महिला हिंसा तथा अपराध न्युनिकरणका लागि ‘हेल्लो सिएम’ एप सार्वजनिक

धनुषा । प्रदेश २ मा महिला हिंसा तथा अपराध न्युनिकरणका लागि ‘हेल्लो सिएम’ एप सार्वजनिक भएको छ ।

बढ्दै गएको महिला हिंसा तथा अपराध सम्बन्धि घटनाहरुलाई न्युनिकरण गर्न प्रदेश सरकारले हेल्लो सिएम एप सार्वजनिक गरेको हो । प्रदेश प्रहरी कार्यालयले आइतवार जनकपुरमा आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा एपको सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले महिला हिंसा तथा अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न प्राविधिको प्रयोग अपरिहार्य भइसकेको बताए । उनले एपको बारेमा ग्रामीण स्तर सम्म जानकारी गराउने गरि सचेतना मुलक कार्यक्रम संचालन गरिने समेत उल्लेख गरे ।

हेल्लो सिएम एपको मद्धतले हिंसा वा आपत परेको बेला आफु नजिकको प्रहरी कार्यालयमा तुरन्त सम्पर्क गर्न सक्ने र प्रहरीले लोकेसन ट्रयाक गरेर पीडितसमक्ष तुरन्त पुग्न सक्ने बताइएको छ । फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रहरी ऐन ल्याएपछि केन्द्र सरकारले प्रदेशसमा रहेका प्रहरीलाई जिम्मा लगाउन तयार भएकोमा खुशी व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले समाजमा महिला हिंसासम्बन्धी घटनाहरु सबभन्दा बढी हुने गरेकाले यसलाई प्रविधीको प्रयोग गरि नियन्त्रण गर्नुपर्ने बताए । शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरसमय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।