‘फेसन सो’ भित्रै रुमलिएको तिज…

रञ्‍जना लामिछाने

जागिरे भएपछि सधैँजसो व्यस्त नै भइने । वल्लोपल्लो घरमा के भइरहेको छ पनि थाहा नहुने । तर केही दिनअघि शनिबार (म चाहिँ यसलाई छुट्टीबार पनि भन्न रुचाउँछु) बस्ती बाक्ला भइसके आफ्नै छिमेकीलाई पनि नचिनिने हो कि ? अब त अति भयो सधैँको व्यस्त, सधैँको व्यस्त भनेर यसो टोलतिर निस्किएको पल्लाघरे आन्टीले बोलाइहाल्नु भो, कहिलेकाहीँ त हाम्रातिर आउन नि हुन्छ क्यारे, म पनि हाँस्दै हुन्छ नि किन नहुनु भन्दै आन्टीकै नजिक पुगे । कुर्सी दिनुभयो, बसेरै गफ गर्न थाल्यौँ ।

गाउँघरतिर तिज आएर नि दर खान थालेको महिना बित्न लागिसकेछ मलाई भने आन्टीले सुनाएपछि बल्ल थाहा हुँदै थियो । म अचम्मित भएँ, पात्रोमा त दर खाने दिन आउन अझै केही दिन बाँकी नै छ। पात्रोमा लेखिएको दर खाने दिन आउनुभन्दा महिनौं अगाडिबाटै दर खाने कार्यक्रम सुरु भएको रहेछ ।आन्टी त ३/४ ठाउँमा दर खाने कार्यक्रममा सहभागी भइसक्नुभएछ । मैले जिस्काउँदै भने उसो भए त मज्जा रहिछ नि मीठो मीठो खायो, राम्रो राम्रो लायो, गीत गायो नाच्यो , रमाइलो गर्‍यो .. ।

आन्टीले मेरो कुरा बिचमै काट्नु भो, रमाइलो हुनेलाई त भाको होला नानी मलाई त सहनु न कहनु भाको छ । मैले आत्तिदै सोधेँ, ‘के भयो र त्यस्तो ?’ ‘के हुनु नानी कपडा, गहना अझ आजकल त्यही अनुसारको मेकअप र हेयर स्टाइल रे पार्लर नगएसम्म त सुखै छैन । को कस्तो भएर आको छ ? को राम्रो देखियो ? कसका गहना कति? अस्ति दर खान जाँदा त्यही सारी लगाइथी आज यहाँ नि त्यही लगाएर आइछ! भन्दै होच्याउछन। दर खान नजाम भने फलानी त कति ठुली भाकी हो बोलाउदा नि के को भाउ खोजेर न आकी हो भन्छन् ,जाम आफ्नो औकातले भेट्दैन। भोलि नि यही समाजमा बस्नु छ, दुखसुखमा तिनै दिदीबहिनीको साथसहयोग चाहिन्छ भनेर अहिले जति चित्त दुखे नि केही बोल्न सक्दिन। मनको पीडा न देखाउन मिल्नी न लुकाउन। हामीजस्तो बिहानबेलुका ट्याप्लाटुप्लु पारेर येनकेन गुजारा चलाउनेलाई त यस्ता चाडवाड नआएकै जाती’, आन्टीले भन्नुभयो ।

पल्लाघरे आन्टीको कथा र व्यथाले मलाई रातभर निदाउनै दिएन, छट्पटी भो, मनमा बेचैनी भो र एकपटक सोच्न बाध्य बनायो, चाडपर्वको नाममा हाम्रो समाज कतातिर जाँदै छ ? नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यही नै हाम्रो परिचय र पहिचान हो। विश्वमा हामीलाई अलग र विशिष्ट पहिचान दिने हाम्रा धरोहर भनेकै हाम्रा रीतिरिवाज , चालचलन, चाडवाडहरु हुन् । अनि यी व्यक्तिगत नभएर सामूहिक हुन्छन् । त्यसैले कोही एक व्यक्तिले वा कुनै झुन्डले चाडवाडका नाममा गरेका तडकभडकले सिङ्गो समाजलाई नै प्रभावित तुल्याइदिन्छ, के यो कुराको हेक्का हामीमा नभएको हो र ?

के हामीले हाम्रा चाडपर्वलाई चाडपर्व कै रुपमा मनाएका छौँ त ? तिजकै माहोल चलिरहदा यहाँ मलाई तिजकै प्रसङ्ग कोट्याउन मन लाग्यो। हामीले हाम्रो तिजको पौराणिक महत्त्वलाई सम्झेर बुझेर तिज मनाएका छौँ वा ‘तँ राम्री कि म राम्री ?’ को प्रतिस्पर्धा चलाएका छौँ ? वा ‘तेरो लुगा राम्रो कि मेरो लुगा राम्रो ?’ को फेसन सो चलाएका छौँ। महिलालाई पछि पारियो, पितृसत्ता हाबी भयो भन्दै गर्दा कतै हाम्रा यी र यस्तै क्रियाकलाप पनि अप्रत्यक्ष रुपमा दोषी हुन् कि ? हामीले हाम्रो सक्षमता विकासका लागि कति समय र पैसा खर्चिएका छौँ ? सादा जीवन उच्च विचार भन्ने कुरालाई कति मनन गरेका छौँ? घाँटी हेरेर हाड निलेका छौँ कि धमिरा लागेको पिल्लरमा ऋणको तल्ला थपेका थप्यै छौँ? हामी आफैँमा आत्मनिर्भर भएर यसरी मन फुकाएर खर्च गरेका छौँ कि लिपिस्टिक, चुरा पोते ,लुगा गहनाका लागि श्रीमानसँग हात फैलाएका छौँ ?

तिजको धार्मिक महत्त्व के छ त ? हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन् ।

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ र दर खाने परम्परा पनि यसैसँग अन्तरसम्बन्धित छ ।

भोलिपल्टको निर्जला व्रतको पूर्वसन्ध्यामा शास्त्र र संस्कृतिद्वारा निर्देशित केही पोषणयुक्त भोजन गरेर भोलिपल्टको व्रतको तयारीका लागि मध्यरातमा खाने परिकार नै दर हो । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मान्छेको मानसिकतासँग जोडिएको विषय पनि हो । तीजको दिन महादेवको व्रत बस्दा भोको पेट भयो भने स्वाभाविक रुपमा उसको ध्यान भोजनतिर जाने भएकोले त्यही ध्यान भंग गराउनको लागि अघिल्लै दिन खाने पौष्टिकताले भरिपूर्ण भोजन नै दर हो ।

दरमा प्राय: दुधजन्य र घिउजन्य परिकारहरु बनाउने गरिन्छ । यो हिन्दु संस्कृतिमा तीजको अघिल्लो दिन मात्रै खाइन्छ । तर अहिले वर्तमान सन्दर्भमा हाम्रो समाजलाई यिनै कुराहरुको कसीमा दाजेर हेर्यो भने तिजको नाममा विकृती शिवाय अरु केही पाउन सक्दैनौँ।

हामीले मनाउने चाडपर्वहरु युगौँयुगसम्म जीवन्त रहनुपर्छ र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित पनि हुनुपर्छ । यो भनिरहदा वर्तमान पुस्ताले तिजलाई कसरी बुझिरहेको छ भन्ने बारेमा हामीले कहिल्यै सोधेका या सोचेका छौँ त ? महँगो कपडा लगायो, त्यही अनुसारको गरगहना, मेकअप, हेयरस्टाइल बनायो, १०/१५ जना भेट भयो, पार्टी प्यालेसमा गयो, मासुका परिकारसँगै ह्विस्कीको चुस्की लगायो, डिस्कोमा उफ्रियो तिज सकियो । के हामीले यही संस्कृति हस्तान्तरण गर्ने हो त ? समय परिवर्तनशील छ, समयानुकूल सकारात्मक परिवर्तन र परिमार्जनलाई सबैले स्वीकार गर्नैपर्छ तर परिवर्तनका नाममा भित्रिएका पाश्चात्य नक्कल र आधुनिकता एवम् कथित उत्तरआधुनिकताको यो खोक्रो लेप कदापि स्वीकार्य छैन अझ त्यो पनि संस्कृतिका नाममा ।

आजभोलि सामाजिक सञ्जालहरुले पनि चाडपर्वमा भित्रिने विकृतिलाई प्रश्रय दिइरहेका छन् । हुन त हामीले यसलाई कसरी प्रयोग गरिरहेका छौ भन्ने कुरामा पनि भर पर्छ । कतिपय कुराहरु देखाउनकै लागि गरिन्छन् जसले समाजमा सकारात्मकभन्दा नकारात्मक प्रभाव नै बढी पार्ने गरेको छ । तिजका सन्दर्भमा पनि धार्मिक संस्कार अनुसार पूजाआजा व्रतहरुको परम्परा चल्दै आएको छ तर हामीले पूजापाठलाई पनि फेसन बनाइदियौँ ।

आफै सोच्नुस न हजुर भगवानको पूजाका लागि मन्दिर जानुभएको छ। हजुरले भगवानलाई जल चढाउदै गरेको टिकटक बनाइरहनुभएको छ, हजुर आफ्नो हाउभाउ र अनुहार देखाउन आफुलाई टिकटकतिर ध्यानाकर्षण गराउनुहुन्छ ! हजुरले चढाएको जल मूर्तिमा होइन भुँइमा परिरहेको छ । पूजापाठ, जल अर्पण, आरधना भनेको त एकाग्र चित्तले गर्ने कुरा हुन् नि । भगवानलाई पनि गर्दिए झैँ गरेर हुन्छ र ? टिकटक बनाउनुस नबनाउनुस भनेकै छैन तर त्यो टिकटकमा तिजको व्रत कसरी बस्ने, त्यसकाे पूजाविधी कस्तो हुनुपर्छ ? भगवानलाई केके चढाउने भन्ने जस्ता उपयोगी विषयवस्तु समावेश गर्ने हो भने नयाँ पुस्ताले पनि त केही सिक्ने थिए नि, होइन र ?

चाडपर्व हामी सबै मिलेर रमाएर मनाउन सकिने होऊन् । चाडपर्व भनेको कुनै प्रतिस्पर्धा होइन यो त उत्सव हो, जहाँ जो कोही सामेल भएर खुसी साटासाट गर्न सकून् । चाडपर्वका कारणले कसैको आँखामा आँसु नआओस् । चाडपर्व मनाउनकै लागि कसैले कसैसँग हात फैलाएर ऋणको भारी बोक्न नपरोस् । चाडपर्वले कसैको हैसियत र औकातको निर्धारण नगरिदियोस् । अनि धनी र गरिबको खाल्डो नबानाइदियोस् ।

समाजका सबै जम्मा भएर जे जे छ त्यसैलाई मीठो मसिनो मानेर, जे छ त्यही लगाएर, एक आपसमा सौहार्दता देखाएर, मादल बजाएर, हाम्रै लोकभाका गाउँदै, सुखदुखका भारी बिसाएर, हाँस्दै नाच्दै, तिजको मौलिकतालाई जीवन्त राख्दै तिज पर्व मनाउन सकिँदैन र ? यसपालीको तिज फेसन सो प्रतियोगिताभन्दा पनि मौलिकता जगेर्नामा केन्द्रित रहोस्, सम्पूर्णलाई २०८० सालको तिजको मङ्गलमय शुभकामना !

(लेखक चितवनको भरतपुरस्थित बालकुमारी कलेजमा सहप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय