कति सम्भव छ पूर्वमाओवादी एकता ?
रुद्रप्रसाद भट्टबोलीचालीको भाषामा भन्दा कुनै पनि कुरा मिसाएर एकै ठाउँ राख्न वा मिश्रण गराउन एक अर्काको गुण, रंग वा स्वाद मिल्नुपर्दछ । तर, कहिलेकाँही गुण, रंग र स्वाद मिलेर पनि ती चिजलाई एकै ठाउँमा राख्न सकिन्न वा मिसाउन सकिन्न ।
यदि रंग वा स्वाद मिल्यो भनेर दुइ कुरा एकैठाउँमा मिसाउन खोजियो भने पनि त्यसको वास्तविक रंग उड्न सक्छ र स्वाद हराउन सक्छ। अनि त्यसले एक्सन भन्दा रिएक्सन् गर्ने खतरा बढी हुन्छ ।
रंग मात्रै हेर्दा कोदो र तोरी उस्तै देखिन्छ अनि नुन र ग्लुकोज पनि उस्तै देखिन्छ तर यी दुईको मिसावट सम्भव छैन । तोरीबाट तेल निस्कन्छ तर कोदोबाट पिठो । अनि एकैठाउँमा राखेर पिस्यो भने न घस्ने तेल निस्कन्छ न ढिँडो खाने पिठो । व्यर्थमा समय र मेहनत मात्रै खेर जान्छ ।
अहिले नेपाली राजनीतिमा माओवादी घटकबीच एकता हुँदैछ भनेर फैलाइएको हल्ला पनि तोरीमा कोदो मिसाउनु जस्तै हो । जुन यसअघि नेकपा एमाले र माओवादी केन्द्र मिलाएर बनाइएको नेकपाबाट नतिजा स्पष्ट भइसकेको छ ।
यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को भेटघाटलाई लिएर धेरैले पूर्वमाओवादी घटकको एकता प्रयास भनेका छन् । तर, यो एकता प्रयासमा माओवादी घटक भन्दा बढी स्वघोषित विश्लेषकको ‘चटक’ र केही स्वार्थ केन्द्रीत नेतृत्वको चालबाजी बढी देखिएको छ ।
२०४८ सालदेखिसँगै रहेका प्रचण्ड, बाबुराम, वैद्य र विप्लव २०६९ सालसम्म एकै ठाउँमा थिए । २०६९ सालमा मोहन वैद्यले पहिलोपटक माओवादी पार्टीमा फुटको सुरुवात गरेपछि भएको अलग–अलग यात्रा अहिले पनि कायमै छ । त्यतिबेला उनलाई रामबहादुर थापा ‘बादल’, सिपी गजुरेल, विप्लव, देव गुरुङ, पम्फा भुषाललगाएतले साथ दिएका थिए । जसमध्ये बादल अहिले एमालेको स्थायी कमिटी सदस्य छन् भने गजुरेल वैद्यसँगै छन् ।
वैद्य नेतृत्वको पार्टी पनि २०७३ सालमा विभाजन भई विप्लव नेतृत्वमा नेकपा माओवादी बन्यो । विप्लवसँग खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बाँस्तोला, हेमन्त प्रकाश ओली, माइला लामालगायत नेताहरु जोडिए । तर, विप्लवको पार्टीको लक्ष्य र कार्यदिशा जनक्रान्ति, जनयुद्ध वा जनविद्रोह के हो भन्ने अलमलकै बीच सरकारले प्रतिबन्ध लगाइदियो । हाल प्रतिबन्ध फुकुवा भएपनि विप्लवको पार्टी पनि फुटिसकेको छ । धर्मेन्द्र बाँस्तोला र हेमन्त प्रकाश ओलीले नेकपा बहुमत गठन गरेका छन । विप्लव हाल नेकपा माओवादीको महासचिव त छन् तर उनीसँग रहेका केहि नेता पलायन भए भने केहि भर्खरै मात्रै प्रचण्ड नेतृत्वको पार्टीमा फर्किए ।
यता २०७३ साल असोज ३ गते नेपालको संविधान जारी भएपछि माओवादीका अर्का नेता पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भई नयाँ शक्ति निर्माण अभियानमा लागे । सुरुमा उनको अभियानमा पूर्व प्रशासक, कर्मचारी, कलाकार, नागरिक अगुवा र केहि उनकै पार्टीका नेता कार्यकर्ता सहभागी भए । पछिल्लो चरणमा उनको नयाँ शक्तिमा पुरानै शक्ति र पुरानै शैली हावी हुँदै गएपछि संघिय समाजवादी फोरमसँग एकता गराए । हाल उनी जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष छन् । कुनै चमत्कार नभए यो पार्टी पनि फुटको नजिक पुगिसकेको छ ।
नेकपा मशाल, नेकपा चौम, नेकपा बिद्रोही मशाल र सर्वहारावादी श्रमिक मोर्चा मिलेर नेकपा एकता केन्द्र बनेको थियो । त्यही पार्टी २०५१ सालमा नेकपा माओवादी बनेको थियो र उसकै नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि देशमा जनयुद्ध सुरु भई १० वर्षसम्म चलेको थियो । २०५२ देखि २०६३ अगाडिसम्म नेकपा माओवादीसँग आफ्नै जनसेना, जनसत्ता र जनअदालत थियो । तर, २०६३ देखि २०७३ सम्म आइपुग्दा माओवादीले सेना,सत्ता र अदालत सबै पुरानो राज्यसत्तालाई नै फिर्ता गर्दै आफैं पुरानो सत्तामा मालिक बन्ने दौडमा काँग्रेस एमाले जस्ता संसदीय पार्टीहरुसँग जोडिन पुग्यो । हाल प्रचण्ड नेतृत्वको माओवादी नेपाली काँग्रेससँगै सरकारमा सहभागी छ ।
१० वर्षे जनयुद्धमा सर्वशक्तिमान सुप्रिमो भनिएका प्रचण्ड यतिबेला एमालेकरण हुँदै पुनःमाओवादीको पुरानै धारमा फर्केका छन् । नाम माओवादी राखेपनि यद्यपि प्रचण्डमा त्यो क्रान्तिकारीपन अहिले छैन । उनी जस्तै विप्लव र वैद्यले पनि नाममा माओवादी शब्द झुण्ड्याए पनि वा जतिसुकै क्रान्तिकारी र सर्वहारावादी बन्न खोजेपनि विचार, शैली, भाषा र व्यवहारले त्यो देखाइरहेको छैन । यता डा.भट्टराईले त माओवादी नाम समेत समातेका छैनन् । यस मानेमा डा.भट्टराई स्पष्ट छन् कि कम्तिमा उनले अहिले माओवादी हूँ भनेका छैनन् ।
माओवादीको नाममा निर्माण भएको जनसेना, जनसत्ता र जनअदालत सबै पुरानै सत्तामा सुम्पिएर क्रान्तिकारी सिद्धान्त, विचार,अडानबाट पछाडि हट्दै काँग्रेस, एमाले र राप्रपाजस्ता शक्तिसँग सत्ता सहकार्य गर्न थालेपछि पनि आफुलाई माओवादी नै हूँ भन्नु सहीद, बेपत्ता, घाइते,अपाङ्ग र जनताप्रतिको बेइमानी र क्रान्तिप्रतिको धोका हो भन्ने बुझ्नु पर्दछ । अहिलेको अन्तिम सत्य के हो भने सहीदको रगतको अवमुल्यन गर्ने, बेपत्ताको खोजी नगर्ने, घाइते अपाङ्गको हिसाब नराख्नेलाई जनताले फेरि मिलेको देख्न चाहेकै छैनन् । हिजो जनतालाई देखाएको सपना भुलेर बस्ने प्रचण्ड, बाबुराम, वैद्य, विप्लव र धर्मेन्द्रका सपना पूरा गर्न अब कुन आधारमा जनता अगाडि आउने ?
यो टुट, फुट र विभाजनको कारण जनताले पाएको धोका र दुःख अनि कार्यकर्ताले भोगेको पीडाको हिसाब दिन सक्ने सामर्थ्य प्रचण्ड, बाबुराम, वैद्य र विप्लवसँग पक्कै छैन । यदि थियो भने पटक–पटक उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री र संवैधानिक नियुक्ति पाउँदा किन नगरेको ? अन्तरिम व्यवस्थापिका संसदमा गएदेखि माओवादीले दुईपटक उपराष्ट्रपति (नन्दकिशोर पुन), ३ पटक प्रधानमन्त्री (दुई पटक प्रचण्ड र एक पटक बाबुराम भट्टराई), तीन जना सभामुख (ओनसरी घर्ती, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा) पाएको होइन ? अनि ती शोषित पीडित जनताको आवाज उठाउन कसले रोक्यो ?
२०६३ मा शान्ति सम्झौता भइसकेपछि मन्त्री, सांसद, राजदूत,संवैधानिक र राजनीतिक नियुक्ति कति जना भए र तीमध्ये सहीद परिवार र बेपत्ता परिवारबाट कतिजनाले अवसर पाए ? सुप्रिमोले यसको जवाफ जनतालाई दिनु पर्दैन ? कम्रेड प्रचण्डलाई पदमा पुग्न मात्रै ती सहीद, बेपत्ता, घाइते र अपाङ्गको गणना गरिएको हो कि तीनका परिवारलाई न्याय पनि दिनुपर्ने हो ? ती सहीदका छोराछोरीको शिक्षादिक्षा कसरी चलिरहेको छ ? ती घाइतेको उपचार कसरी भइरहेको छ ? बेपत्ताको परिवारको गुजारा कसरी चलेको छ ? अनि अयोग्य भनेर अपमान गरिएपछि विदेश पुगेका मजदुरको के अवस्था छ ? कम्रेड प्रचण्ड, बाबुराम, वैद्य, विप्लव र धर्मेन्द्रले यो बारेमा कहिले सोच्ने ?
सडकबाट यी विषय उठाएपछि यो त राज्यको दायित्व हो भनेर पन्छिने कि राज्यलाई दबाब दिएर हिजो जनयुद्धका बेला जनतासँग गरिएका बाचा पुरा गर्ने ? अब फेरि के चाहिँ भयो भने सहीद, बेपत्ता, घाइते, अपाङ्ग र शोषित पीडितले न्याय पाउँछन् ? कि माओवादी शक्ति एक भएपछि राज्यसत्ता कब्जा हुने र सबै अधिकार जनतामा आउने हो कि ? वा प्रचण्ड राष्ट्रपति बन्दा यो सबै समस्या चुट्कीमै हल हुने हो ? वा कसैको छोरी मेयर, श्रीमती र बुहारी मन्त्री, भाई, ज्वाइँ राजदुत, छोरा भतिजा कमाउ मन्त्रालयको कायम मुकायम भएपछि सर्वहारा राज्यसत्ता स्थापना हुने हो ?
यसर्थ, अहिले पूर्वमाओवादी घटक भनिएकाहरु तोरी, कोदो, नुन, ग्लुकोज जस्तै हुन् । उनीहरु कसैमा पनि माओवादी गुण, माओवादी रंग र माओवादी स्वाद बाँकी छैन । यिनको ओरिजीनल स्वाद काँग्रेस, एमालेले खाइसक्यो । अब बाँकी रहेको स्वाद भनेको हाइब्रिड मात्रै हो । जसले कुनै पौष्टिकता दिँदैन । हेर्दा उस्तै देखिएपनि यिनको रंग, स्वाद र गुण फरक–फरक छ । यी सबै आफ्नो–आफ्नो रंग र स्वादमा रहँदा नै उत्तम हुनेछ ।
वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्छु भन्ने बाबुराम, एमालेमा मिसिएर पनि केहि उपाय नलागेपछि युद्ध हारेको कमाण्डरजस्ता भएर फर्केका प्रचण्ड, जनक्रान्तिको कुरा गर्ने तर परिस्थिति अनुकुल भएन भनेर झोक्राएर बस्ने वैद्य अनि फेरी जनयुद्ध लडेर राज्यसत्ता कब्जा गर्छु भन्ने ‘चर्को नारा, लुते व्यवहार’ देखाउने विप्लवबीच एकता भएर पनि हुने के हो ? यसको जवाफ कसले दिने ?
त्यसैले यी भिन्न स्वाद र भिन्न रंगमा बदलिएका माओवादी घटकको एकता हुनै सक्तैन । यदि सबैलाई एकै ठाउँ मिसाउन खोजियो भने परिमाण (संख्या) त बढेको देखिएला तर परिणाम(रिजल्ट) भने केहि फरक हुने छैन । नुनले ग्लुकोजको अस्तित्व मेटाइदिन खोज्छ भने कोदोले तोरीको गुण मेटाइदिन सक्छ । जसले गर्दा मिल्नु भन्दा नमिल्नुमा नै सबैको कल्याण हुनेछ ।
यदि मिलन भइहालेमा नेकपाको जस्तै माओवादी घटकको एकता होइन प्रचण्ड, बाबुराम, वैद्य, विप्लव र धर्मेन्द्रको चटक मात्रै हुनेछ ।
– यो लेखकको निजी बिचार हो-सं