सूर्यलाल सरको सम्झनामा…

खगेन्द्रप्रसाद भट्टराई

प्रा. सूर्यलाल अमात्य त्रिभुवन विश्वविद्यालयका भूगोल विषयको प्राध्यापक, एक विशिष्ट विद्वान् तथा शिक्षाविद् हुनुहुन्थ्यो । उहाँ सफल प्राध्यापकहरुमध्ये एक हुनुहुन्थ्यो र आफ्नो विषयमा उहाँको विशेष दख्खल थियो । नेपालको शिक्षा पद्धतिलाई राम्रोसँग बुझ्ने केही प्राध्यापकहरुमध्ये उहाँ एक हुनुहुन्थ्यो । उहाँको जीवन सरल र विचार उच्च थियो । स्वाभिमानका धनी सूर्यलाल सर अरुलाई ज्यादै आदर गर्नुहुन्थ्यो । उहाँमा प्रचण्ड आत्मविश्वास थियो । उहाँ एक असल मानव हुनुहुन्थ्यो, अरुलाई सहयोग गर्न सधैं रमाउनुहुन्थ्यो । ईश्वरमा आस्था राख्ने र परिश्रममा विश्वास गर्ने व्यक्ति हुनुहुन्थ्यो ।

सूर्यलाल सरसँग मेरो परिचय २०३४ सालतिर भएको हो । मैले त्यतिबेला एम. ए. मा पढ्दै थिएँ, पास गरिसकेको थिइनँ । एक जना साथीले मलाई उहाँको घरमा लिएर जानु भयो । त्यति बेला उहाँ सिनासमा Deputy Director हुनुहुन्थ्यो । मैले एम. ए. पास गर्दा उहाँ Humanities & Social Sciences संकायको डीन हुनुहुन्थ्यो । उहाँ मानविकीको डीन भएको बेला मैले पाटन क्याम्पसमा प्राध्यापन शुरु गरेको हो । त्यति बेला डीनको प्राज्ञिक-शैक्षिक तथा प्रशासनिक धेरै अधिकार हुन्थे । तर उहाँले आफ्नो अधिकार कहिल्यै पनि दुरुपयोग गर्नुभएन । नियम अनुसार चल्ने उहाँको बानी थियो । आफ्नो र अर्कोको भनी कहिल्यै पनि भेद गर्नुहुँदैनथ्यो ।

पाटन संयुक्त क्याम्पसमा २०३७ सालबाट प्राध्यापन शुरु गरेपछि मैले आफ्नो डेरा लगनटोल काठमाडौंबाट कुपण्डोल, ललितपुरमा सारें । कुपण्डोलमा मेरो डेरा सूर्यलाल सरको घर नजीकै थियो । म बेलाबेलामा उहाँको घर जान्थें । उहाँ सधैं सरल देखिनुहुन्थ्यो । विहानै उठ्ने, सामान्य व्यायाम गर्ने, पूजा गर्ने उहाँको बानी थियो । पूजापछि उहाँ सधैं निधारमा सानो टीका लगाउनुहुन्थ्यो । उहाँको हार्दिकता र सरलपनले मलाई उहाँप्रति आकर्षित गर्‍यो । उहाँका चार छोराहरु छन्- सुशील, सुनिल, अनिल र गनिल । मैले उहाँका माइलो, साइलो र कान्छो छोराहरुलाई पढाएको छु । उहाँको घर मेरो लागि करिब दोस्रो घर भयो ।

२०४५ सालमा नेपाल प्राध्यापक संघको निर्वाचन हुने भयो । सोभन्दा अगाडि प्राध्यापक संघमा दुई समूहहरुको बीचमा मात्र प्रतिस्पर्धा हुन्थ्यो- प्रजातन्त्रवादी समूह र प्रगतिशील समूह । कहिले कुन समूहले जित्ने त कहिले कुन समूहले जित्ने हुन्थ्यो । तर ती दुवै समूहहरु पञ्चायती शासन व्यवस्थामा विश्वास गर्दैनथे । पञ्चायती निरंकुशतामा प्राज्ञिक स्वतन्त्रता थिएन । त्यसैले करिब-करिब मुलुकका सबै प्राध्यापकहरु ती दुई समूहमा आबद्ध थिए र संस्थापनपक्षको विरोध गर्दथे । यसले पञ्चायत शासकलाई अप्ठ्यारो पर्‍यो र पञ्चायत पक्षमा पनि बौद्धिक जमात् छ भन्ने देखाउन खोजियो । फलस्वरुप एउटा नयाँ समूह- प्राज्ञिक समूह – देखापर्‍यो ।

प्रजातन्त्रवादी समूहको अध्यक्षको उम्मेदवार प्रा. सूर्यलाल अमात्य हुनुहुन्थ्यो, महासचिवको उम्मेदवार नरहरि आचार्य र म केन्द्रीय सदस्यको उम्मेदवार थिएँ । प्रगतिशील समूहको उम्मेदवार प्रा. हर्षनारायण धौभडेल र महासचिव डा. मुकुन्द श्रेष्ठ हुनुहुन्थ्यो । प्राज्ञिक समूहको अध्यक्ष पदको उम्मेदवार पूर्वशिक्षाध्यक्ष प्रा. चन्द्रप्रकाश गोर्खाली र महासचिवमा प्रा. हेमन्त राणा हुनुहुन्थ्यो ।

प्रत्येक समूहले आफ्नो घोषणापत्र बनाउँथे र मुलुकका सकभर प्रत्येक क्याम्पसमा गई प्राध्यापक साथीहरुसँग भोट माग्थे । हामी सूर्यलाल सरको नेतृत्वमा काठमाडौंबाट सुदूरपश्चिम हँुदै पूर्वका क्याम्पसहरुमा कार्यक्रम गर्ने हिसाबले हिंड्यौं । आफ्नो साधन थिएन । बसमा हिंड्नुपर्ने । कहिलेकाहीं बसको समय नमिल्दा जे पाइन्छ, त्यसैमा हिंड्नुपर्ने । पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसमा कार्यक्रम सक्दा पाल्पाबाट पोखरा आउने बस छुटिसकेको थियो । त्यस दिन पाल्पा बस्दा कार्यक्रममा असर पर्ने । जसरी भए पनि हिंड्नुपर्ने थियो । साँझ पर्न लागेको छ, माघ महिना । जाडो छ । एउटा ट्रक फेला पर्‍यो र हामी त्यही ट्रकको पछाडि बस्यौं । चिसो हावाले सतायो । मलाई अप्ठ्यारो भएको देखेर सूर्यलाल सरले आफूले ओढेको मफ्लर मलाई दिनुभयो । मैले पिताको जस्तो व्यवहार उहाँबाट पाएँ । सधैं कृतज्ञ छु । हामी करीब १८-२० दिनको कार्यक्रम लिएर हिंडेका थियौं । सबैको झोला-सुटकेश थिए । बसको छतमा राख्नुपर्ने र गन्तव्यमा पुगेपछि छत्तबाट तल झार्नुपर्ने । सूर्यलाई सर हामी सबैभन्दा पाको तर उहाँ नै सबभन्दा पहिला बसको छत्तमा पुग्नुहुन्थ्यो । सबैको सामान ठीक किसिमले राखिएको छ-छैन रेखदेख गर्नुहुन्थ्यो । उहाँको व्यवहारले हामी सबैलाई प्रेरणा दियो ।

प्राज्ञिक समूह एक किसिमले सरकारी समूह भएको हँुदा त्यस समूहका साथीहरुलाई साधनस्रोतको कमी भएन । गाडी लिएर आरामले हिंडेको र प्रचार गरेको देखियो । त्यो समूह खुलेरै पञ्चायतको पक्षमा बौद्धिक जमात् छ भन्ने कुरा देखाउन बनाइएको थियो । त्यसैले उक्त समूहलाई जिताउनका लागि सरकारले राज्यसत्ताको दुरुपयोग गरेको थियो । अञ्चलाधीश र सीडियोहरुलाई प्राज्ञिक समूहलाई जिताउनको लागि निर्देशन दिइएको थियो । मुलुकका विभिन्न क्याम्पसहरुबाट साथीहरुले हामीलाई सो कुराको जानकारी गराइरहेका थिए । केही क्याम्पसमा त क्याम्पस चीफहरुले हामीलाई कार्यक्रम नै गर्न दिएनन् । क्याम्पसका प्रजातन्त्रवादी तथा प्रगतिशीलका केही सक्रिय साथीहरुलाई अञ्चलाधीश तथा सीडियोहरुले बोलाएर तर्साएको पनि थाहा भयो ।

क्याम्पसहरुमा कार्यक्रम हँुदा सूर्यलाल सरले प्राध्यापक साथीहरुका बीचमा आफ्ना कुराहरु सशक्त रुपमा राख्नु हुन्थ्यो । हाम्रो चुनावी प्रचार प्रजातन्त्रको पक्षमा एउटा अभियान नै भयो । मुलुकमा प्रजातन्त्र थिएन । पञ्चायती राज चलेको थियो । राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए । प्राध्यापक संघको निर्वाचनको बहानामा हामी मुलुकमा प्रजातन्त्रको पुनःस्थापनाका लागि आवाज उठाउँथ्यौं । अन्तर्राष्ट्रिय वातावरण पनि लोकतन्त्रकै पक्षमा थियो । पूर्व सोभियत संघमा गोर्वाचोवले साम्यवादी व्यवस्थालाई केही खुकुलो गरेका थिए । त्यसको प्रभाव संसारभरि नै फैलिएको थियो । पूर्वी युरोपका मुलुकहरु- हंगेरी, रोमानिया आदि – साम्यवादी सत्ताबाट मुक्त भएर स्वतन्त्र हँुदै थिए । चुनावको बेला प्रजातन्त्रको पक्षमा ती देशहरुको उदाहरण अत्यन्तै सान्दर्भिक थियो । सूर्यलाल सर यी नै कुराहरु सभामा उठाउनुहुन्थ्यो पूरा आत्मविश्वासका साथ । उहाँको बोल्ने आफ्नै शैली थियो । पोखरा पृथ्वीनारायण बहुमुखी क्याम्पसका प्राध्यापक साथीहरुले आयोजना गरेको सभाको सम्झना हुुन्छ । पृथ्वीनारायण क्याम्पस मुलुककै ठूला क्याम्पसहरुमध्येको एक हो । हामी त्यहाँ पुग्दा सभाकक्षमा टनाटन साथीहरु हुनुहुन्थ्यो । कार्यक्रम शुरु भयो । उम्मेदवारहरुले आफ्ना भनाई राखे । त्यसपछि छलफल/प्रश्नोत्तरको कार्यक्रम भयो । त्यहाँको प्रश्नोत्तर र छलफल यति जीवन्त भयो कि त्यस्तो बिरलै देशको सदनमा हुन्छ । खास गरी दर्शकदीर्घा आक्रामक देखिन्थ्यो । तर सूर्यलाल सर र नरहरिजीको उत्तरले सबैलाई शान्त पार्‍यो ।

महाकालीबाट शुरु भएको हाम्रो अभियान मेचीमा गएर सकियो । त्यसपछि हामी काठमाडौं आयौं । काठमाडौंमा पनि क्याम्पस-क्याम्पसमा हामीले साथीहरुलाई भेट्यौं । कार्यक्रम राखियो । यी सबै कार्यक्रममा सूर्यलाल सरले आफ्नो उच्च प्राज्ञिक व्यक्तित्व स्थापित गर्नुभयो । प्राज्ञिक स्वतन्त्रता र लोकतन्त्रको एक हिसाबले राष्ट्रिय बहस नै चलाउनुभयो । फागुण १० गते निर्वाचन सम्पन्न भयो । तर दुर्भाग्य, पञ्चायती सरकारको निहित स्वार्थको कारणबाट प्राध्यापक गोर्खाली समूहले बहुमत सहित निर्वाचन जित्यो । सूर्यलाल सर पराजित हुनुभयो । नरहरि आचार्य पराजित हुनुभयो । प्रजातन्त्रवादी हामी केहीले निर्वाचन जित्यौं । एक्काईस जनाको केन्द्रीय समितिमा प्रगतिशील समूहको एकजना क्षेत्रीय सदस्यले मात्र जित्नुभयो । पञ्चायती सरकारको सत्ता दुरुपयोगले प्राज्ञिक क्षेत्रलाई दुषित बनायो । यो घट्ना पञ्चायती व्यवस्थाको अन्तिम अवस्था थियो । यस्तै हर्कतले गर्दा २०४६ सालमै यो व्यवस्था ढल्न पुग्यो ।
निर्वाचनको बेला धेरै खट्नु परेको थियो । देशभरि छरिएका क्याम्पसहरुमा पुगेर साथीहरुलाई भेट्नुपर्ने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विवेचना-विश्लेषण गर्नुपर्ने । प्राज्ञिक स्वतन्त्रता र लोकतन्त्रको बहस गर्नुपर्ने । यी आदि कारणले सूर्यलाल सरलाई शारीरिक तथा मानसिक थकान भएछ । निर्वाचनपछि उहाँ विरामी पर्नुभयो । केही महीनासम्म उहाँलाई ठीक भएन । रोग निको भएपछि पनि केही समयसम्म उहाँ कमजोर देखिनुहुन्थ्यो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि उहाँ सेडाको निर्देशक हुनुभयो । उहाँको नेतृत्वमा सेडाले फेरि एकचोटि उचाई प्राप्त गर्‍यो । आर्थिक रुपले संकटमा परेको सेडालाई उहाँले विभिन्न Research projects ल्याई माथि उठाउनुभयो । प्रशासनिक हिसाबले पनि सेडा चुस्त हुनपुग्यो ।

 

२०५१ सालमा म नेपाल प्राध्यापक संघको महासचिव भएँ । अध्यक्ष प्राध्यापक कपिल श्रेष्ठ हुनुहुन्थ्यो । मुलुककै प्राध्यापकहरुको आस्थाको केन्द्र नेपाल प्राध्यापक संघमा बस्दा निकै व्यस्त हुनुपर्‍यो । प्राध्यापक साथीहरुका समस्याहरुको समाधानमा समय दिनुपर्ने । कतिपय समस्या अप्ठ्यारा हुने । राष्ट्रिय अधिवेशनले पास गरेका विभिन्न प्रस्तावहरुलाई कार्यान्वयनमा लैजानुपर्ने- आदि । प्राध्यापक संघको कार्यकाल सकिएपछि एक किसिमले हलुका भएको महसूस गर्दै थिएँ । केही दिनपछि सूर्यलाल सरले मलाई नेपाल विश्व सम्बन्ध परिषद्को महासचिवको पदमा उठ्नको लागि आग्रह गर्नुभयो । उहाँको आग्रहलाई नकार्न सकिनँ । उम्मेदवार भएँ । अध्यक्षको उम्मेदवार उहाँ नै हुनुहुन्थ्यो । चुनाव भयो । हाम्रै टीमले जित्यो । त्यसपछि दुई वर्ष म उहाँसँगै जस्तो भएँ । नेपाल विश्व सम्बन्ध परिषद्को कार्यालय पुल्चोक मन्त्रीक्वार्टरसँगै छ । कुपण्डोलबाट पुल्चोक हिंडेरै पुगिन्थ्यो । विशेष काम भएको अवस्था बाहेक उहाँ प्रत्येक दिन कार्यालय पुग्नुहुन्थ्यो । बेलाबेलामा कार्यक्रम भइ नै रहन्थे । कार्यक्रम हँुदा सकभर उहाँ आफैं परिषद्का सदस्यहरुलाई फोन गरी जानकारी दिने र आमन्त्रण गर्ने गर्नुहुन्थ्यो । अफिसका कर्मचारीको भरमा मात्रै पर्नुहुन्नथ्यो । उहाँमा काम गर्ने असाध्यै जाँगर थियो ।

सन् १९९६ मा Chinese Association for International Understanding को निमन्त्रणामा सूर्यलाल सरको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल चीन भ्रमणमा गयो । भ्रमण मण्डलमा सूर्यलाल सर बाहेक प्रा. मोहन मोहन लोहनी (परिषद्का पूर्व अध्यक्ष), श्री उत्तमलाल श्रेष्ठ (परिषद्का उपाध्यक्ष), श्री अरुण प्रधान (परिषद्का सदस्य) र म खगेन्द्रप्रसाद भट्टराई (परिषद्को महासचिव) थियौं । हामी काठमाडौंबाट सांघाई पुग्यौं । त्यसपछि बेइजिङ, चेङ्डू र ल्हासा हँुदै काठमाडौं फर्कियौं । यो भ्रमण असाध्यै सफल भयो । यसले Nepal Council of World Affairs र Chinese Association for International Understanding लाई नजिक ल्यायो र दुई देशबीचको जनस्त्तरको सम्बन्धलाई थप मजबूत गर्न मद्दत गर्‍यो । चीनियाँ मित्रहरुको हार्दिकतापूणर् न्यानो व्यवहारले हामी साह्रै प्रभावित भयौं । सूर्यलाल सरले उक्त भ्रमणलाई अत्यन्तै राम्रो नेतृत्व प्रदान गर्नुभयो । जुनसुकै विषयमा पनि पूरा आत्मविश्वासका साथ उहाँ आफूलाई प्रस्तुत गर्नुहुन्थ्यो । विश्व सम्बन्ध परिषद्को त्यो हाम्रो कार्यकालमा धेरै महत्वपूणर् कार्यक्रमहरु भए । विदेशी विशिष्ट पाहुनाहरुबाट पनि परिषद्लाई सम्बोधन भयो । तत्कालीन भारतीय प्रधानमन्त्री ईन्द्रकुमार गुजराल तथा पाकिस्तानी कायममुकायम प्रधानमन्त्री मलिक मिराज खालिदबाट परिषद्लाई सम्बोधन भयो । आईके गुजरालले सम्बोधन गर्दा होल्टी सोल्टीको ठूलो हलमा स्रोताहरु अटाई-नअटाई भए । कार्यक्रम असाध्यै राम्रो भयो । सूर्यलाल सरको नेतृत्वमा हरेक कार्यक्रम प्रभावकारी रुपमा सफल हुन्थ्यो ।

सूर्यलाल सर त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष पनि हुनुभयो । त्यसबेला प्रा.डा. माधव शर्मा उपकुलपति हुनुहुन्थ्यो भने प्रा.डा. भीमराज अधिकारी रजिष्ट्रार । उहाँहरुको टीम मिलेको टीम थियो र राम्रो आपसी समझदारी थियो । त्यतिबेला केही महत्वपूणर् निणर्यहरु भए । वर्षौंदेखि प्रयास हँुदै आएको प्रविणता प्रमाणपत्र तहको अध्ययन त्रिविबाट त्यही बेला phase out भयो । विद्यार्थीहरुसँग समझदारी गरी उल्लेख्य रुपमा शुल्क समयानुकूल वृद्धि भयो । विद्यार्थीहरुसँग वार्ता तथा छलफल गर्न सूर्यलाल सर कहिल्यै पछि पर्नुभएन ।
सूर्यलाल सरलाई त्रिविमा शिक्षाध्यक्ष बन्ने बेलादेखि कार्यकालभरि नै विभिन्न किसिमका अप्ठ्याराहरु आइपरे तर उहाँले तिनलाई दृढतापूर्वक सामना गर्नुभयो ।

पोखरा विश्वविद्यालयको उपकुलपतिको पदको दायित्वबाट म मुक्त भएपछि मलाई समयको केही सजिलो भयो । सूर्यलाल सर कहिलेकाहीं फोन गर्नुहुन्थ्यो; हामी भेट्थ्यौं र बेलुका केही समयसँगै डुल्थ्यौं । काठमाडौंको व्यस्त सडक, धुवाँ र धूलो । त्यसैले हामी गाडी कम हुने ठाउँतिर जान्थ्यौं । सकभर गोरेटो बाटो रोजिन्थ्यो । अहिले उहाँको साथ नपाउँदा मन खिन्न हुन्छ ।
उहाँ बित्नुभन्दा अगाडी बेलाबेलामा उहाँको घर जान्थें र उहाँको अवस्थाको बारेमा जानकारी लिन्थें । विरामी भएकोले हिंडडुल गर्न सक्नुहुन्थेन । शरीर कमजोर, पेटबाट पाइप प्लास्टिकको झोलामा जोडिएको, जन्डिस्को समस्या, पछि क्यान्सर देखिएको- धेरै समय उहाँलाई असजिलो भयो । एक दिन म पुग्दा उहाँ, जाडोको समय भएको हँुदा, छतमा हुनुहुन्थ्यो । आँखा, शरीर पहेंलो भएको जस्ता देखिन्थे । हातगोडा सुन्निएका । बोल्न कष्ट भएको जस्तो लाग्यो । तैपनि उहाँले कुरा गर्नुभयो । छोरा-बुहारीहरुले उहाँको असाध्यै राम्रो हेरचाह गरेको कुरा गर्नुभयो । पालैपालो गरी मलाई हेरचाह गर्छन् । एक्लै उनीहरुले उहाँलाई नछोडेको कुरा गर्नुभयो । अप्ठ्यारो अवस्थामा उहाँलाई एक्लोपन महसूस गर्नु परेन । परिवारजनलाई धन्यवाद छ ।

सूर्यलाल सर बित्नुभएको कुरा मैले भोलि पल्ट मात्रै थाहा पाएँ । उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन नपाएकोमा अहिलेसम्म पनि खट्केको छ । मैले एक अभिभावक गुमाएको जस्तो लाग्यो । सूर्यलाल सरको निधनमा त्रिभुवन विश्वविद्यालयले आफ्नो एउटा सफल-असल प्राध्यापक तथा व्यवस्थापक गुमाएको छ भने मुलुकले एउटा विशिष्ट विद्वान र भूगोलविद् । उहाँको सादा जीवन र उच्च विचारबाट धेरै कुरा सिक्न सकिन्छ । उहाँको कर्ममा विश्वास गर्ने आध्यात्मिक जीवन अनुकरणीय छ ।

(लेखक त्रिविमा अंग्रेजी विषयका प्राध्यापक तथा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति समेत हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय