प्रखर समाजवादी चिन्तक प्रदीप गिरी
डा.बाबुराम भट्टराईप्रदीप गिरी र म आजीवन नदीका दुई किनारा जस्ता रह्यौं । नदीका किनारा एउटै दिशामा निरन्तर अघि बढ्छन्, दुबैले जलप्रवाहलाई आ–आफ्नो कोणबाट सहजीकरण गर्छन्, निरन्तर परैबाट सम्वाद गरिरहन्छन् तर तिनीहरुको कहिल्यै मिलन हुँदैन । हामी पनि ४४ वर्षसम्म सँगसँगै लोकतान्त्रिक र समाजवादी आन्दोलनमा लागि रह्यौं, तर उहाँ दाँया किनाराबाट हिँडिरहनु भयो म बाँया किनाराबाट हिँडिरहे । हाम्रो निरन्तर सम्वाद र आत्मीयता रहिरह्यो, तर हामी कहिल्यै एउटै पार्टीमा भएनौँ ।
प्रदीप गिरी र मेरो पहिलो भेट २०३४ सालतिर दिल्लीमा भएको हो । म अखिल भारत नेपाली विद्यार्थी संघ(अभानेविस)को अध्यक्ष थिएँ । राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएका तर राजाले जेलमा राखेका विपी कोइरालालाई रिहाई गर्नुपर्छ भनेर मैले अध्यक्षको हैसियतले दिल्लीबाट सार्वजनिक वक्तव्य दिएपछि त्यसले भारत र नेपालमा ठूलो तरंग ल्याएको थियो । त्यसैक्रममा भारतमा रहेका कांग्रेस र कम्युनिष्टका नेताहरुसँग परिचय र भेट हुँदा प्रदीप गिरीसँग भेट भएको थियो ।
त्यतिबेला प्रदीप गिरी, दुर्गा सुवेदी लगायतका कांग्रेसका नेताहरु विपीसँग रुष्ट थिए । म त्यतिबेलासम्म कुनै पार्टिमा नभए पनि विपीले लिएको राजासँगको मेलमिलापको नीतिको आलोचक थिए । त्यसमै छिटै हाम्रो निकटता र सम्वाद बढ्दै गयो । म जे.एन.यू. मा विद्यावारिधीका निम्ति भर्ना भएपछि त झन् हाम्रो निकटता झाँगिदै गयो । हामी घण्टौँ मार्क्सवाद, समाजवाद र क्रान्तिबारे छलछफल र बहस गथ्र्यौ। भरतका समाजवादी नेताहरु चन्द्रशेखर,जर्जफनान्डिस, मधु लिमये, मधु दण्वते, किसन पट्नायक आदि र कम्युनिष्ट नेताहरुसँग पनि बाक्लो भेटघाट र सम्वाद हुन्थ्यो ।
२०३४ सालदेखि २०३७ सालसम्म म नेपालका कांग्रेस र कम्युनिष्टहरुको समदुरीमा रहेँ । अ.भा.ने.वि.सं.सबै राजनीतिक धारको साझा संगठन थियो । तर त्यतिबेलासम्म राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नभएसम्म नेपालमा वास्तविक जनताको शासन आउँदैन र त्यो विना देशको विकास हुँदैन भन्ने चेतना म भित्र दह्रोसँग अंकुरित भैसकेको थियो । त्यस अर्थमा कांग्रेस भन्दा कम्युनिष्ट नै ठिक हुन भन्ने सोचका साथ २०३७ चैतमा त्यतिबेला सबभन्दा बढी क्रान्तिकारी छवी भएका मोहनविक्रम सिँहको हातबाट मैले कम्युनिष्ट पार्टिको सदस्यता लिएँ ।
त्यसपछि पनि कांग्रेसका प्रदीप गिरी, दुर्गा सुवेदी लगायतका साथीहरुसँग निकट सम्बन्ध रहिरह्यो । २०४२ सालमा पढाई सकेर नेपाल फर्केपछि पंचायती व्यवस्था विरोधी आन्दोलनमा हाम्रो सहकार्य नयाँ ढंगले अगाडि बढ्यो । ऋषिकेश शाहले नेतृत्व गरेको नेपाल मानव अधिकार संगठनमा प्रदीप गिरी र म सँगसँगै निकै सक्रिय रहयौँ । मैले सम्पादन गर्ने पत्रिका ‘झिल्को’ र उहाँ संलग्न रहेका समाजवादी धारका विविध प्रकाशनहरुको सन्दर्भमा हाम्रो बौद्धिक वहस र सहकार्य निरन्तर जारी रह्यो ।
२०४६/०४७ सालको आन्दोलन र परिवर्तनपछि नेपाली कांग्रेस सत्तामा पुग्यो । हामी यो परिवर्तन अधुरो छ र संविधानसभा मार्फत गणतन्त्र प्राप्त नभएसम्म नेपालमा लोकतान्त्रिक क्रान्ति पुरा हुँदैन भन्ने सोचका साथ सशस्त्र जनयुद्धको तयारीमा लाग्यौं।
क. प्रचण्डको नेतृत्वमा माओवादी पार्टिको एउटा पंक्ति भूमिगत तयारीमा लाग्यौँ भने मेरो नेतृत्वमा रहेको अर्को पंक्ति खुला संगठन, संयुक्त जनमोर्चा नेपाल मार्फत संसदीय संघर्ष र जनआन्दोलनमा लाग्यो । नेपाली कांग्रेस सत्तामा रहेकाले हाम्रो संघर्ष मूख्य रुपमा नेपाली कांग्रेससँग नै हुनु स्वभाविक भयो । खुला मोर्चाको नेतृत्व मैले समालेको हुँदा कतै अप्रिय घटना हुँदा, धरपकड हुँदा सरकारसँग कुराकानी स्वतः मैले नै गर्नु पर्दथ्यो । त्यस्तोबेला पुरानो सम्बन्ध र सम्पर्कको नाताले प्रदीप गिरीको साथ र सहयोग निकै महत्वपूर्ण हुन्थ्यो । खासगरि कृष्णप्रसाद भट्टराई र शेर बहादुर देउवाको पहिलो प्रधानमन्त्री कालको बेला प्रदीप गिरी मार्फत् सरकारसँग सम्वाद गर्न बढी सहज हुन्थ्यो ।

त्यो सहजता उहाँको र मेरो निजी सम्बन्धको कारणले मात्र नभएर उहाँको समाजवादप्रतिको वैचारिक निष्ठाको कारणले पनि थियो भन्ने मेरो बुझाई रहेको छ । समाजवाद प्राप्तिको बाटामा हाम्रो विमति रहे पनि समाजवादको लक्ष्यप्रति हाम्रो समानता थियो । दोश्रो कम्युनिष्ट अन्तराष्ट्रियका नेता बर्नास्टीन र काउत्स्कीले अघि सारेको क्रमिक सुधारको बाटो प्राप्त हुने समाजवाद नै मूल रुपमा नेपाली कांग्रेसले अंगीकार गरेको प्रजातान्त्रिक समाजवादको जननी हो भन्ने उहाँको बुझाई थियो । मैले त्यसमा गान्धी, लोहिया, विपी, जयप्रकाश नारायणहरुको वैचारिक योगदानको पनि ठूलो हिस्सा थियो ।
अर्काेतिर, संसारभरका कम्युनिष्टहरुले भन्ने गरेको ‘वैज्ञानिक समाजवाद’ तेश्रो कम्युनिष्ट अन्तराष्ट्रियका नेताहरु लेनिन र स्टालिनले परिभाषित गरेको पुरानो सत्ता बलपूर्वक ध्वंस गरेर त्यसको स्थानमा स्थापना गरिने ‘सर्वहारावर्गको अधिनायकत्व’ हो । यी भिन्नता र असहमतिका बाबजुद आम अर्थको समाजवादी ध्येय प्रतिको साझा प्रतिवद्धता प्रदीप गिरी र मेरो निकटताको मूल आधार थियो । खाशगरी गिरिजाप्रसाद कोइरालाको पहिलो प्रधानमन्त्री कालमा विश्व बैँक, अन्तराष्ट्रिय मुद्रा कोषको निर्देशनमा अन्धाधुन्ध तरिकाले लागु गरिएको नव–उदारवादी अर्थनीति नेपालको धरातलीय यथार्थ सुहाउँदो नभएको हाम्रो साझा बुझाई थियो ।
२०४८ देखि २०५२ सालसम्म योजनावद्ध रुपले ‘चार तयारी’ (वैचारिक तयारी, सांगठनिक तयारी, संघर्षको तयारी र प्राविधिक तयारी) गरेर हामीले २०५२ फागुन १ गतेबाट घोषित रुपमा सशस्त्र जनयुद्धको थालनी गर्यौं। सशस्त्र संघर्षको थालनी गरेपछि पनि हामीले सरकार समक्ष प्रस्तुत गरेका ४०–सूत्रीय मागका आधारमा वार्ता, सम्वादको ढोका कहिल्यै बन्द गरेनौँ ।
उदाहरणका निम्ति जनयुद्ध शुरु भएको पाचँ महिनापछि भूमिगत रुपमा सिलुगुडीमा भएको पहिलो केन्द्रिय समितिको बैठकबाट विधिवत् निर्णय गरेर हामीले नेपाल मानव अधिकार संगठनका अध्यक्ष ऋषिकेश शाह लगायतका व्यक्तिहरुलाई पत्र लेखेका थियौँ । प्रदीप गिरी, पद्मरत्न तुलाधर लगायतका व्यक्तिहरुसँग विभिन्न माध्यामबाट सम्पर्कमा थियौँ । तर गम्भीर वार्ताको निम्ति केही वर्ष परिस्थिति परिपक्व बनिसकेको थिएन ।
२०५६ सालको आम निर्वाचन पश्चात कृष्ण प्रसाद भट्टराईको दोश्रो प्रधानमन्त्री कालमा सरकारको तर्फबाट पहिलो चोटि वार्ताको निम्ति चासो देखाइयो । त्यस क्रममा भएका सूचना– सम्पर्कको आधिकारिकता पुष्टिका लागी पार्टिको निर्देशन अनुसार मैले सुरक्षा सतर्कता अपनाउँदै प्रदीप गिरी र दुर्गा सुवेदीसँग फोनमा प्रत्यक्ष सम्पर्क गरेको मलाई अझै सम्झना छ । परन्तु सो सरकार छिटै ढलेकाले सम्वाद अघि बढ्न सकेन । २०५८ को दरवार हत्या काण्डपछिको बदलिएको परिवेशमा भएका विभिन्न चरणका वार्ताका असफलता र सफलताका कथा अब इतिहास बनिसकेकाले दोहोर्याइरहनु पर्दैन ।
२०६३ को वृहत शान्ति–सम्झौता पछि संविधानसभाको निर्वाचनमा संविधान निर्माणको क्रममा प्रदीप गिरीसँगको सहकार्य मेरा निम्ति विशेष स्मरणीय छ । नेपालका पुराना संसदवादी शक्तिहरु, नेताहरु र अन्तराष्ट्रिय समुदायले माओवादी जनयुद्धको जगमा प्राप्त भएको संविधानसभामा र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको महत्वबोध नगरेको, बुझ पचाएको र न्युनीकरण गरेको सन्दर्भमा प्रदीप गिरीले फ्रान्सेली, अमेरिकी र रुसी क्रान्ति पछिका संविधानसभाहरुसँग नेपालको प्रसंगलाई दाँजेर गर्ने इतिहासको चेत र महान क्रान्तिहरुको महत्वबोध मैले देखेको छैन । त्यसले नै समकालीन नेपालमा उहाँको वैचारिक उचाई छुने व्यक्ति पाउन कठिन पुष्टि गर्छ ।
संविधानसभा अवधिमा २१ औँ शताब्दीको शुरुमा बन्न लागेको नेपाली संविधानलाई कसरी बढी भन्दा बढी लोकतान्त्रिक, समावेशी, प्रगतिशील र समाजवाद–उन्मुख बनाउने भन्ने विषयमा प्रदीप गिरीले संविधानसभामा, समितिहरुमा र सार्वजनिक स्थलहरुमा पुर्याउनु भएको योगदान उच्चकोटिको छ । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापतिको नाताले मैले महत्वपूर्ण विषयहरुमा दलका नेताहरुसँग सहमति जुटाउनु पर्दा धेरै चाटि वहाँको सहयोग लिएको छु । नेपाली कांग्रेस र एमालेका नेताहरु प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली, बहुजाति÷बहुभाषिक पहिचान सहितको संघीयता समानुपातिक समावेशी प्रतिनिधित्व, न्यायालयको पुर्नसंरचना लगायतका आधुनिक लोकतन्त्रका महत्वपूर्ण प्रश्नहरुमा खुट्टा कँपाइरहँदा वा विरोधमा उत्रदा उहाँ दृढतापूर्वक ती मुद्धाहरुको पक्षमा उभिएको तथ्यलाई म उच्च सम्मानका साथ सम्झिरहनेछु । इतिहासको विडम्वना भनौँ वा हाम्रो समाजको अल्पचेतना उहाँ र म जस्ता व्यक्तिले अथक प्रयत्न गर्दा पनि इतिहासमा विरलै संविधानसभाबाट हामीले अहिलेको युग र नेपालको विशिष्ठता सुहाउँदो संविधान बनाउन सकेनौँ । रोचक संयोग भनौँ, हामी दुबै खसआर्य समुदायका पुरुष सभासद भएर पनि थुप्रै त्रुटि र अपूर्णता सहितको संविधान जारी हुँदा उहाँले हस्ताक्षरै गर्नु भएन भने मैले हस्ताक्षर गरे पनि लगत्तै संविधानसभा बाहिर उभिएर ‘यो संविधान आधा गिलास भरी, आधा गिलास खाली छ’ भन्ने अभिव्यक्ती दिएँ । इतिहासले एकदिन यसको सही मूल्यांकन गर्ने नै छ ।
२०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए लगतै अब नेपाली राजनीति नयाँ चरणमा प्रवेश गर्यो भन्ने मान्यताका साथ असोज ५ गते मैले माओवादी पार्टिबाट अलग भएको घोषणा गरेँ । त्यसपछिका दिनहरुमा प्रदीप गिरीसँग मेरो वैचारिक–राजनीतिक बहस झनै घनीभूत बन्यो । म अब परम्परागत ढाँचाको स्टालिनवादी कम्युनिष्ट पार्टिको नेतृत्वमा वास्तविक समाजवाद प्राप्त हुन सक्दैन भन्ने निष्कर्ष पुगेको थिएँ । साथै चरम असमानतालाई जन्माउने प्रकृतिको विनास गर्ने भूमण्डल पूँजीवाद त झन् मानवजातिका निम्ति घातक हुन्छ भन्ने बुझाइमा म दृढ थिएँ र छु ।
यो स्थितिमा समग्र मानव जातिको कल्याण गर्ने र प्रकृति र मानवको सहअस्तित्व कायम गर्ने उन्नत प्रकारको वैकल्पिक समाजवादी विचार र व्यवस्थाको खोजी र निर्माणमा म लागेँ । ‘नयाँ शक्ति’ हुँदै अहिलको ‘नेपाल समाजवादी पार्टि’ सम्मका प्रयोग हुन् । यो मिशनमा वैचारिक रुपमा सहयोग गर्न सक्ने समकालीन नेपालीहरुमध्ये प्रदीप गिरी नै सम्भवतः अग्रपंक्तिमा हुनुहुन्थ्योँ ।
प्रदीप गिरीमा इतिहास र संसारभरका विभिन्न समाजवादी धारहरुको राम्रो ज्ञान थियो । मार्क्स, लेनिन र रोजा देखि गान्धी र लोहियासम्मका विचारहरुको रौँ चिरा चिरफार गर्ने ज्ञान क्षमता उहाँमा थियो । त्यसैले समयले भ्याएसम्म हामी ती विषयमा घण्टौँसम्म बहस, छलफल गर्थ्यौं ।

छोरी मानुषीले सम्पादन गर्ने गरेको ‘रातो झिल्को’ म्यागेजिनका सबै अंकहरुको छलफलमा हामीसँगै हुन्थ्यौँ । पछिल्लो चरणमा म टोखाको हार्मोनी हाउजिंगमा बस्न थालेपछि उहाँ पनि त्यहीँ कोलोनीमा सर्ने सल्लाह भयो, ताकि हामी भौतिक रुपमा पनि नजिक रहेर वैचारिक सहकार्य गर्न सकौँ । साथीहरुले शायद एउटा घर पनि खोज्नु भयो । तर उहाँ त्यहाँ सर्न नपाउँदै उहाँको घातक रोगको पहिचान भयो । हाम्रो त्यो सपना पूरा हुन पाएन ।
प्रदीप गिरी प्रखर समाजवादी चिन्तनका साथसाथै असाध्यै आत्मीय र रसिलो मानव पनि हुनुहुन्थ्योँ । २०६८/०६९ सालमा म प्रधानमन्त्री हुँदा उहाँ र म प्रम निवास वालुटारमा घण्टौँ गफिन्थ्यौँ । एकदिन मैले कुरैकुरामा उहाँलाई प्रस्ताव राखे– ‘प्रदीपजी तपाई जस्तो वैचारिक उचाई भएको मान्छे यो देशको राष्ट्रपति बन्नुपर्छ ।’ उहाँले हास्दै भन्नुभयो –‘हुन्छ, तर मलाई बाह्र बजे एक्लै सडकमा घुम्न दिनुहुन्छ?’ हामी दुबै जना मज्जाले हास्यौँ ।
प्रदीपजी, तपााईको भौतिक शरीर नरहे पनि तपाईको विचार र आदर्शले हामीलाई सधैँ दिशाबोध गराईरहनेछ ।


