दर खाने दिन: सम्झनामा त्यो तीज र यो तीज

मिरा बस्ताकोटी

आज तिजको दर खाने दिन । ‘दर’ खाने भन्‍नेबित्तिकै मनमा त्यही पुराना दिन र साथीहरू यादमा आइदिन्छन् । अनि आमा, भाउजू, बुहारी, दिदीबहिनी, भतिजी सबैसँग भेट हुने र मनभरीका सुख/दु:खका कुरा साटासाट गर्ने मौका पनि हो तीज ।

विशेषगरी नेपाली हिन्दु नारीको रमाइलो पर्व हो तीज । यो हाम्रो पुरानो संस्कृति भएको र नारीको लागि मुख्य मानिएकोले तीज आएपछि नारीहरु छुट्टै आनन्द मान्दछन् । यस पर्वको आकर्षण र उमङ्गले रमाउने भएकोले तीजलाई नारीको पर्व पनि भनिन्छ । मेरो मानसपटलमा पनि त्यही पुरानो दिनको याद अहिलेसम्म ताजा नै छ ।

म सानो हुँदा दिदीको बिहे भएको । मेरी आमाले भन्नुहुन्थ्यो ‘मिठा-मिठा तरकारी र केरा, काँक्रो, नासपातीलगायत फलफुल तीजलाई राख्नुपर्छ । तीजमा दिदी पनि आउँछे र गाउँका अरु दिदिबहिनी पनि आउँछन् अनि रमाइलो हुन्छ’ । आमाको त्यो खुसी मिश्रित भनाइले मलाई पनि मनमा आनन्द लाग्थ्यो । अनि तीज आएपछि गाउँमा पाइने निगुरो, निगालोको टुसा, बाँसको तामा, बास्ना आउने घिरौंला लगाएत खानेकुरा र बिहे भएर गएका दिदीबहिनी माइती फर्केपछिको रमाइलो पनि बेग्लै हुन्थ्यो ।

तिज आएपछी दिदिबहिनी जम्मा पारेर रमाइलो गर्ने, विभिन्‍न थरीका केरा, काँक्रो लगायत फलफुल जम्मा पार्ने र घरको आँगनीमा नाचगान गर्ने कुराले हामीलाई फुरुङ्ग बनाउथ्यो । यो देखेपछि मनमा एक किसिमको उमंग र शरीरमा स्फुर्ति पनि बढेको हुन्थ्यो । वर्षा भरी काम गरेर थकित शरीर जब तीजको रमाइलो सुरु हुन्थ्यो अनि छुट्टै आनन्द र फुरुङ्ग लाग्थ्यो ।

मेरो दिदीको घर र साथी जुनि देवकोटाको घर एकै ठाउँमा भएकोले म जब शुक्रबार आउथ्यो त्यता पुगिहाल्थें । आमालाई फकाएर मैले दिदीकोमा जाने अवसर पाउँथे त्यही अवसरमा साथीसँग पनि भेट हुन्थ्यो । त्यहीँ हामीले नाचगानसँगै काँक्रो, नासपाती काटेर खान्थ्यौं । नासपाती खादा अझै अरिङ्गालले आधा- आधी खाइसकेको नासपाती मीठो हुन्छ भनेर हामी कुरा पनि गर्थ्यौ ।

तीजको दर खाने दिनको रौनक घरमा अर्कै हुन्थ्यो । राती आमाले घिउ राखेर चाम्रे, खिर, अनेकथरी तरकारी र अचार ओहो ! त्यो सबै सम्झिदा अहिले पनि मन फुरुङ्ग हुन्छ । राति उठेर तीजको दर खाने बेला गाउँभरिका दिदिबहिनीले हल्ला गर्ने, गीत गाउने र नाच्‍ने कुराले गाउँको माहोल नै अर्कै हुन्थ्यो । गीतमा पीडा, हर्ष र अनेक सत्य घटनाका कहानी पनि भाका हालेर गाउने गर्दथ्यौं ।

दु:खको कुरा त्यो माहोल अहिले सहर र गाउँ दुवैमा छैन । गीतमा आफ्ना घरका दु:ख र नारीका वेदनासँगै बाढीपहिरो वा कुनै ठुला घटनालाई कहानी मानेर दिदिबहिनी मिलेर गाइन्थ्यो । बुहारीलाई हेला गर्ने सासु, ससुरा, नन्द आमाजुका कुरा मात्रै होइन जनचेतनाका कुरा पनि भाखा हालेर गाइन्थ्यो । आफैंले भोगेको त्यो तीज र अहिलेको तीजमा कुनै तुलना नै गर्न सकिन्‍न ।

अहिलेको तीजको रमाइलो भनेकै ठुला होटल र पार्टी प्यालेस गएर चर्को म्युजिकमा हिन्दी गितमा डान्स गर्ने र अनेकथरी रक्सी र वाइन खाने गरिन्छ । यो न हाम्रो संस्कृतिसँग मिल्छ न कुनै पर्वको रौनकता आउँछ । श्रीमान् र छोराछोरी घरमा छोडेर आफू मात्रै पार्टी प्यालेस जाने र मासु अनि वाइन खाएर हिन्दी गितमा नाच्नुलाइ हाम्रो संस्कृति कसरी मान्‍ने ?

एकपटक म एउटा पसलमा सामान किन्‍न दिउँसो ३ बजेतिर पुगे । पसलको भाइलाई सामान मागें, त्यो भाइ पसलमा भिडभाड भएकोले व्यस्त थियो र म पनि हतारमा थिए । मैले भाइलाई छिटो गर्न आग्रह गरे तर भाइ अलि रिसाए जस्तो गरेर ‘मेरो हात जम्मा दुइवटा छ कता-कता दिऊँ ?’ भनेर झोंक्किए । मैले भाइलाई बहिनी आज देखिन नि भनेर सोधें । तर भाइले चर्को स्वरमा फेरि बोले- ‘तिज लागेका श्रीमती कहाँ घरपसल हेरेर बस्छन् त दिदी, दैनिक पार्टी चलेको छ उनीहरुको’ ।

ती भाइ त्यतिमै रोकिएनन् । उनले श्रीमती पार्टीमा खाएर आउने र आफू पसलमा व्यस्त हुने कारणले भोकै सुत्‍नुपरेको पीडा समेत सुनाए । त्यो बेला मेरो मनमा कुरा खेल्न थाल्यो । के साँच्चै चाडपर्व भनेको एउटा पार्टीमा खाएर मस्त हुने अर्को पसलमा व्यस्त हुने पर्व हो त ? के परिवार सँगै बसेर खानुको सट्टा आफ्नो मात्रै खुसी हेरेर रमाउनु पर्वको नाममा विकृती हो कि होइन होला ? मलाइ यो प्रश्नको जवाफ आफैले दिन गाह्रो भयो ।

पर्व भनेको त घरमा सबै परिवार भेला भएर मीठो नमिठो बनाउने, खाने अनि रमाउने पो हुनुपर्ने होइन र ? होटलमा गएर गरिने फजुल खर्च कटौती र पारिवारिक सुख अनि शान्ति ल्याउने हो भने आजैदेखि हामिले आफ्नो रीतिरिवाज र क्षमता अनुसार पर्व मनाउनुपर्छ । जय नारी, जय तिज !!

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय