अयोध्याको तीर्थाटन; अनुभव र ज्ञान
प्रा. खगेन्द्रप्रसाद भट्टराईश्रीराम मन्दिरको दर्शन गर्न चार दिनको भारतको अयोध्याधाम यात्रा सकेर हामी फागुन २६ गते सर्लाहीको हरिवनस्थित घर आइपुग्यौं । यो यात्रामा हामी सात जना थियौं- दाजु कृष्णप्रसाद भट्टराई, राधा भाउजू, कविदत्त मामा, छोरी कला, नवराजकी दुलही भगवती, गायत्री र म ।
हामी २३ गते हरिवनबाट वीरगञ्ज गयौं र हरिवनकै छिमेकी भुवन पोखरेलको घरमा बस्यौं । पोखरेलले वीरगञ्जमा पनि बडो राम्रो घर बनाएका छन् । घर आधुनिक छ र फराकिलो पनि । भुवनको परिवार चाहिं नातेदारको विवाहको सिलसिलामा बर्दिवास गएको रहेछ । हामीलाई उनकै घरमा बस्ने शंकर गौतमले खानेबस्ने व्यवस्था मिलाइदिए । दाजुले भुवनलाई फोन गरेर सबै व्यवस्था मिलाउनुभएको थियो । २४ गते विहानै हामी भारतीय प्लेट नम्बरको गाडीमा अयोध्याको लागि प्रस्थान गर्यौं । रक्सौलबाट करीब तीन सय एकचालीस किलोमिटर पर्दो रहेछ । अवस्था हेरी सातदेखि आठ घण्टा लाग्ने ।

अयोध्यामा श्रीराम मन्दिरको भर्खरै जनवरी २२ तारिख सन् २०२४ मा भारतीय प्रधानमन्त्री श्रीनरेन्द्र मोदीद्वारा उद्घाटन भएको हुँदा धेरै मानिसहरु मन्दिर दर्शनको लागि जाँदा रहेछन् । सुने अनुसार एक लाखभन्दा बढी मानिसले प्रत्येक दिन दर्शन गर्दछन् रे ! तर आवश्यक पर्ने होटल र गेष्ट हाउसहरुको निर्माण भइसकेको छैन । त्यसैले ठूलाठूला पालहरु टाँगेर बस्ने व्यवस्था मिलाइएको रहेछ । बीस वटा स्थानमा पालहरुको व्यवस्था रहेछ । तिनीहरुलाई ‘पालको शहर’ (Tent City) भनिँदो रहेछ । हामी बसेको ठाउँ सबभन्दा ठूलो थियो, जसमा पचास हजार मानिसहरु पालभित्र अटाउँथे । कति पालभित्र सानासाना खाटहरुमा ओछ्यान, ओढ्ने र तकियाको व्यवस्था थियो । कतिमा भुइँमा ओछ्याइएको ओछ्यानमा सुत्नु पर्ने । सयौं मानिसहरु एउटै पालभित्र अटाउने । कत्रा ठूला पाल !

अस्थायी चर्पीहरु ठाउँ-ठाउँमा र प्रशस्तै । पानीको राम्रो व्यवस्था । त्यति धेरै मानिसहरु भए पनि सफाईको राम्रो प्रबन्ध मिलाइएको । सफा गर्ने, बढार्ने मानिसहरु आफ्नो काममा व्यस्त । त्यहाँ बस्न हामीले बडो मुश्किलले पायौं । भारतकै अन्य राज्यहरुबाट आउने तीर्थालुहरुले सिफारिश पत्र देखाएर मात्रै बस्न पाउँदा रहेछन् । हामीसँग त्यो थिएन । तर हामी नेपालबाट आएका हौं भनेपछि राष्ट्रिय स्वयंसेवक संघका स्वयंसेवक धर्मवीर सिंहले सहानुभूति राखी सहयोग गरे । सुत्नको लागि व्यवस्था गरिदिए । खाने व्यवस्था पनि मिलाए । हजारौं व्यक्तिलाई निःशुल्क खाने प्रबन्ध मिलाइएको छ । स्वयंसेवकहरु फुर्तीले खटेका छन् । निःस्वार्थ सेवा देखिन्छ । व्यवस्थापन प्रशंसनीय छ ।
