बाबुराम-प्रचण्डको एउटै चुनाव चिन्ह

काठमाडौं, ३० साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एउटै चुनाव चिन्हमा चुनावी प्रतिस्पर्धा गर्ने सम्झौता गरेका छन् ।
आइतबार दुई नेताबीच भएको भेटघाटमा भट्टराई र दाहालबीच माओवादी केन्द्रको चुनाव चिन्ह ‘गोलाकार भित्रको हसिया हथौड़ा’ मा निर्वाचन लड्न सहमत भएको स्रोतको दाबी छ । अब दुई पार्टीको चुनावी घोषणा-पत्र समेत एउटै हुनेछ । चुनावपछि पार्टी एकता समेत हुने दाबी गरिएको छ ।
केही समयअगाडि जसपा छोडेर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराईको पार्टीको चुनाव चिन्ह आँखा हो । तर, उनले आँखा छोडेर माओवादी केन्द्रकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने निश्चित भएको हो ।
भट्टराई गोरखा क्षेत्र नम्बर-२ बाट चुनाव लड्ने र वर्तमान गठबन्धनमा सहभागी हुने पनि टुङ्गो लागेको छ ।

