
यात्रा अनुभव-२ : हिमनदीमा डोजर खोज्दा !
पुष्कर नेपाललगातारको उकालो चढाई पछि लामो सुस्केरा पनि पुरा नहाल्दै आफ्नो दुखले आर्जित क्यामरा निकालेर उसले वरिपरिको दृष्यावली फटाफट कैद गर्न थाल्यो । ऊ हिमाली क्षेत्रको छिनछिनमा परिवर्तन भई रहने मौसम सँग जानकार थियो । किनकि पटक-पटक उसले यस्तो मौसमको साक्षात्कार गरिसकेको थियो ।


उसले पाएको आहटलाई भलाकुसारी रूपी सान्दर्भिक विचार तेर्स्यायो, ‘यो उकालोले त लौरीविनाको उकालो नै पो सम्झायो है’ । तर आफ्नो सहयात्री सम्झेर गरेको भलाकुसारी त्यसै खेर गयो !किनकि उसलाई आहट दिने व्यक्ति न उसको सहयात्री थिए न लौरीविनाको उकालो के हो भन्ने नै बुझे । बरु अनौठो आँखाले उसलाई हेर्दै हर्याक हर्याक गर्दै उकालो लागे ।

उसले आफ्ना साथीजनहरूतिर आँखा दौडायो । उसका साथीहरू भने निकै तलबाट कपडा हल्लाएर उसको ध्यानाकर्षण गर्दै फोटोको अपेक्षा गर्दै थिए । उसलाई हिमाली क्षेत्रमा टाढाबाट लिइएका फोटाहरू राम्रा र चित्ताकर्षक हुन्छन् भन्ने अल्पज्ञान भने थियो । केहि वेढङ्गले खिचिएका सुन्दर तस्विरपछि ऊ अघि बढ्यो । उसले साथीहरूलाई कुर्ने जमर्को समेत गरेन । बरु अघि आफुलाई छोडेर अघि लागेका बटुवाहरूलाई पछि पार्दै लम्कियो । ती बटुवाका वार्ताको सन्दर्भतर्फ ध्यान दियो । एउटा बटुवा अर्कोलाई हिमाली यात्रामा मिल्कीबार तथा अन्य चक्लेटको महत्वको व्याख्या गर्दै थियो। उसलाई त्यो छलफलमा सहभागी हुन मन लागेन । बरु उसले आफ्नो झोलाको सातु सम्झ्यो । उसले कैंयौं पटक यात्रामा भोजन संकटमा सातुको साथ पाएको थियो ।
थोरै अगाडी बढ्ने बित्तिकै उसको अगाडी वरिपरी हिमाली टाकुराहरू र तिनबाट झर्दै गरेका हिमनदी निर्मित ससाना पानीका रिल (Reel) हरू (खोला, खहरे भन्दा पनि सानो पानीको बहाव) द्वारा निर्मीत सुन्दर ताल च्छोरोल्पाले स्वागत गर्यो । सुरुमा प्रकृतिसँग रमाएको ऊ स्वभावझैं हिमनदिको उत्पत्ति त्यसको वहाव, लम्बाई र परिवर्तन नियाल्न थाल्यो। आफ्नो अध्ययन विषयबाट प्राप्त न्यून ज्ञानलाई पुष्टी गर्ने मौका पाउँदा उसलाइ खुशि लाग्ने गर्दछ, त्यस्तै भयो । ऊ नियाल्न थाल्यो हिमोद (Glacial Soil), ऊ नियाल्न थाल्यो हिमनदी निर्मित क्षयिकरणवाट बनेका हिमाली स्थलश्वरूपहरू, हिमनदी निर्मित निक्षेप कार्य वाट वनेका भू-श्वरूपहरू जसले उसलाई आल्हादित बनाईरहेका थिए। बाटोको यात्रामा उसले नदि निर्मित स्थलहरू पनि देखेको थियो ।
उसले (Asker), v shaped valley, U Shoped Valley, Sheork, Giant ladder Hanging valley आदि जस्ता अनगिन्ती आफुले अध्ययन गरेका भू-स्वरूपहरूको अवलोकन गर्यो । अध्ययनका क्रममा उसले ती स्थलश्वरूपका उदाहरणहरू स्वदेशको कुनै पनि पाएको थिएन बरू उदाहरण र तस्विरहरू अलास्काको योकुन नदीको, क्यानडाको मेकेन्जी नदीको, अमेरिकाको कोलोराडो नदिको वा अफ्रिकाको कंगो नदि आदिको मात्र पाएको थियो । यसबाट उसलाई नेपालका शिक्षाविद्हरू नेपाली पाठ्यक्रममा विदेशी सल्लाहकार अथवा विज्ञ राखेर पुस्तक तयार गर्ने आफुलाई जवरजस्ती शिक्षाविद भनाउनेहरु प्रति घृणा लाग्यो । Hill Slope, River Velocity, Land form हरुका बारेमा नेपालमा अध्ययन गरेर नेपालका अनेकों उदाहरण हरू राखेर आफ्नो अध्ययन पुरा गर्ने विश्वविख्यात रिचर्ड चोर्ले, टोनी हेगन नेपालकै मुर्धन्य विद्वान डा. बुद्धिनारायण श्रेष्ठ जस्ता व्यक्तिका खोज अनुसन्धानबाट प्राप्त तथ्यहरुलाई पठनसामाग्री बनाउने हो भने नेताहरूले भने जस्तै माटो सुहाउने जनशक्ति तयार हुने थियो ।
पछाडिबाट झसङ्ग पार्दै प्रकाश भाईले उसलाई ‘२/४ दिनको विछोडले नै होमसिक भयो कि क्या हो दाई ?’ भनेर कटाक्ष गरे । ऊ मुस्कुरायो र समूह सँग फोटोग्राफी, सेल्फी टिकटक आदि जस्ता सर्वमान्य मनोरञ्जनमा रमायो । गणेश भाई भन्दै थिए भावुक भएर मानिएको सुन्दरताको पहिचान गर्ने हो भने ट्रेकिङ नै आउनु पर्ने रहेछ यार ! सबैजना ऊतर्फ हेर्दै थिए । रोमान्टिक मान्छे कसरी भावुक भए भनेर मुखामुख गर्दै थिए । नवराज भाई प्रश्निल भए ‘के भो तँलाई ?’ गणेश भाई बोल्दै बोलेनन् बरु आफ्नो औलाले एकजना महिला यात्रीलाई देखाए । सबैजना मुर्छा परेर हाँस्न थाले । ती महिला कोहि नभएर २ दिन अगाडि ट्रेकिङ सुरु गर्दाकै ब्यूटी थिईन्। उनको वास्तविक रूप हिमाली हावा, दुःखीलो बसाइ र थकानका कारण झलमल्ल झल्केको थियो ।
तालको छेवैमा रहेको शेर्पा दाईको चिया पसलमा १ कप चिया सुर्क्याएपछि टोली लाग्यो नजिकैको अर्को ताल दूधकुण्ड तर्फ। मूख्य गन्तव्य च्छोरोल्पा भए पनि त्यसभन्दा करिब २०० मिटरभन्दा बढी उचाईमा रहेको दूधकुण्ड सबैको दोस्रो गन्तव्य हुने रहेछ । यहाँ जाने पैदल बाटोको समेत निर्माण भएको रहेनछ । हेर्दा नजिकै लाग्ने तर जान भन्ने ज्यादै कठिन लाग्ने यो ठाउँ हिमनदिले बनाएको यू आकारको घाँटी पार भएर हिमोदहरूसँग पौठेजोरी खेल्दै जानु पर्ने रहेछ । ऊ रमाउने भैहाल्यो । केशवजी भन्दै थिए ‘one miss life finish’ साँच्चै त्यस्तै नै थियो । अरु पनि त गएका छन् नि भन्ने भावनाबाहेक सो बाटो हिँड्ने कुनै अन्य आधार थिएन ।
करिव ४७०० मि. जतिको उचाईको हिँडाई अरुलाई हेर्दा कति विस्तारै हिँडेको ? भनेझैं लाग्ने तर आफ्नो पनि उहि पारा। नेत्र भाई अर्को समूहका युवालाई सम्झाउँदै थिए ‘ए भाई बाटो न घाटो जथाभावी नहिँड है, फेरी आफु पनि जाउला र हामीलाई पनि लैजाउला नि । नभन्दै त्यसो भनेको मिनेट बित्न नपाउँदै भाईको खुट्टा चिप्लियो एउटा टाउको जत्रो ढुंगा गुल्टिँदै ऊ छेउ सम्म आएर बजारियो र त्यसको चोईटाले उसलाई लागेपनि खासै चोट भने लागेन तर उसको मुटु भने मुखबाट बाहिर निस्कन लागेको अनुभुत गर्यो । ती भाइलाई पनि खुट्टामा सानो चोटबाहेक खासै केहि भएन तर अब भने उ लजाएर समूहको पछि लाग्यो । सम्झाउने आवश्यता नै परेन ! ऊ पटकपटक नेत्रजीलाई हेर्दै थियो । काकाझैं लागेर होला ।
उकालो सकिएपछिको दृष्य लोभलाग्दो थियो दक्षिण पूर्व तर्फ उहि च्छोरोल्पा घामको प्रकाशमा टल्किरहेको र मुस्कुराएर बिदाइ गरिरहेको थियो भने उत्तर पूर्व तर्फ निर्मल कञ्चन दुधकुण्डले आल्हादित मनले स्वागत गरिरहेको उसले महसुस गर्यो । ति दुई विचको स्थल श्वरूप भने उसले पनि हालसम्म नदेखेको तर त्यस्तो स्थलाकृतिको निर्माण प्रक्रयाको बारेमा पढेको थियो । त्यो स्वरुपलाई हेरेर केहि युवायुवती भन्दै थिए ‘यति धेरै खनेर यहाँ के बनाउन लाग्या ?’ यो कुन औजारले खनेको ? हामीले त यहाँ कहिँ कतै डोजर देखेनौं ? आदि जस्ता कौतुहल जन्य प्रश्नहरू गुञ्जिए। उसको अलिअली अजासु बन्ने बानी नभएको त हैन तर पनि उ सम्हालियो र आफ्नै सहयात्री ज्ञानेन्द्र सापकोटा सरसँग हिमनदी र यसका कार्यहरूका बारेमा गफिएर चित्त बुझायो । उहाँ पनि भूगोल लाई मन पराउने उसको टाईपको हुनुभएकोमा ऊ खुसी भयो ।
ताल सानो भएपनि सुरम्य रहेछ । लम्बाई अलिबढी चौडाई कम भएको बाङ्गोटिङ्गो ताललाई हेर्दा अनेकौं दृष्य देखिने। पुरु भाई बगेर आएको पानी चारहात खुट्टा टेकेर पिएर आनन्दित हुँदै गरेको देखेर उसले पनि इन्जोए गर्यो । पुरु उसको आफ्नै भाई । झन्डै १० वर्ष जेठो दाजुलाई सकुशल यात्रा सकाएर घर ल्याउने जिम्मेवारी बोकेको कारण सो पानी प्रत्यक्ष नखान आग्रह गर्यो । सायद गए राति उसलाई आएको कामज्वरो को कारण चिन्तित थियो भाई। उसले सो कुरा बुझेको थियो।
हरि भाई लगायत समूह त्यहीँ केहि समय बसेर तालमा पौडी खेलेर फर्कने मुड बनाउँदै थिए। ऊ र ज्ञानेन्द्रजी भने लागे ओरालो, चाँडै पुगे बास सजिलै पाईने भएर । ओरालो निकै ठाडो थियो। उसले भन्यो ‘यो ओरालो त २१ घुम्ती सम्झाउने ओरालो पो रहेछ । उसले तिलिचोबाट फर्कदाँको बाटोको बारेमा सुनाउँदै थियो । ज्ञानेन्द्र जि भने त्यहाँ पुग्नु भएको रहेनछ। उहाँले तिलिचो जाँदाका सफ्टेरा अफ्टेरा कुराहरू सोधेपछि गफिँदै उनिहरू छोटो समयमा नै गएराती बास बसेको ठाउँ नागाउँ पुगे । सामान्य चिया नास्ता र अनुपम सौन्दर्यका धनी दुई ताल र त्यस वरिपरिका सुन्दर दृष्यावलीको वर्णन गर्दै लागे आफ्नो फिर्ती गन्तव्य तर्फ। क्रमशः
Comments

