‘काठमाडौं काँग्रेस र तीर्थराम पुस्तक’ बारे छोटो धारणा

प्रा. खगेन्द्रप्रसाद भट्टराई

‘काठमाडौं काँग्रेस र तीर्थराम’ शीर्षकको तीर्थराम डंगोलजीको जीवनी पढें । यो जीवनी लेखनमा डंगोलजीलाई हरि अधिकारीले सहयोग गर्नुभएको छ । पुस्तकको भूमिका नरहरि आचार्यजीले लेख्नुभएको छ । पुस्तक ४४८ पृष्ठको छ । केही पृष्ठमा फोटाहरु छन् । यो जीवनी लेख्नलाई डंगोलजीका साथी र मेरो पनि साथी नैकाप निवासी गौरी प्रसाद दवाडीले प्रोत्साहित गर्नुभएको रहेछ र हरि अधिकारीले लेखनमा सहयोग ।

डंगोलजीलाई शुरुमा उहाँको जीवनी पढ्ने मानिस होलान् जस्तो लागेनछ र लेख्न त्यति जाँगर चलाउनुभएन । यो उहाँको सोचाई थियो । तर मलाई उहाँको जीवनी पढेपछि यस्तो लाग्यो कि यो पुस्तक अत्यन्तै रोचक छ र पठनीय छ । मलाई लाग्छ, धेरै पाठकले यसलाई पढे र लाभान्वित पनि भए । अझ धेरैले रुचिका साथ पढ्ने छन् । पुस्तकले डंगोलजीको परिवार, पारिवारिक व्यवसाय, संस्कार र सांस्कृतिक परम्परा तथा नेपालको लोकतान्त्रिक आन्दोलनलाई बुझ्न मद्दत गर्दछ । डंगोलजी आफ्नो परिवारको व्यवसायबाट मात्रै सन्तुष्ट हुनुभएन । सानै उमेरदेखि साहित्य र इतिहास पढ्ने रुचि भयो र त्यसले उहाँलाई राजनीतिमा ल्यायो ।

तीर्थरामजीलाई मैले काठमाडौं काँग्रेसको जिल्ला सभापति भएपछि अलि बढी चिनेको हूँ । त्योभन्दा पहिले पञ्चायतकालमा उहाँको नाउँ सुनेको थिएँ । उहाँ २०४४ सालतिर काठमाण्डू नगरपञ्चायतको उपप्रधानपञ्च चुनिनुभएको थियो । प्रधानपञ्च चाहिं हरिबोल भट्टराई । उहाँहरु दुवै जनालाई काँग्रेसले नै चुनाव लडाएको थियो । २०४४ साल पौष १ गते पञ्चायती संविधान दिवस बहिष्कार गरेपछि उहाँहरु दुवै जना निकै चर्चामा आउनुभयो ।

२०४६ सालको जनआन्दोलनले चैत्र २४ गते ठूलो उँचाई लियो । काठमाण्डौं, ललितपुर र भक्तपुर तीनै शहरका विभिन्न ठाउँहरुबाट मानिसहरु खुल्लामञ्चमा ओइरिए । शायद, लाखौंको संख्या थियो । शीर्ष नेताहरुलाई नजरकैद (Home Arrest) गरिएको थियो । पञ्चायत व्यवस्थाका विरुद्धमा विभिन्न नाराहरु लगाउँदै खुल्लामञ्चमा उपस्थित भीडलाई नियन्त्रण गर्न कठिन देखिन्थ्यो । कसले भीडलाई सम्बोधन गर्ने ? त्यति बेला तीर्थरामजीको नाउँ आयो । उहाँलाई लिएर आउन मानिसहरु खटिए । उहाँ आइपुग्नुभयो । माइक छैन । त्यत्रो भीडलाई कसरी सम्बोधन गर्ने ? कतैबाट ह्याण्डमाइक (Handmike) ल्याइयो र उहाँले बोल्नुभयो । त्यो जनसागरमा उहाँको बोली सुन्न सक्ने अवस्था रहेन । केहीले मात्र सुने । भीड त्यसपछि नारायणहिटी राजदरबारतर्फ लाग्यो । महेन्द्रको शालीकमा भीड पुगेपछि पञ्चायत सरकारले गोली चलायो । मान्छेहरु तितरबितर भए । धेरै घाइते भए । त्यसै रात सरकारले कर्फ्यू (Curfew) जारी गर्‍यो । मलाई लाग्छ, त्यो कर्फ्यू नेपालमा पहिलो कर्फ्यू थियो ।

डंगोलजी विद्यार्थी जीवनकालमा वी. पी. कोइरालाको सम्पर्कमा आउनुभयो । जनआन्दोलन (पहिलो २०४६ साल र दोस्रो २०६२/०६३)- मा गणेशमानजी, किसुनजी र गिरिजाबाबुको नजिक भएर काम गर्नुभयो । दोस्रो जनआन्दोलनमा उहाँ अत्यन्तै खट्नुभयो । उहाँको नपुगेको कार्यक्रम शायद हुँदैनथ्यो होला । पार्टीहरुले आयोजना गरेको कार्यक्रममा त उहाँ आयोजकमध्ये एक हुनुहुन्थ्यो नै अरु संघसंस्थाहरुले गरेको विरोध कार्यक्रममा पनि उहाँ सक्रिय रुपमा सहभागी हुनुहुन्थ्यो । पछि उहाँ स्वास्थ्य राज्यमन्त्री पनि हुनुभयो ।

डंगोलजी एक सच्चा इमान्दार व्यक्ति हुनुहुन्छ । पुस्तकमा उहाँले आफू र आफ्नो परिवारको केही पनि कुरा नलुकाई खुलस्त लेख्नुभएको छ । कुनै पनि काम गर्नको लागि श्रीमान् र श्रीमतीको राम्रो समझदारीको आवश्यकता पर्दछ । त्यो समझदारी डंगोलजी र उहाँकी श्रीमतीमा पाइन्छ । श्रीमतीले उहाँलाई सधैं सहयोग गर्दै आउनुभएको छ । यस मामलामा उहाँ भाग्यमानी हुनुहुन्छ ।

डंगोलजीमा प्रगाढ राष्ट्रप्रेम छ । उहाँ सधैं नेपालको भलो चाह्नुहुन्छ । दुःखमा परेको व्यक्तिलाई सहयोग गर्नुहुन्छ । स्वार्थ देखिंदैन उहाँमा । राजनीति गर्नेले राष्ट्रलाई ठगेर सम्पत्ति जोडेका छन्, तर उहाँले आफूले पाएको पैत्रिक सम्पत्ति पनि आफ्नो देहावसान पछि राष्ट्रलाई अर्पण गर्ने घोषणा गर्नुभएको छ । यो धेरैका लागि उदाहरण हुनुपर्दछ । डंगोलजी स्पष्ट वक्ता समेत हुनुहुन्छ । आफ्नो ब्रम्हले देखेको कुरा निर्भीकतापूर्वक राख्नुहुनछ । वी. पी. कोइराला, गणेशमानजी, किसुनजी, गिरिजाबाबुसँग पनि उहाँ आफ्नो असहमति, चित्त नबुझेको ठाउँमा, राख्ने आँट गर्नुहुन्छ । निष्कपट र शुद्ध मनले गर्दा यो बल उहाँलाई मिल्यो होला ।

पुस्तकले नेपालका प्रजातान्त्रिक आन्दोलनहरुका बारेमा धेरै जानकारी दिन्छ । माओवादी सशस्त्र द्वन्द्वको बारेमा र माओवादीलाई प्रतिस्पर्धात्मक संसदीय व्यवस्थामा ल्याउन गरिएको प्रयासको बारेमा पनि बोल्छ । यसले २०४६ सालपछिको काँग्रेसको आन्तरिक अवस्थाको बारेमा पनि जानकारी गराउँदछ । पुस्तक रोचक छ, डंगोलजीलाई हार्दिक बधाई !

(लेखक प्रा. भट्टराईले नेपालका २०४६ साल र २०६२/६३ सालका जनआन्दोलन तथा गणतान्त्रिक आन्दोलनमा नेपाल प्राध्यापक संघका तर्फबाट सक्रिय भूमिका खेलेका छन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय