निर्देशक प्रदीपको ओरालो यात्रा : जात्रा देखि ‘महाजात्रा’

चलचित्रको भाषामा हिट र सुपरहिट चलचित्र निर्देशन गरेर चर्चामा रहेका निर्देशक प्रदीप भट्टराई ‘ह्याटि्रक’ वाला निर्देशक मानिन्छन् । उनको पछिल्लो चलचित्र ‘महाजात्रा’ ले पनि बम्पर व्यापार गरिरहेको छ। उनको ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेल हो ‘महाजात्रा’। जात्रा सिक्वेल बाहेक उनको ‘शत्रु गते’ र ‘महापुरुष’ पनि हिट भएका र पैसा कमाएका चलचित्र हुन् ।
तर,जात्राबाट शुरुभएको प्रदिपको यात्रा महाजात्रा सम्म आइपुग्दा ओरालो लागेको स्पष्ट छ।प्रदिप आफैंले पनि भनेका छन्-‘सिक्वेलको ब्याज सम्म खान मिल्छ तर,मिटरब्याज खान मिल्दैन।’ आफ्नै कुरालाई प्रदिपले महाजात्रामा लागू गरेको देखिदैन । उनले यसमा ब्याज र मिटरब्याज मात्रै होइन दर्शकको भावनालाई ‘लिलाम’ नै गरिदिएका छन् । उनको यो चलचित्रले दर्शकबाट पैसा लुट्न सकेको छ तर,दर्सकलाई न्याय गरेको छैन ।

अभाव र गरिबीमा रुमल्लिएका तीन साथीलाई भ्रष्ट र तस्करका सुन र पैसामा भुलाएर कथा अगाडि बढाएका अघिल्ला शृङ्खला भन्दा यसमा उनले दुई कुरालाई चलचित्रमा मुख्य हतियार बनाएका छन् । पहिलो पात्र र दोस्रो कथामा उपकथा । पात्रको कुरा गर्दा अघिल्ला शृङ्खलाकै पात्र फणीन्द्र,जोयस र मुन्नालाई निरन्तरता दिएका छन् । फणीन्द्रको श्रीमती र ससुरादेखि मुन्नाको श्रीमती र सासुलाई निरन्तरता दिएका प्रदिपले नयाँ पात्र पुन्यप्रसाद(हरिबंश आचार्य) लाई मुख्य पात्रमा भित्र्याएका छन् ।त्यसैगरी सुन र पैसा लुकाउने पुरानै कथामा उपकथा जोडेका छन् राजनीति ।
पात्रहरूको अभाव र अपराधको मूलकथासँग राजनीति जोड्न खोजेका प्रदिपले ‘महाजात्रा’ लाई यहीँ गाइजात्रा बनाएका छन् । पुन्यप्रसाद(हरिबंश)को अभिनय अब्बल छ। अर्का नयाँ पात्र प्रहरी इन्स्पेक्टर बनेका दिब्यदेवको पनि अभिनय दमदार लाग्छ। थरी थरीका मसला भएर पनि अघिल्ला दुई संस्करणको तुलनामा ‘महाजात्रा’ खल्लो छ।
पुरानै तीन साथीहरू फणीन्द्र(विपिन कार्की),जोयस(रविन्द्र सिंह बानियाँ) र मुन्ना (रविन्द्र झा)को बेरोजगारी र अभावहुँदै लाख र करोडको लोभले अपराधसम्म पुर्याउने कथा हो ‘महाजात्रा’। यही कथा भित्र जोडिन आइपुग्ने हरिबंश आचार्य,वर्षा राउत,राजाराम पौडेल,प्रकाश घिमिरे, शिशिर वाङ्देल,प्रवीण खतिवडा र दिब्यदेवले दर्शकको हाँसो,क्रोध,आशा र निराशाको जिम्मा लिएका छन् । पहिलो हाफसम्म राम्रै बगेको चलचित्रको कथा र पटकथा दोस्रो हाफपछी रुमल्लिन्छ। पात्रसँग दर्शकलाई पनि भावुक र हास्यरसमा अगाडी बढाउन खप्पिस प्रदिपले बिच बिचमा त्यो बिर्सेर राजनीति घुसाउन खोज्दा ‘महाजात्रा’ले ट्र्याक बिर्सेको स्पस्ट हुन्छ। हास्य र भाबुकता देखाएर जात्रा र जात्रैजात्रामा दर्शकको मन जितेका निर्देशक प्रदीप भट्टराईले महाजात्रासम्म आइपुग्दा अरु जे भएपनी निर्माताको पैसा डुब्न हुन्न भन्ने मनोबिज्ञान अंगालेको देखिन्छ। जुन कुरा दर्शकको लागि धोका हो। निर्देशक भट्टराईले पुरानै कथा र पुरानै कलाकारको हुबहु चरीत्रमा पछिल्लो राजनीतिक घटनाक्रम र हरिबंशलाई देखाएर पैसा असुल गर्न खोजेको छर्लङ्ग छ।
प्रदिपले जति नै चलाखी गरेपनि जात्रा र जात्रैजात्रा हेरिसकेका दर्शकको लागि ‘महाजात्रा’ निर्थक,झुर अनि समय र पैसाको बर्बादी मात्रै हो। उनको अघिल्लो शृङ्खला जस्तै ‘महाजात्रा’को कथा र पात्र पनि अपराधको जालोमा जेलिन्छन्। फरक यत्ति हो अघिल्ला शृङ्खलामा (जात्रामा ३ करोड पैसा) र (जात्रैजात्रा)मा सुनको कथा हुन्थ्यो भने यसपालिको ‘महाजात्रा’को कथामा थपिएको छ-‘कालो धन कसरी लुकाउने ?’। दर्शकले ‘महाजात्रा’ बुझ्नको लागी-कालो धनले भरिएको गाडी, भाइरल इन्स्पेक्टर,भ्रष्ट नेता र उसको सन्तान मोह, नेताले प्रयोग र संरक्षण गर्ने गुण्डा पात्र र त्यसैको सेरोफेरोमा घुम्ने तीन बेरोजगार युवा कथा यत्ति हो।
बेरोजगार हुनुको पीडा र त्यसले निम्त्याएको संकट भित्रका तीन पात्रलाई बोरामा राखेर कुट्नु, कुटाइ खादा फणीन्द्रले बोल्ने डायलग ‘कुट्न बाँकी भए मलाई कुटेर पठाइदिइहाल्नू, छोरी लिन जानु छ’ भन्नु, हताश भएको बेला रातो ट्राफिक लाइटमा गाडी कुदाउनु,हरियोमा रोक्नु, सोह्रखुट्टेलाई ‘बत्तीसखुट्टे’ र बत्तीसपुतलीलाई ‘सोह्रपुतली भनेर दर्शकलाई हसाउन खोजेपनी खासै नौलो लाग्दैन। त्यसैको वरिपरि घुमिरहेको कथालाई एकएक निर्देशकले राजनीति घुसाउदा लय गुमाएको भान हुन्छ। त्यसैगरी महाजात्रा भित्रको अर्को गाइजात्रा छायांकनदेखी सम्पादन र लाइट (प्रकाश) ब्यबस्थापन नहुनु हो। काठमाडौ वरिपरि खिचिएको दृश्यमा कुनै आहा ! भन्ने छैन। त्यसमाथि दर्शकलाई झुक्याउन बनाइएको नक्कली दृश्य झन अस्वाभाविक छन् । चलचित्रको अन्तिम दृश्य खुलामञ्चमा गरिएको आमसभाको सीजीआई अर्थात (कम्प्युटर जेनेरेटेड इमेजरी) झुर छ। मञ्चमा बसेका अतिथि देखि भाषण सुन्ने कार्यकर्ता र भाषण गर्ने नेताको बिचमा कुनै कुरा पनि सक्कली लाग्दैन। त्यो अस्वाभाविक भिडलाई राजनीतिक आमसभा जस्तो देखाउन सकेको छैन।
मुख्य खलनायक बनेका पुण्यप्रसादले आफ्नो अपराध कर्म स्वीकार गर्दा त्यति सजिलोसँग अपराध बोध गर्नेकुरा पनि स्वभाविक छैन। सुरुदेखी आक्रमक भिलेन बनेको पात्र एकाएक परिवारवादको सानो त्यान्द्रोले सजिलै अपराधबोध गरेर सकारात्मक बनेको कुरा दर्शकले खासै रुचाउँदैनन। चलचित्रको समाप्ति नजिक पुगेर पुण्यप्रसादले आफुले गरेका सबै नराम्रो कामको जिम्मेवारी लिएर आत्मसमर्पण गर्नु सुखद पक्ष भएपनी निर्देशकले त्यसलाई पुष्टि गर्ने बिश्वसनिय आधार दिएकै छैनन् ।
यसर्थ,’महाजात्रा’ ले पैसा कमाउने र निर्माताले ढुक्कसँग अर्को चलचित्र निर्माण गर्ने कुराको ग्यारेन्टी दिन सकेकोमा निर्देशक भट्टराईले स्यावासी पाउलान् । तर,दर्शकलाई उनले न्याय गरेका छैनन् र उनी आफै पनि जात्रादेखी महाजात्रामा आइपुग्दा ओरालो यात्रामा छन् । ओरालो यात्राको जोखिम लिनुभन्दा निर्देशक भट्टराईले आगामी चलचित्रमा दर्शकको मनोभावना अनुकुल अब्बल चलचित्र निर्देशन गर्नु उचित होला।

