‘सामाजिक व्यवस्थाको साधन धर्मशास्त्र’ पुस्तक पढ्दा…
प्रा. खगेन्द्रप्रसाद भट्टराईप्रा. राधाकृष्ण अधिकारीद्वारा लिखित सामाजिक व्यवस्थाको साधन धर्मशास्त्र शीर्षकको पुस्तक आज पढिसकें । पुस्तक छ सय चौबिस पृष्ठको छ । यो पुस्तक प्रा. राधाकृष्ण अधिकारीले आफ्नो विद्यावारिधि पूरा गर्नको लागि लेखिएको शोधग्रन्थमा आधारित छ ।
शोधग्रन्थ उहाँले संस्कृत भाषामा लेख्नुभएको हो, तर धेरै पाठकलाई नेपालीमा अनुवाद गर्दा पढ्न र बुझ्न सजिलो होला भनेर उहाँका छोरा शान्तिकृष्ण अधिकारीले यो ग्रन्थलाई पुस्तकाकारमा प्रकाशित गर्ने क्रममा नेपालीमा पनि अनुवाद गर्ने सोच गर्नुभएछ । अनुवाद चाहिं संस्कृत साहित्यका प्राध्यापक नुरापति पोखरेलले गर्नभएको छ । अनुवाद सरल र स्पष्ट छ । संस्कृत नजान्ने पाठकले पनि राम्रोसँग पढ्न र बुझ्न सक्तछन् । पुस्तक दुवै भाषामा छ- माथि संस्कृत तल नेपालीमा अनुवाद छ ।
पुस्तक विमोचनको कार्यक्रममा शान्तिजीले मलाई आमन्त्रण गर्नुभएको थियो । कार्यक्रम कोरोनाको महामारीमा पनि भव्य उपस्थितिमा राम्रोसँग सम्पन्न भयो । धेरै वक्ता हँुदा कार्यक्रम चाहिं लामै भयो । त्यही बेला यो पुस्तक उपहारको रुपमा मैले पाएको थिएँ ।
पुस्तक पढ्न थालें । ठूलो भएको हुँदा केही समय लाग्ने नै भयो । यो पुस्तकले मलाई धर्मशास्त्र बुझ्नको लागि निकै मद्दत गर्यो । मलाई सनातन धर्मको थोरै मात्र जानकारी थियो । पुस्तक पढ्दा त्यसमा थप ज्ञान प्राप्त भयो । पुस्तकको शीर्षकले नै धर्म समाज व्यवस्थापनको लागि एक महत्वपूणर् कुरा हो भनी दर्शाएको छ । यसलाई राम्रोसँग बुझ्न आवश्यक छ । समयको अन्तरालमा धर्ममा केही कमजोरी देखिए होलान् तर सनातन धर्म प्राणीमात्रको कल्याण र सामाजिक व्यवस्थापनको लागि अत्यन्तै महत्वपूणर् छ भन्ने कुरा देखाइएको छ । धर्मशास्त्रले भौतिक तथा आध्यात्मिक व्यवस्थापन र उपलब्धि हासिल गर्न मद्दत गर्नुका साथै यस लोक र परलोकलाई सुधारने काम गर्दछ भनिएको छ ।

धर्मको स्रोत वेद हो; वेद ईश्वरको वाणाी हो र ईश्वर सनातन हुन् मानिएको छ । त्यसैले वेद र धर्म पनि सनातन हुन् । सनातान भनेको सधैं रह्ने, नित्य रह्ने, सदाकाल रह्ने कुरा हो ।
पुस्तक पाँच अध्ययनमा विभक्त छ र यसले सनातन धर्मको विस्तृत विवेचना गरेको छ । धर्मका विभिन्न रुप र विभिन्न ऋषि मनीषीहरुको भनाइ राखिएको छ । धर्मशास्त्रले मनुष्यको जन्मदेखि मृत्युसम्मको संस्कार र व्यवहारको कुरा गर्दछ । प्रत्येक व्यक्तिलाई आफ्नो कर्तव्यको बोध गराउँदछ । समाजमा गर्नु हुने र गर्नु नहुने कुराको जानकारी गराउँदछ । कसरी सम्पत्ति आर्जन गर्ने र घर परिवार सम्हाल्ने भन्ने कुरो बताउँछ । चार वणर् र चार आश्रमको बारेमा धर्मशास्त्रले उल्लेख गरेको छ । समाजमा असल र खराब दुवै खाले व्यक्ति हुने हँुदा खराबलाई, समाज जोगाउनका लागि, दण्ड दिने व्यवस्था उल्लेख छ । राजा वा शासक कस्तो हुनुपर्छ भनी बताइएको छ । राजदण्ड र धर्मदण्डको कुरा उल्लेख छ । राजाले खराब व्यक्तिलाई दण्ड दिई समाजलाई सुव्यवस्थित गनुपर्ने कुरा उल्लेख गरिएको छ ।
धर्मशास्त्र र डार्विनको विकासवादी सिद्धान्तमा मेल देखिंदैन । विकासवादी सिद्धान्तले आदिम युग अविकसित थियो; मानिसहरु जंगलमा बस्तथे; जंगली र असभ्य थिए, र विस्तारै विकासको क्रम बढ्दै गएर आजको अवस्थामा आइपुगेको भन्दछ । ब्रम्हाण्ड कुनै ईश्वरीय शक्तिको सृजना हो भन्ने कुरा मान्दैन । तर धर्मशास्त्रले यो ब्रम्हाण्डको सृष्टि भगवानले गरेका हुन् भन्छ र प्राणी र मनुष्यको पनि । विकासवादी सिद्धान्तको दर्शन विपरित अहिले बरु मानव सभ्यता विस्तारै खस्किंदै गएको मानिन्छ । यो विवाद जारी छ र जारी रहनेछ ।
शान्तिकृष्ण अधिकारी मेरा मित्र हुनुहुन्छ । उहाँ वाल्मीकि क्याम्पसको प्राध्यापक हुनु हुन्छ । उहाँ मेरा अत्यन्तै नजीकका केही मित्रहरुमध्ये एक हुनुहुन्छ । म नेपाल प्राध्यापक संघमा अध्यक्ष हुँदा उहाँ सचिव हुनुहुन्थ्यो । त्यस बेलादेखि नै हाम्रो मित्रता निकै गहिरो भएर आएको छ । उहाँ एक असल व्यक्ति हुनुहुन्छ । उहाँले आफ्ना पित्ताजी, जो वाल्मिकी क्याम्पसकै प्राध्यापक हुनुहुन्थ्यो, – को यो कीर्ति प्रकाशित गरेर आफ्नो पवित्र कर्तव्य निर्वाह गर्नुभएको छ । उहाँलाई धन्यवाद र बधाई ।

