बीएण्डसी अस्पतालले जोड्यो छिनिएको हात

झापा । झापाको विर्तामोडमा रहेको बिएन्डसी अस्पतालका चिकित्सकले मोरङको रंगेली–५ घरभएका ३५ वर्षीय प्रविण मण्डलको छिनेको हात जोडेका छन् ।

गत असोज २२ गते सुनसरीको इटहरीस्थित आकाश फुडस् प्रालिमा वासिङ् मेशिनमा काम गर्ने क्रममा बायाँ हात मेसिनले छिनाएको थियो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनले उनको उपचार गर्न नसक्ने भन्दै उपचारका लागि बिएन्डसी पठाएको थियो ।

हात छिनेको ६ घण्टापछि मण्डल अस्पताल पुगेका थिए । विएण्डसीका हाड जोर्नी विशेषज्ञ डाक्टर निराजन पराजुली नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको हो ।