मर्दी हिमालको काखमा पुगेपछि…
आस्था ढकालभनिन्छ नि जति कठिन यात्रा त्यति सुन्दर गन्तव्य । दुई महिनाअघिदेखिको योजना, वीरेन्द्र बहुमुखी क्याम्पसको सरकारी प्रक्रिया, साथीभाइहरूको सहमति अनि मौसमको अनुकूलतापछि २०७९ असोज २५ गते भनिएको हाम्रो ट्रेकिङ असोज २७ गतेका दिन जाने भनेर निर्णय भयो ।
सुरूमा त यो कुरा चियागफमा चिया सेलाएझै सेलाउँछ होला भन्ने लागेको थियो तर जाने भनेपछि जाने नै हो चाहे एक्लै नै किन नहोस् भनिए पनि समय नजिकिँदै गर्दा जाने समूहमा लगभग ३७ जना जोडियौं । कतिपय साथीहरू जाने मन हुँदाहुँदै पनि अस्वस्थ भएका कारणले जान पाउनुभएन । २७ गतेको प्रतीक्षा कसरी कटाइयो आफूलाई मात्रै थाहा छ । भनिन्छ नि कतै घुम्न जाने भनेपछि निद्रा पनि हराउँछ, हो त्यस्तै भएको थियो हामीलाई पनि ।
चितवन खुरखुरेबाट बिहान चार बजे छुट्ने भनिएको गाडी लगभग साढे पाँच बजेतिर त्यहाँबाट छुट्यो । गाडी ढिलो छुटेको हुनाले हामीले साथीहरूलाई कुर्नुपरेन, सबै आआफ्नो स्टेसनमा आएर बसेका थिए । गाडी खुरखुरे, टाँडी, पारस बसपार्क, चौबिसकोटी हुँदै वीरेन्द्र क्याम्पस गेटसम्म आइपुग्दा झन्डै ६ बजेको थियो । म भने गैंडाकोटस्थित घरबाट साढे पाँच बजेतिर नै निस्किएर बाबासँग क्याम्पस गेट पुगेकी थिएँ ।
त्यसपछि हाम्रो यात्रा सुरू भयो मर्दी हिमालको काखसम्म पुग्नका लागि । हामी ३५ जना चितवनबाट चढ्यौं भने एकजना साथी खैरेनीटार र अर्को साथी पोखरा पृथ्वीचोकबाट चढ्नुभयो । नास्ता खानका लागि २० मिनेट जति एक्लेफाँटमा गाडी रोकियो अनि सडक निर्माण भइरहेकाले केही समय जाममा परे पनि हामी दिउँसो एक बजे पोखराको नारेश्वर चोकमा पुगी खाना खाएर २:३० सम्ममा लुम्लेको काँडे पुग्यौं । काँडेमा लठ्ठीको व्यापार हुँदो रहेछ र हामीले प्रति लठ्ठी ५० रूपैयाँ तिरेर एक एकवटा लठ्ठी किन्यौँ अनि यात्रामा होमियौँ ।
यात्रा गन्तव्यको थियो, यात्रा मनको मोहको थियो । समयलाई केही क्षण साक्षी राखेर आँखाले देखेको एक जोर सपनाको पर्खाइमा थियो, केही कठिन त केही मिठास थियो । ३७ जनाको विद्यार्थीको समूह तर बिना कुनै शिक्षकहरू(अभिभावक), त्यसैले हाम्रो जिम्मेवारी लिएका थिए साथी इरोज, बादल र आशिषले । आआफ्नो गति र चालका रफ्तारमा पदयात्रीहरू छुट्टाछुट्टै हिँड्न थाले तर अघि निस्किएका साथीहरू जतिसुकै छिटोछिटो हिँडे पनि अघि बढेका साथीहरूले पछिका साथीहरूलाई पर्खिने बहानामा थकाइ मारिहाल्थे । पहिलो दिनको हाम्रो गन्तव्य थियो पितम देउराली ।
काँडेबाट केही समयको र दुई चारवटा डाँडापछि अस्ट्रेलियन बेसक्याम्प आयो र त्यहाँको सुन्दर दृश्यले मनै प्रफुल्ल भयो । लगभग हामीमध्ये धेरैजसोको यो पहिलो ट्रेकिङ थियो । त्यसैले हामी विश्राम गर्दै हिँडेका थियौँ । साथीहरू विश्राम गर्दा मात्र थाहा भयो कि म भने सँगै हिँडेका साथीहरूबाट धेरै नै अघि पो पुगेछु तर भनिन्छ नि अर्काको सहरमा आफ्नो मान्छे भेट्दाको खुसी नै बेग्लै हुन्छ, हो त्यस्तै भएको थियो जब मैले मेरा साथीहरू सल्भा, स्मारिका, सुजाता अनि साकारलाई भेट्दा ।
हामी पाँचजनाको टोली केहीबेरमा पुनः छुट्टियौँ तर यतिबेला भने म एक्लै थिइनँ, मसँगै थिए मेरो यो यात्राभरिका पार्टनर अर्थात् साकार । हाम्रो बानी पनि धेरै मिल्थ्यो, हामी दुवैलाई छोटो बाटो खोजी खोजी हिँड्नुपर्थ्यो र यो यात्राभरिमा उनले जत्तिको मेरो बकबक अरू कसैले पनि सुनेनन् होला ।
थोरै माथि पुगेपछि पुन: हामी पाँचजनाको मिलन भयो । साँझ पर्न लागेकाले हामी छिटो छिटो हाम्रो गन्तव्यतर्फ तानियौँ र लगभग साँझको ६ बजेतिर हामी हाम्रो त्यस दिनको गन्तव्य पितम देउरालीमा पुग्यौं । त्यहाँ पुगेपछि हामीलाई होटेल खोज्न केही गाह्रो भएन किनभने हामीभन्दा अगाडि नै ४/५ जना साथीहरू पुगिसक्नुभएको थियो । बेलुकाको खानापछि एकैछिन आगो तापेर हामी सबै आआफ्नो कोठातर्फ लाग्यौँ ।
राति राम्रोसँग निद्रा नपरेको हुनाले हामी यात्राको दोस्रो दिन बिहान चार बजे उठेर कराउँदै आँगनतर्फ झर्दै थियौँ अनि कराउँदै हिँडेकाले एकजना विदेशी पर्यटक दिदीबाट गाली पनि खाइयो । चियाको चुस्कीसँगै बिहानीको पहिलो मुस्कान छरिरहेका विभिन्न हिमश्रृङखलाहरूको सुन्दर दृश्य हेर्दै त्यहाँबाट हाइक्याम्पतर्फ भनेर निस्किएका हामी त्यसदिन भने पहिलो दिनको तुलनामा अल्लि गाह्रो अनि बढी नै हिँडेको जस्तो लाग्यो । पितम देउरालीबाट थोरै अगाडि बढेपछि भरतपुर-२०, रामपुरतिरका एकजना दाजुसँग भेट भयो । उहाँ पेसाले टुरिस्ट गाइड हुनुहुँदो रहेछ ।
हामीलाई छोटो बाटो चिनाउँदै उहाँले भन्नुभयो, ‘आज कहाँसम्म पुग्ने हो र ?’
उहाँको प्रत्युत्तरमा मैले भनेँ : “हाइक्याम्पसम्म दाजु अनि हजुर नि ?”
दाजुले अनुहार अर्कै बनाउँदै भन्नुभयो : ” तिमीहरू त्यहाँ पुग्न सक्छौ त ? अल्लि धेरै हुन्छ होला, हामी चाहिँ लोक्याम्पमै बस्छौं होला ।”
त्यसपछि हामी यो डाँडा लास्टै हो, यसपछि फरेस्ट क्याम्प आइहाल्छ नि भन्ने जस्ता झूटा आश्वासन दिँदै एकअर्कालाई हौसला प्रदान गर्दै हिँडिरहेका थियौँ । वास्तवमा यस्ता यात्रामा कतिपय त्यस्ता आश्वासन पनि प्रेरणादायी हुँदा रहेछन् जसले गर्दा यात्रीलाई अघि बढिरहने मनोबल प्राप्त हुँदो रहेछ । फरेस्ट क्याम्प पुगेर खाना खाएपछि हामी हाम्रो गन्तव्यतर्फ पुन: निस्कियौँ । त्यसपछि हामीलाई उकालो धेरै भएकाले चढ्न हल्का गाह्रो भएको थियो ।
हाइक्याम्पसम्मको यात्रा भनिए पनि त्यसदिन अपुग गन्तव्यमा नै हाम्रो यात्रा बन्द भयो । घना जङ्गलको बाटो दिउँसै अन्धकार थियो अनि एक्कासी अर्को दुःख पानी पनि बर्सियो । त्यसपछि सबैले प्लास्टिकको रेनकोट ओढेर हिँड्न थाल्यौँ । पानी परेको हुनाले बाटो पनि चिप्लो भयो र हिँड्नलाई कष्ट । आजको लक्ष्यित गन्तव्यमा पुग्न नसकेकाले हामी लोक्याम्पमा नै बस्यौँ, होटेल मुनलाइट जहाँको अंकलले हामीलाई पारिवारिक स्नेह प्रदान गरेका कारण हामी घरदेखि पर छौँ भन्ने आभास नै हुन दिनुभएन । पानीले रुझेका जुत्ता अनि भिजेका कपडालाई चूलामा बलिरहेको आगाअगाडि बसेर सुकायौँ ।
यात्राको तेस्रो दिन बिहान नास्ता खाएर हामी हाम्रो गन्तव्यतर्फ पाइला सार्दै थियौँ, पछाडिबाट आवाज आयो: “आज चाहिँ जसरी पनि हाइक्याम्प पुग्नुपर्छ ।” त्यसपछि लगभग ४० मिनेटमा हामी बादल डाँडाको होटेलमा पुग्यौँ । त्यहाँ सबैको सहमतिमा एउटा कोठा लिएर सबैले आआफ्नो भारी बिसायौँ र आफूलाई अत्यावश्यक पर्ने सामानमात्रै लिएर हाइक्याम्पतर्फ लाग्यौँ । म चाहिँ दिदीसँग तातोपानी लिएर निस्किएँ । बाटामा भेटिने दादादिदीलाई “यहाँबाट कति पर छ हाइक्याम्प ?” भनेर सोध्दा, उहाँहरूले यसरी प्रत्युत्तर दिनुहुन्थो : “२/३ घन्टा ।”
अनि मैले त्यो उत्तर खस्नासाथ सोधेँ : “हामीजसरी बिस्तारै हिँड्नेलाई नि ?”
अनि एकजना दिदीले हाँस्दै भन्नुभयो : “त्यसोभए त ४/५ घन्टा लिएर हिँड्नुहोस् न ।”
पहाडको उचाइ बढेसँगै मौसमको चिसोपन र खर्च पनि महँगो हुँदै गइरहेको थियो र अक्सिजन भने कम । लेक नलागे पनि थकाइ चाहिँ चाँडै लागिहाल्थो । त्यसदिनको यात्राका क्रममा चाहिँ विनितालाई केही गाह्रो भएको थियो । दिउँसो करिब २/३ बजेतिर हामी सबै हाइक्याम्पमा पुग्यौँ र त्यहाँबाट देखिने सुन्दर दृश्य हेर्दै फ्रेस भई एकछिन सबै मिलेर तास पनि खेल्यौँ । ४ बजे नै बेलुकाको भोजन गरेपछि एकछिन सबै मिलेर हल कोठामा रमाइलो गरेर सबै आआफ्नो कोठातर्फ बाँडिए । बिहान भ्यु प्वाइन्ट हेर्नका लागि चाँडै उठ्नुपर्ने भए पनि हामीलाई रातभर निद्रा परेन र एउटै साँघुरो कोठामा नौ जना बस्नुपर्दा धेरैजसोलाई सास फेर्न गाह्रो भएछ ।
यात्राको चौथो दिन बिहान ३:३० बजेतिर निस्कियौँ । हाइक्याम्पसम्म ३७ जना पुग्दा धेरैलाई असहज भएको थियो । असहजकै कारण माथि जान नखोज्ने तीनजना हाइक्याम्पमा बसे भने हामी ३४ जना चाहिँ भ्यु प्वाइन्टतर्फ लाग्यौँ सूर्योदयको सुन्दर दृश्य हेर्न । विहान हुनै लागेको जुनेली रातमा हामी निकै ठाडो उकालोमा स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै अघि बढिरह्यौँ । पानी नबोकेका कारणले बाटामा भेटिने दाइहरूसँग पानी मागेर खायौँ तर अल्लि माथि पुगेपछि एउटा छाप्रो देख्यौँ । त्यहाँ दुईजना अंकल आगो बालेर पानी तताउँदै हुनुहुदो रहेछ । एक बोतल पानी किनेर हामी त्यहाँबाट भ्यु प्वाइन्टका लागि अघि बढ्यौँ । प्रज्ञालाई गाह्रो भए पनि साकारको सहयोगले उनी अघि बढ्दै थिइन् । साथी भनेको नै सुखदुःखका सारथि हुन् भन्ने कुरालाई साकारले यस यात्रामा एकअर्कालाई सहायता गरेर साकार पारे ।
जसोतसो गरेर ३४ जनाको हाम्रो समूह भ्यु प्वाइन्ट पुग्न सफल भयो । एकछिन त्यहीँ बसेर त्यहाँको अविस्मरणीय दृश्यलाई अँगालेपछि चिया पसले दाइको आग्रहमा हामी बेसक्याम्प नजाने निर्णय गऱ्यौँ । बेसक्याम्पसम्म नपुगे पनि थोरै माथिसम्म जाऔँ न भनेर हामी सातजना लाग्यौँ तर ३४ जनाको टोलीमा पाँचजना मात्र बेसक्याम्प पुग्न सफल भए जसमध्ये चारजना केटा र एकजना केटी साथी थिइन् । उनीहरूको साहसलाई मान्नै पर्छ । मौसमको प्रतिकूलताका कारण पनि उनीहरू आफ्नो गन्तव्यसम्म पुग्न सफल भए ।
हामी सातजना प्रज्ञा, रेस्मी, प्रेरणा, इरोज, सुवास, साकार अनि म चाहिँ बेसक्याम्पसम्म पुग्न नसके पनि केही गुनासो नहोस् भनेर भ्यु प्वाइन्टभन्दा केही माथिसम्म पुग्यौँ । त्यहाँ पुगेर आफ्नो जातीय झझल्को दिने झन्डा गाड्ने सपना पनि साकारले पूरा गरे । एकछिन त्यहीँ नाचगान गरेर त्यहाँको दृश्य हेर्दा, बिहानीको पहिलो घामको किरणले हिमाललाई चुम्बन गरेको दृश्यलाई नियाल्दा निरन्तर तीन दिनको हिँडाइको थकाइ कहाँ विलीन भयो थाहा नै भएन । केहीछिन त्यतै तस्बिर लियौँ ।
माछापुच्छ्रे, मर्दी हिमाल, हिमचुली र अन्नपूर्ण साउथको सुन्दर अवलोकन गरियो । हिमालहरू बादलसँग लुकामारी खेलिरहेका थिए र हामी भने आफैसँग । त्यसपछि हामी बिस्तारै हाइक्याम्पतर्फ लाग्यौँ तर फर्किँदै गर्दा बाटामा रेश्मीको खुट्टा फर्किएछ संयोगले हामीसँग भेट भयो र फर्किँदै गर्नुभएको एकजना दाजुसँग मुभ मागेर लगाइदियौँ र एकछिन विश्राम गरेपछि उसलाई सहारा दिँदै हामी फर्कियौँ । हाइक्याम्प आएर नास्ता लिएपछि हामी बादल डाँडातर्फ लाग्यौँ । हाम्रो त्यसदिनको गन्तव्य नै बादल डाँडा थियो ।
एकरात बादल डाँडा बसेर भोलिपल्ट त्यहाँको विहानी दृश्यलाई नियाल्दै लोक्याम्प, सिदिङको बाटो हुँदै हामी पोखरा फर्कियौँ । पोखरामा ताल वाराही, लेक साइड घुमेर पोखरामा रात बिसाई यात्रा प्रारम्भ गरेको छ दिनका दिन हामी आआफ्ना घर फर्कियौँ । यस यात्रामा प्राकृतिक सुन्दरतालाई मात्र होइन साथीहरूको वास्तविक साथ कसरी पाइँदो रहेछ भन्ने अनुभव र अहिलेसम्म नगरेका धेरै कुराहरूको पनि अनुभव गरियो ।
यसरी जीवनभरका लागि सम्झना बटुलेर मर्दी हिमाल ट्रेकिङ सम्पन्न गरियो । यस यात्राले हामीलाई सधैँ यसरी नै यात्रामा निस्किरहौं र किताबका पानामात्र होइन प्राकृतिक ज्ञानभण्डारलाई पनि पढिरहौं भन्ने चेतना जगाइदियो ।
(लेखक चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा बिबिए पाँचौं सेमेस्टरमा अध्ययनरत छात्रा हुन् )