अलविदा ‘बडी नम्बर-५३’

रुद्रप्रसाद भट्ट

मिती २०७९ साल माघ १ गते आइतबार विहान ११:५३ बजे । सानो माइक्रो बसमा उभिएर यात्रा गर्दै थिएँ । सिट पाउनेबित्तिकै बसेर मोबाइलमा डाटा अन गरे । जब डाटा अन भएर ‘मेसेज टोन’ बज्यो त्यसले स्क्रिनमा हेर्ने बित्तिकै दिमाग हल्लायो ।

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भन्ने खबरमा आँखा पुगेपछि हत्तपत्त आफ्नै अनलाइन खोलेर हेरें ‘६८ यात्रु बोकेको यतिको जहाज दुर्घटना’ भन्ने खबर आइसकेको रहेछ । त्यसपछि खबर लेख्न भन्दा आफन्त साथिभाइ कोही यात्रामा थिए कि भन्ने चासो लिन थालें ।

मैले आफ्नो स्रोतले बुझ्दै गर्दा यात्रुहरूको लिस्ट सार्वजनिक भैसकेको थियो । जसमा मैले चिनेका झन्डै दर्जन यात्रुको नाम त्यसमा थियो । तर, नाम मिल्दैमा ती सबै मेरै चिनजानका हुन वा आफन्त हुन भन्ने यकिन थिएन ।

नाम सार्वजनिक भएपछि दिमाग हल्लिने र धड्कन बढ्ने चाहिँ भैरहेको थियो । मोबाइल डाटाले त्यति धेरै काम गरेको थिएन । जब गाडीबाट झरेर एउटा रेष्टुरेन्टमा पुगे अनि त्यहीँको वाइफाइ चलेपछि खबर बुझ्न सजिलो र छिटो भयो ।

त्यतिबेला सम्म चिनजानका साथीहरूको फोन लगातार आइरहेको थियो । सबैको प्रश्‍न हुन्थ्यो- ‘के फलानो साथी पनि परेको खबर साँचो हो ? त्यो भाइ पनि हो र ? केही अप्रीय घटना सुन्नुभयो ? यी र यस्तै प्रश्नले छोडेकै थिएन । त्यत्तिकैमा लिस्टमा भएको एउटा यात्रुको नाम र साथीहरूको बढी चासो भएको नाम एउटै थियो ‘त्रिभुवन पौडेल’ ।

हो, त्यही मेरो प्रिय भाइ जोसँग मैले कठिन भन्दा कठिन दिन बिताएको छु र कैयौं काला रात अनि भोक, प्यास र दु:ख झेलेको छु । आज त्यै भाइको दु:खद खबर मेरा प्रिय मित्र, आफन्त र साथिभाइले मै सँग सोधिरहेका छन् ।

त्रिभुवनसँग मैले झन्डै २० बर्ष सङ्गै बिताए । पोखराको पृथ्वीचोक नजिक त्रिभुवनको आमाको सानो चिया पसल थियो । पर्वतबाट आएर साना छोराछोरी काखमा लिएर बडो दु:खले आमाको त्यो पसल चलेको थियो । आमाको पसल दु:खले चलिरहेको छ भन्ने थाहा थियो र पनि हामी त्यहीँ दु:ख थप्न पुग्थ्यौ । हामीसँग एक गिलास चिया किनेर खाने अवस्था नहुँदा आमाले चियासँगै भक्कु पाउरोटी समेत दिएर कैयौंपटक हाम्रो भोको पेट भरिदिएको सम्झना अझै छ ।

त्यतिबेला त्रिभुवन सानै थियो । २०५८ को संकटकाल लाग्दै गर्दा हामिले राष्ट्रिय स्वाभिमान साप्ताहिक पत्रिकाको कार्यालय त्यही चियापसल नजिक राखेका थियौं । उमेर सानो भएपनि चलाख त्रिभुवनको पत्रकारिता प्रतिको चासो र आमाको चिया पसल त्यो समयमा दुवै हाम्रो लागि सहयोगी थियो । केही सानो काम पर्यो भने सानो भाइ त्रिभुवनलाई लगाउने अनि सार्है भोक लाग्यो भने गएर त्रिभुवनकै आमालाई फकाएर पेट भर्ने हाम्रो अवस्था थियो ।

समय बित्दै गएपछि त्रिभुवन सानै उमेरमा उत्कृष्ट लेखन शैली भएको पत्रकार भएर उदायो । त्रिभुवनको समाचार लेख्‍ने कलासँगै बोल्ने शैली र साथीहरूलाई मिलाएर अगाडि बढ्न सक्ने क्षमता असाधारण नै थियो । २०६१ सालमा म नेपाल पत्रकार महासंघ कास्कीको कोषाध्यक्ष हुँदा त्रिभुवन पत्रकार महासंघको नयाँ सदस्य बनेर आइपुगे ।

मेहेनती, सभ्य र उत्कृष्ट भाषाको लेखन शैली अनि साथीहरुसँगको निकटताका कारण त्रिभुवनलाई पत्रकारको नेता बन्न पनि समय लागेन । कास्कीमा म संस्थापक अध्यक्ष रहेको पत्रकार संगठनको उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रिय समितिमा पुगेका त्रिभुवन नेपाल पत्रकार महासंघको पनि जिल्ला, प्रदेश र केन्द्र सम्म पुग्‍न सफल भएका थिए । म पत्रकार महासंघमा दुईपटक केन्द्रिय समितिमा निर्वाचित हुनुमा पनि भाइ त्रिभुवनको मुख्य भुमिका थियो । आज त्यही प्रिय मान्छेको शरीरमा लेखिएको छ- ‘बडी नम्बर ५३’ ।

काठमाडौबाट पोखरा पुगेको त्रिभुवनको भौतिक शरीर पोखरा-११, फुलबारीको घरमा दुधे बालक र जीवन सङ्गीनी अनि आमा सङ्ग हुनुपर्ने हो तर बिडम्बना त्यो शरीर -‘बडी नम्बर-५३’ को पहिचान सहित अस्पतालको शवगृहमा लडीरहेको छ ।

केही समयपछि बिमानस्थलको धावनमार्गमा ल्यान्ड भएर प्रतीक्षामा रहेको आमाको काखमा पुग्नुपर्ने त्रिभुवन सेती नदिको खाेंचमै हरायो । सेतीको त्यही खाेंच हो जहाँ तिमी र म बसेर योजनाहरु बनाउँथ्यौं । तिमी र म बसेर योजना बनाउने मात्रै होइन कयौं निर्णयहरु कार्यान्वयन गराउने र अरुलाई समेत कन्भिन्स गर्ने ठाउँ नै त्यही हुन्थ्यो ।

अनि सेती नदीको त्यही खाेंच हो जहाँ ‘आहा-रारा गोल्डकप’ हेर्न जादा, तीन गाउँले थकालीमा भोजमा जादा र रंगशालामा हुने ठुला राजनीतिक आमसभामा जादा तिमि र मैले धेरै योजनाहरु बनायौं । ती कति कार्यान्वयन भए कति योजनामै सिमित भए । आज त्यही खाेंचमा तिमी बिलय भएर गयौ ।

आफ्ना योजनाहरु सफल वा विफल जेसुकै भएपनि नयाँ सोच र प्रगतिशील बिचार भएका तिमिले जहिले पनि पत्रकार र संचार गृहको हित बाहेक अन्य विषयमा कसैसँग सम्झौता गरेनौ, यही नै सबैभन्दा ठूलो कुरा रह्यो ।

यो दु:खद घडीमा अन्य कुरा लेख्‍ने हिम्मत मसँग छैन भाइ ! अब यत्ति मात्रै भन्छु अल बिदा प्यारो भाइ त्रिभुवन अर्थात अबको ‘बडी नम्बर-५३’ !!!

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय