लोकतन्त्रमा ‘स्वतन्त्र’को नाङ्लो पसल

नानु दाहाल

आम निर्वाचन २०७९ नजिक आउँदैछ । मंसिर-४ गते आइतबार देशभर एकैपटक प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले जिल्ला-जिल्लामा राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारको निर्वाचन ‘चिन्ह’ सहितको मतपत्र समेत पठाइसकेको छ ।

देशको १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५ हजार भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । यसपटक चुनावमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को एउटा गठबन्धन र नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेत अन्य केही साना दल समेतको अर्को गठबन्धन बनेको छ । गठबन्धनबाहेक पनि केही नयाँ तथा पुराना दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् ।

तर, यसपटक दुई ठुला गठबन्धन र साना दल बाहेक अर्को व्यक्ति-व्यक्तिको चुनावी समुह पनि मैदानमा छ । जसले आफुलाई ‘स्वतन्त्र’ उम्मेदवार भनेर प्रचारप्रसार गरिरहेका छन् । दलका उम्मेदवार भन्दा बढी संख्या ‘स्वतन्त्र’ भन्नेहरुको छ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङकै शैली र हाउभाउसहित नेपाली झन्डा ओढेर मैदानमा आएका यी उम्मेदवारको पृष्ठभुमि हेर्यो भने को कति स्वतन्त्र ? भन्ने प्रश्न खडा हुन्छ ।

पहिलो कुरा ‘स्वतन्त्र’ को परिभाषाभित्र कस्तो व्यक्ति पर्दछ भन्ने कुरा मुख्य हो । दोस्रो कुरा ‘स्वतन्त्र’ भनिसकेपछि उसले एजेन्डा के लिएको छ ? भन्ने प्रश्न आउँछ जो व्यक्ति ४० वर्षदेखि यो वा त्यो पार्टीमा रगत पसिना बगाए तर केही पाइन अब मलाई हिसाब चाहियो भनेर ‘स्वतन्त्र’बनेको छ । अनि केही ‘स्वतन्त्र’ नामधारी यस्ता पनि छन जसको अझैपनि राजनीतिक दलको सदस्यता कायम छ र पार्टीलाई मासिक लेवी(शुल्क) बुझाएको रसिद गोजीमा भेटिन्छ ।

अनि अर्काथरी ‘स्वतन्त्र’ यस्ता छन् जो केही महिना अघिसम्म पार्टीको राजनीतिक नियुक्तिमा सरकारी जागिरे नै थिए । र केही स्वतन्त्र भन्नेहरू त झन् गत वैशाख ३० गतेसम्म पार्टीकै तर्फबाट निर्वाचित जनप्रतिनिधिको कुर्सीमा विराजमान थिए । उनीहरुले अहिले पनि पार्टीको सदस्यता त्यागेका पनि छैनन् र पार्टीमा राजीनामा दिएर स्वीकृत भएको पनि भनेका छैनन् । तर, पार्टीको झन्डा भोलि फेरि चाहिन्छ कि भनेर घरमा थन्क्याउने अनि चुनाव प्रचारप्रसारमा चाहिँ राष्ट्रिय झन्डा ओढेर ‘स्वतन्त्र’ भनिरहेका छन् ।

यद्यपि अचम्मको कुरा के छ भने उनीहरु ‘स्वतन्त्र’ भन्ने शब्दसँगै आफ्नो पेशाको परिचय समेत दिएर जनतालाई भुलभुलैयामा पारिरहेका छन् । म स्वतन्त्र इन्जिनियर, स्वतन्त्र डाक्टर, स्वतन्त्र प्राध्यापक, स्वतन्त्र वकिल, स्वतन्त्र बुद्धिजीवी अनि म स्वतन्त्र पत्रकार र कलाकार भनेर मैदानमा आएका धेरैजसो अनुहार हिजो राजनीतिक दलका तिनै भ्रातृसंगठन र पेशागत संगठनमा आबद्ध देखिन्थे ।

एकातिर लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको वकालत पनि गर्ने अर्कोतिर लोकतान्त्रिक विधि र मुल्य मान्यताको चर्को विरोध पनि गर्ने दोहोरो चरित्रले यतिबेला ‘स्वतन्त्र’ भन्नेहरूको खेती चलिरहेको छ । तर, हामीले बुझ्नैपर्ने एउटा सत्य कुरा के हो भने लोकतन्त्रमा विचार हुन्छ, राजनीतिक दल हुन्छ र दलहरूबीचको प्रतिस्पर्धाबाट कुनै एउटाले जित्छ अनि अर्कोले हार्छ । जित्नेले शासन गर्छ हार्नेले प्रतिपक्षमा बसेर राम्रो कामको सकारात्मक आलोचना र नराम्रो कामको खबरदारी गर्दछ । अर्थात लोकतन्त्रमा जसको विचार राम्रो छ त्यही दलले जनताको मन जित्छ र चुनावमा मत पाउँछ ।

त्यसैले, हामी यदि लोकतन्त्रमा विश्‍वास गर्दछौं भने कुनैपनि राजनीतिक पार्टीको नीति, विचार, सिद्दान्तको विषयमा बहस गर्न सक्छौं तर,पार्टीले लिएको विचार, सिद्दान्त र लोकतान्त्रिक शासन व्यवस्था खराब हुँदैन । कहिलेकाँही दलभित्रको नेतृत्व स्वेच्छाचारी बन्न सक्छ वा केही नेताले आफुलाई असल र अरुलाई खराब देख्‍न सक्छ । यसो भन्दैमा राजनीतिक पार्टी खराब, उसले लिएको नीति खराब र पुरै राज्य व्यवस्था नै खराब भन्‍न सकिएला र ? अनि लोकतन्त्र असफल भयो, नेता भ्रष्ट भए वा देश बनेन भनेर गाली गर्नु नै ‘स्वतन्त्र’ हुनु हो र ?

हिजो आफू त्यही पार्टीमा हुँदा वा पद आफुले पाउँदा सबै ठिक आज केही समय पद गुम्यो वा अवसर पाइएन भनेर क्षणिक आवेगमा आउनु र दललाई गाली गर्नु नै लोकतान्त्रिक मुल्य,  मान्यता र विधि होला र ? यदि त्यसै हो भने अहिले ‘स्वतन्त्र’ भनेर नेपालको झन्डा ओढेर चोक र गल्लीमा राजनीतिक दलका नेताकार्यकर्तालाई गाली गर्नेहरुलाई पनि हेरौं न त । तिनले समाजमा गरेको योगदान के हो ? तिनी सांसद वा मन्त्री र नहुँदा देशलाई कति घाटा भयो र अब तिनलाई त्यो पद दिएपछि केके फाइदा हुने हो ? अनि तिनको विचार र सिद्दान्त कुन हो ? पुग्ने गन्तव्य कहाँ हो ? विकास गर्ने एजेन्डा के हो ?

यी प्रश्नहरुको जवाफ दिने हैसियत भएकाहरू कोही साँच्चिकै ‘स्वतन्त्र’ बनेर चुनावी प्रतिस्पर्धा गरिरहेका हुन् भने तिनलाई एउटा मात्रै प्रश्न सोधौं कि तपाईंले जितेपछि जनताको जीवनस्तरमा चामत्कारिक परिवर्तन आउने ग्यारेन्टी के हो ? स्वतन्त्रले चुनाव नजितेकै कारण देश बिग्रेको हो विकास रोकिएको हो भने २०१५ सालको आम निर्वाचनमा पनि स्वतन्त्रबाट जित्ने सांसद थिए । पन्चायतको पालामा पनि जनपक्षीय उम्मेदवारले जित्ने गरेका थिए होइन र ?

अनि २०४६ सालको जनआन्दोलनपछि भएको आमनिर्वाचन २०४८, मध्यावधि २०५१, आम निर्वाचन २०५६ अनि २०६४ र ०७० को संविधान सभा निर्वाचन तथा २०७४ को आम निर्वाचनमा पनि ‘स्वतन्त्र’ उम्मेदवारले जितेकै थिए । आज यो पनि हेरौं न त ती स्वतन्त्र उम्मेदवारले जितेको क्षेत्रमा अन्त भन्दा बढी विकास केके भयो ? जनताले फरक कहाँनेर पाए ?
२०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र मेयरले जितेका नगरपालिका पनि थिए ।

अनि स्वतन्त्रले जितेका वडा र गाउँपालिकामा भएको विकासको ‘रोलमोडल’ हेरौं न त । अहिले स्वतन्त्रको नाममा चुनावी ‘च्याखे’दाउ थाप्‍ने व्यक्तिहरुले यसभन्दा अगाडिका निर्वाचनमा ‘स्वतन्त्र’ उठेर जितेका ठाउँको नाम लिएर राजनीतिक दलले जितेको क्षेत्र भन्दा यो कारणले फरक भयो भनेर देखाउन सकिन्छ कि सकिँदैन ?

यसर्थ, सस्तो लोकप्रियताको लागि असत्य र तथ्यहीन कुरालाई आधार बनाएर जनताको मनस्थितिलाई खल्बल्याउने र त्यसैको आडमा आफ्नो स्वार्थ पूरा गर्ने ‘स्वतन्त्र’ हौवाले केही हुन्छ जस्तो लाग्दैन । यदि राजनीतिक दल र लोकतन्त्रलाई गाली गरेकै भरमा जनता झुक्याएर १/२ सिट जितिहाले पनि कुनै चमत्कार हुनेवाला छैन । तथ्यले प्रमाणित गर्न नसक्ने तर, चर्को बोलेर ‘हो’ भन्ने देखाएर जनता झुक्याउने ‘स्वतन्त्र’ नामको व्या पारलाई बन्द गरेर लोकतान्त्रिक विधि र पद्धतिमा केही सुधार गर्नुपर्ने हो भने त्यसैमा सबै लाग्नु नै हितकर हुनेछ ।

तसर्थ, दलहरूले ‘तँ राजावादी, म लोकतन्त्रवादी’ वा ‘तँ दलाल, म देशभक्त’ अनि ‘तँ भ्रष्ट, म स्वच्छ’ भनेर एक अर्कामा हिलो छ्याप्ने भन्दा पनि आफुलाई सुधार्ने र लोकतन्त्रको रक्षा गर्ने कुरामा एक भएर अगाडि बढ्न आवश्यक छ ।

लेखक नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय