उमेरहद लागेपछि नेवि संघको अध्यक्ष को बन्ला ? यस्तो छ सम्भावना

काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हदबन्दी लागु भएसँगै विवाद बढेको छ ।

कांग्रेस केन्द्रिय समितिले संघको उमेरहद कायम गरिएको विधान पारित गरेपछि यो विषयले तरङ्ग पैदा गरेको हो । केन्द्रिय समितिमा उमेरहदबार एकमत हुन नसकेपछि नेताहरु दुई कित्तामा बाँडिएका छन् ।

कांग्रेसको बैठकले नेविसंघ विधानको एउटा धाराका रुपमा रहेको ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरिसकेको छ । यो निर्णयमा रामचन्द्र पौडेलसँगै कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुनरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

नेपाल विद्यार्थी संघभित्रै पनि यो विषयले हलचल ल्याएको छ ।

विधान संशोधन१२ औँ महाधिवेशनमा अध्यक्षका प्रमुख दाबेदार मानिएका नेताहरुको बाटो बन्द भएको छ । बाटो त्यस्ता नेताहरको बन्द भयो, जो ३२ वर्ष नाघेका छन् ।

उमेरहदले अघिल्लो तहका नेताहरु अध्यक्ष बन्न नपाउने भएपछि दोस्रा तहमा रहेका नेताहरुलाई अवसर पनि मिलेको छ । तर अवसरसँगै अध्यक्षका प्रत्यासीहरु पनि बढेका छन् ।

अध्यक्षका दाबेदार मानिएका तर उमेरहदका कारण बन्न नसक्ने नेताहरुमा वर्तमान कार्यसमितिका उपाध्यक्ष पुष्पकुमार शाही र पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, महामन्त्री सरोज थापा, पूर्व महामन्त्री मनोजमणि आचार्य, गएको चुनावका महामन्त्रीका प्रत्यासी हिमालदत्त श्रेष्ठ र दीपक भट्टराई, बर्तमान उपाध्यक्ष उर्मिला थपलिया र निलकण्ठ रिजाल, उपाध्यक्ष नवीन राई र महामन्त्री कुन्दनराज काफ्ले रहेका छन् ।

माथि उल्लेखित मध्ये प्रबद दाबेदारका रुपमा काफ्ले देखिएका थिए । त्यसैले अब पनि काफ्लेकै लाइन नेताहरु अध्यक्ष बन्ने सम्भावना छ ।

उमेर हदबन्दी तोकिएसँगै सहमहामन्त्री डा. प्रकाशशरण महतनिकटका प्रेमराज जोशी, अम्बिका चलाउने, शुशील भट्ट लगायतले अध्यक्ष हत्याउने सम्भावना बढेर गएको छ ।

तीन जनामध्ये कुन्दनराज काफ्ले निकट मानिने शुशील भट्टलाई प्रमुख दावेदारको रुपमा हेरिएको छ । अघिल्लो महाधिवेशनमा भट्टले काठमाण्डौ उपत्यकाबाट सबैभन्दा धेरै मत ल्याएर केन्द्रिय सदस्य जितेका थिए ।

अहिलेको कार्यसमितिमा सबैभन्दा सक्रिय कोही छ भने उनै भट्ट हुन् । नेवि संघभित्र पनि उनको लोकप्रियता अरुको भन्दा बढि छ ।

लमजुङ जिल्लामा जन्मिएर काठमाडौंमा राजनीति सुरू गरेका भट्ट स्कूल तहदेखि नै नेविसंघको राजनीतिमा लागेका थिए ।

समाजशास्त्र विषयमा स्नातकोत्तर गरिरहेका भट्ट कलिलो उमेरमै विद्यार्थी नेता बनेका व्यक्ति हुन् ।

नेशनल मोडल स्कूल बालाजुबाट २०६२ सालदेखि राजनीतिमा लागेका उनी उक्त स्कूलको स्कूल समितिको इकाई सभापति बनेका थिए । वि सं २०६४ सालमा नेविसंघको केन्द्रीय स्कूल समिति अध्यक्ष बनेका उनले २०६४ सालमा ग्रामीण आदर्श क्याम्पसको इकाई उपाध्यक्ष बनेका थिए ।

ग्रामिण आदर्श क्याम्पसको पूर्व ईकाइ अध्यक्ष रहेका सुशिल भट्ट नेविसंघ केन्द्रीय सदस्य हुन् । कुनैबेला तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ‘स्कूल स्कूलमा नेविसंघ’ अभियानको संयोजक भट्टलाई बनाएका थिए । नेविसंघ केन्द्रीय सदस्य भट्ट कुन्दनको ‘दाहिने हात’ सरह भएको उनकै समूहका अधिकांशले बताउँछन् । २३ वर्षमुनिका मतदाताको अधिकारका लागि २०७० को संविधानसभा चुनावताका उनकै अगुवाईमा अभियान चलेको थियो ।

अध्यक्षका दाबेदारहरुमा शिव रिमाल, सागर परियार, डोजाङ शेर्पा, नवराज त्रिपाठी र गणेश सापकोटालाई पनि लिइएको छ ।