चितवनबाट तेस्रो दिनमै एबिसी, पाँचौं दिनमा ‘ब्याक टु चितवन’ !

प्रतिक भट्ट

भनिन्छ नि, ‘The best view comes after the hardest climb’ अर्थात् जति गाह्रो उकालो चढ्यो त्यति राम्रो द‍ृश्य देखिन्छ । यसै भनाइलाई आफैंले अनुभव गर्नका लागि कक्षाका साथीहरुसँग सल्लाह भइरहेको थियो ट्रेकिङ जाने भनेर ।

योजनाअनुसार सबैजना अन्‍नपूर्ण बेसक्याम्प ट्रेकिङमा जाने भनेर कुरा भइरहेको थियो । वीरेन्द्र बहुमुखी क्याम्पसको सरकारी प्रक्रिया पूरा गरेर सबैको अनुकूलतापछि हाम्रो ट्रेकिङ कात्तिक १५ गतेका दिन जाने भनेर निर्णय भयो ।

पहिलो दिन: कात्तिक १५ गते विहान जतिसक्दो चाँडो निस्कने भन्दाभन्दै सबैजना आइपुग्दा करिब ७ नै बजिसकेको थियो । त्यसपछि हामी ३० जनाको टोली भरतपुरबाट बाहिरियो र लाग्यो मदन आश्रित राजमार्ग हुँदै मुग्लिन अनि पृथ्वी राजमार्ग हुँदै पोखरातर्फ ।

दमौलीमा खाना खाएर निस्कँदा १० बजिसकेको थियो र पोखरा छि‍टो पुगेर हामीलाई त्यस दिन जसरी पनि अपर सिनुवा पुग्नु थियो किनभने त्यहाँ होटल पहिल्यै बुकिङ भइसकेको थियो । पोखराबाट नयाँपुल हुँदै हामी झिनुडाँडातिर लाग्दा करिब ४ बज्दै थियो । झिनु पुग्दा करिब ५ बज्यो ।

अँध्यारो हुने क्रममा थियो र अब गाडीको यात्रा सकेर हामीलाई हिँड्नु थियो । झिनुको पुल तरेर हामी भारी झोलासहित लाग्यौं चोम्रोङतर्फ । चोम्रोङ पुग्दै साढे ६ बजिसकेको थियो । बाटोमा भेटिने जोकोही पनि हामीलाई कहाँ पुग्‍ने भनेर सोध्थे र जवाफ सुनेर दङ्ग पर्थे ।

हाम्रो जवाफ हुन्थ्यो- अपर सिनुवा । उनीहरु दङ्ग पर्दै भन्थे, ‘ओहो ! यस्तो अँधेरो भइसक्यो । कहिले पुग्‍ने अपर सिनुवा । यतै बसौं न त ‘ । तर हामीलाई अपर सिनुवा पुग्‍नु नै थियो । चोम्रोङ पुग्दा हामीभन्दा अगाडि ४ जना थिए । मसँग थिए २ जना, तल्लो सिनुवाको पुलमा पुग्दा एकजना थपिए र हामी भयौं चारजना ।

पछाडि धेरै साथीहरु आउँदै थिए र बिस्तारै सबै आउलान् भन्दै हामी पनि बिस्तारै लाग्यौ अपर सिनुवातर्फ । समय बढ्दै थियो उकालो पनि बढ्दै थियो । यो उकालो कहिले सकिने होला भन्दै हामी चढिरह्‍यौं । रातको करिब पौने १० बजे अपर सिनुवा पुग्‍यौं ।

थकाइ धेरै लागेको थियो । कोठाहरुको व्यवस्था भइसकेकाले खाना खाइवरी हामी आराम गर्न लाग्यौं र त्यस दिन अरु केहीतिर नभुली हामी सुत्यौं ।

दोस्रो दिन: हाम्रो गन्तव्य थियो देउराली । देउराली पुग्‍नभन्दा अगाडि हामी ब्याम्बो, दोभान र हिमालय क्रस गर्नुपर्ने थियो । दोभानमा पुगेर हामीले खाना खायौं र त्यसपछि लाग्यौं देउरालीतर्फ । भीर खोला छहरा र खोल्सा कटेर ६ बजेतिर हामी देउराली (३२०० मिटर उचाइ) पुग्यौं ।

देउरालीमा खाना खाइवरी रमाइलो गरेर राति अबेर सुत्यौं । कोही तास खेल्नमा व्यस्त थिए भने कोही यसै गफगाफमा मस्त थिए । तास खेल्दाखेल्दै रातको १२ बजिसकेछ । अब त सुत्‍नुपर्छ भन्दै हामी निद्रादेवीको शरणमा पुग्यौं ।

