सरकार गभर्नर कहिले बनाउने ?
सम्पादकीयसंसदमा बजेट अधिवेशन चलिरहेको छ। सरकारले बजेट अघि प्रस्तुत गर्नुपर्ने निति तथा कार्यक्रम पनि प्रस्तुत गरेर त्यसैमा सांसदहरु आफ्ना राय दिइरहेका छन् । अब जेठ १५ मा वार्षिक बजेट प्रस्तुत हुनेछ। त्यो भन्दा अगाडि मौद्रिक नितिको तयारी पनि हुनुपर्छ ।
तर,बिडम्बना अहिले देशको अर्थतन्त्रबारे छलफल भैरहदा नेपाल राष्ट्र बैंक भने गभर्नर बिहिन अवस्थामा छ। कायममुकायम (कामु) गभर्नर डा.नीलम ढुंगाना तिम्सिनालाई दिइएको छ। उनले गर्नुपर्ने र गर्न मिल्ने काम बाहेक अन्य कुरामा अधिकार छैन। त्यसैले उनी जल्दाबल्दा बिषयमा पनि खासै जोखिम उठाउन खोजिरहेकी छैनन् ।सरकारले गभर्नर नियुक्ति गर्न समिति बनाएपनी सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच गभर्नरमा अझै कुरा मिलेको देखिदैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा बैशाख पहिलो साता थाइल्यान्ड जानुअघि नै गभर्नर कांग्रेसको भागमा पारेर गएका थिए। त्यसमा ब्यक्ति समेत कन्फर्म गरिएको थियो। राष्ट्र बैंककै कार्यकारी निर्देशक डा.गुणाकर भट्टको नाम टुंगो लागेर उनलाई राजीनामा दिन लगाइयो । यद्यपि उनको राजीनामा अझै स्वीकृत भएको छैन। बरु यही बिचमा देउवाको थाइल्यान्ड भ्रमणदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटकपटक भेटघाट र छलफल पनि हुँदै आयो। तर,गभर्नर नियुक्ति हुन सकेन। कारण के हो ? यसको जवाफ प्रधानमन्त्रीले दिने कि देउवा वा अरु कसैले ?
त्यसपछि बसेका मन्त्रीपरिषद बैठकमा गभर्नर नियुक्ति हुनसक्छ भन्ने अड्कल गर्दा गर्दै अब यो बिषय झन् गिजोलिन थालेको छ।गुणाकरको योग्यतामा प्रश्न उठाएर अदालतमा मुद्दा दायर,गभर्नर सिफारिस समिति सदस्यबाट बिजयनाथ भट्टराईको राजिनामा,नयाँ सदस्य महाप्रसाद अधिकारी नियुक्ति र अहिले अधिकारी कै योग्यतामा समेत प्रश्न उठाउदै मुद्दा दायर हुनु संयोग हो वा नियत ? गभर्नर नियुक्तिमा प्रधानमन्त्री नै अनिच्छुक हुन् कि देउवा ? कांग्रेस भित्रको झगडा हो कि एमालेको लफडा ? ब्यक्तिमा समस्या हो कि अन्य चलखेल ? अहिले यस्ता धेरै प्रश्न उठ्न थालेको छ।
उता कामु गभर्नर ढुङ्गानाले भट्टको राजिनामा स्वीकृत गरेर प्रतिस्पर्धी थप गर्न नचाहेको बताईसकेकी छन् । उनले आफूले आफैँविरुद्ध प्रतिस्पर्धी नथप्ने भनेको कुरा बाहिर आएको छ। यदी यो सत्य हो भने अझै गभर्नर को हुने टुंगो छैन। गुणाकर भट्ट बाहेक पनि ज्ञानेन्द्र ढुंगाना र स्वयं निलम तिम्सिना लगायत अन्यबिचमा अझै शक्तिकेन्द्र धाउने र गभर्नरको प्रतिस्पर्धामा देखिने समय बाकी छ। यसो हुँदा अझै हामीले गभर्नर पाउने समय अनिश्चित देखिन्छ।