निर्मला पन्त प्रकरणपछि जगदिश भट्टलाई बर्खास्त गर्ने तयारीपछि श्रीमती निर्मलाको विलौना

कञ्चनपुर । निर्मला पन्त प्रकरणमा अनुसन्धान गर्दा लापरबाही गरेको भन्दै बर्खास्तीका लागि सिफारिसमा परेका प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टको परिवारले उनलाई बलिको बोको बनाएको आरोप लगाएका छन् ।

भट्टलाई बर्खास्तीका लागि प्रहरी प्रधान कार्यालयले गृहलाई सिफारिस गरेपछि सोमबार भट्टको परिवारले भीमदत्त नगरपालिका–१८ निम्बुखेडा स्थित घरमै पत्रकार सम्मेलन गरेर जगदिशलाई सरकारले फसाउन खोजेको आरोप लगाएका हुन् । भट्टका परिवारले प्रहरीले नै अनुसन्धानका नाममा जगदिशलाई मानसिक यातना दिएकोसमेत बताए । जगदिशकी श्रीमती निर्मला भट्टले अनुसन्धान अधिकारी र मुद्दा फाँटका इन्चार्ज नभइ घटना भएको क्षेत्रमा वडा इन्चार्ज भएका कारण उनलाई फसाउन खोजेको गुनासो पोखिन् ।

निर्मला हराएको विषयमा पीडित परिवारले वडा कार्यालयमा फोन मार्फत जानकारी गराएको र हुलिया सहित फोटो ल्याउनु भनेर श्रीमानले भनेको उनले बताइन् । निर्मलाको शव फेला पर्ने वित्तिकै श्रीमानले नै बमको घरमा खानतलासी र सोधपुछ गरेको श्रीमतीको दावी छ ।

निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टलाई बर्खास्तीका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।