२५ गते विहानै सरयू नदीमा नुहाउन गयौं । अयोध्याको सरायू नदी नेपालको कर्णाली नदी हो जसको मुहान तिब्बतमा छ । मानिसहरुको ठूलो भीड हुने हुनाले गाडी अलि टाढै रोक्नु पर्दोरहेछ । नदीमा धेरै घाटहरु छन् । हामीले तुलसी घाटमा गएर नुहायौं । त्यसपछि करिब साढे दुई किलोमिटर जति हिंडेर मन्दिर पुग्यौं । जताजतै भीड । हनुमानको मन्दिर भीडले गर्दा दुर्घटना होला कि भनी प्रहरीले बन्द नै गर्नुपर्यो । मानिसहरु श्रीरामको दर्शन गर्नु अगाडि हनुमानको दर्शन गनुपर्दछ भन्दा रहेछन् । हामीले हनुमानको दर्शन गर्न पाएनौं । परैबाट श्रद्धाभावले नमस्कार गर्यौं ।
हामीसँग केही सामान थिए । मोबाइल थिए । श्रीराम मन्दिरभित्र लान नपाइने । त्यसैले केही बेर लाइनमा बसेर लकरमा सामान राख्यौं र मन्दिरतिर लाग्यौं । ठूलो भीड छ । सुरक्षा जाँच पार गरेर अगाडि बढ्नु पर्ने । ठेलमठेल गर्दै अगाडि बढ्यौं । ठाउँठाउँमा प्रहरीले मानिसहरुलाई छिट्टो-छिट्टो हिंड्न र ठाउँठाउँमा रोकिन भन्दै थिए । मान्छेहरु हराएको सूचना माइकले दिंदै सम्पर्कको लागि अनुरोध गरिरहेको थियो । साथीहरु छुटे भने भेट्न र भेटिनै मुश्किल पर्ने ।
मन्दिरको कलात्मक भव्यता हेर्दै अगाडि बढ्यौं । श्रीरामको प्रतिमा परैबाट देखिने किसिमले राखिएको छ । पूर्णकदको रामललाको प्रतिमा ज्यादै आकर्षक र मनमोहक छ । हिंड्दै दर्शन गर्नुपर्ने । रोकिन पाइँदैन । त्यस्तो भीडमा पनि महिनौंदेखि प्रत्येक दिन एक लाखभन्दा बढी मानिसले भगवान रामको दर्शन गर्दै आएका छन् । मानिसको कत्रो आस्था धर्मप्रति, भगवानप्रति ! मन्दिर नागरा शैली (Nagara Style) मा बनाइएको छ । यसको डिजाइन चन्द्रकान्त सोमपुराले आफ्नो छोराको सहयोग लिएर गरेका हुन् ।
मन्दिरको डिजाइनको सोच करीब तीस वर्ष अघि देखि नै भएको हो । मन्दिर निर्माणमा आधुनिक निर्माण सामग्रीहरु जस्तै स्टिल र फलामको प्रयोग भएको छैन । मन्दिर मार्बल (marbel), ग्रेनाइट (Granite) र स्यान्डस्टोन (Sandstone) ले बनाइएको छ जसले गर्दा मन्दिरको लामो आयु हुने बताइन्छ । श्रीरामको प्रतिमा कृष्णशिला (Krishna Shila) बाट निर्मित भएको हो । भारतका प्रसिद्ध मूर्तिकार अरुण योगीराजले यो मूर्ति बनाएका हुन् । यो मन्दिर एक अरब असी करोड भारतीय रुपैयाँमा बनेको हो र यो सबै रुपैयाँ धर्ममा आस्था भएका दाताहरुबाट उठेको चन्दाबाट जुटेको हो । मन्दिर एकहत्तर एकड जमीनमा फैलिएको छ । मुख्य भागले २.६७ एकड ओगटेको छ । तीन सय साठी पिलरहरु छन् भने छयालीस वटा ढोकाहरु । पाँच वटा मण्डपहरु छन् । दश लाख मानिसहरु अटाउन सक्ने विशाल परिसर छ । यस मन्दिरलाई भारतकै सबभन्दा ठूलो मन्दिर मानिएको छ ।
मन्दिर निर्माणको कार्य जारी रहेको छ । बुझ्दा अझै केही समय लाग्ने कुरा सुनियो । हतार गरेर निकट भविष्यमा हुन गइरहेको चुनावलाई प्रभाव पार्ने किसिमले उद्घाटन गरेको भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना पनि भइराखेको छ । मन्दिर निर्माणका लागि उठेको रकमको पनि दुरुपयोग भएको कुरा उठाइएको छ । जे होस्, मन्दिर भव्य छ, कलात्मक छ र हिन्दूहरुको ठूलो आस्थाको केन्द्र बनेको छ ।
मन्दिरको दर्शनपछि हामीले हिंडेरै गाडी भएको ठाउँमा आउनुपर्ने थियो । लामो समयसम्म लाइनमा उभिनुपर्दा हामी थाकिसकेका थियौं । भोकले पनि सताएको बेलामा फेरि साढे तीन किलोमिटर जति हिंड्नुपर्ने भयो । बल्लतल्ल गाडी भएको ठाउँमा आइपुग्यौं । गाडी चढेर बाटो लाग्यौं नेपाल फर्कन र बाटैमा गाडी रोकेर खाना पनि खायौं । करिब साँझ ७ बजेतिर हामी कुशीनगर बिरला अतिथिगृहमा आएर बस्यौं ।
कुशीनगर एउटा प्रसिद्ध बौद्ध तीर्थस्थल हो । त्यसैले फागुन २६ गते विहानको समयमा त्यहाँ गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेको ठाउँ, दाहसंस्कार गरेको स्थल, जहाँ अहिले विशाल स्तुपा छ, र उनको अस्तु तत्कालीन आठ गणराज्यहरुको बीचमा वितरण भएको ठाउँ आदि अवलोकन गर्यौं । महापरिनिर्वाण भएको ठाउँमा बुद्धको सुतिरहेको एउटा विशाल प्रतिमा छ । अत्यन्त शान्त वातावरण । केही मानिसहरु प्रार्थणा गरिरहेका, केही भने गहिरो ध्यानमा । मलाई त्यहाँ प्रवेश गर्ने बित्तिकै बेग्लै महसूस भयो । अध्यात्मिक अनुभूतिको अनुभव भयो । एक छिन बसेर मैंले पनि ध्यान गरें । फोटा खिच्ने कार्य भइराखेका थिए । त्यसै बेलामा बर्माबाट आएका मानिसहरु पंक्तिबद्ध भएर बडो अनुशासित किसिमले प्रार्थना गर्दै भित्र प्रवेश गरे र धेरै बेरसम्म प्रार्थना गरे । हामीले पनि केही समय उनीहरुलाई साथ दियौं । त्यसपछि बाहिर आएर खाना खायौं र बाटो लाग्यौं ।
गाडीले हामीलाई रक्सौलमा नेपालको भन्सार अगाडि छोड्यो । रिक्सा लिएर सिधै बसपार्क गयौं । जनकपुरको गाडी लागिरहेको रहेछ । त्यही गाडीमा साढे सात बजे सर्लाहीको हरिवन आइपुग्यौं । यसरी श्रीराम मन्दिरको दर्शनको लागि गरिएको अयोध्या धार्मिक यात्रा (pilgrimage) अत्यन्तै रमाइलो र सफल भयो । कविदत्त मामाले बाटोमा धेरै हँसाउनुभयो । उहाँमा प्रशस्त हास्यकला (humour) छ ।
केही समय अगाडि समाचारले छिट्टै भारतको अर्थतन्त्र तेस्रो शक्तिशाली हुन गइरहेको भनेको थियो । अहिलेसम्म पहिलो अमेरिका, दोस्रो चीन, तेस्रो जापान, चौथो जर्मनी र पाँचौं भारत थिए तर भारतमा भएको तीव्र आर्थिक वृद्धिले भारत पाँचौंबाट तेस्रो स्थानमा उक्लने प्रक्षेपण गरिएको छ । यस पालिको यात्रामा केही संकेतहरु पाइए । सडकजस्तो भौतिक पूर्वाधार तीव्र गतिमा अगाडि बढेको पाइयो । पानीमुनि चल्ने मेट्रो कोलकातामा चलाउन थालेको जानकारी आएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा निकै ठूलो प्रगति भएको मानिन्छ । आर्थिक पक्ष मात्र नभएर सामाजिक र सांस्कृतिक पक्षहरु पनि सबल रुपमा अगाडि बढेको देखिन्छ । यी सबै उपलब्धिको यश मोदी सरकारलाई जान्छ । तर कहिलेकाहीं मोदी प्रतिपक्षसँग अलि बढी असहिष्णु देखिन्छन् । लोकतन्त्रमा यस्तो व्यवहार राम्रो मानिंदैन । उनको ‘सबका साथ, सबका विकास’ को नारामा प्रतिपक्षलाई पनि संगै लिएर हिंड्न आवश्यक छ ।