्चीघ्याङ, शेर्माथाङ, काजेघ्याङ, आमा याङ्ग्री, कुटुमसाङ, मिलारेपा केभ, घोप्टेघ्याङ, चित्रे डाँडा, गुरु रिम्पोचे डाँडा आदि पर्यटकिय रुपमा चर्चित ठाउँ हुन्। यहाँ पद्मसम्भव र बौद्ध योगी मिलारेपाले ध्यान गरेका गुफा एवम् पदचिन्ह पनि भेटिन्छन् भन्ने गरिन्छ।
काठमाडौ नारायणटार नजिकै शिबचोकबाट बिहान ६ बजे बस जान्छ। त्यो बस तार्केघ्याङ सम्म पुग्छ। आफ्नै निजि गाडी वा बाइकमा जाने हो भने बेसक्याम्प सम्म पुग्न सकिन्छ। थली,साँखु, जहरसिंहपौवा, नाङ्लेभारे,मेलम्ची हुँदै करिब ५ घण्टाको बस यात्रा पछि तार्केघ्याङ पुगिन्छ।
त्यो दिन त्यहीँ बसेर जाने वा बेसक्याम्प सम्म हिडेर बाटो छोट्याउने त्यो आफ्नै कुरो हो। बेसक्याम्प पुगेर बस्दा भोलिपल्ट सजिलो हुनेछ। तार्केघ्याङ बस्दा २५५० मिटरको उचाइ हो भने बेसक्याम्प(चोमोथाङ) ३२०० मिटर ।
पुगेर फर्कन समय कति लाग्ला ?
आमायाङ्ग्री पुगेर फर्किन कम्तीमा एक रात दुई दिन मात्रै छुटाए पनि पुग्छ। तर,सार्बजनिक गाडीको रुट प्रयोग गर्दा र गएको गाडी त्यसैदिन नफर्किने हुँदा हामिले २ रात ३ दिन लगायौ। गएको दिन बेसक्याम्प बस्ने,भोलिपल्ट तार्केघ्याङ बस्ने र तेस्रोदिन गाडी चढेपछी ११ बजे नै काठमाडौ आइपुगिन्छ।
पदयात्रा दूरी – : वेस क्याम्पदेखि आमा याङ्ग्री २.५ किलोमिटर ठाडै उकालो र ओरालो। बेस क्याम्पदेखि तार्केघ्याङ ५ किलोमिटर उकाली र ओराली।
समय – : आमा याङ्ग्री पिक चढ्न २ घण्टा, ओरालो झर्न १:२५ घण्टा। बेस क्याम्पदेखि तार्केघ्याङसम्म झर्न १:३० घण्टा ।
के-के लैजाने ?
कुनैपनी ठाउँको यात्रा गर्नु अगाडी केही कुराको जानकारी राख्नु राम्रो हुन्छ।खासगरी त्यहाँको मौसम र बाटो अनि खानेकुरा । सामान्य एउटा ब्याग बोक्नुपर्छ ।त्यसमा हल्का टि-सर्टदेखि ज्याकेट सम्म राख्नुपर्छ । सक्नुहुन्छ भने केही ड्राइफ्रुट वा बिस्कुट,केही दाना स्याउ,सुन्तला फलफुल पनि । क्याप, सन ग्लास, पञ्जा, मोजा, रेनकोट, लौरो, पानी बोतल, क्यामेरा, टावल, टुथ पेष्ट, साबुन आदि बोक्नु राम्रो। प्राथमिक उपचारका सामाग्रि बोक्नु अझै बुद्धिमानी हुन्छ किनभने बाटोमा कुनै मेडिकल वा राम्रो पसल छैनन् । जीवनजल, सिटामोल, हयाण्डी प्लास्ट, व्याण्डेज आदि बोक्दा गज्जब।





