राष्ट्रपति भण्डारी १२ गते कतार जाने

काठमाण्डौ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणलाई स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार अपरान्ह बसेको मन्त्रीपरिषद् बैठकले कतारका राष्ट्राध्यक्षको निमन्त्रणमा हुनलागेको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणलाइ स्वीकृत गर्ने निर्णय गरेको हो । राष्ट्रपति भण्डारी कार्तिक १२ गते कतार जाने र १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

राष्ट्रपतिको भ्रमणको अवसरमा नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ गर्ने काम हुने प्रवक्ता बास्कोटाले बताए ।

त्यस्तै बैठकले मलेसिया सरकारसँग हुने श्रम सम्झौताको एमओयुलाई स्वीकृत गर्दे एमओयुमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई दिने निर्णय गरेको छ । त्यस्तै बैठकले गोरखापत्र दैनिकका महाप्रबन्धक बसन्तप्रकास उपाध्यायलाई पदमुक्त निर्णय गरेको छ भने बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।