दशैंको बिदा अनि घरको यात्रा

सुबिन के.सी

दशैं नेपालीजनको महान चाड हो । दशैंको आगमनसँगै घर भन्दा पर विभिन्न कारणले बसेकाहरु घर फर्कने क्रम सुरु हुन्छ । विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किने गर्छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतारो हुन्छ । यो लेख मेरो दशैं बिदा अनि घर फर्किने दिनको सानो टिपोट मात्र हो । सुरु गरौं है त !

मेरो राजधानीमा बसाई कीर्तिपुरमा छ, केन्द्रीय अर्थशास्त्र विभागमा स्नातकोत्तर गर्दै गरेकाले पनि पायक पर्ने ठाउँ यही नै थियो । कीर्तिपुरका गल्ली साँघुरा छ्न् तर पनि कति हो कति विद्यार्थीको चाप थेगेकै छ । सरकारी जागिरको सपना, उच्च शिक्षाको सपना, सफल राजनीतिक भविष्यको सपना जस्ता विभिन्न पुरा हुँदै गरेका र पूरा हुने क्रममा रहेका सपनाहरू पनि यहाँ कति हो कति भेटिन्छन् ।

विद्यार्थी जीवनमा एक पटक यो ठाउँमा बसेकाले मेरो यो कुरा बुझिहाल्नु हुन्छ । मलाई पहिलो पटकमै मन परेको ठाउँ त हैन यो, तर समयसँगै यो ठाँउ चिन्‍नँ थालें अनि यो ठाउँ आत्मसात् हुँदै गयो । चितवनजस्तो फराकिलो र पानी उपयोग गर्न सोच्‍नु नपर्ने ठाउँबाट आएको म, साँघुरो अनि पानी अड्कलेर चलाउनपर्ने ठाउँमा, निसासिएको महसुस गर्थें अनि म यो ठाउँमा त बस्नै सक्दिनँ जस्तो हुन्थ्यो । अझै कीर्तिपुरको ठिहिराउने चिसो हावा र पानी, सम्झिँदा अझै मुटु नै कमाउने ।

-सुबिन के.सी

समयसँगै कीर्तिपुरले मलाई अपनाएको हो कि मैले कीर्तिपुरलाई आत्मसात् गरे, म यो ठाउँमा भिज्‍न थालें । अब यो ठाउँ त आफ्नै जस्तो लाग्ने ,नपुगेको कुनै गल्ली नहोला- सानो अनि पैदल सबै ठाउँ पुग्‍न सकिने । यो ठाउँमा बसेको पनि १ वर्ष पुगेको थियो, दोस्रो सेमेस्टरको पढाइ पनि सकिएको थियो । असोज महिना लागेसँगै दशैंको रौनक मौसममा पनि देखिन सुरु हुन्छ, हुस्सुले बिहानीलाई मोहक तुल्याउँछ ।

कीर्तिपुरमा जति भिडभाड अरु समयमा हुन्थ्यो, दशैं नजिकिँदै जादा कम हुँदै गएको भान हुन्थ्यो । विश्वविद्यालयमा कोर्स पनि सकिदै गर्दा कीर्तिपुरको चाप पनि घट्दै गयो । हामी साथीहरू जम्मा हुने ट्याङ्लाफाटमा बिग मार्ट नजिकै एउटा क्याफे छ, त्यहाँ अरुबेला बस्ने ठाउँ पाउन मुस्किल हुन्थ्यो । तर असोज लागेसँगै हामीले रोजेको ठाउँ पाउन थाल्यौं, अनि क्यफेकी दिदिलाई ‘किन हो दिदी अहिले यस्तो खाली?’ भनेर सोध्दा ‘दशै लाग्न थाल्यो धेरै घर गईसके, अब अझै अलि पछि त एउटा माखो पनि हुँदैन’ भनेर भन्नुभएको थियो ।

सधैं भिडभाड देखेको कीर्तिपुरलाई यस्तो खाली पनि देख्छु जस्तो लागेको थिएन । केन्द्रिय पुस्तकालयमा बस्ने ठाउँ नपाएर धेरै फर्केको अनुभव छ मसँग, त्यसैले कहिलेकाहीँ पुस्तकालयमा बस्न बिहान ९:०० बजे नै हतार गरेर पुगेको हुन्थे । तर असोज लागेपछि त १ बजे किताब फिर्ता गर्न जादा पनि पढ्ने ठाउँमा खाली ठाउँ धेरै देख्दा अचम्म लाग्यो । यो सबै भएपछि बल्ल मलाई दशैं साँच्चै नजिक आयो भन्ने लाग्न थाल्यो र म पनि घर जाने दिन आउन लाग्यो भनेर सोच्‍न थालें ।

पहिले पहिले समाचारमा सुनेको थिए दशैंजस्तो चाडबाडको समयमा काठमाडौंबाट निस्किने मान्छेको चाप धेरै भएर अग्रिम टिकटको व्यवस्था हुने गरेको । धेरै टाढा जिल्लाका साथीहरूको टिकट लिने भनेर बसपार्क गएका थियौं । टाढाको ठाउँ जान टिकट पाउन लाइनमा बस्न पर्ने नै रहेछ, तर मेरो त चितवन, काठमाडौबाट ४-५ घण्टामा पुगिने, झोला लिएर कलंकी पुगे गाडी मिल्ने खबर पाएँ ।

साथीहरु पनि आफ्नो घरतिर लागिसकेका र घटस्थापनापछि सबै स्कुल, कलेज अनि अफिस बिदा हुने र चाप बढ्न सक्ने आशंकाले म पनि घटस्थापना अघिनै घर निस्किने सोच बनाएँ अनि घर लैजान झोला तयार गर्नतिर लागें । केही दिनदेखि धुन अल्छी गरेका कपडाहरु त्यो झोलामा पर्न सफल भए । अनि खाली भएका डब्बा नलगी घर गए त फेरि नफर्किने दिनसम्मका लागि गाली खाने बहाना हुन्छ त्यसैले त्यो डब्बाहरु पनि झोलामा पर्न सफल भए ।

घरको काम अनि घरको ममतापुर्ण माहोलमा पढाई त के हुन्थ्यो र ! तर पनि विद्यार्थी भएकाले १,२ थान किताब झोलामा पर्न सफल भयो । झोला तयार गरेर गाडी चढ्ने ठाउँसम्म जाने बेला घर जाने उत्साह बेग्लै । सामान्य समयमा गाडीमा बसेको आधी घण्टा हुँदा पनि मान्छे नभरिएकाले गाडी हिँड्न गाह्रो हुन्थ्यो तर आज त्यस्तो थिएन । म झोला लिएर उभिँदै गर्दा खाली आएको गाडी, म पसेर बसेको केही मिनेटमै भरिएको थियो ।

अरु बेला त चितवन जान कि सौराहा पुग्ने टुरिष्ट बस, माइक्रोबस नत्र हेटौंडा, भैरहवा जाने बसमा जाने गरिन्थ्यो तर यो पटक म काठमाडौंमा हिँड्ने लोकल बसमा सवार थिएँ चितवन जान । तपाईंहरु चाडबाडको बेला सवारी गरिरहनु भएको भए नौलो त नहोला तर मलाई भने यो नौलो लाग्यो । खासमा के रहेछ भन्दा, केही समुह मिलेर लोकल गाडी भाडामा लिएर बाहिरी जिल्लाको रुटमा पठाउने गर्ने रहेछन् ।

बाहिरी जिल्ला जानेलाई सुविधा, गाडी चालकलाई काठमाडौंमा मान्छेको चाप घटेकोमा चिन्ता पनि नहुने अनि, यो गाडीवाला र सवारलाई मध्यस्थता गरिदिने समुहलाई पनि कमाई । आखिर चाड त सबैलाई हो, अर्थतन्त्र चलायमान ! गाडी गन्तव्यतिर बढ्न थाल्यो, उपत्यका छोड्ने गाडीको ताँती, भित्रिने गाडीभन्दा उल्लेख्य रूपमा धेरै थियो । अरुबेला त घर जाने भनेपछि मोबाइलमा हेर्ने कुरा राखिन्थ्यो तर यो पटक उत्साहले पो हो कि केही भएन । अब झ्यालबाट बाहिर हेर्नुबाहेक अरु उपाय थिएन । धन्‍न झ्यालको सिट मिलेको थियो । लामो यात्रामा गाडीमा बसेसँगै निदाउन सक्ने धेरै देखेको छु मैले तर म गाडीमा हिँड्ने बेला निदाउन सक्दै सक्दिनँ वरिपरी हेर्ने विकल्पभन्दा अरु हुँदैन ।

त्रिभुवन राजपथमा गाडी गुड्दै थियो । त्रिभुवन राजपथ नेपालको पहिलो राजमार्ग हो । यसलाई ‘बाई-रोड’ पनि भनिन्छ र भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको हो जसले काठमाडौलाई भारतसँग जोड्छ । काठमाडौंबाट नौबिसेसम्म मात्र त्रिभुवन राजपथको सवार थियो मेरो, नौबिसेबाट गाडी पृथ्वी राजमार्गतिर लाग्छ । पृथ्वी राजमार्ग नौबिसेदेखि मलेखु र मुग्लिन हुँदै पोखरा पुग्छ भने त्रिभुवन राजपथ काठमाडौं-नौबिसे-दामन-हेटौंडा-पथल्लैया हुँदै रक्सौल पुग्छ । काठमाडौ देखि चितवनको यात्रामा केवल एउटा जिल्ला बीचमा पर्छ- धादिङ ।

काठमाडौं नागढुङ्गाको नागबेली ओरालोसँगै सकिन्छ अनि धादिङ जिल्ला लाग्छ र मेवाखोला सम्म धादिङ नै पर्छ अनि सुरु हुन्छ चितवन जिल्ला । त्रिभुवन राजपथको नौबिसेसम्म को करिब १ घण्टाको यात्रा अनि पृथ्वी राजमार्गको २-३ घण्टाको मुग्लिङ बजार सम्मको यात्रा, त्यसपछि मुग्लिङ-नारायणगढ सडकखण्डको करिब १ घण्टाको यात्रा पछि चितवनको नारायणगढ बजार पुगिन्छ ।

दशैंको समय राजमार्गहरुले स्वभाविक भन्दा धेरै चाप खेपिरहेको हुन्छ। उपत्यकालाई आवश्यक पर्ने माल-सामान सहित भारतबाट आउने मालबाहक गाडीहरू उकालो उक्लिदै हुन्छन् भने दशैं मनाउन हिँडेका यात्रुले भरिएको गाडी ओरालो झर्दै हुन्छन् । नौबिसे-नागढुङ्गा सुरुङमार्ग बन्दै गरेको ठाउँमा बाटो बिग्रेको छ । आज बाटो नराम्रो भएपनि भोलिको सजिलो सोचेर यति चाहिँ सहन सकिने । काम त तीव्र गतिमा बढेको देखिन्छ समयमै पुरा भए सबैलाई सजिलो ।

नागढुङ्गाको ओरालो सकिएपछि राजमार्गको वरिपरि होटलहरु देखिन्छन् अनि खानिखोला बजार आउँछ । यो ठाउँमा इट्टाभट्टाहरु देख्‍न सकिन्छ अनि क्रसर उद्योग पनि धेरै छ ।राजमार्गको नजिक भएपनि होटल व्यवसाय भन्दा खानीमा आधारित व्यवसाय नै देख्‍न सकिन्छ । आजभन्दा करिब ७-८ वर्ष पहिले यो ठाउँमा धेरै क्रसर उद्योग देखेको सम्झना छ मलाई तर अहिले पहिले भन्दा कम भएको देखियो ।

पुराना घरहरु अहिले सिमेन्टका घर भइसके; सिमेन्टको घर बन्‍न नसकेकोमा पनि टिनको छानो चाहिँ थियो । सायद यसको श्रेय ‘रेमिटेन्स’ लाई दिनु पर्छ । देशको मुहार, अझै भनौं ग्रामीण मुहार फेर्नुमा रेमिटेन्सको ठुलो योगदान छ। राजमार्गले कुनै ठाउँमा कसरी विकासमा टेवा गर्छ भनेर, नौबिसे बजार हेर्दा हुन्छ । होटल फलफूल पसल अनि साना खुद्रा पसलहरुले चहलपहल छुट्टै बढाएको पाइन्छ ।

यस्तै अर्को बजार हो गल्छी- जहाँ नुवाकोट जाने बाटो पृथ्वी राजमार्गसँग मिल्छ र त्यो बजार विस्तारमा राजमार्गको ठुलो भुमिका छ । गल्छी कटेपछि पृथ्वी राजमार्ग त्रिशुली किनार किनार हुँदै जान्छ । त्रिशुलीपारि फाट्टफुट्ट गाउँहरु छ्न् । गाउँमा पुग्‍न बीचमा पहिले तुइन मात्र देखिन्थे । तुइनमा एउटा डोरीको भर अनि आफ्नै हातको बलको सहाराले वारिपारि गर्नुपर्ने हुन्थ्यो । स्कुलका लागि अथवा कुनैपनि काम परेर आउन जन परे निकै सकस थियो ।

अहिले राजमार्ग छेउ कतै तुइन देखिदैन सबैलाई झोलुङ्गे पुलले विस्थापन गरेको थियो । पारिका गाउँहरुमा स्थानीय सरकारको राम्रो झल्को देखिन्थ्यो । बाटो बन्‍ने क्रममा थियो । डोजरले खनेर खोलेको बाटो धेरै देखियो । हरियो पहाडमा फुस्रो धर्सो धर्सो देखिन्थ्यो, पहाडको सौन्दर्य घाटाएको थियो । एक मनले सोच्दा किन यसरी पहाड कुरुप बनाएका होलान् जस्तो भयो । तर फेरि त्यहाँ बसोबास गर्नेको जनजीवननै सुधार गरेको पनि हुन सक्छ ।

गाउँको उत्पादन राजमार्ग सम्म छिटो अनि सजिलो हुने भयो, स्कुल पुग्न लाग्ने समय कम हुने भयो । भौगर्भिक रुपमा पक्की त नहोला; ईन्जिनियरले डिजाइन गरेको जस्तो नहोला तर गाउँका लागी सानो भए पनि आशा त हुन सक्छ। ‘सस्टेनेबल डेभेलपमेन्ट’ को रट त सधैं लगाइयो तर साँच्चै सस्टेनेबल कस्तो बनाउन पर्ने रहेछ भनेर मनमा कल्पना हुँदै थियो । मैले कतै पढेको थिए, कुनै ग्रामिण ठाउँमा घर/गाउँ नजिक पानीको धारो बन्दा त्यस गाउँका छात्राहरुको स्कुल उपस्थिति बढेको थियो रे, त्यस्तै सानो तर प्रभावकारी योजना आहिले स्थानीय तहले गर्दै गरेको सुन्दा साँच्चै राम्रो लाग्‍ने र स्थानीय तहले गर्नु पर्ने पनि त्यही त हो ।

मैले यात्रामा याद गरेको अर्को कुरा ‘ द हिमालयन जाभा ‘ । हिमालयन जाभा जस्तो कफि क्याफेले राजमार्गमा पनि सेवा दिनु आफैले, राजमार्गमा हुने व्यापार सम्भावना कति छ दर्साउँछ ।

पहिरोले जति रोक्न खोजे पनि केही छिनमै सुचारु हुने नारायणगढ-मुग्लिन सडक खण्ड पनि पहिलेको भन्दा धेरै सुधार भएको हो । आजका दिनसम्म पनि पहिरो रोकथाम गर्न नसक्नु कमजोरी नै हो तर विकास नभएको भने होइन । मन्द गतिमा विकास अघि बढेकै छ । राजमार्ग पारि बदलिँदो जनजीवन, राजमार्गमा स्तरन्नोति हुँदै गरेको परिवेश देख्दा देशमा केही हुँदैन भन्ने जुन धारणा छ त्योसँग बाझिने ।

यो ४-५ घण्टाको यात्रामा वरिपरि हेर्दा अनि द‍ृश्यलाई मनन् गर्दा धेरै कुरा आउने । विकासे बहसभन्दा धेरै ज्ञान त अवलोकन अनि मनन् गरेर हुने रहेछ। सोच्दा सोच्दै आँपटारी पनि आइपुगियो । आँपटारी पुगेपछि फेरि पनि दशैंको रौनक देख्‍न सुरु भयो । पोखरा बसपार्क अगाडि खसी, बाख्रा अनि च्याङ्ग्रा बेच्‍न राखिएको थियो । बसपार्कदेखि पुल्चोक सम्मको सबै पसलहरुमा ग्राहकहरु टनाटन थिए ।

बाटोमा हिँड्नेहरुको हातमा खरिद गरेका सामानहरु थिए । बजारलाई हेर्दा दशैं सुरु भइसकेको थियो । तर पहिले जस्तो उत्साह नै थिएन । न गाउँमा लिङ्गेपिङ थियो न त पिङ हल्ने जोश जाँगरका युवा साथीहरु, सबै आफ्नो अनि परिवरका निम्ति विदेश गइसके । मेरो लागि दशैं त घर आउनु, घरमा समय बिताउनु अनि आशीर्वाद लिएर खाली ल्याएको बट्टा भरेर फेरि जानु नै हुनेछ ।

दशैंको सबैमा शुभकामना, नवदुर्गाले सबैको कल्याण गरुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय