भर्चुअल सिकाइ: ‘पेडागोजी’मा आएको रुपान्तरण र चुनौती
धिरेन्द्रप्रसाद शर्मासूचना प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम नै भर्चुअल सिकाइ हो । वेभको प्लेटफर्म भर्चुअल कक्षा हो । यस्तो सिकाइ विद्युतीय सिकाइ हो । यो अनलाइनमा आधारित सिकाइ हो । प्रविधि मैत्री सिकाइ हो ।


सूचना र सञ्चारका साधनहरु र त्यसको प्रयोग मार्फत शिक्षक र विद्यार्थी बीच अन्तरक्रिया गर्ने, खुला र लचकदार प्रक्रिया मार्फत इण्टरनेट, सिडीरोम, भिडियो कन्फरेन्सिङ, सफ्टवेयर लगायतका अन्य सञ्चारका माध्यमहरु प्रयोग गर्दे व्यवस्थित सिकाइ अनुभव सहित आवश्यक श्रोत साधन युक्त कक्षा कोठा भित्रको सिकाइ प्रक्रिया भर्चुअल सिकाइ हो । कक्षा कोठाको सिकाइमा इण्टरनेटको जडान गरी सिकाइलाई प्रविधि मैत्री, खुला र विश्वव्यापी बनाउने आधुनिक औजार भर्चुअल सिकाइ हो ।
तसर्थ ‘लाइभ कक्षा’ वा रेकर्ड गरिएको श्रव्य दृष्य सामग्री मार्फत् विषयगत शिक्षकको अभाव भएका तथा सिकाइ पद्धितलाई अन्तराष्ट्रियकरण गर्न चाहने विद्यालयका सयौं विद्यार्थीले इण्टरनेटको माध्यमबाट आफ्नो विद्यालयको कक्षा कोठामा बसेर एकैपटक पढ्न पाउने आधुनिक सिकाइ प्रविधि भर्चुअल सिकाइ हो ।
आर्थिक वर्ष २०७२-७३ देखि साविकको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्याण्ड इण्टरनेटका माध्यमबाट अंग्रेजी, गणित र विज्ञान विषयको अध्यापन गर्न शुरू गरेको यस कार्यलाई निरन्तरता दिदै आ.व.२०७३-७४ मा १०० वटा र आ.व. २०७४-७५ मा ६५ गरी १६५ वटा विद्यालयमा मल्टिकास्टिङ प्रविधिबाट ब्याण्डविथ शुल्क सहित प्रविधिगत उपकरण जडान गरी भर्चुअल कक्षाको प्रारम्भ गरेको थियो ।
तत्पश्चात उक्त केन्द्र द्वारा गठित कार्यदलको प्रतिवेदनको सुझाव अनुसार हाल ब्रोडकास्टिङ पद्धतिबाट शिक्षा तथा मानव श्रोत विकास केन्द्रले कक्षा १० का अनिवार्य ६ वटा विषयमा ५४२ र कक्षा ९ का अनिवार्य ६ वटा विषयमा ४०० वटा पाठहरु उत्पादन गरी नेपाल टेलिभिजनबाट प्रसारण गरिरहेको छ । कक्षा ९ र १० का उत्पादित भर्चुअल पाठहरु यूटुवमा राखी विद्यार्थी तथा शिक्षकहरुले आफ्नो आवश्यकता अनुसार हेर्न सक्ने व्यवस्था समेत गरिएको छ ।
शुरुमा साविकको शैक्षिक जनशक्ति विकास केन्द्रबाट एकोहोरो प्रणालीबाट विकसित र सञ्चालन भएको भर्चुअल कक्षा र सिकाइ हाल पछिल्लो समयमा आएर दोहोरो सञ्चार प्रणालीबाट सञ्चालन गर्ने अभ्यास भईरहेको छ ।
कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाले दोहोरो सञ्चार प्रणाली सहितको मल्टिकास्टिङ प्रवविधिको प्रयोग गरी आफ्नो नगरपालिका क्षेत्रका पाँच वटा माध्यमिक विद्यालयका नौ वटा कक्षामा कक्षा दशको अंग्रेजी, गणित र विज्ञान विषयको भर्चुअल सिकाइको व्यवस्थापनको परीक्षण गरिरहेको छ । सुर्खेतकै वीरेन्द्रनगर लगायतका अन्य स्थानीय तह, प्रदेश र संघीय तहमा समेत यस प्रविधिको प्रयोगको कार्यान्वयन अगाडि बढाउनु पर्ने बहस उत्पन्न भएको छ ।
केही वर्ष अगाडि ओएलइ नेपाल नामक संस्थाको सहयोगमा ‘वानचाइल्ड, वान ल्यापटप’ अर्थात् ‘एक विद्यार्थी, एक ल्यापटप’ भनी केही जिल्लामा ल्यापटप वितरण गरिएको थियो । तत्पश्चात साविकको शिक्षा विभागले माध्यमिक र निम्न माध्यमिक तह सञ्चालन भएका विद्यालयहरुका लागि जोड कोष अनुदानको रुपमा एक लाख चालिस हजार उपलब्ध गराएर इण्टरनेट कनेक्टिभिटी कार्यक्रम सञ्चालनमा ल्यायो । तर प्रभावकारी हुन सकेन ।
मानव स्रोतको व्यवस्थापन र भौतिक पूर्वाधारको व्यवस्थापन विना वितरण गरिएको यो कार्यक्रमले कुनै उत्पादन दिन सकेन । पछिल्लो समयमा आएर विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगशाला निर्माण गर्न माध्यमिक विद्यालयहरूलाई ६ लाख ५० हजार उपलब्ध गराईन्छ जसले पनि कक्षा कोठाको सिकाइमा इण्टरनेट जोडिन सकेको अनुभूति गर्न सकिएको पाइदैन ।
चुनौतिहरुका बीचमा राज्यको करोडौ लगानी प्रविधिमैत्री सिकाइका लागि खर्च भईरहेको तितो यथार्थता हामीसंग छ । विश्व नै एउटै परिवार र विद्यार्थीको लागि एउटै कक्षा कोठा भइसकेको परिवेशमा परम्परागत शिक्षण शैली र सोच तथा प्रवृतिले पक्कै पनि गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिदैन ।
नीतिगत प्रावधान
सूचना र सञ्चार प्रविधिद्वारा सिकाइ, सूचना र सञ्चार प्रविधिसंग सिकाइ र सूचना र सञ्चार प्रविधिको बारेमा सिकाइ कक्षा कोठाको सिकाइमा सूचना र सञ्चार प्रविधिका मुख्य तीनवटा सिद्धान्तहरु हुन् । जसको समुचित प्रयोगले शिक्षक र विद्यार्थीलाई प्रविधिको माध्यमबाट कक्षा कोठामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज हुन सक्दछ ।
प्रविधिले विश्वलाई एउटा सानो गाउँ र प्रत्येक विद्यार्थी तथा शिक्षकलाई एक आपसमा जोड्ने सेतुको कार्य गर्दछ । प्राविधिको माध्यमबाट विश्वको कुनै एउटा कुनामा बसेर अर्को कुनाको समाचार तथा ज्ञानका कुरा सहजै हासिल गर्न सकिने र आफ्ना प्रतिक्रियाहरू पनि तुरुन्तै प्रदान गर्न सकिन्छ । जब हाम्रा शैक्षिक संस्थाहरू प्रविधि मैत्री हुन्छन् तब हामीले उत्पादन गरेका विद्यार्थी विश्व बजारमा सहज रुपमा समायोजन हुन सक्दछन् ।
केही अपवादहरु होलान्, तर सत्य के हो भने अहिलेको पुस्ता हत्केलामा प्रविधि बोकेर आफ्ना औँलाहरुमा संसार घुमाइरहेको छ । धूलोट, सिलोट, खरी वा हरिया पात र अंगार पिसेर बासको कलमले कालोपाटीमा लेखेको इतिहास सुनाएर नयाँ पुस्ता अहिलेको युगको प्रतिस्पर्धी बन्न सक्दैन भन्नेमा हामी सचेत हुन जरुरी छ ।
अहिलेको संसार ज्ञानमा अडेको छ । सूचना र प्रविधि दुवैको भूमण्डलीकरणले ज्ञानको दायरालाई फराकिलो तथा सहज पहुँचमा जोड दिएको छ । त्यसकारण एक्काइसौं शताब्दीले माग गरेको बिश्व बजारमा खपत हुने सिकाइ प्रदान गर्नका लागि कक्षा कोठामा प्रविधिको प्रयोग निर्विकल्प बनिरहेको छ ।
चुनौती
सिकाइमा प्रविधिको प्रयोग आफैमा चूनौतीपूर्ण कार्य हो । विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगका लागि आर्थिक, भौतिक र कार्यक्रमगत चुनौतीहरु धेरै रहेका छन् । कक्षा कोठामा प्रविधिको समुचित प्रयोगका लागि आवश्यक पर्ने श्रोत साधन र तिनको दिगोपना महत्वपूर्ण विषय हुन् । शिक्षकको क्षमता विकास र उत्प्रेरणा अर्को जरुरी पाटो हो ।
प्रविधिमैत्री कक्षाको व्यवस्थापन र समुचित प्रयोग, पैरवी, प्रचार प्रसार, सचेतना, उपलब्धता, संघ, प्रदेश र स्थानीय तहहरुबीच सामञ्जस्यता, सहयोग, साझेदारी र समन्वय आदि जस्ता विषयवस्तुहरु भर्चुअल सिकाइका मात्र नभएर समग्र प्रविधि मैत्री सिकाइका चुनौतीका विषयहरु हुन् । भर्चुअल सिकाइको माध्यमबाट सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार तयार गर्ने कार्य समेत चुनौतिको विषय बनिरहेको छ ।
गाउँ र शहर, सुगम र दुर्गम तथा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीबीच देखिने खाडललाई कम गर्दै शिक्षामा समानता र न्यायको पूर्ण प्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा हामीसंग छ । सबै बालबालिकालाई एक्काइसौं शताब्दी अनुकूलको बनाई राष्ट्रिय र अन्तरराष्ट्रिय बजारमा विक्न सक्ने बनाउन सुचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ । खुला सरकार, खुला सिकाइ, खुला शिक्षा जस्ता नविनतम धारणा विश्वमा आइरहेको समयमा सिकाइलाई एउटा पाठ्यपुस्तकमा बाध्नु र नियन्त्रण गर्नु झनै बाल अधिकार विपरीत नबन्ला भन्न सकिदैन ।
भर्चुअल कक्षाको माध्यमबाट खुला सिकाइ र खुला शिक्षाको अभ्यास कक्षा कोठामा गर्न सबै विद्यालयहरुमा प्रविधिमैत्री सिकाइका आवश्यक पूर्वाधारको विकासका लागि तीन वटै तहका सरकारहरु जिम्मेवार र उत्तरदायी बन्नु पर्दछ ।
शिक्षण पेशाबाट निवृत्त भएका योग्य र अनुभवी शिक्षकहरुबाट भर्चुअल कक्षा सञ्चालन गर्ने वातावरण सिर्जना गरेर शिक्षा क्षेत्रको थिङ्क ट्याङ्कलाई उत्पादन मुखी कार्यमा लगाउने नीति अवलम्बन गर्न जरुरी छ । कक्षा कोठाको सिकाइमा इण्टरनेटको कनेक्टिभिटी गराउन आवश्यक पर्ने रणनीतिको रुपमा भर्चुअल कक्षालाई प्रयोग गर्न सकिन्छ । मल्टिकास्टिङ र ब्रोडकास्टिङ गरी दुबै माध्यमबाट भर्चुअल कक्षाहरु सञ्चालन तथा व्यवस्थापन गरेर विद्यालय शिक्षालाई डिजिटलाइज्ड गराउन सकिन्छ । विद्यार्थीको सिकाइलाई मनोरञ्जनपूर्ण र दिगोपन बनाउँदै शिक्षकको बोझ कमगर्न तथा विद्यार्थीको आवश्यकता, रुचि, क्षमता र स्तर अनुसार सिकाइ गर्न भर्चुअल कक्षा र सिकाइ जस्ता नविनतम् प्रविधिहरुको प्रयोग कक्षामा गर्नुपर्ने देखिन्छ ।
तसर्थ भर्चुअल सिकाइ विद्यार्थीलाई वैकल्पिक तरिकाबाट सिक्न सक्ने पूरक सामग्री मात्र नभएर शिक्षक र शिक्षणको एक महत्वपूर्ण विकल्प बनिरहेको छ । भर्चुअल सिकाइ पेडागोजीमा आएको रुपान्तरण हो । फोर्थ जेनरेशनको अपेक्षा हो । रुचि हो । चाहना हो । आवश्यकता हो । सुशासनको महत्वपूर्ण औजार हो । स्वअनुशासन, नैतिकता र सदाचारिताको मुख्य कडी हो । सिकाइमा इण्टरनेट जोड्ने सजिलो मार्ग हो । औपचारिक शिक्षा भित्रको खुला सिकाइ हो ।
अतः भर्चुअल कक्षा जस्ता नविनतम प्रविधिहरुको समुचित व्यवस्थापन गर्न सके देशको शैक्षिक गुणस्तर उकास्नमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
Comments
