मुस्ताङमा चौँरीपालन व्यवसाय संकटमा

मुस्ताङ ।मुस्ताङको थासाङ-२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ।

उनका करिब ७० वटा याकचौँरी छन्। पुर्ख्याैली पेसा अँगाल्दै आएका थकालीले पछिल्लो समय याकचौँरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताए । सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ।

‘सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,’ उनले भने, ‘हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ।’

जिल्लाका पाँचवटै स्थानीय तहमा करिब चार हजार सात सयभन्दा बढी संख्यामा याकचौँरी छन् । याकचौँरीपालनको व्यावसायिक हकहित र उत्थानका लागि ०७६ सालमा हिमालयन याकचौँरीपालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । त्यसकै उपशाखाअन्तर्गत थासाङ– २ घट्टे खोलामा हिमालयन याकनाकपालन उपसमिति छ।

थकाली जस्तै थासाङ– २ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिब सात सयभन्दा बढी संख्यामा याकनाकपालन गर्दै आइरहेका छन् । पुर्ख्याैली व्यवसाय याकचौँरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । याक नाकको दुधबाट घ्यू, छुर्पी र मासु उत्पादन हुने गर्छ । यसका अतिरिक्त याक नाकका रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी वैकल्पिक आम्दानी लिने गरेका छन्।

थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचौँरीको व्यवस्थापन गर्ने गरिएको छ । बर्खायामको चिसो मौसममा मुलीखर्क, मार्चे र बतासेडाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कलगायतका स्थानमा याकचौँरीको गोठ स्थान्तरण गरिने याकचौँरीपालक गौतम शेरचनले जानकारी दिए । याकचौँरीपालन गर्दा गोठालालाई वार्षिक दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिने चलन छ।

पछिल्लो समय हिमाली क्षेत्रमा याकचौँरीपालन संकटमा पर्दै गएको हो । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले याकचौँरीपालन व्यवसाय समस्यामा परेको स्थानीयवासीको अनुमान छ।

हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्नेजस्ता प्राकृतिक विपतले हिमाली याकचौँरीका लागि आवश्यक चरन क्षेत्रमा घाँस पाइन छाडेको हो।

हिमालयन याकनाक उपसमितिका याकचौँरीपालक किसानले याकनाकको रगत सर्वसाधारणलाई बिक्री गरेर वैकल्पिक आम्दानी गर्ने गरेका छन्। याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने हिमाली क्षेत्रको सदियौँदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौँरीको आलो रगत सेवन गर्नाले दीर्घरोगीलाई उपचारमा उपयोगी हुने जनविश्वास छ। विशेषगरी ग्यास्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने तथा पेटसम्बन्धी समस्या भएका बिरामीलाई याकचौँरीको आलो रगतले फाइदा पुग्ने बताइन्छ।

एक वयस्क याकचौँरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौँरीको आलो रगत निकाल्न सकिने हिमालयन याकनाकपालन उपसमितिले जनाएको छ। याकचौँरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रतिगिलास रु. ३०० को दरमा बिक्री–वितरण गरिन्छ। रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय