हाम्रो भागमा आइलागेको कम्युनिस्ट !
शीरज शर्माअहिले देशमा वाम लोकतान्त्रिक सरकार छ । विश्वका धेरै देश कम्युनिस्टमुक्त भइसके पनि नेपालमा चाहिँ काँग्रेससँगको गठबन्धनमा संघीय सरकारमा पनि कम्युनिस्ट र प्रमुख प्रतिपक्षी दल पनि कम्युनिस्ट नै छ ।
देशको ७ प्रदेश मध्य ४ बटा प्रदेशमा पनि कम्युनिस्ट मुख्यमन्त्री छन् । मधेश प्रदेशमा पनि जसपाको नेतृत्वमा कम्युनिस्ट चरित्र कै सरकार छ । संघीय सरकार र प्रदेश सरकारमा उल्लेख्य संख्यामा मन्त्री पनि कम्युनिस्ट कै छन् ।
कम्युनिस्ट भन्ने बित्तिकै पार्टीको सिद्धान्तभन्दा पहिले कार्ल मार्क्स,ऐंगेल्स, लेनिन, माओत्से तुङ, स्टानलिन हुँदै चे ग्वेभारा र फिडेल क्यास्ट्रो दिमागमा आउँछ । अनि पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, निर्मल लामादेखि सहाना प्रधान र नरबहादुर कर्माचार्यको नाम पनि यिनैले पेवा बनाएकै छन् ।
यीबाहेक केही देशमा समाजवादी कम्युनिस्ट चरित्रका उदार पात्रहरु पनि देखिए । तर, कम्युनिस्ट भनेकै मार्क्स, लेनिन, माओको फोटो पार्टी कार्यालय र घरको एउटा भित्तामा झुण्ड्याएको हुनुपर्छ भन्ने मान्यता हाम्रोमा छ ।
कम्युनिस्ट भनेको सर्वहारा, गरिब, किसान र निमुखाको साथी र सहयोगी भन्ने बुझ्नु ठीक हुनेछ । यदि यस्तो चरित्र छैन र उसले आफुलाई कम्युनिस्ट बताइरहेको छ भने बुझ्नुपर्दछ कि ऊ कम्युनिस्टबाट रुपान्तरित भएर दलाल र भ्रष्ट भइसक्यो । राज्यकोषको तलब खाएर जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई उसले घरमा काम लगाएको छ वा आफु दर्जनौं सुरक्षाकर्मीलाई अघिपछी लगाएर मात्रै हिँड्छ भने त्यो कम्युनिस्ट नेता कदापि होइन ।
कम्युनिस्ट नेता त जहिले जनताको बीचमा हुन्छ र जनताको सुरक्षामा विश्वास गर्दछ । राज्यकोष दुरुपयोग गरेर अगाडि पछाडि सुरक्षाकर्मी लिएर हिँड्ने, आफ्नै निजी घर भएर पनि जनताको करबाट घरभाडा सुविधा लिने अनि जनतालाई सिटामोल किन्ने पैसा नहुँदा आफु चाहिँ उपचार गर्न विदेश पुग्छ भने त्यो नेता कम्युनिस्ट होइन सामन्त र गद्दार हो ।
आफ्नै निजी गाडी भएर पनि सरकारी गाडी दुरुपयोग गर्ने, जनताले तिरेको करबाट मर्मत खर्च, इन्धन खर्च लिने र परिवार घुमाउने अनि बेला–बेलामा महङ्गो होटल र रिसोर्ट पुगेर तनावमुक्त हुनेहरु त झन् कम्युनिस्ट नेता हुने कुरै भएन ।
तर, नेताको भाग्य अनि जनताको दुर्भाग्य हो वा हाम्रो भागमा परेको कम्युनिस्ट नै यस्तै हो अहिले हाम्रो देशमा पनि कम्युनिस्ट नेता धेरै छन् । आफ्नो गाउँ आफैं बनाउँ भनेर गाउँ गाउँमा डोजर लैजाने कम्युनिस्ट नेताले डोजर मालिक चाहिँ आफ्नै छोरा, भाई, भतिज र ज्वाईंलाई बनाएका छन् । जसले राज्यको विकास बजेट सक्ने नाममा जथाभावी असारे विकासले विनास निम्त्याईरहेका छन् ।
डोजरले बजेट सक्ने मात्रै होइन पहिरोको जोखिम, वनजंगल फडानी, पानीको मुहान सुक्नेदेखि गरिबको उठिबास समेत लगाउने गरेको छ यसमा कम्युनिस्टका कार्यकर्ता नै मुछिनु पनि उनको भाग्य र जनताको दुर्भाग्य नै हो ।
झापा विद्रोहको नाममा सामन्तको टाउको छिनाएर आएका कम्युनिस्ट र जनयुद्धमा भ्रष्ट, दलाल, तस्कर र जनविरोधीलाई भाटे कारर्बाही गरेर आएका कम्युनिस्ट अहिले तिनै सामन्त,दलाल,भ्रष्ट,माफिया र कमिसनखोरलाई मात्रै आफ्नो मित्र शक्ति देखिरहेका छन् । अहिले तिनकै पछाडी लागेर आफ्नो सिद्धान्त र विचार खरानी बनाउँदै गरेका कम्युनिस्टलाई जनताले अझै माया दिएकै छन् ।
जनयुद्ध र जनआन्दोलनमा जनविरोधी किटान गरिएकाहरु नै अहिले कम्युनिस्ट सम्मिलित सरकारको विचौलिया बनेर सरकार र पार्टीमा आफ्नो हैकम चलाइरहेका छन् । अनि जनविरोधी काम गरेका भनिएकालाई चाहिँ हिजो कालोमोसो दलेर कारवाही गरिन्थ्यो भने आज अबिर लगाएर अख्तियार, अदालत, विभिन्न आयोगमा नियुक्ति र राजदूत, विकास आयोजनाका प्रमुखको जिम्मा लगाउन थालिएको छ ।
तर, अचम्मको कुरा के छ भने राजा र काँग्रेसलाई तथानाम गाली गर्ने कम्युनिस्टहरु आफैं सरकारमा भएको बेला मदन–आश्रित, कृष्ण सेन, निर्मला पन्त र माओवादी आन्दोलनमा गोली हान्ने हत्याराको पहिचान नै हुँदैन किन ? कहिलेसम्म कृष्ण सेनका हत्यारालाई उन्मुक्ति दिँदै जाने ? निर्मलाले न्याय कहिले पाउने हो ? नेपालको कम्युनिस्ट सरकार कि माक्र्सवाद, लेनिनवाद वा माओवाद भन्दा फरक विचारधाराले प्रेरित छ ? जनताको सियो सम्म पनि लिनुहुन्न भन्ने माओ र सर्वहारा जनताको न्यायको लागि सधैं कम्युनिस्टहरु लडिरहनुपर्दछ भन्ने लेनिन झुठा थिए त ?
यदि मार्क्स, लेनिन, माओ सही थिए भने हाम्रो भागमा चाहिँ किन यस्तो कम्युनिस्ट आइलाग्यो ? कम्युनिस्टहरुकै हालीमुहाली चलिरहेको देशमा ३३ किलो सुन गायब हुन्छ । सुनमात्रै होइन, सुन काण्डका मुख्य अभियुक्त नै पत्ता लाग्दैनन् किन ? भ्रष्ट र दलाललाई कारवाही गर्नुपर्ने कम्युनिस्ट सरकारले को भ्रष्ट र को दलाल पत्ता लगाउनै सक्दैन किन ? वाइडबडी काण्ड, सेक्युरिटी प्रेस खरिदबारेको ७० करोड काण्ड, एनसेल काण्ड, बालुवाटार जग्गा काण्ड, मेलम्ची खानेपानी आयोजना काण्ड, औषधि खरिदमा भ्रष्टाचार जस्ता काण्डै–काण्डमा को दोषी देखिए क–कस्ले उन्मुक्ति पाए ?
गाउँगाउँमा सिंहदरबार पुग्छ भन्ने कम्युनिस्टले सिंहदरबारमा चाहिँ के थियो र त्यो गाउँ पुग्यो भन्ने कुरा जनतालाई बुझाउन किन सकेनन् ? गाउँमा सुन्तलाको रुख उखेल्दै हिँड्ने, पानीको मुहान सुकाउँदै हिँड्ने त्यै डोजर सिंहदरबारमा थियो भने त्यो गाउँ नपठाए हुन्छ । अनि वडादेखि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारलाई पाल्नुपर्ने भन्दै कर उठाउने रसिद सिंहदरबारमा थियो भने त्यो पनि गाउँमा पठाउन जरुरी छैन । अनि मेनपावर दलाल, मेडिकल माफिया, भ्रष्टाचारी र कमिशनखोरहरु सिंहदरबारमै राख्दा हुन्छ ।
जनता औषधि नपाएर मरिरहेको बेला मन्दिर बनाउ भन्ने उर्दी दिने बुद्धिजिवी कम्युनिस्ट पनि हामीले नै देख्नुपर्ने, सर्वहारा जनताको नाममा विदेशी ऋणको भारी बोकाएर आफु चाहिँ श्रीमती सहित दुबई, सिंगापुर, युरोप र अमेरिका पुगेर उपचार गर्ने कम्युनिस्ट नेता पनि हाम्रै भागमा आइलाग्यो । २ कठ्ठा जग्गा हुने कम्युनिस्ट नेताले दैनिक लाखौं रुपैंया खर्च गर्न सक्ने तर २ बिगाहा जग्गा भएको किसानले मल र बिऊ किन्न नसक्ने कस्तो बिडम्बना ।
हिजो हात्तीछाप चप्पल चुँडिएपछी परालले बाँधेर हिँड्ने नेताहरु कार्ल मार्क्सको पूँजी भन्ने किताब पढेर रातारात धनाढ्य भए तर सर्वहारा जनता अझै पनि मार्क्सवाद र लेनिनवाद जिन्दावाद भन्न छाडेका छैनन् ।
जात, धर्म, लिङ्ग, भाषा र भूगोलको आधारमा सबै समान हुनेछ, कसैमाथी भेदभाव गरिनेछैन भनेर कम्युनिस्ट बनेकाहरु अहिले भान्से राख्ने बेला जात सोध्छन्, बिहे गर्नेबेला सम्पति रोज्छन् र संसदमा बोल्ने बेला भाषा खोज्छन् ।
अनि हाम्रै चाहिँ कम्युनिस्ट राज्यमा जातका आधारमा मान्छे मारेर भेरीमा बगाइन्छ, गरिबका झुपडीलाई गोठ भनेर जलाइन्छ र पहिरो पिडितलाई २ माना चामल बाँड्न लाखौंको हेलिकोप्टर भाडामा लिएर वर्षभरी खाने धान सोत्तर बनाएर फर्किइन्छ किन ?
यसर्थ, विश्वका कम्युनिस्ट नेताले नसिकाएको र नगरेको काम गरेर जनतालाई नौलो कम्युनिस्ट शासनको स्वाद चखाउने र आफु सर्वहारा नेताबाट रातारात धनाढ्य बन्ने नयाँ सिद्धान्त पत्ता लगाउनुहुने नेपाली कम्युनिस्ट नेताहरुलाई आगामी दिनको लागि अझै महाधनाढ्य बन्दै जाने प्रेरणा मिलिरहोस् जनताको यही शुभकामना !