को हुन् मानुषी ? जो समृद्धि र सुशासनको मुद्दा लिएर संसदमा डेब्यु गर्दै छिन्

प्रतिक भट्ट

प्रतिनिधिसभाको पाँच बर्षे कार्यकाल सकिनै लाग्दा असोज १ गते संसदको रोस्ट्रममा उभिएर पुर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एउटा गम्भीर कुरा भनेका थिए । भट्टराईले त्यो बेला भनेका थिए-‘अहिले युवा पुस्तामा जुन बिद्रोहको लहर आउँदैछ, बालेन र हर्क त एउटा झिल्को मात्रै हो, यसलाई सम्बोधन गर्न सकिएन भने हामी बढारिन सक्छौं ।’

जनताले अपेक्षा गरेका र देशको समृद्धि र सुशासनका लागि गर्नैपर्ने काम समेत गर्न नसकेको भन्दै भट्टराईले थपेका थिए ‘हामी पाँच वर्षमा पास हुन सकेनौं, यसमा त्रुटी भयो, लोकतन्त्रलाई अझ उन्नत लोकतन्त्र बनाउने र देशको साझा मार्गचित्र बनाउने कुरामा हामी चुक्यौं ।’

राजनीतिक क्रान्तिको नेतृत्व गरेर आयौं तर आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गर्न सकेनौं कि भन्ने भट्टराईलाई अझै लागेको छ । भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दा पनि ‘अबको निकास,आर्थिक समृद्धि र विकास’ भन्ने मुद्दा नै मुख्य मुद्दाको रुपमा उठाएका थिए । अहिले पनि यो मुद्दा सम्बोधन हुनै बाकी छ तर भट्टराई उम्मेदवार छैनन् ।

एकातिर आर्थिक समृद्धि र सुशासनको मुद्दा पेचीलो बन्दै जानु अर्कोतिर नेपाली राजनीतिमा युवाको माग बढ्दै जानुलाई भट्टराईले चुनौती देखेका थिए । तर, संयोग नै भनौं उनै भट्टराई पुत्री मानुषी यमी भट्टराई समृद्धि र सुशासनको मुद्दा लिएर संसदमा डेब्यु गर्दैछिन ।

नेपाली राजनीतिमा युवाको पालो कहिले आउँछ ? भन्ने प्रश्‍न र समृद्धि र सुशासन कसरी हुन्छ ? भन्ने प्रश्नको उत्तर एकैपटक नेपाली जनताले पाउनेगरी मानुषी काठमाडौ निर्वाचन क्षेत्र नम्बर-७ बाट प्रतिनिधि सभा उम्मेदवार छिन् ।

मानुषीको उम्मेदवारीलाई धेरैले आशा र भरोसाको पात्रको रुपमा हेरेका छन् । मानुषीबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्छन्- ‘मानुषी नेपाली राजनीतिमा बौद्धिक, इनर्जेटिक र क्षमता भएकी युवा नेतृ हुन ।’

प्रचण्डले भनेजस्तै मानुषी अहिलेको पुस्ताले खोजे जस्तै र पुरानो पुस्ताले भरोसा गरेजस्तै उम्मेदवार हुन् । मानुषीको एक मात्र दृष्टिकोण सुशासन र समृद्ध नेपाल बनाउनु नै हो । जसका लागि मानुषीसंग राजनीतिक बिचार,दर्शन र ज्ञान छ भन्नेकुरामा कुनै द्वीवीधा छैन । यो कुरा मानुषीको चुनावी नाराले समेत पुष्टि गर्दछ । ‘तीव्र आर्थिक विकासका लागि लगानीमैत्री वातावरण, लगानी प्रबर्द्धनमा गर्नेछु सहजीकरण’- मानुषीले चुनावी अभियानमा यहि नारा लिएर घरदैलो गर्दैछिन् ।

सुशासन र समृद्ध नेपाल निर्माणको जुन सपना पुर्व प्रधानमन्त्री समेत रहेका उनका बुबा डा.भट्टराईले देखेका छन् त्यसलाई यथार्थमा बदल्ने आँट, साहस अनि क्षमता र बौद्धिकता मानुषीमा छ । सुशासन र आर्थिक समृद्धिका कुशल राजनीतिक नेता डा. भट्टराई भएजस्तै युवाको साथ र पुरानो पुस्ताको आशीर्वाद पाएकी मानुषीले यो मुद्दा संसदमा डटेर उठाउन सक्छिन । त्यसैले देशले खोजेको युवा र समयले मागेको उम्मेदवार मानुषी नै हुन् अर्थात अब संसदमा बाबुरामको विकल्प हुन् ।

तर, मानुषीलाई बाबुराम र हिसिला यमीको छोरी मात्रै भनेर चिनियो भने त्यो पुर्ण हुँदैन । मानुषी आफैंमा अहिलेको पुस्ताले खोजेको र समयले पनि मागेको पात्र हुन् । उनलाई चिन्न र बुझ्न पनि उनको राजनीतिक जीवन, उनको क्षमता, लगनशीलता, सरलता र बौद्धिकतालाई अध्ययन गर्नु आवश्यक छ । यी सबै कुरालाई एकै शब्दमा भन्ने हो भने हामीले बाबुरामलाई विकासप्रेमी, बौद्धिक र क्षमतावान नेता भन्दै गर्दा मानुषीमा त्यो सबै कुरा पाउन सकिन्छ ।

आजको दिनमा डा.भट्टराईले लिएका एजेण्डा पूरा गर्ने हो भने मंसिर ४ को निर्वाचनबाट संसदमा मानुषीबाहेक अन्यलाई पठाउनु घातक बन्न सक्छ । २०६४ सालको संविधान सभा निर्वाचन देखि लगातार संसद भवन भित्र संधै सुशासन र आर्थिक समृद्धिको मुद्दा उठाउने अनि प्रधानमन्त्री भइसकेको व्यक्तिले मेरो सम्पत्ति छानविन गर भन्ने आँट गर्नु चानचुने कुरा होइन । अब सोही विषय मानुषीले उठाउनुपर्ने छ ।

अझै भनौं, जुन कुरा बाबुरामले पटकपटक संसदमा उठाए त्यो पूरा भएको छैन । र, यसलाई बाबुराम वा उनको बिचारलाई बुझ्ने र बोक्नेले बाहेक अरुले पूरा गर्ने आँट र हिम्मत पनि राख्दैन । बाबुरामले जे जति गर्न सके त्यो गरे वा गर्न सकेनन् त्यसको लेखाजोखा समयले गर्नेछ ।

तर, उनले उठाएको मुल मुद्दालाई पूर्णतामा पुर्याउने मुख्य जिम्मेवारी मानुषीलाई दिनु न्यायोचित हुनेछ । त्रिभुवन विश्वविद्यालयको स्ववियु सचीव भएदेखि नेपाल समाजवादी पार्टीको नेतृ हुँदा सम्म र पढाइ, राजनीतिसँगै समाजसेवाको भावना बोकेर हरेकको समस्या पहिचान र समाधानमा अग्रगामी दृष्टिकोण राख्ने मानुषीलाई संसदमा पुर्याउदा मात्रै संसदीय प्रणालीको गलत अभ्यासलाई सुधार गर्ने युवाको चाहना पूरा हुन सक्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…

    म बाहिरबाट आएर घरको भर्‍याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका...