लघुकथा- ‘हली’

आर्यन शर्मा नेपाल

पहाडमा रहँदा बस्दा डम्बरध्वज थापाले अरुकाभन्दा ठुलो घर बनाएका थिए । त्यसैले उनलेे ठुलाघरे थापा उपनाम पाए । जनयुद्धका कारण पहाडमा बस्नै कठिन भएपछि उनी सपरिवार तराई झरे । त्यसपछि बाउबाजेले उहिल्यै जङ्गल फाँडेर हडपेको पटाङ्गिनी खेतीयोग्य जमिन नजिकै उनले उत्रै ठुलो घर बनाए ।

पहाडबाट तराई झरे पनि ठुलाघरे उपनाम सँगै बोकेर ल्याए । नाम ठुलाघरे भए पनि उनको चित्त भने झिँगाको टाउको जत्ति मात्रै ठुलो थियो । अथाह सम्पत्ति भए पनि उनी लोभ गर्ने मामिलामा पाराकाष्ठा नै थिए । झट्ट हेर्दा उस्तो धेरै धनी र घरानियाँ जस्ता नदेखिए पनि उनी सात बिगाहा जमिनका मालिक थिए।

ठुलाघरे गरिब दु:खीलाई ऋण दिन्थे र तिर्न नसके उनीहरूलाई कमारो बनाउँथे। दुई छाक खान दिएर वर्षौं वर्ष जोताए पनि उनको ऋण भने कहिल्यै सकिँदैनथ्यो । जुनसुकै विषय क्षेत्रमा आफैँ जान्ने पल्टिनु पर्ने उनी जीवनमा कहिल्यै अनौ नसमाते पनि कसरी जोत्ने, कसरी पटाह लगाउने, अनि गोठमा कहिल्यै नटेके पनि कसरी घाँसकुँडो हाल्ने, भकारो सोहोर्ने भनेर हली कमाराहरूलाई कान पाकुन्जेल फलाकेर सिकाइरहन्थे ।

भित्रभित्रै रिसले मुर्मुरिए पनि बिचरा ! ती हली कमाराहरूको ऋणको भारले मुख बुजो लगाएको थियो । ती हली कमाराहरूमध्ये केही इमान्दारीपूर्वक आफ्नो काम गर्थे तर सुरे, नरे र बिरेले भने कामभन्दा मुखले मालिकलाई रिझाएका थिए। उनीहरूले ठगी ठगी आफ्नो दुनो सोझ्याएका थिए भने धने, माने र बिर्खेजस्ता छलछाम गर्न नजानेका हली कमाराहरू मन लगाएर काममा ध्यान दिन्थे । सफा मनका उनीहरू मालिकको नचाहिदो स्तुति गाउँदैनथे ।

जति काम गरे पनि आफ्नो ऋण नसकिएको र जस नपाएकोले आजित भएर एक दिन बिर्खेले प्याच्च मुख खोल्यो, ” जाबो पाँचओटा हजारमा पाँच वर्ष हलो जोतिसकेँ , होइन मेरो ऋण कहिले भुक्तान हुन्छ मालिक ?” अप्रत्याशित रूपमा नोकरले त्यसरी मुख फोरेपछि रिसले चुर भएका ठुलाघरेले त्यस हलीलाई उल्टै खाएको, बसेको सबै पैसा जोडेर अझै पाँच वर्ष जोतेपछि मात्रै ऋण चुक्ता हुने कुरा बताए र मनमनै मुर्मुरिँदै भने, “होइन यी छोट्टाहरूलाई दया त गर्नै नहुने, हन ! मसँग पो मुख फर्काउँदो रैछ पिलन्धरे गधा” । त्यसपछि ठुलाघरे रन्थनिदै नरेले ल्याइदिएको हुक्का तान्न थाले। आफ्नो कमारो साथीको त्यो हबिगत देखेपछि अरु इमानदार हलीहरू मुख सिएर काम गर्न बाध्य बने।

बिचरा ! त्यो बिर्खे के गरौँ र कसो गरौँ को असमञ्जसमा पर्यो। काम छोडेर जाऊँ घरखेत लेखेर नाकको टुप्पोले ल्याप्चे हानेको छ,परिवारको पाटीको बास होला। काम गरेर बसौँ काम गर्ने कालु मकै खाने भालु भनेझैँ परिस्थिति छ। त्यसपछि ऊ विवसताको त्यही दलदलमा भासिन बाध्य बन्यो । बिचरो न मालिकको नजरमा राम्रो मानियो न त उसले कामको उचित दाम नै पायो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय