राजनीतिमा वृद्धलाई विश्राम कहिले ?
रुद्रप्रसाद भट्टप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विपक्षी गुटका नेताहरुलाई आफुलाई घेराबन्दी गर्न खोजिए फेरि पनि विधान संशोधन गरेर सभापति हुन्छु भन्दै धम्की दिएका छन् ।
दुई पटक पार्टी सभापति र ५ पटक प्रधानमन्त्री भइसकेका देउवालाई वृद्ध भत्ता लिन समेत उमेर पुगिसकेको छ । तर, उनलाई अझै म युवा नेता नै हुँ भन्ने भ्रम छ । बेला बेला उमेरहदको कुरा आउँदा उनि बेस्सरी नै रिसाउँछन् । उनलाई ज्योतिषले पनि ७ पटक प्रधानमन्त्री बन्ने योग देखाइदिएका छन् । ज्योतिष विज्ञानलाई नै मानेर हिँड्ने देउवा अझै काँग्रेसभित्र पार्टी र सरकार हाँक्ने ताकतवाला आफु बाहेक अरु देख्दैनन् ।
नेपाली काँग्रेसमा जस्तै नेपाली राजनीतिमा सबैजसो पार्टीमा वृद्ध नेताको नेतृत्व छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ६९ बर्ष भए । दुई पटक मृगौला प्रत्यारोपण गरेर पनि उनी अझै तगडा छन् । उनले पनि पार्टी अध्यक्षसँगै अवसर पाए फेरि प्रधानमन्त्री बन्ने भन्दै आएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त ३५ वर्षदेखि एकलौटी पार्टी अध्यक्ष बन्दै आएका छन् । ६८ बर्षका प्रचण्ड पनि अझै प्रधानमन्त्री बन्ने दौडमा छँदै छन् ।
नेपाली राजनीतिमा विडम्बना नै भन्नुपर्छ पार्टीभित्रै पनि एक वृद्ध नेतालाई अर्को वृद्ध नेताले युवा जोस निकालेर भन्दैछ कि, तपाईंले सक्नुभएन अब म सक्छु । यो समस्या सबै पार्टीमा छ । कम्तिमा ६० वर्ष पुगेको नेताले अर्को आफूजस्तै वृद्ध नेतालाई नै पालो दिन खोजिरहेको देखिन्छ । रोग सबै पार्टीमा उस्तै छ अनि रोगको उपचार त्यही म्याद गुज्रिएको औषधिबाट खोजिँदै छ ।
अहिले राजनीतिक दलमा हेर्ने हो भने सबै दलमा ६० वर्ष उमेर कटेका त्यागी, अनुभवी र निखारिएका नेताले नेतृत्व गरिरहेका छन् । नेकपा मसाल नामको पार्टीमा त ८८ वर्ष भइसकेका मोहनविक्रम सिंहले झण्डै ५० वर्षदेखि नेतृत्व गरिरहेका छन् । अरु पार्टीमा हेर्यौं भने पनि राणा शासनदेखि पञ्चायत, झापा विद्रोह, २०४६ सालकोे जनआन्दोलन, बहुदलीय व्यवस्था, सशस्त्र जनयुद्ध, ०६२/०६३ को आन्दोलन, मधेस आन्दोलनमा योगदान गरेका नेताहरुले देश र पार्टी हाँकिरहेका छन् । तर, एउटा प्रश्न कहिले पनि उठ्दैन कि कर्मचारीमा ३० वर्षे सेवा अवधि वा ५८ वर्षे उमेर हद कायम गरेजस्तै राजनीतिमा नेताको उमेर हद किन हुँदैन ?
मानिसको उमेर बढ्दै गएपछि स्वभाविक हो धेरै शारीरिक र मानसिक तनाव लिनु हुँदैन । परिवारका अन्य सदस्यले पनि उमेर पुगेका अभिभावकलाई आराम गर्न लगाउने र विश्राम दिने हो । अझै यस्तो उमेरका जेष्ठ नागरिकलाई काम लगायो भने दण्डित हुनुपर्ने समेत हुन्छ । उमेर बढ्दै गएपछि रोगले च्याप्ने, दिमागले अनेकौं कुरा सोच्ने, झर्किने, रिसाउने, परिवारका अन्य सदस्य बोल्दा उल्टो अर्थमा बुझ्ने स्वभाविक हो । सायद अहिले हाम्रो नेताहरुलाई यी सबै समस्या देखिएको हुनुपर्छ । त्यसैले बोलीको भर नहुने र बोलेको कुरा नपुर्याउने गरेको उदाहरण धेरै छन् ।
काँग्रेस पार्टीलाई पञ्चायतदेखि एउटै व्यक्ति वा परिवारले कहिले सम्म धानिराख्नुपर्ने ? शेरबहादुरको विकल्प रामचन्द्र वा गोपालमानको विकल्प गच्छदार, प्रकाशमान सिंह, पूणर्बहादुर खड्का, विमलेन्द्र निधि, कृष्ण सिटौला, डा.शेखर कोइराला कहिलेसम्म हुने ? के बोल्न हुन्छ के हुँदैन थाहा नहुने, आफुले गर्दा उत्तम अर्कोले गर्दा खत्तम भनिरहने बुढ्यौलीले छोएका नेताले मात्रै प्रजातन्त्र र समाजवाद जोगाई दिनुपर्ने ? उमेर खाइसकेका र दुःख पाइसकेकालाई अझै काँग्रेसको बोझ बोकाइरहन गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदिप पौडेल, धनराज गुरुङ्गलाई लाज लाग्नुपर्ने होईन ? अब काँग्रेस हामी हाँक्छौं भनेर आउन किन नसकेको ?
अनि एमाले, माओवादी र एकीकृत समाजवादी नामका कम्युनिष्टहरुमा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेब गौतमलाई पार्टी वा सरकारको जिम्मा दिएर अनावश्यक भारी बोकाउने युवा नेताहरु सजायको भागिदार बन्नुपर्ने हो कि होईन ? उमेर कटिसकेका नेताहरुलाई अनावश्यक पार्टी र सरकारको जिम्मा लगाउनु जेष्ठ नागरिकप्रतिको अपमान हो र सामाजिक रुपमा अपराध पनि हो । तिनका युवा पुस्ताले यो कुरा किन बुझ्दैनन् ? उमेर पुगिसकेर राज्यकोषबाट वृद्ध भत्ता वा पूर्वविशिष्टको सुविधा लिएर सुखको जीवन बाँच्न पाउने तिनको अधिकार हनन् गर्ने योगेश भट्टराई, गोकर्ण विष्ट, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, ठाकुर गैरे, रामकुमारी झाँक्रीहरुलाई कानुनी कारवाही किन नगर्ने ? अब पनि ६० कटेका वृद्धले नेता बनेर पार्टी र सरकारको नेतृत्व गरिदिन्छन् र आफु युवा नै भैरहन्छु भन्ने अनि जिम्मेवारी नलिने तिमीहरुलाई नालायक भन्न किन नहुने ?
अनि वैकल्पिक धारको राजनीति गर्छु भन्ने जनता समाजवादी पार्टीमा र लोकतान्त्रिक समाजवादी पार्टीमा पनि उस्तै अपराध किन ? मधेस, पहाड, हिमाल मात्रै होइन जाति, जनजाति, मधेसी, थारु, दलित, महिला, अल्पसंख्यकमा पारिएकाको साझा ईन्द्रेणी राष्ट्रवादको कुरा गर्ने लोसपाको झण्डा ७८ वर्षे वृद्ध महन्त ठाकुरले नै कहिलेसम्म बोकिरहने ? अनि जसपामा उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राईबाहेक युवा छैनन् ? जनयुद्ध, जनजाती आन्दोलन, मधेस आन्दोलनमा योगदान गरिसकेका यी वृद्ध नेतालाई बिश्राम कहिले दिने ?
यसर्थ, आजको आवश्यकता भनेको स्वास्थ्थ सबल भएको, मानसिक रुपमा ठीकठाक रहेको, शारीरिक रुपमा तन्दुरुस्त र दिमाग तेज चल्ने व्यक्तिले नेतृत्व सम्हाल्न आवश्यक भएको छ । यसको मतलव पुराना वृद्ध नेताहरुको स्वास्थ्य, दिमाग वा शारीरिक अवस्था ठीक छैन भन्न खोजिएको होइन । तर, उनीहरुले धेरै गरेका छन् । तिनले कार्यकारी भूमिका भन्दा बाहिर रहेर अझै धेरै गर्न सक्छन् । त्यसैले अब उनीहरुको अनुभव, योग्यता, क्षमता, दृढता, परिपक्वता सबै कुराको जिम्मेवारी पनि युवाले लिनुपर्दछ । जो ६० बर्ष उमेर पुरा गरेका छन् र ३० वर्षदेखि राजनीतिमा दुःख गरेका छन् तिनलाई स्वेच्छिक र जसले ६५ वर्ष पुरा गरेका छन तिनलाई अनिवार्य अवकाश दिइनुपर्दछ ।
उनीहरुलाई विगतमा गरेको योगदानको कदर स्वरुप प्रजातन्त्र सेनानी, गणतन्त्र सेनानी, विद्रोहका नायक, जनआन्दोलनका जिउँदो सहीद केके नाम र सम्मान दिनुपर्छ दिऊँ । सम्मानसँगै बाँकी जीवन सुखद बनाउनको लागि राज्यको तर्फबाट आवास र केहि सामान्य सुविधा थपेर राजनीतिको दाउपेच, रस्साकस्सी, घम्साघम्सी, लुछाचुँडी बाट चाहिँ टाढा राखौं ।
(लेखक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् )