२०२० को टि २० वल्र्ड कपको छनौट खेलका लागि यस्तो छ नेपाली टोली

काठमाण्डौ । सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० वल्र्ड कपको क्वालिफायर अन्तर्गत एसिया क्षेत्रको पहिलो चरणको छनोटका लागि प्रारम्भिक नेपाली टोलीको नाम सार्वजनिक भएको छ ।

प्रारम्भिक चरणमा शरद भेषावकर, शहाब आलम र दिपेश श्रेष्ठले पनि स्थान बनाएका छन् । यस्तै राष्ट्रिय टोलीका नियमित सदस्य रहेका रोहित पौडेलले भने टी–२० क्वालिफायर नखेल्ने भएका छन् । उनलाई बंगलादेशमा हुने यू–१९ एसिया कपको लागि रिलिज गरिएको राष्ट्रिय टिमका व्यवस्थापक तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

गत अगष्ट पहिलो साता नेदरल्याण्ड्ससँग भएको ओडिआई सिरिजमा औँलामा चोट लागेका कारण शरदले एसिया कप छनोट खेलेका थिए। झण्डै ६ साताको आरमपछि उनी टिममा परेका हुन् ।

प्रारम्भिक सूचीमा परेका १८ बाट १४ सदस्यीय अन्तिम खेलाडी छनोट गरिनेछ ।

एसिया क्षेत्रको छनोटको समूह बी मा रहेको नेपालले सेप्टेम्वर २० बाट तयारी सुरु गर्नेछ। छनोट प्रतियोगिता अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुनेछ ।

समूह बी मा रहेको नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन, भुटान र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । यस चरणमा शीर्ष तीन स्थानमा रहने टोली एसिया क्षेत्रकै दोस्रो चरणको छनोटका लागि छानिनेछ। जहाँ कूल ६ टिमबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट उत्कृष्ट दुई टिम ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।

यस्तो छ १८ सदस्यीय नेपाली टोली

पारस खड्का (कप्तान) , अनि साह , बसन्त रेग्मी ,बिनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरी , सागर पुन, सन्दीप लामिछाने, शहाब आलम, शरद भेषावकर, सोमपाल कामी, सुनिल धमला
आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनोट समितिले १८ खेलाडी छनोट गरेका हुन् ।