लोकतन्त्रमा स्वतन्त्रको ‘च्याखे’दाउ

शीरज शर्मा

‘ठूलो समुहमा भएका मुर्खहरुको भिडलाई नजर अन्दाज नगर्नुस्’ यो भनाइले मलाई कहिलेकाहीँ सोच्न बाध्य बनाइदिन्छ । साँच्चिकै आजको दिनमा कुनै पनि कुरालाई तथ्य नबुझिकन पनि यदि ठूलो समूहले ‘हो’ भनेपछि त्यसलाई ‘होइन’ भनेर आफ्नो तर्क राख्‍नै पाइदैंन ।

उदाहरणको लागि नायक पल शाह र क्रिकेटर सन्दिप लामिछाने माथि लागेको अभियोगलाई नै हेरौं न । अभियोग लाग्दैमा कुनै पनि व्यक्ति दोषी हुँदैन । तर, हामी मध्येको ठूलो समूहले नेपालको प्रहरी प्रशासन, कानुन, संविधान, अदालतले गर्नुपर्ने तमाम कामहरूलाई एकैपटक फैसला नै गरिदियौं नि होइन ?

अभियोग लागेको व्यक्ति पक्राउ नपर्दै, प्रहरीले अनुसन्धान गर्नुभन्दा अगाडि नै, कानुन व्यवसायीले उजुरी नहेर्दै, उजुरीकर्ता र आरोप लागेको व्यक्तिको बयान, साक्षी र बकपत्र नहुँदै अनि न्यायाधीशको बेन्चमा मुद्दाको फाइल नपुग्दै हामी जो कसैलाई दोषी करार गरिदिन सक्ने भएका छौं । सायद हामीले ल्याएको लोकतन्त्रले नै यो सबै अधिकार हामीलाई दिएको होला !

अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, स्वतन्त्र पार्टी गठन गरेर पुरानो पार्टी र तिनका नेता काम छैन भन्ने रवि लामिछाने अनि ज्ञानेन्द्र शाहको नाति ह्दयेन्द्र शाहलाई राजा बनाउनुपर्छ भन्ने रविन्द्र मिश्रलाई समर्थन गर्ने जमात ठूलो छ । यसलाई चाहेर वा नचाहेर पनि स्वीकार गर्नैपर्छ । राजनीतिक दलका युवा र विद्यार्थी सडकमा आउँदा लोकतन्त्र जोगिने वा रवि, रविन्द्र, बालेन र हर्कको समर्थन गर्दा लोकतन्त्र खतरामा पर्ने भन्ने अवश्य होइन ।

तर, एउटा सत्य कुरा के हो भने लोकतन्त्रमा विचार हुन्छ, राजनीतिक दल हुन्छ र दलहरुबीचको प्रतिस्पर्धाबाट कुनै एउटाले जित्छ अनि अर्कोले हार्छ । जित्नेले शासन गर्छ हार्नेले प्रतिपक्षमा बसेर राम्रो कामको  सकारात्मक आलोचना र नराम्रो कामको खबरदारी गर्दछ । अर्थात् लोकतन्त्रमा जसको विचार राम्रो छ त्यही दलले जनताको मन जित्छ र चुनावमा मत पाउँछ ।

त्यसैले लोकतन्त्रमा विश्वास गर्ने कुनैपनि राजनीतिक दल, उसले अंगालेको विचार, सिद्धान्त र व्यवस्था खराब हुँदैन । तर, कहिलेकाहीँ दलभित्रको नेतृत्व वा केही व्यक्ति खराब हुन सक्छन् । यसो भन्दैमा पुरै व्यवस्था नै खराब, लोकतन्त्र नै असफल, नेता चोर, राजनीतिक पार्टी फटाहा, लुटेरा भन्नु र ‘स्वतन्त्र’को हौवा फैलाउनु उचित होइन ।

क्षणिक आवेगमा आएर हामीले राजनीतिक दललाई गाली गरिरहँदा ‘स्वतन्त्र’भनेर अगाडि आएका व्यक्तिलाई पनि हेरौं न त । तिनले समाजमा गरेको योगदान के हो ? तिनी सांसद वा मन्त्री र प्रधानमन्त्री नहुँदा देशले कति क्षति व्यहोर्नुपर्यो र अब तिनलाई त्यो पद दिएपछि के-के फाइदा हुने हो ? अनि तिनको विचार कुन हो ? पुग्ने गन्तव्य कहाँ हो ? विकास गर्ने एजेन्डा के हो ? जितेर गएपछि जनताको नै काम गर्छन् भन्ने ग्यारेन्टी के हो ? उम्मेदवार बनेर भोट माग्न आउँदा यसको जवाफ पनि माग्नुपर्ने हो कि ?

अनि विकास गर्न स्वतन्त्र भएपछि मात्रै सकिन्छ भन्ने हो भने ०१५ सालको आम निर्वाचनमा पनि स्वतन्त्रबाट जित्ने सांसद थिए । पन्चायतको पालामा पनि जनपक्षीय उम्मेदवारले जितेका थिए । अनि ०४६ सालको जन आन्दोलनपछि भएका २०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ र २०७० को संविधानसभा निर्वाचन अनि २०७४को आम निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’ले जितेकै थिए । आज यो पनि हेरौं न त ती स्वतन्त्र उम्मेदवारले जितेको क्षेत्रमा विकासको नयाँ मोडल के भयो ? जनताले फरक कहाँनेर पाए ?

२०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र मेयरले जितेका नगरपालिका पनि थिए । अनि स्वतन्त्रले जितेका वडा र गाउँपालिकामा भएको विकासको ‘रोलमोडल’ हेरौं न त । अहिले स्वतन्त्रको नाममा चुनावी ‘च्याखे’दाउ थाप्ने व्यक्तिहरुले यसभन्दा अगाडिका निर्वाचनमा ‘स्वतन्त्र’ उठेर जितेका ठाउँको नाम लिएर राजनीतिक दलले जितेको क्षेत्र भन्दा यो कारणले फरक भयो भनेर देखाउन सकिन्छ कि सकिँदैन ?

यसर्थ, ठूलो संख्या र चर्को बोलीले  कहिलेकाहीँ सत्य कुरालाई पनि असत्य र झुठो बनाइदिन सक्छ । अनि असत्य र तथ्यहिन कुरालाई आधार बनाएर जनताको मनस्थितिलाई खल्बल्याउने र त्यसैको आडमा आफ्नो स्वार्थ पूरा गर्नेहरुको जमातदेखि टाढै बस्नुपर्ने हुन्छ । पछिल्लो समय नेपालको राजनीतिमा यस्तै कुराले स्थान पाइरहेको छ ।

कुनैपनि कुरालाई तथ्यले प्रमाणित गर्न नसक्ने तर चर्को बोलेर ‘हो’ भन्ने बनाउने परिपाटी बढ्दो छ । आफुलाई समाजसेवी, सहयोगी, मनकारी, राष्ट्रसेवक भन्ने केही व्यक्तिका विचार पढ्यो वा अन्तर्वार्ता हेर्यो भने देश बनाउने असली अनुहार त साँच्चिकै यी पो रहेछन् भन्ने लाग्दछ । सत्य र तथ्य एकातिर र असत्य र भ्रम अर्कोतिर भैरहेको आजको समाजमा यही भ्रमको कारण राजनीतिक दल र तिनका नेताले गाली खाइरहेका छन् ।

त्यसैले लोकतन्त्रमा दलहरूले बाटो बिराउन थालेपछि भ्रम र असत्यले त्यो ठाउँ लिन सक्छन् । तसर्थ, दलहरूले ‘तँ राजावादी, म लोकतन्त्रवादी’ भनेर एक अर्कामा हिलो छ्याप्ने भन्दा पनि  आफुलाई सुधार्ने र लोकतन्त्रको रक्षा गर्ने कुरामा चनाखो हुन आवश्यक छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय