तेस्राे राष्ट्रपतिकाे खाेजीमा मुद्दा लिई जित्‍ने कि झुक्याएर ?

मनोज कुमार कर्ण

आगामी फाल्गुन २५ गते हुने राष्ट्रपतिय र चैत्र ३ गते हुने उपराष्ट्रपतिय निर्वाचनका लागि निर्वाचन आयाेगले गत फाल्गुण १६ गते निर्वाचन आचारसंहिता जारी गरेकाे छ जसमा व्यक्तिलक्षित टिक्काटिप्पणी गर्न नहुने भनिएकाे छ ।

जबकि अमेरीकामा गत राष्ट्रपतिय निर्वाचनसम्म पनि रिपब्लिकन उम्मेदवार डाेनाल्ड ट्रम्पले डेमाेक्रेटिक उम्मेद्वार तथा वर्तमान राष्ट्रपति जाे बाईडेनलाई साझा सार्वजनीक सञ्चार डिबेटमा ‘बाईडेन झूठ बाेल्छन्, ऊ बेवकूफ हाे !’ सप्रसङ्ग बताइदिए अर्थात्, लाेकतन्त्रमा तथ्यगतपूर्ण खुला बहस सार्वजनिक पदका उम्मेदवारबारे भएन भने गलत मान्छे पदमा पुग्न सक्छन् ।

नेपालमा स्वयं निर्वाचन आयाेग नै निष्पक्ष हुन सकिरहेकाे छैन जस्तै, प्रतिनिधिसभाले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने भनेर तत्कालिन देउवा सरकारले अनुराेध गर्दा एमालेका प्रमुख निर्वाचन आयुक्त र उसकै अन्य दुई आयुक्तहरूले नकारेका तर हाल राष्ट्रपतिकाे निर्वाचनमा कानूनले एक महिना अगाडि नै हुनुपर्ने किटान गरेकाेमा संविधानसँग बाझेकाे भनेर फाल्गुण २८ गते वर्तमान राष्ट्रपतिकाे पदावधि समाप्त हुन लाग्दा तीन दिन अघि २५ गतेमात्र चुनाव सम्पन्न गराउने कुरा नै निर्वाचन आयाेगकाे पक्षपातपूर्ण र एमाले पार्टीप्रति वफादार चालकाे रूपमा आम बुझाई छ । नेपालमा अस्वभाविक रूपले २०७९ सालका सबै स्थानिय, संसदीय तथा राष्ट्रपतीय निर्वाचनहरूमा खुल्ला र स्वस्थ्य बहसमाथि राेक लगाउने गलत प्रयत्न देखिन्छ ।

नेपालमा व्यक्ति तेस्राे राष्ट्रपतिकाे रूपमा काँग्रेस नेतृत्वकाे ८ दलीय गठबन्धनका साझा उम्मेद्वार माननीय रामचन्द्र पाैडेल तथा विपक्षी एमालेकाे तर्फबाट माननीय सुवासचन्द्र नेम्बाङ उम्मेद्वार छन् । माओवादी केन्द्रकाे बुझाईमा प्रथम राष्ट्रपति काँग्रेसबाट बनेका डा. रामवरण यादवले सेनापतिलाई बदल्ने कार्यकारी प्रधानमन्त्रीकाे ‘स्वाभाविक’ कार्यलाई अड्काएर विवादित भएका थिए भने वर्तमान राष्ट्रपति एमालेबाट बनेकी विद्यादेवी भण्डारीले संविधानकाे भावना प्रतिकूल एमालेबाट नै रहेका प्रम केपी ओलीले दुई चाेटि संसद विघटन गर्दा रातिसम्म जाग्राम बसेर साथ दिएकी तर दुई चाेटी सार्वभाैम संसदबाट पारित नागरिकता विधेयकलाई प्रमाणिकरण नगरी अड्काएको, एमाले अध्यक्ष ओलीलाई सरकार बनाउन दिनलाई प्रतिपक्षीलाई संवैधानिक अधिकारकाे समेत प्रयाेग गर्न नदिने, ओली सरकारकाे प्रतिकूल तर सहि कुरामा देव गुरूङहरूले चिट्ठी दर्ता गर्न जाँदा लिएर लुकाउने तर उचित कार्वाही नहुने, संसदबाट एमालेकाे स्वार्थ विपरीत तर जायज कुरामा अन्य दलले संविधानकाे संरक्षक भनी राष्ट्रपति कहाँ जाँदा सचिवलाई अनुपस्थित गराईदिने, नेपालकाे असंलग्न परराष्ट्रनीति विरूद्ध र सरकारसँग परामर्शसमेत नगरी चीनकाे शैन्य अलायन्स ग्लाेबल सेक्युरिटि ईनिशिएटिभ (Global Security Initiative) जीएसआईकाे जूम भेलामा सम्बाेधन गर्ने जस्ता दलगत स्वार्थमा लागेकी हुनाले अति विवादीत हुनुका साथै देशमा स्थिर सरकार, आर्थिक प्रगति, गणतन्त्र र वर्तमान संघीय लाेकतान्त्रिक गणतन्त्रकाे संविधानकाे संरक्षण एमालेहरूबाट हुन नसक्ने भनी आमजनताले ठान्छन् ।

व्यक्ति विशेष भण्डारीकाे राष्ट्रपतिय भूमिकाले भने आमजनता पनि असन्तुष्ट छन् र एमालेलाई नै देशकाे लागि अस्थिरता निम्त्याउने, प्रतिगामी तथा प्रतिउत्पादक दलकाे रूपमा बुझ्छन् भने डा. रामवरण यादबलाई साे बेला विद्राेही दल माओवादीबाट प्रम रहेका प्रचण्डले रणनीतिकरूपमा चीनकाे जस्ताे माओत्सेतुङले पिएलएलाई चियाङ काईसेकका राष्ट्रिय सेनासँग जापानसँग ‘राष्ट्रिय युद्ध’ गर्ने नाममा एकीकरण गरी माओत्सेतुङले सत्ता नै कब्जा गरेर कम्युनिस्ट शासन लादेकाे धूर्त्याईं बुझेर साे बेला नेपालका विद्राेही शक्ति माओवादीबाहेक अन्य सबै दल र विदेशी अन्तर्राष्ट्रिय सबै देश नेपालका शुभ साेच्नेहरूकै सल्लाह र आडभराेसामा डा. यादवले सेनापति रूक्माङगत कटुवाललाई नहटाउने निर्णय अन्तरीम संविधान, २०६३ काे ‘विपरीत’ निर्णय लिएका थिए !

तसर्थ, डा. रामवरण यादवकाे कदम विद्राेही माओवादीकाे लागि मात्र साेबेला विवादित थियाे, अन्यकाे लागि संविधानसम्मत नभएपनि संक्रमणकालमा अनपेक्षित वातावरणकाे लागि परिस्थितिजन्य त्वरित र जायज कदम नै थियाे तर अब माओवादी स्वयंकाे लागि पनि काँग्रेस र त्यसबाट बनेका साे बेलाका राष्ट्रपति डा. यादवप्रति त्यति गुनासाे छैन ।

८ दलीय गठबन्धनका साझा उम्मेद्वार रामचन्द्र पाैडेल समाजवादका निकै राम्राे व्याख्याता (जुन समाजवाद शब्द आजभाेलि नेपालका कम्युनिस्टका लागि चलनचल्तीकाे शब्द हाे), दशकाैं लामाे लाेकतान्त्रिक संघर्षकाे अनुभवी, पञ्चायत तानाशाहकाे संघर्षमा खर्राे उत्रेका, गणतन्त्र र वर्तमान संविधान निर्माणकाे क्रममा प्रत्यक्ष भूमीका खेलेका, सफल सभामुख, आर्थिक र चारीत्रिकरूपमा नेपालकाे राजनीतिमा सादगी मानिन्छन् । उता एमालेका उम्मेद्वार पूर्व सभामुख तथा सभाध्यक्ष रहिसकेका सुवासचन्द्र नेम्वाङ स्वयं यस संविधानलाई निर्माणमा भूमिका खेलेका हुन् र स्वभावले प्रतिस्पर्धी पाैडेल जस्तै परिस्थितिपरक त्वरित व्यवहार दल, संसद र देशकाे राजनीतिमा प्रयाेग गर्न सक्ने, गणतन्त्रप्रति प्रतिबद्ध र मृदुभाषी भएपनि नेम्बाङमा दलगत अलिकति कुप्रभाव परेकाे आम विश्लेषण छ ।

व्यक्तिगत रूपमा ‘जनजाति’ नेम्बाङ सफल कानूनमन्त्री र वकिल रहेपनि उनले अधिकारवञ्चित मधेशी, आदिवासी, जनजाति, महिला, दिव्याङ्ग, दलित आदिका लागि संविधान बनिरहेका बेला २०७२ सालमा ‘मधेशी’ समुदायका राष्ट्रपति डा. रामवरण यादवलाई उनले मधेशमा मान्छेहरू अधिकार संविधानमा सुनिश्चित गराउन बाटामा संघर्ष गरिरहँदा राज्यकाे वैधानिक गाेली खाईरहेकामा स्थायी शान्ति र संविधानकाे अपनत्व सबैले लिनलाई केही दिन पर्खेर सबैलाई मिलाएर अघि बढ्दा राम्राे हुने सुझाव दिँदा तत्कालीन एमालेबाट संविधानसभामा सभाध्यक्ष रहेका नेम्वाङले अधिकार वञ्चित विभिन्न समुदाय, जातजातिभन्दा पनि एमाले पद दिनेप्रति आसक्त भई ‘राष्ट्रपतिले संविधान जारी गर्न आनाकानी गरे तीन मिनेटमा उनकाे अधिकार खाेसेर सभाध्यक्षले जारी गर्नेमा सारेर मै गरिदिनेछु’ भनेर धम्कीकाे भाषामा चरम् अपमान गरेका थिए ! अर्थात्, मधेशी, आदिवासी, जनजातिकाे अधिकारयुक्त संविधान बनाेस् या नबनाेस् तर आफू ‘जनजाति’काे नाममा उम्मेद्वार भई पद चाहिँ खानुपर्‍यो !

याे बेग्लै कुरा हाे कि पछिल्लाेपटक एमालेकै राष्ट्रपति विद्या भण्डारीले संसदबाट दुई पटक रीतपूर्वक पारित नागरिकता विधेयकलाई मधेशीप्रति विद्वेष एमालेकाे रहेकाे ठान्दै प्रमाणिकरण नगर्दा नेम्बाङले मिडियामै ‘प्रमाणीकरण नगर्नु संविधान विपरीत कार्य हाे’ भन्ने धारणा राखे तर उनै नेम्बाङले तत्कालीन एमालेबाट प्रम केपी ओलीले शक्तिमा मद्द भई २-२ पटक संविधानकाे प्रावधान र स्थिर सरकारकाे भावनाविरूद्ध संसद विघटन गर्दा जसले संविधान पारित २०७२ साल असोज ३ गते हुँदा ‘विश्वकै उत्कृष्ट संविधान हाे’ भनेका थिए, उनै नेम्बाङलाई धुलिखेलमा पत्रकारले ‘उत्कृष्ट संविधानमाथि टेक्दै तपाईंकै पार्टीका अध्यक्ष तथा प्रम ओलीले संसद कसरी विघटन गरे, त्याेपनि दाेहाेर्याएर ?’ भन्ने प्रश्नबाट बच्न उनी मिडियाबाट तर्केेर टाढा बसे, अनुहार लुकाएर !

कुनै बेला संविधानसभामा सभाध्यक्ष रहेका नेम्बाङले जानीजानी तत्कालीन एमाओवादी (प्रचण्ड) र एमाले कम्युनिस्टहरूलाई माधव नेपालपछि प्रधानमन्त्री बनाउने ध्येयले प्रधानमन्त्रीकाे चुनावमा स्वार्थवश ‘तटस्थ’ बसेका तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालहरूलाई मतदानमा सक्रिय नपारिदिँदा १७ पटक लाेकतन्त्रकाे बचाउसहित प्रधानमन्त्रीमा मत नपाएर हारेका काँग्रेेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले आज मतकै आधारमा उनै सुवास नेम्वाङलाई पराजय गरेर ‘पृथ्वी गाेलाे छ, एकदिन त्यहीँ पुगिन्छ र खराब नियतले गरेकाे कर्मकाे फल भाेग्नुपर्दछ’ भन्ने पाठ सिकाउँदै छन् । आज आठ दलीय काँग्रेसी उम्मेद्वार पाैडेलसँग गणतन्त्र र वर्तमान संविधान बचाउने अठाेट छ भने राप्रपा र रास्वपा हालसम्म यस निर्वाचनमा निष्क्रिय रहँदा केवल एमालेका उम्मेद्वार रहेका नेम्बाङसँग आफ्नै दल एमाले र अध्यक्ष केपी ओलीका संविधानविराेधी हर्कत र त्यसमा संविधान निर्माण थलाेका प्रमुखकाे पूर्व हैसियतले बाेल्न नसकेकाका नेम्बाङसँग नैतिकरूपले राष्ट्रपतिमा जित्नलाई मतदातासँग बाेल्ने कुनै मुद्दा छैन त्यसैले उनी फागुण १९ गते शुक्रवार राससका दुई अन्तर्वार्ताकारलाई अन्त्यमा ‘राष्ट्रपति म हुँदा जनताले बाटाेमा सडक जाम र आकाशमा उड्दा अन्य जहाज अवरूद्ध हुन नपर्ने’ घटिया अजेन्डा सुनाए !

आज एमाले उम्मेद्वार नेम्बाङ्गसँग काँग्रेस, मधेशवादी दलहरू, नागरिक उन्मुक्ति पार्टीहरूबाट स्यालले कुखुरा चाेर्ने जस्ताे गरी उनका अध्यक्ष ओलीले नेम्वाङलई ‘जनजाति’ उम्मेदवारकाे कार्ड खेलेर गाेप्य मतदानबाट ‘मत क्रस’ गरेर जित्ने खुराफाती दाउबाहेक जायज मुद्दा छैन तर आमजनता भने हजाराैं मान्छे माओवादीका सशस्त्र द्वन्द्व र सयकडाैं मान्छेहरू दाेस्राे जन आन्दाेेलन र अलग-अलग तीनवटा मधेश आन्दाेलनहरूमा बलिदानी दिएर गणतन्त्र र वर्तमान संघीय लाेकतान्त्रिक गणताान्त्रिक संविधान ल्याएकाले भाेट-क्रस गरेर राष्ट्रपतिमा जित्न चाह्ने नेम्बाङ जाे पछि एमाले अध्यक्ष ओलीकाे नियन्त्रणमै बस्नेछन् भन्दा राम्राे उपलब्धिलाई रक्षा गर्ने स्वविवेक प्रयाेग गर्ने काँग्रेसी राष्ट्रपति उम्मेद्वार रामचन्द्र पाैडेललाई नै राेज्नेछन् ।

हाे, यदि एमालेहरूले ‘जनजाति’ कार्डमा नक्कली जनजाति नेम्बाङ, जाे जनजाति त आफूलाई भन्छन् तर मधेशीहरू मरिरहँदा उनकाे अधिकारलाई बेवास्ता गरेर उनकाे रगतमा पाेतिएकाे संविधान २०७२ सालमा जारी गराए, उनका लागि भाेट क्रसमा लाग्छन् भने काँग्रेस र उसकाे ८ दलीय अलायन्सले पनि तिम्राे एमालेका विगत बाहुन र महिला राष्ट्रपति रहँदैमा गणतन्त्र र वर्तमान संविधानकाे रक्षार्थ के-के गरे भनेर एमाले र रास्वपाहरूकाे मत क्रस गराएर रामचन्द्र पाैडेलतिर तान्न सक्नुपर्छ !

(लेखक पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुन् )

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय