त्रिविमा पनि सुखद् अभिनव वर्ष-२०८१
मनोज कुमार कर्णत्रिभुवन विश्वविद्यालयले गत २०८० साल पाैष २० गते भिसिकाे पहिलाे विज्ञापन भएदेखि गत मिति २०८० सालकै चैत्र ३० गते अन्तिम दिनसम्म भिसि (उपकुलपति), रेक्टर (शिक्षाध्यक्ष) र रजिष्ट्रार विज्ञापनका प्रक्रिया, बायाेडेटा, प्रस्तुति तथा विगतमा वैचारिक संघ-संगठनसँग लगाव भएपनि अब त्यसभन्दा माथि उठेर विशुद्ध प्राज्ञिक कार्यमा दत्तचित्त हुने र सबैकाे लागि उपयाेगी र प्रिय भई काम गर्ने प्रतिबद्धताका आधारमा कुलपतिद्वारा नियुक्त गरिएका छन् । याे २०८० सालकाे अन्तिम दिनमा भएपनि सम्पन्न भएर नव वर्ष २०८१ सालकाे लागि सुखद् सवेरा (सूर्याेदय) काे संकेत नेपाल सरकारबाट भएकाे देखिन्छ । सबैमा यस महान् मानवीय संस्कार कार्यमा लाग्नुभएका, चिन्तित भएर सकारात्मक विचारहरू राख्नुभएर सरकार र विश्वविद्यालयका नेतृत्वहरूलाई दिशाबाेध गराईदिएकामा र यसकाे वाहक सञ्चारमाध्यमहरूलाई पनि मानवता, सभ्यता, प्राज्ञिकता साेच्ने हामी प्राध्यापककाे तर्फबाट नव वर्षकाे हार्दिक मंगलमय शुभकामना छ ।
अवश्यपनि भिसि प्राडा क्शरजंग बराल, रेक्टर प्राडा खड्ग केसी र रजिष्ट्रार प्राडा केदार रिजालहरूकाे नियुक्तिकाे यस क्रममा देशकै उच्च शिक्षाकाे धराेहर, सबभन्दा ठूलाे र पुरानाे उच्च शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयले निकै राजनीतिक खिंचातानी, दलका नेतृत्वकाे दबाव आदि खेप्नु पर्याे, सजिलै भएन तर जे भयाे, त्यसप्रति नेपालकाे हालकाे राजनैतिक अवस्था बुझ्नेकाे लागि उत्तम नै भयाे । सर्वाेत्तम वा औधी राम्राे पदाधिकारी चुनिएकाे प्रमाणित गर्नलाई स्वयं पदाधिकारीहरूले सुनलाई आगाेमा पगाल्नेजस्ताे कसीमा कर्तव्यपालनकाे बेला तापेर लगाउनु पर्छ । राजनैतिक जालझेलमा पदाेन्नती, जागिर खानेभन्दा पनि प्राज्ञिक प्रखरता र सुधारकाे लागि भने उहाँहरूकाे नियुक्तिलाई आशाकाे संकेतकाे रूपमा आम प्राध्यापकवर्ग र नेपाली समाजले लिएका छन् । उहाँहरूमाथि ठूलाे आशा र जिम्म्वारी दल, देश, बाैद्धिक वर्ग र मानव समाजकाे छ तसर्थ, अप्ठ्याराे स्थितिमा नै नेतृत्वकाे पहिचान हुन्छ भने झैं उहाँ त्रिविका नेतृत्वहरूले यस परीक्षालाई राम्राे अंकले उत्तिर्ण गर्नैपर्छ ।
जति उतारचढाव र तीव्र प्रतिस्पर्धा (Fierce competition) बाट उहाँहरूकाे नियुक्त भएकाे छ, अब उहाँहरूले नजिकका नातावाद (Nepotism) र दलीय लगाव (Politicalization) आदिमा फँसेर कसैलाई जागिर खुवाउने, अयाेग्य/कमसललाई पदाेन्नती गराईदिने, काज मिलाएर त्रिविकाे रकम निकटका लाई खुवाएर खुशीपार्ने वा निकटकालाई अवसर दिई बाँकी याेग्यलाई आफ्नै त्रिविलाई टाढाकाे पराया बनाईदिने वा केबल बायाेडेटा भर्नलाई छुट् छैन्, बुझाैं हामी कि वर्तमान यी पदाधिकारीहरूकाे कुनै पनि आग्रह, पूर्वाग्रह वा लापर्वाहीले उहाँहरू असफल हुनुभयाे भने बाैद्धिकवर्ग र नेपाली समाजमा अब केही दशक नै नेपाली ऊच्च शिक्षाकाे विकास हाेला भन्ने आशामा तुषारापात हुनेछ र राजनैतिक दलहरू खग्रास ग्रहण लागे झैं त्रिविमाथि गलतरूपले केवल जागिर खुवाउने थलाेकाे रूपमा बुझेर हाबी हुनेछन् । यस लेखकाे आशय नै सकारात्मक उर्जाले दिनानुदिन क्षयीकरण भईरहेकाे त्रिविकाे गरिमालाई सबैले मिलेर आ-आफ्ना ठाउँबाट पदीय हैसियत अनुसार आफ्नाे जिम्माकाे कर्तव्यपालन गरेर माथि उठाउन लगाउनु हाे ।
प्राध्यापक, कर्मचारी तथा विद्यार्थीका अपेक्षा
त्रिविमा प्राध्यापक तथा कर्मचारीका प्राज्ञिक तथा पेशागत माँगहरू नै सर्वाेपरी छन् । उनिहरूले त्रिवि संस्थाका डाईक्सहरू (Dykes) जस्तै परीक्षा नियन्त्रण कार्यालय, सेवा आयाेग, पुस्तकालय, अनुगमन, पदाधिकारीका कार्यालय तथा तिनका मातहतका एकाईहरू आदिले अब पहिलाकाे भन्दा अब्बल दर्जाले सुधार हुँदैछ भन्ने तीव्र संकेत सेवामा दिन सक्नुपर्छ । डीन कार्यालहरू स्वयंले सञ्चालन गरेका सेमेष्टर सिस्टमकाे अवस्था के छ, आफ्नै डीन कार्यालयकाे पर्फाेर्मेन्स अति राम्राे गर्न के-के सुधार गर्नुपर्छ, निष्पक्ष र पूर्वाग्रहरहित कसरी हुने, शैक्षिक क्यालेण्डर कसरी पालना गर्ने-गराउने, क्याम्पसमा उसका प्राध्यापकले प्राध्यापन गरिरहेकाे विषयवस्तुकाे अवस्था डीन अफसकाे भर्डिक्ट्स अनुसार भईरहेकाे छ/छैन, छैन भने प्राध्यापक वा क्याम्पस संस्था/क्याम्पस प्रशासनका व्यक्ति विशेष कसकाे कारणले चलिरहेकाे छैन, त्यसलाई निराकरण कसरी गर्ने जस्ता कामहरू छन् ।
अवश्यपनि प्राध्यापक-कर्मचारीकाे सेवा प्रवेश गर्नेकाे संख्या निवृत्तिमा जानेकाे तुलनामा कम भएकाेले जनशक्ति कम छ, त्यसलाई प्रशिक्षक कर्मचारी वा झ्याल-भेन्टिलेटरभएर छिराउनुभन्दा पनि नियमीत विज्ञापन ६-६ महिनामा गराएर मूल ढाेकाबाट नै स्वागत गर्ने, तलब-भत्ता अति कम अपुगलाई कम्तिमा सार्क स्त्तरीय पार्नुपर्ने, उनिहरू विद्यावारिधिमा विधिवत् दर्ता गराईसकेका (Enrolled) लाई अनिवार्य स्कलरशिप दिने वा देशभित्रबाट पिएचडी गर्नेलाई रकम अभावले अड्कने जस्ताे अति दु:खद् अवस्थाबाट पार लगाउन तत्काल पूर्ण फीस (Fees) छुट दिने, विज्ञापनका गतिविधिमा पारदर्शिता अपनाउने, तालिम-सेमिनार-गाेष्ठीमा लगाउने आदिहरू छन् । धेरै प्राध्यापकहरूमा नव पदाधिकारीबाट विगतमा वैचारिक संघ-संगठननिकट रहेर गरिएका व्यक्त विचारहरूबाट पूर्वाग्रहित भई आफूमाथि कतै कुनै बदला वा रीस फेर्ने गैह्रप्राज्ञिक हर्कत त हुनेछैन भन्ने त्रास रहेकाे देखिन्छ जुन निराधार हाे र हुनुपनि हुँदैन ।
यसाे गर्ने काेही पदाधिकारी नै “सबैकाे लागि म आएकाे हुँ” भन्ने पुष्टि गर्न नसक्नु अयाेग्य प्रमाणित आफूलाई गर्नु हाे तसर्थ, पदाधिकारीहरूले अब दल त्याग गरेकाे घाेषणा गरेरमात्र नियुक्त भएकाे अवस्थामा पुन: काेहि वैचारिक मान्छे/नेताले व्यक्तिगत बदला लिन फ्लानाेमाथि कृत्रिम मुद्दा हालेर अब कार्वाही गरेर “सहयाेग” गर्नुस् भन्दा सम्बन्धित व्यक्तिलाई भयत्रासरहित वातावरणमा उक्त पदाधिकारीले छुट्टै बाेलाएर एकान्तमा सत्यतथ्य बुझ्ने तथा पूर्वग्रहित त्यस्ता दु:ख दिने/दिलाउनेलाई भेट्न समय निदिने-लखेट्ने वातावरण बनाउनुपर्छ । किनकि कुराे लाउने मान्छेकाे पनि गलत व्यवहार, नियमकानून उल्लंघन, पेल्ने-ठेल्ने वा अनैतिक कृयाकलापले पनि वातावरण बिग्रेकाे हुनसक्छ अनि दुईजनाकाे बीचकाे झगडामा त्रिवि पदाधिकारी किन फँस्ने ? यदि याे कुराे त्रिवि पदाधिकारीले नबुझेर पावरकाे दुरूपयाेग गरिदिए भने त्रिवि प्राज्ञिक स्थलकाे ठाउँमा वैचारिक द्वन्द्व र भीडन्तकाे रण मैदानमा परिणत हुनेछ, जुन हुनु हुँदैन ।
विद्यार्थीहरूका अपेक्षा उनिहरूले नै राख्ने हुन् तर विगतमा आफूपनि विद्यार्थी रहेकाे र विद्यार्थीलाई प्राध्यापन पेशामा निरन्तर सँगै रहेकाेले केही भने उनिहरूका कुरा उल्लेख अनुभवले गर्न सकिन्छ । जस्तै, गुणस्त्तरीय शिक्षा जुनकी वैश्विक बजार (Global market) का लागि बिकाउयाेग्य (Saleable) हाेस्, उन्नत पुस्तकालय, क्याम्पस-विश्वविद्यालय परिसरमा भर्ना गराईदिने/स्कलरशीप दिलाईदिने-नपढेपनि मिड टर्म जाँच आदिमा उत्तिर्ण गराईदिने प्रलाेभनमा विद्यार्थी नेताकाे नाममा वा आचरणहीन केही कर्मचारी-प्राध्यापककाे चंगुलमा नफँस्ने वातावरण, कक्षाकाेठामा वैज्ञानिक लेखन-सबै सक्दाे आधुनिक शैक्षिक उपकरण र ज्ञानकाे शिक्षकद्वारा पूर्ण प्रयाेग, नियमित र पञ्क्चुअल शिक्षक-विद्यार्थीकाे उपस्थिति, शाैचालय-क्यान्टिन-पुस्तकालय-कक्षाकाेठा-परीक्षा हल जस्ता भाैतिक सुविधा, खानेपानीकाे नि:शुल्क उपलब्धता, सस्ताेमा गुणस्त्तरीय शिक्षा, पढ्नेसँगै काम गरेर थाेडै भएपनि आर्थाेपार्जन र अनुभव बटुल्ने, निष्पक्ष परिक्षा र समयमा नतिजा आदिहरू नै हुन् ।
तत्काल के गर्न सकिन्छ हाेला ?
मेराे विचारमा त्रिविकाे अवस्था, पदाधिकारीकाे अवस्था, राजनैतिक दलका केही शीर्ष नेताहरूमा देखिएका राजनैतिक हावी त्रिविमा हुनुपर्ने गलत साेच, औसतबढी नेताहरूमा दैनिक नैतिक ह्रास आई सत्तारूढ जसरी पनि र सरकार टिकाउनलाई आर्थिक अपचलनदेखि लिएर देशका जाँच एजेन्सिज् अख्तियार, सम्पत्ति शुद्धिकरण, प्रहरी, प्रशासन, भ्याट अफिस आदि जाे पनि मन नपर्ने अन्य सांसद-कर्मचारी-व्यक्तिमाथि लगाईदिने डरलाग्दाे अवस्थामा त्रिविका सबै सम्स्यालाई एकै चाेटी हल गर्न सकिंदैन तर स-साना समस्याहरू क्याम्पसहरूमा स्थानियस्त्तरमा पनि हल गर्न निर्देशन दिनुपर्छ । दीर्घकालीन समस्याका हलका लागि एउटा ट्र्याकमा त्रिविलाई राखिदिने गर्नुपर्छ । त्यस्तै, क्याम्पस प्रमुखजस्ताे स्थानिय एकाई प्रमुखलाई स्वयं त्रिवि पदाधिकारी विज्ञापनबाट आईसकेकाे सन्दर्भमा र त्रिविकाे भिसि नै उपप्राध्यापक चन्द्रकला घिमिरेले सर्च कमिटिमा रहेर खाेजिसकेकी हुनाले अब यति वटा क्याम्पस डेपानकाे, यति वटा प्रगतिशिल वा राष्ट्रिय प्राध्यापक संगठन वा लाेकतान्त्रिक प्राध्यापक संघ भनेर अनि बहुमुखि क्याम्पसमा कम्तिमा सह-प्राध्यापकमात्र क्याम्पस चीफ हुने जस्ताे अव्यवहारिक र लाजलाग्दाे विगतकाे कार्यकारीकाे निर्णय तत्काल बद्लेर विना कुनै वैचारिक संघ-संस्थाकाे सफारिश कम्तिमा उक्त क्याम्पसमा पाँच वर्ष काम गरिसकेका स्थायी प्राध्यापकबाट क्याम्पसले वा त्रिविले नै फ्लानाे क्याम्पसकाे लागि भनेर विज्ञापन मागेर क्षमता राख्नेलाई नेतृत्व सुम्पने परिपाटी बसाल्नै पर्छ ।

त्यस्तै, वर्तमान त्रिवि पदाधीकारीले वैचारिक संघ-संगठनलाई यस संघीय लाेकतान्त्रिक गणतन्त्रकाे नेपालमा नजरअन्दाज गर्न मिल्दैन । त्यसाे गर्नलाई कि वृहद् समझदारी बनाएर यीनिहरूलाई बन्द गराएर केवल सराेकारवाला छाता प्राध्यापक-कर्मचारी संघ नेपाल प्राध्यापक संघ (Nepal University Teachers’ Association, NUTA), त्रिवि प्राध्यापक संघ (Tribhuvan University Teachers’ Association, TUTA) का निर्वाचित् पदाधिकारीद्वारा ल्याईएकाे जायज सम्पूर्ण पेशागत माँगहरूलाई तत्काल, केही दिन/महिना वा वर्ष दिन गरेर टाईमफ्रेम बनाएर सम्बाेधन गर्नुपर्याे । यहाँ बुझ्नुपर्ने कुरा के छ भने अब वैचारिक संघ-संस्थाले पनि निकटवालालाई भन्दा पनि विश्वविद्यालयलाई, त्यसका समस्या, उच्च शिक्षाका समस्या आदिहरूलाई चिन्न सक्ने, व्यक्त गर्न सक्ने, विगतमा रचनाहरूमार्फत् उठाउन सफलजस्ताहरूलाई विश्वास गरेर नुटा-टुटामा पठाउनुपर्छ । उनै प्रतिनिधिहरूले स्वयंपनि त्रिवि र उच्च शिक्षाबारे विविध समसामयिक समस्यामाथि सुधारकाे फ्रेम बनाएर पहिला नुटा-टुटामा एकमत गरि त्रिवि पदाधिकारीका फ्रेमसँग प्राज्ञिक बहस तुलनात्मकरूपले गरेर पुन: एकबद्ध भई समस्या समाधानतर्फ लाग्नुपर्छ । नेपाल सरकारसँग डिल गर्दापनि सँगै गएर गर्दा प्रभावकारी हुनेछ ।
त्यस्तै, वर्तमान त्रिवि पदाधिकारी र खासगरी भिसि बराललाई कुलपति तथा प्रधानमन्त्री (माओवादी सुप्रिमाे) पुष्पकमल दाहाल “प्रचण्ड”ले नै नियुक्त गर्नुभएकाेले गर्दा सराेकारवालामा सकारात्मक सुधार हुने अपेक्षा छ र भिसिले कम्तिमा तीन-चार गुणा बढी बजेट त्रिवि र उच्च शिक्षामा लगानीकाे लागि माग गरी सफल पनि हुनुपर्छ । यसाे भएकाे खण्डमा वित्तिय समस्या, संकाय विकाश, छात्रवृत्ति, निवृत्तिभरण रकम, तलव-सुविधा वृद्धि, पुस्तकालय अपग्रेड, दरबन्दी थप्ने सुविधा आदि हुन गई हाम्राभन्दा “हामी सबैका राम्रा पदाधिकारीहरू” भन्ने सकारात्मक संदेशकाे सञ्चार हुन गई सबैबाट सहयाेगकाे अपेक्षा गर्न सकिन्छ । यिनै कामनाका साथ सबैमा नव वर्ष २०८१ सालकाे हार्दिक मंगलमय शुभकामना !
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

