विकास र समृद्धिमा दूरदर्शी बाबुराम

नेपाली राजनीतिका एक दुरदर्शी पात्र हुन् डा.बाबुराम भट्टराई । नेपालको राजनीति, अर्थ व्यवस्था र समाजलाई बुझेका डा.भट्टराईले अहिलेको होइन ५० वर्षपछिको नेपाल बुझेका छन् । तर, नेपाली समाजले चाहिँ उनलाई आजको दिनसम्म पनि बुझेको छैन, यो दु:खद पक्ष हो ।

बाबुरामलाई सतही विश्लेषण गर्ने र बहकिएर बुझ्नेले हत्याहिंसाको राजनीतिबाट उदाएको खुनी पात्र भनेर चिनाउन खोज्छन् । दोस्रो कुरा उनलाई भारतको विश्वासपात्र भनेर धब्बा लगाइन्छ र तेस्रो कुरा श्रीमती हिसिला यमीमार्फत करोडौं भ्रस्टाचार गरेका व्यक्ति भनेर बदनाम गर्न खोजिएको छ ।

तर, उनीमाथि लागेका यी तीनवटै आरोप निराधार र कपोकल्पित छन् भन्ने कुरा उनको जीवनशैली, राजनीतिक संस्कार र वर्तमान अवस्थाले बताउँछ । हत्याको राजनीतिबाट उदाएका भनेर लगाइएको बाबुराम माथिएको पहिलो आरोप नै असत्य छ । उनी २०२६ सालको एसएलसी परिक्षामा गोरखाको त्यतिबेलाको दुर्गम गाउँ खोप्लाङमा जन्मेर गोरखाकै जनता मावि बाट बोर्ड फस्ट भएददेखि नै चर्चामा थिए ।

२०५२ पछिको जनयुद्धलाई आधार बनाएर उनी हत्याहिंसा बाट उदाउनुपर्ने पात्र नै होइनन् । त्यसपछि उनको पढाइ र अन्यायका विरुद्ध उनले उठाउने आवाजबाट नै बाबुराम नेपाली राजनीतिमा उदाएका हुन् । विद्यार्थी राजनीति हुँदै २०४६ को जन आन्दोलनमा संयुक्त संघर्ष समितिको प्रबक्ता र २०४७ सालमा उनी संयुक्त जनमोर्चाको केन्द्रिय अध्यक्ष थिए । नेपाली राजनीतिमा उनको उदय २०५२ पछि शुरु भएको जनयुद्धबाट भएको भन्ने कुरा गलत हो ।

दोस्रो कुरा उनी भारतीयहरुसँग बढी हिमचिम भएका व्यक्ति वा गाली नै गर्नुपर्दा ‘भारतीय दलाल’ भन्ने कुरा उनलाई प्रयोग गर्नु भनेको साँच्चिकै ‘भारतीय दलाल’ बनेकाको अपमान हो । यदि बाबुराम भारतले नेपालका विरुद्ध प्रयोग गरेको पात्र थिए भने उनको राजनीतिक जीवन र आर्थिक हैसियत किन माथि उठ्न सकेन ? किन उनी सत्ताको केन्द्रमा भएनन् र किन उनको रोपनी र बिघामा आलिसान महल बनेन ? आजको दिनमा बाबुरामसंग कतिवटा घर, कति जग्गा, कति महँगो गाडी र कति तोला सुन छ ? कसैले देखाउन सक्छ ?
अनि कुनै देशको ‘दलाल’ नै भएर बस्ने मानिसको दैनिकी टोखामा नाति खेलाएर बित्नुपर्ने हो र ?

तेस्रो कुरा, ल मानौं बाबुरामलाई देखाएर उनको परिवारले पैसा कमायो वा लुकायो ! हामीले त्यत्रो आरोप जब लगाउन सक्छौं भने बाबुरामको परिवार र नातागोताको दैनिकी बुझ्ने र अन्य हैसियत अध्ययन पनि गर्न सक्नुपर्छ । बाबुरामको छोरी कुन महलमा बस्छिन् ? कुन बिदेशी ब्रान्डको कपडा लगाउछिन र महँगो रक्सी पिउँछिन् ? अनि बाबुरामको श्रीमती कुन आलिसान महलमा कतिजना नोकरचाकर राखेर बस्छिन् ? अनि कुन डिस्को र कुन क्लबमा भेटिन्छिन ? कम्तीमा यत्ति कुरा त आरोप लगाउनु अगाडी अध्ययन गर्नुपर्ने होला ।

अब अर्को कुरा गरौं कि यो देश बिगार्न बाबुरामको भुमिका कहाँनेर छ ? बाबुरामले कुन चाहिँ गलत निर्णय गर्दा देश बर्बाद भयो ? कुन सन्धि सम्झौता गरे ? कुन नदि वा कति जमिन बेचे ? अनि कतिपटक संसद विघटन गरे र कतिपटक सरकारको नेतृत्व गरेर मनलाग्दी गरे ? रेकर्ड हेरौं, तर्क र बहस गरौ अनि भनौं न बाबुरामका कारणले यत्ति चाहिँ देशलाई घाटा भयो र देश बिग्रियो भनेर ।

बाबुराम २०६८ साल भदौ १२ गते नेपालको प्रधानमन्त्री भए । त्यो कुनै सहज समय थिएन, संक्रमणकाल थियो । संविधानसभामार्फत संविधान जारी गर्नुपर्ने दायित्व थियो विकास र समृद्धिको कुरा त्यो बेला गर्न कठिन थियो । किनभने संविधान नै बनेको थिएन जसका कारण कतिपय ऐन कानुन पनि अनुकुल थिएन । २०६९ साल फागुन ३० पछि बाबुरामले प्रधानमन्त्री छोडे । तर, त्योभन्दा अगाडी बाबुराम ९ महिना अर्थमन्त्री पनि बने र अहिलेसम्मको सबैभन्दा सफल अर्थमन्त्री उनै हुन् ।

आफ्नो कार्यकालमा बाबुरामले पहिलाको भन्दा झन्डै ४२ अर्ब बढी राजस्व संकलन गरेर त्यसैगरी किसानको ऋण मिनाहा गर्ने उनको प्रयासले साना किसानको २५ हजार सम्मको सरकारी ऋण सबैलाई मिनाहा गरिदिए र करोडपतिलाई करको दायरामा ल्याउने, लुकेको पैसालाई बैंकमा फर्काउने, सबैलाई करको दायरामा ल्याउने काम पनि उनैले गरे ।

बाबुराम प्रधानमन्त्री भएकै बेला नेपालमा सेना समायोजन भयो । जनयुद्धमा माओवादीले गठन गरेको जनमुक्ति सेना र तात्कालिन शाही नेपाली सेनालाई समायोजन गर्न बाबुराम प्रधानमन्त्री बनेकै दिन पहल भएको थियो । आफ्नै पार्टीभित्रबाट विरोध हुँदा पनि शान्ति र संविधानको पक्षमा अडिग रहेका बाबुराम हत्याहिंसाबाट उदाएका नेता होइनन् भन्ने पुष्टि पनि यहीँबाट हुन्छ ।

अरूले के भन्छन् भन्ने कुरामा कहिल्यै चासो नराख्ने र जनताको हितमा जे हुन्छ त्यही गर्ने बाबुरामको स्वभाव भएकोले उनले प्रधानमन्त्री हुँदा नेपालमै बनेको हुलासको ‘मुस्ताङ म्याक्स’ गाडी चढे । प्रधानमन्त्रीका लागी सजिलै प्राप्त हुने अरामदायी र महँगो गाडीको सट्टा उनले नेपाली उद्योगलाई प्रोत्साहन दिन नेपालमा बनेको गाडी प्रयोग गरे ।

नेपाली जनताको हजारौं समस्या र गुनासो सिधै प्रधानमन्त्रीले सुन्ने गरि ‘हेलो सरकार’ सुरु गरे । सिधा कुरा प्रधानमन्त्रीसँग हुन थालेपछि समाजमा रहेका विकृति र शक्ति केन्द्रको आडमा मौलाएका गुन्डागर्दीको समेत जनताले उजुरी गर्न थाले । जसले गर्दा भ्रष्ट र तस्करको उक्साहटमा बाबुरामको त्यो कामको समेत विरोध गर्न खोजियो । काठमाडौंलगायत देशभरका बाटो विस्तार पनि बाबुरामले गरेका हुन् । त्यसैगरी सार्वजनिक जग्गा मिचेर बनाएका ठुला-ठुला महल र व्यक्तिका घर समेत कसैको डर, धम्की, लोभ र प्रलोभनमा नपरी उनले भत्काइदिए ।

नेपाली युवाहरुमा उद्दमशीलता मार्फत स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि बिना धितो २ लाख सम्मको ऋण उपलब्ध गराउने काम पनि बाबुरामले सुरु गरे । बाटोमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने र त्यसले दुर्घटना निम्त्याएको बिषयमा मापसे चेकजाँच कार्यक्रम सडक दुर्घटना न्यूनीकरण अभियान बाबुरामले नै सुरु गरे । बजारमा अप्रत्याशित मुल्यवृद्धि हुने तथा ग्राहकको स्वास्थ्यसँग खेलवाड गरि म्याद गुज्रिएको र सडेगलेको सामान बिक्री गर्नेलाई कारबाही सुरु पनि बाबुरामकै पालामा भएको थियो ।

राजधानी काठमाडौंका नदी किनारमा अस्वस्थकर र असुरक्षित जीवन जिउन बाध्य सुकुम्बासीहरुलाई राज्यले पहिलो पटक घरटहरा निर्माण गरि व्यवस्थित गर्न पहल बाबुरामले गरेका थिए । त्यसैगरी बागमती सफाइ अभियान बाबुरामकै पालामा त्यो पनि उनि आफैँ उपस्थित भएर अभियान सञ्चालन सुरु गरेका थिए ।

बाबुरामले नेपालको पछिसम्मको भविष्य हेरेर लगानी बोर्ड स्थापना गरे । जसका कारण देशमा ठुला विकास आयोजना र पुर्वाधार निर्माणको वातावरण बनेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय