सरकारमा बसेर सडकमा रमिता नदेखाऊ !
सम्पादकीयदेशका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा संगै छन् । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएर पनि सत्ताको नेतृत्वमा कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएको छ। अर्थात सत्तारूढ गठबन्धनमा दोस्रो दलले सरकारको नेतृत्व गरेको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको १५ महिनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद छाड्ने अभिव्यक्ति पटकपटक दिँदै आएका छन् । देउवापनि त्यसमा ढुक्क छन् । मानौं प्रधानमन्त्री संसदबाट चुनिने होइन पार्टी कार्यालय वा नेताको घरबाट भागबन्डा गरिन्छ। त्यो भाग अहिले एमाले अध्यक्षले पाएका छन् अब कांग्रेस सभापतिले पाउनुपर्छ । त्यसैले लिने दिने कुरा भैरहेको छ।
विश्वमै हाम्रो देेश मात्रै होला जहाँ प्रधानमन्त्री पदको समय बाँडफाँड गरिन्छ। अर्थात जनताले निर्वाचित गर्ने त कुरै छाडौं अब त संसदमा रहेका सांसदहरूले पनि प्रधानमन्त्री छान्न पाउने छैनन् । त्यसरी पाउने भए ओलीको विकल्प देउवा वा देउवाको विकल्प पुष्पकमल दाहाल प्रचण्ड हुने थिएनन् । रोज्न पाउने भए सधैं यिनै किन हुन्थे ! त्यहाँ शेखर कोइराला,गगन थापा,जनार्दन शर्मा,बिष्णु पौडेल वा अन्य कोही हुनुपर्ने हो। तर, हुँदैनन् ।
तर, अचम्मको कुरा के छ भने सत्तामा पनि बस्नु र सडक पनि कब्जा गर्नु दु:खद हो। जनताको पक्षमा बोल्न वा काम गर्न सिङ्गो सत्ता हुँदा पनि सडकमा रमिता देखाउनुपर्ने किन होला ? सत्तामा बसेर काम गर्न नसकेपछि त्यै लाज ढाक्न सडकमा गणतन्त्रको पक्षमा भन्दै युवा बोलाउनु कत्तिको सान्दर्भिक होला ? हुनपनी सत्तामा,सरकारमा,सिंहदरबारमा,बालुवाटारमा अनि हरेक संबैधानिक पद र नियुक्तिमा सबै आफैं ढलिमली गरेर पनि अझै सडकमा आएर रमिता देखाउनु आश्चर्यको कुरा हो। यस्तो देखेपछि स्वयं लाज पनि लजाउछ होला !
सडकमै आउनुपरे पनि निश्चित उदेश्य र माग लिएर आउने हो। कतै बोल्न नपाए सडकमा आएर बोल्ने हो। तर, बोल्ने ठाउँमा जताततै आफैं भएर पनि फेरि सडकमा किन बोल्नुपर्यो ? आखिर हिजो सडकमा बोलेपनी र आज सदनमा बोलेपनी बोल्ने कुरा त्यै एउटै हो,-‘म बूढो भएको छैन,अझै २० बर्ष पार्टी चलाउछु। म राजिनामा दिन्न १५ महिनामा प्रधानमन्त्री अर्को बनाउछु’ यो बाहेक जनताको कुरा कहिल्यै बोलेको भए पो पत्याउनु !
यसर्थ, सडकमा उठेका शिक्षकका कुरा,कर्मचारीका पीडा,चिकित्सकका गुनासा र जनताको समस्यालाई गम्भीर भएर सुन्ने अनि सदनबाट निकास खोज्ने र बिकासमा लाग्ने बेलामा आफ्नै पार्टीका युवालाई सडकमा ओरालेर ‘ढुक्कले ०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्नुस्’ भन्ने सन्देश किन चाहियो ? सदनबाट सम्बोधन गर्नुपर्ने कुरामा ध्यान नदिने तर,सडकमा आएर सरकार विरुद्ध भ्रम फैलाइयो भन्दै चिच्याउन बन्द गर्ने हो कि ! सदनमा बसेर ऐन, कानुन राम्रो बनाउ,पीडितलाई न्याय देउ,सडकमा आएर रमिता नदेखाउ।