तेस्रो दिन: अबेर सुतेको भएपनि विहान पाँच बजे नै हाम्रो निद्रा खुल्यो । हामी आज हाम्रो मुख्य गन्त्वय पुग्दै थियौं अर्थात् हामी अन्नपूर्ण बेस क्याम्प पुग्दै थियौं । पछाडि गरुङ्गो झोला बोक्दै हामी पुनः हिँड्न सुरु गर्‍यौं ।

देउरालीबाट माछापुछ्रे बेसक्याम्प पुगेर हामीले खाना खायौं । अब हामी झोला त्यहीँ राखेर एबिसीतर्फ लाग्नेवाला थियौं । खाना खाएपछि केहीबेर आराम गरेर हामी लाग्यौं एबिसीतर्फ । उचाइ बढ्दै गएपनि कसैलाई अहिलेसम्म खासै त्यस्तो गाह्रो भएको थिएन ।

एकजना साथी भने खुट्टामा समस्या देखिएपछि माछापुच्छ्रे बेसक्याम्पमै आराम गरेर बसे । हामी बाँकीमध्ये कोही अघिअघि हिँडिरहेका थिए भने कोही पछिपछि थिए । झोला नभएकाले केही सहज भइरहेको थियो ।

करिब डेढ घण्टा हिँडेपछि हामी पुग्यौं अन्नपूर्ण बेसक्याम्प अर्थात् एबिसी । एबिसी पुग्दा वरिपरि हिमालहरु मात्र थिए । अघिल्तिर माछापुच्छ्रे ठडिएको देखिन्थ्यो भने दाँयाबाँया पनि अन्नपूर्ण तेस्रो, अन्नपूर्ण दक्षिणलगायतका हिमालहरु थिए ।

हामी पुग्दा साँझ पर्नै लागेकाले चिसो बढ्दै थियो । फोटो खिच्‍नका लागि टोपी पञ्‍जा फुकाल्दा पनि हात ठिहिर्‍याइरहेका थिए । चिसो हावा पनि बेजोडले चल्दै थियो । हामी राम्रो द‍ृश्य खोज्दै अलि माथि पुगेका थियौं ।

माथि धेरै समय नलिएर हामी अन्य साथीहरु भएको ठाउँमा पुग्यौं र जति जना त्यहाँ थियौं त्यति जनाले सामूहिक फोटो खिचायौं । त्यसपछि हामी माछापुच्छ्रे बेसक्याम्पतर्फ ओरालो लाग्यौं जहाँ हाम्रो त्यस दिनको बसाइ थियो ।

चौथो दिनमा हामी एमबिसीबाट फर्किएर सिधै अपर सिनुवा आएर बस्यौं जहाँ हामी पहिलो दिनमै आएर बसेका थियौं । पाँचौं दिनमा हाम्रा केही साथीहरुको कार्यव्यस्तताका कारण घर फर्किनुपर्ने थियो ।

पाँचौं दिन विहान अपर सिनुवाबाट चोम्रोङ हुँदै झिनु पुगेर खाना खायौं र त्यसपछि जीपमा पोखरातर्फ लाग्यौं । पोखराबाट सातजना साथीहरु त्यसै दिन राति करिब १० बजे चितवन पुग्‍नुभयो र हामी बाँकी साथीहरु भने एक रात लेकसाइडमा बसेर रमाइलो गर्‍यौं ।

यो हामी सबैको पहिलो ट्रेकिङ अनुभव थियो । यस यात्राबाट हामीले प्राकृतिक सुन्दरता मात्र नभएर साथीहरूको वास्तविक साथका बारेमा पनि राम्रोसँग अनुभव गर्यौं र सबैजना साथमा हिँड्दा गरिने रमाइलोको पनि जीवनभरका लागि सम्झना बोकेर आएका छौं ।

हामी पहिलो दिन रातको समयमा जसरी हिँडियो, त्यो हिँडाइ वास्तवमा असामान्य नै थियो । अर्को कुरा, हामी तेस्रो दिनमा नै एबिसी पुगेर पाँचौं दिनमा चितवन नै फर्किन सम्भव भयो ।

अब हामी सबैजना ट्रेकिङमा वा घुमफिरमा त फेरिफेरि पनि गइएला, तर यात्रामा साथ दिने व्यक्तिका रुपमा यिनै साथीहरु त्यसबेल नहुन पनि सक्छन्, सायद हुँदैनन् पनि ।

यस यात्रामा सहभागी साथीहरु सबैजना मिलेर जीवनभरका लागि सम्झना बोकेर ल्याएका छौं । यात्रामा साथ दिने सबैलाई ह‍ृदयदेखि नै धन्यवाद टक्र्याउन चाहन्छु ।

केही तस्वीरहरु:

(लेखक चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा बिबिए पढ्दै गरेका छात्र समेत हुन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय