जीवनको पाठशाला: छोटो टिप्पणी
प्रा. खगेन्द्रप्रसाद भट्टराईनरहरि आचार्यद्वारा लिखित उनको आफ्नै जीवनी जीवनको पाठशाला पढें । परिशिष्ट समेत गरी पुस्तक ६३५ पृष्ठको छ । पृष्ठ संख्या नभएको किताबको अन्त्यबाट तेस्रो पृष्ठमा नेपालको ६ प्रदेशको नक्सा छ । आचार्यजीसँग मेरो परिचय २०४५ सालमा भएको हो ।
२०४५ सालमा नेपाल प्राध्यापक संघ केन्द्रीय समितिको निर्वाचनमा उनी प्रजातन्त्रवादी प्राध्यापक समूहको तर्फबाट महासचिवको उम्मेदवार थिए । प्राध्यापक सूर्यलाल अमात्य अध्यक्षको उम्मेदवार थिए र म केन्द्रीय सदस्यको उम्मेदवार थिएँ । हाम्रो टोली मुलुकका विभिन्न क्याम्पसमा गएर साथीहरुसँग भेट्दै हिंड्यो । अरु समूहका साथीहरुले पनि त्यसै गर्दथे । क्याम्पस-क्याम्पसमा आफ्ना घोषणापत्र वितरण गरेर आगामी दिनमा आफूले गर्न आँटेका कामहरुको बारेमा प्राध्यापक साथीहरुलाई जानकारी गराईन्थ्यो । सभा, भाषण, छलफल, प्रश्नोत्तर आदि हुन्थे । हाम्रो टोली सुदूर पश्चिमदेखि पूर्व इलामसम्म पुग्यो । पछि पनि नेपाल प्राध्यापक संघ समन्वय समितिमा रहेर नरहरिजीसँग काम गर्ने मौका मिल्यो । यस क्रममा मैले नरहरिजीलाई नजीकबाट चिन्ने मौका पाएँ । उनको जीवनशैलीको बारेमा जानकारी भयो । विहान सबेरै उठ्ने, नित्यकर्म सकेपछि डुल्न निस्कने, सादा खाना खाने, माछामासु नखाने, सकभर बेलुका खाना खाएर चाँडै सुत्ने; आफूले बोल्नुपर्ने कुराको बारेमा चिन्तन गर्ने, बौद्धिक प्रस्तुति दिने, राम्रा अक्षरमा आफ्ना कुरालाई स्पष्ट रुपमा लेख्ने आदि । उनी व्यक्तिगत स्वतन्त्रताको पक्षमा सधैं उभिन्छन् र आवश्यकता अनुसार कठोर निणर्य गर्न पनि सक्छन् । उनमा स्वाभिमान छ, केही हदसम्म हठी स्वभाव पनि ।
उनको पुस्तक जीवनको पाठशाला पढेपछि उनको बारेमा अरु केही थप कुराको जानकारी भयो । उनको बाल्यकाल त्यति सहज थिएन । पिताजी उमानाथ आचार्यको उनी सानै उमेरको हँुदा देहावसान भयो । आमा रेवती आचार्य सधैंकी रोगी । दाजुको पनि चाँडै देहान्त भयो । एउटी दिदीको स्वास्थ्य राम्रो नभएको र उनको घर बस्न नसकेको । असहज पारिवारिक कारणले कहिले काठमाण्डू त कहिले गृह जिल्ला तनहँु बस्नुपरेको । मामा रुद्रनाथ घिमिरेले आचार्य परिवारलाई अप्ठ्यारो परेको बेलामा धेरै सहयोग गरेका रहेछन् । जतिसुकै असहज परिस्थिति भए पनि नरहरिजी आफ्नो जीवनको बाटोमा अगाडि बढिरहे ।
नरहरिजीका पिता ज्योतिषशास्त्र तथा आयुर्वेदका विद्वान् थिए । उनले नरदेवी क्याम्प्स स्थापना गर्न ठूलो योगदान पुर्याए र त्यही क्याम्पसमा प्राध्यापन शुरु गरे । नरहरि आफ्ना पिताजीसँग कहिलेकांही क्याम्पस जान्थे र सँगै फर्कन्थे । कहिलेकांही बाटामा पर्ने आफन्तहरुको घर पनि पस्थे । उनका आफन्तहरु प्रायः सबै पढेलेखेका विद्वान्हरु थिए । सोमनाथ पौडेल, कुलचन्द्र गौतम, प्राध्यापक हरिनाथ खनाल, परराष्ट्रविद् यदुनाथ खनाल, श्रीभद्र शर्मा, योगी नरहरिनाथ, बडागुरुज्यू जूनानाथ पण्डित आदि व्यक्तिहरु नरहरिजीका विभिन्न नाता पर्ने व्यक्तिहरु थिए । त्यस बेलाका यी प्रसिद्ध विद्वान्हरुसँग आफ्ना पिताको माध्यमबाट नरहरिजीको वाल्यावस्थामा नै सम्पर्क भयो ।
नरहरिजीले तीनधारा संस्कृत छात्रावासमा बसेर बाल्मीकि क्याम्पसमा अध्ययन गरेका थिए । संस्कृत छात्रावासमा बस्दा उनको स्वतन्त्र व्यक्तित्व बनेको पाइन्छ । पत्रिकाहरुको सम्पादन गरेर र लेख रचनाहरु लेखेर उनले आफ्नो बौद्धिकस्त्तर माथि उठाए । पछि नेपालीमा एम. ए. गरिसकेपछि त्रिचन्द्र कलेजबाट प्राध्यापन शुरु गरे ।
२०४६ सालको जनआन्दोलनमा नेपाल प्राध्यापक संघ समन्वय समितिको सचिवको हैसियतले बौद्धिक क्षेत्रमा अत्यन्तै कुशल नेतृत्व आचार्यले प्रदान गरे । यसले उनलाई मुलुकको राजनीतिमा स्थान दियो । उनी नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभामा मनोनित भए । बौद्धिक चिन्तन गर्ने र आफ्नो विचारलाई स्पष्ट रुपमा बोलेर वा लेखेर व्यक्त गर्ने क्षमताका कारण उनी शीर्ष नेताको नजीक सजिलै पुग्न सके र मुलुकको राजनीतिको केन्द्रमा रहेर काम गरे । नरहरिजीले आफू राजनीतिमा प्रवेश गरिसकेपछि काँग्रेसका नेताहरु गणेशमानजी, किसुनजी, गिरिजाबाबु, सुशील कोइराला, शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रदीप गिरी आदि नेताहरुलाई नजीकबाट चिने र पुस्तकमा उनीहरुको बारेमा आफ्ना धारणाहरु व्यक्त गरेका छन् । उनीहरुका सबल पक्ष तथा सीमाहरुका बारेमा लेखेका छन् । उनले करीब एक दशक गिरिजाप्रसाद कोइरालाको अत्यन्तै नजीक भएर काम गरे; सुशील कोइरालालाई पनि लामो समयसम्म सहयोग गरे । नेतृत्वसँग कुरा नमिल्दा उनी आफ्नो असहमति व्यक्त गर्दथे र अडान पनि लिन्थे ।
आचार्य काठमाण्डूबाट दुई चोटी संविधान सभामा निर्वाचित भए । दुई चोटी मन्त्री पनि भए र नेपालको संविधान २०७२ को निर्माणमा महत्वपूणर् भूमिका निर्वाह गरे । सभासद् या मंत्रीको हैसियतले आचार्यले अमेरिका, एशिया तथा यूरोपका विभिन्न देशहरुको भ्रमण गरे । उनको भ्रमण सामान्य औंपचारिकताको मात्रै हँुदैनथ्यो । उनी जुन देशमा जान्थे, त्यस देशको राज्य संरचना, राज्य व्यवस्था, शासन प्रणाली, प्रजातान्त्रिक मूल्यमान्यता, मानव अधिकारको अवस्था, शैक्षिक प्रणाली आदिको बारेमा राम्रो अध्ययन गर्दथे । उनको यो ज्ञान २०७२ सालको संविधानमा केही हदसम्म प्रतिबिम्वित भएको पाइन्छ ।
राजपरिवारले नेपालको लोकतान्त्रिक पद्धतिलाई बारम्बार धोका दिएको हँुदा आचार्य गणतन्त्रको पक्षमा उभिए र गणराज्यको बारेमा अभियान नै चलाए । राज्यको पुनर्संरचनको बारेमा सशक्त वकालत गरे । परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको संरचनागत परिवर्तन र नेपाली काँग्रेसको आन्तरिक प्रजातन्त्रको लागि दरो आवाज उठाए । देशका करीब सबै जिल्लामा गएर आफ्ना अवधारणाहरु पार्टीका साथीहरु तथा जनसाधारण समक्ष प्रस्तुत गरे ।
आचार्यजी नेपाली काँग्रेसमा आबद्ध भए तापनि उनको स्वतन्त्र चिन्तन र अभिव्यक्तिका कारण विपक्षी दलका नेताहरु र बुद्धिजीविको बीचमा पनि उनले आफ्नो स्थान बनाए ।
नरहरिजीलाई उच्च रक्तचाप पहिलेदेखि नै थियो । त्यसले. उनलाई २०७२ साल माघ २६ गते विहान नराम्रो धक्का दियो । उनलाई मस्तिष्क घात (Brain Stroke) भयो । उनको शरीरको दाहिने भाग नचल्ने भयो । सम्भव सबै उपचार भए । उनकी श्रीमती शारदा शर्माले राम्रो हेरचाह गरिन् र गरिराखेकी छन् । अहिले आचार्यको स्वास्थ्य केही हदसम्म ठिकै छ । दाहिने हातले कम्प्युटर चलाउन नसक्ने हुँदा देब्रे हातले कम्प्युटर चलाउन सिकेका छन् । आफ्ना विचार र भावना अहिले पनि प्रवाह गरिराखेका छन् । शायद कृयाशीलता नै जीवन हो, उनको विचारमा । आचार्यको दीर्घ जीवन र सुस्वाथ्यको हार्दिक शुभ-कामना !
नरहरिजीको दाम्पत्य जीवन शुरुमा सामान्य देखिन्छ । तितामीठा दुवै अनुभव छन् । उनमा र उनकी पत्नी शारदामा धेरै भिन्नताहरु भए तापनि उनीहरुले मिलन विन्दु पहिल्याएका थिए । नरहरिजी विरामी परेपछि भने उनीहरुको दाम्पत्य सम्बन्ध प्रगाढ प्रेममा परिणत भएको छ । शारदाले उनको ठूलो सेवा गरेकी छन्; उनको सेवामा पूणर् रुपले खुशीसाथ समर्पित छन् । नरहरिजी कृतज्ञ छन् उनीप्रति ।
परिच्छेद पन्ध्रमा आचार्यले आफ्नो अध्ययन, अनुभव र जीवनको भोगाईले खारिएका केही मननयोग्य कुराहरु छन् । उनी भन्छन्, “आफ्ना सीमा र सामथ्र्य थाहा भयो भने मान्छेले धेरै दुःखी हुनुपर्दैन जस्तो ठान्दछु” (पृष्ठ ५७२) । उनी अगाडि भन्छन्, “जीवन सरल वा जटिल किसिमले बित्ने बिताउने भन्ने कुरा परिस्थिति परिवेशभन्दा मूलतः मानसिकताको कुरा पनि होला” (पृष्ठ ५७३) ।
सनातनी परम्परा लिएर जन्मिएको भए तापनि आचार्य प्रारब्धमा विश्वास गर्ने व्यक्ति होइनन् । तर अचानक उनलाई मस्तिष्कघात भएर अशक्त भएपछि प्रारब्धको पनि खेल हुन्छ कि जस्तो लाग्यो । जीवन बुझ्न नसकिने रहस्यमय बन्यो । उनी भन्छन्, “अत्यन्त सक्रिय जीवनबाट एक प्रकारले अक्रियतामा हठात् झरेपछि मनमा झीनो संशय उठेको छ यतिखेर— शायद प्रारब्ध हुन्छ, त्यो पहिल्यै निश्चित हुन्छ र त्यसै अनुरुप घटनाहरु हुन्छन् । जीवनमा आफूले बुझ्न, व्याख्या गर्न नसक्ने स्थितिहरु आइपर्दा हामी सबैलाई यस्तै लाग्दो हो । जेसुकै होला । नबुझिने कुराहरु धेरै छन् जीवनमा” (पृष्ठ ५७५) ।
उनी विरामी भएपछि परिवार, आफन्त तथा स्वजनहरुबाट ठूलो माया पाए र त्यसले उनलाई पीडा सहने थप बल प्रदान गर्यो । त्यसैले उनी भन्छन्, “प्रेम सबैभन्दा महत्वपूणर् हो जीवनमा” (पृष्ठ ५७७) । जीवनमा कसैलाई पनि सुख हँुदैन भन्ने कुरा यसरी व्यक्त गर्दछन्, “संसारमा सुख भनेको मृग तृष्णा हो । कसैको जीवनमा पूणर्ता छैन, आनन्द छैन । नजिकबाट नियाल्नुपर्छ, त्यो देखिन्छ” (पृष्ठ ५७८) ।
समयले मानिसको जीवनमा ठूलो महत्व राख्तछ । यो निरन्तर बगरहन्छ र हामीसँग सधैं जोडिएको छ तर यसलाई हामी चिन्न सक्तैनौं । त्यसैले आचार्य भन्छन्, “समय विचित्र छ । कतिखेर कुन रुपमा प्रस्तुत हुन्छ, कसैले अनुमान गर्न सक्तैन” (पृष्ठ ५८३) । जीवनको बारेमा उनी फेरी भन्छन्, “जीवन रोज्ने होइन, स्वीकार र सामना गर्ने कुरो रहेछ” (पृष्ठ ५८२) ।
पुस्तकको अन्त्यमा आचार्य भन्छन्, “यो संसारमा सधैँभरि समातिने केही पनि हँुदैन । किताबले नसिकाएको कुरा जीवनले सिकाइरहेछ … लागिरहेछ— जीवन एउटा पाठशाला हो” (पृष्ठ ५८४) । यसरी नरहरिजीले जीवनलाई एउटा पाठशालाको रुपमा लिएका छन् । बाँचुञ्जेल मानिसले केही न केही सिकिरहन्छ । सिक्ने र बुझ्ने कुराको अन्त्य छैन ।
नरहरिजी साहित्यका प्राध्यापक थिए र साहित्यकार हुन् पनि । तर उनको जीवनको पाठशाला पढ्दा उनी साहित्यकारभन्दा बढी चिन्तक र समालोचक देखिन्छन् । घटना र परिस्थितिको गहिरो विश्लेषण गर्दछन् । तथ्य, प्रमाण र तर्कका आधारमा आफ्ना विचारहरु व्यक्त गर्दछन् । पुस्तकले आचार्यको परिवारको बारेमा र उनको जीवनको भोगाई र संघर्षको बारेमा बोल्दछ । साथै यसले नेपालको एउटा महत्वपूणर् कालखण्डको राजनीतिक इतिहासलाई समेटेको छ । भावी संततीलाई यसले महत्वपूर्ण जानकारी गराउनेछ । भाषा शैली राम्रो छ । पाठकहरु राम्रैसँग लाभान्वित हुन्छन् भन्ने मैले ठानेको छु ।
(लेखक प्रा. भट्टराई यस पुस्तकका लेखक तथा पूर्वमन्त्री नेपाली काँग्रेसका नेता नरहरि आचार्यसँग नेपाल प्राध्यापक संघमा सहकर्मी रहेका हुन्)