पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…
प्रा. खगेन्द्रप्रसाद भट्टराईम बाहिरबाट आएर घरको भर्याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. गोविन्द शर्माको फोन रहेछ । उहाँले भन्नुभयो, ‘राजाका सचिव सागर तिमिल्सिनाले तपाईंलाई धेरै खोज्नुभएछ, भेट्न नसकेपछि उहाँले मेरो सहयोग माग्नुभयो । उहाँलाई फोन गर्नु रे ।’ डाक्टर शर्माले मलाई तिमिल्सिनाजीको मोबाईल नम्बर दिनुभयो । केही समय पछाडि तिमिल्सिनाजीले नै मलाई फोनमा सम्पर्क गर्नुभयो र भन्नु भयो, ‘यहाँलाई भेट्न मैंले धेरै कोशिस गरें । सम्पर्क नभएपछि डाक्टर शर्मालाई सहयोगका लागि अनुरोध गरेको थिएँ । अहिले सम्पर्क हुन पाएकोलमा खुशी छु ।
महाराजधिराज सरकारबाट यहाँलाई ज्येष्ठ ४ गते (२०६१ साल) गोकणर् रिसोर्टमा ११ बजे लञ्चका लागि आमन्त्रण गरिबक्सेको छ । त्यही खबर गरौं भनेर । पाल्नुहोला ।’ मैंले सोधें, ‘कति मान्छे हुन्छन् होला ?’ ‘म यति नै भनेर भन्न सक्दिनँ । केही बौद्धिक व्यक्तिहरुलाई आमन्त्रण गरिबक्सेको छ,’ सचिवले भन्नुभयो । टेलिफोनको कुराकानी सकियो । राजाले लञ्चका लागि किन बोलाए होलान् भन्ने लाग्यो । यस्तै सोचमा थिएँ – फेरि टेलिफोन बज्यो । साथीको रहेछ । वहाँले सोध्नु भयो, ‘तपाईंलाई राजाले गोकणर्मा बोलाएका छन् ?’
मैंले उहाँलाई बोलाएको कुराको जानकारी गराएँ । हाम्रो कुरा सकियो । त्यसपछि त एकपछि अर्को टेलिफोन आएको आए नै भयो । सबैले राजाले लञ्चमा बोलाएको हो कि होइन भनेर सोधे । राजाले केही व्यक्तिहरुलाई बोलाएको कुरा मैंले सोचेभन्दा बढी नै फैलिसकेको रहेछ । यो ज्येष्ठ १ गतेको कुरा हो । त्यो राजाको प्रत्यक्ष शासन चलेको समय थियो । माघ १९ गते राजाले सबै शासकीय अधिकार आफ्नो हातमा लिएका थिए । राजनीतिक दल र व्यावसायिक संगठनहरु राजाको अप्रजातान्त्रिक कदमका विरुद्धमा सडकमा थिए । लोकतन्त्रको बहालीको संघर्ष देशभरि नै चलिरहेको थियो । माओवादीहरु जंगलमै थिए । जनयुद्ध जारी थियो । मुलुक ठूलो द्वन्द्वमा फँसेको थियो ।
त्यस बेला म नेपाल प्राध्यापक संघको अध्यक्ष थिएँ । प्राध्यापक संघले विभिन्न समयमा प्रतिगमनको विरुद्धमा र लोकतन्त्रको पुनस्र्थापनाका लागि कार्यक्रमहरु सञ्चालन गरेको थियो । सरकारले जारी गरेको निषेध आज्ञा बारम्बार तोडेको थियो । प्राध्यापकहरुलाई बेलाबेलामा गिरफ्तार गरी सरकारले विरोधको कार्यक्रमलाई निस्तेज पार्न खोजेको थियो । प्राध्यापक संघले एब्एब्म् ९एचयाभककष्यलबकि’ ब्ििष्बलअभ ायच एभबअभ बलम म्भखभयिऊभलत० जस्ता नेपाल प्राध्यापक संघ, नेपाल बार एशोसिएशन, नेपाल मेडिकल संघ, नेपाल ईञ्जिनियर्स एशोसिएशन, नेपाल पत्रकार महासंघ र नेपाल शिक्षक युनियन छन् – मा रहेर सशक्त भूमिका निर्वाह गर्दै आईरहेको थियो । राजाको उच्च महत्वाकांक्षा र सत्ता लिप्सा, दलहरुको आन्दोलन र माओवादीहरुको जनयुद्धमा फँसेको देशलाई निकास दिनका लागि पापडले वैशाष ३१, २०६१ मा राष्ट्रिय सभागृहमा एउटा गोष्ठि गरेको थियो, जसमा पापडका तर्फबाट एउटा अवधारणापत्र प्रस्तुत गरिएको थियो । उक्त अवधारणपत्रमा मुलुकलाई निकास दिनका लागि राजा, दलहरु तथा माओवादीहरुलाई सुझाव दिईएको थियो ।
माथि उल्लेखित अवस्थामा राजाबाट लञ्चका लागि आमन्त्रण आएको थियो । पछि थाहा भयो, लञ्चका लागि करिब दुई सय जनालाई बोलाईएको रहेछ । विभिन्न पेशागत संगठनका अध्यक्षहरु, विश्वविद्यालयका पदाधिकारीहरु, केही डीन र क्याम्पस प्रमुखहरु, केही पूर्व मन्त्रीहरु र कूटनीतिक क्षेत्रमा काम गरेका व्यक्तिहरु, न्यायधीशहरु, नागरिक समाजका अगुवाहरु, पत्रकारहरु, सीने कलाकारहरु आमन्त्रित रहेछन् ।
ज्येष्ठ २ गते पनि विहानैदेखि टेलिफोन बजिरहेको थियो । केही साथीले राजाको माघ १९ को कदमलाई बौद्धिक समर्थन छ भन्ने देखाउनका लागि राजाबाट उक्त कार्यक्रमको आयोजना गरिएको हुनाले गोकणर् जानुहँुदैन भन्ने सल्लाह दिए । केहीले त्रिविका उपकुलपति डा. गोविन्द शर्माले राजाको कदमको समर्थनमा वक्तव्य दिने र सबैले समर्थन गर्नुपर्ने रे भन्ने सुनाए । बेलुका नेपाली काँग्रेसका नेता (पछि पार्टी सभापति र प्रधानमन्त्री हुनुभएका, हाल दिवंगत) सुशील कोइरालाको फोन आयो र उहाँले भन्नु भयो, ‘खगेन्द्रबाबु, ठूलो षड्यन्त्र हुन लागेको जस्तो छ, गोकणर् नजानुहोला ।’
मलाई गोकणर् नजानका लागि सुझावहरु आईरहेकै बीचमा मैंले कार्यसमितिका साथीहरुको राय लिनु सबभन्दा उचित ठानें । कार्यसमितिका सबै साथीलाई फोन गरेर सोधें । करिब सबैले नै लोकतन्त्रको बहालीको पक्षमा आफ्ना कुरा राख्ने अवसर प्राप्त हुने भएकाले जानु नै ठीक हुने सल्लाह दिए । प्राध्यापक कपिल श्रेष्ठले त फोन गरेर जानका लागि सशक्त सुझाव दिनुभयो ।
ज्येष्ठ ३ गते पापड अन्तर्गतका सबै संस्थाका अध्यक्षहरुसँग सम्पर्क भयो र गोकर्ण जाने नजाने कुराको निणर्य गर्नका लागि ४ गते बिहान नेपाल ईञ्जिनियर्स एशोसिएशनको पुल्चोकस्थित कार्यालयमा जम्मा हुने भयौं । त्यस बेला नेपाल बार एशोसिएशनको अध्यक्षमा शम्भु थापा, नेपाल मेडिकल एशोसिएशनको अध्यक्षमा डा. मनोहर गुप्ता, नेपाल ईञ्जिनियर्स एशोसिएशनको अध्यक्ष डा. जीवराज पोखरेल, नेपाल पत्रकार महासंघको अध्यक्ष तारानाथ दाहाल, नेपाल शिक्षक युनियनको अध्यक्ष माधव अधिकारी हुनुहुन्थ्यो र नेपाल प्राध्यापक संघको अध्यक्ष मस्वयं थिएँ । ४ गते विहानै सबै साथीहरु जम्मा हुनुभयो र सबैले आ-आफ्ना कुरा राख्नु भयो । कसैको जाने भने कसैको नजाने विचार आयो । एकमत हुन सकेन । लामो छलफल भयो । शिक्षक युनियनका अध्यक्षले कुनै पनि अवस्थामा जानु ठिक छैन भन्नु भयो । अन्त्यमा वहाँ बाहेक पापड अन्तर्गतका संस्थाका अध्यक्षहरु जाने भयौं ।
११ बजे गोकर्ण पुग्यौं । ढोकाबाट सेनाको वाहनले निर्धारित स्थानमा हामीलाई पुर्यायो । हामी पुग्नु अगाडि नै धेरै व्यक्तिहरु पुगिसकेका रहेछन् । आमन्त्रित व्यक्तिहरुलाई बस्नका लागि उत्तरतिर फर्केको एउटा ठूलो पाल थियो । राजा, रानी र राजपरिवारका अन्य सदस्य बस्नका लागि उक्त पालको पूर्वपट्टि पश्चिमतिर फर्केको अर्को पाल थियो । ठूलो पालको सामुन्नेमा लञ्चका लागि अर्को पालको व्यवस्था थियो र संगै पेय पदार्थका लागि छुट्टै पाल थियो । ठूलो पालको पछाडिपट्टि शौचालयको व्यवस्था गरिएको थियो । हामीले ठूलो पालमा राखिएको कुर्सीहरुमा गएर बस्यौं । स्न्याक्स र ड्रिङक्स् सर्भ गरिएका थिए र मानिसहरु आफ्नो ईच्छा अनुसार लिईरहेका थिए ।
केही समयपछि राजारानी बसेको पाल अगाडि केही मान्छेको भीड भएको जस्तो लाग्यो । राजाले मानिसहरुसँग भेट गर्न शुरु गरेका कारण सो भीड भएको रहेछ । हामी पालका कुर्सीमा धेरै बेर बस्यौं र पछि पालबाट बाहिर निस्केर चउरमा उभिएर गफ गरिरहेका थियौं । त्यसै बेला राजाका सचिव पशुपतिभक्त महर्जनले आएर ‘सरकारको दर्शन गर्ने होइन ?’ भनेर सोधे । हामीले भीड भएको भन्यौं । उनले दर्शनका लागि व्यवस्था मिलाउने कुरा गरेर हामीलाई राजा भएपट्टि लगे । नजिकै पुगेपछि थाहा भयो – मानिसहरु दुई लाईनमा उभिएर राजासँग भेट गरिरहेका रहेछन् । उभिएरै भेटघाट भईरहेको थियो । राजा एउटा लाईनका केही व्यक्तिसँग भेट्थे र अनि अर्को लाईनका । हामी पनि एउटा लाईनमा उभ्यौं । राजासँग भेट गर्ने मानिसले यति सानो स्वरमा कुरा गर्थे कि त्यहाँ अरु कसैले पनि केही सुन्दैनथे । राजाले कहिलेकाहीं मुन्टो हल्लाउंथे । मेरो पालो आयो । मैंले आफूले बोलेको कुरा अरुले पनि सुनून् भन्ने चाहेको थिएँ । त्यसैले मैंले शुरुमै भनें, ‘सरकार मेरो स्वर ठूलो छ क्षमा पाऊँ ।’ अनि ठूलो स्वरले आफ्नो परिचय दिएँ ।
त्यसपछि नेपाल प्राध्यापक संघको बारेमा जानकारी गराएँ र पापडका बारेमा पनि । पापडले द्वन्द्वको निकासका लागि बनाएको अवधारणाका बारेमा कुरा राखें । त्यसपछि भनें, ‘सरकार, जति बढी अधिकार लिन खोज्यो त्यति आफ्नो भएको अधिकार गुमेर जान्छ । इतिहासले सिकाएको पाठ यही हो । बहुदलीय प्रजातान्त्रिक शासन प्रणालीमा शासन गर्ने अधिकार राजनीतिक पार्टीकै हो । त्यसैले शासनको जिम्मा राजनीतिक पार्टीलाई नै सुम्पिदिनु पर्दछ । यसैमा सबैको भलो छ ।’ राजाले ‘बुझें, बुझें’ भन्नु भयो र म अगाडि बढें ।
मेरो ठूलो स्वर सुनेर टेलिभिजनका क्यामराहरु मतिर फर्किएका थिए । राजासँगको भेट सकेर आईसकेपछि पनि केही पत्रकार साथीहरुले राजासँग भनेको कुरा भनिदिन अनुरोध गरें । मैंले फेरि त्यही कुरा भनिदिएँ । त्यसपछि खाना खान गयौं । खाना खाएर चउरमा उभिएर गफ गरिरहेका थियौं । राजासँग मानिसहरुको भेट जारी थियो । केही महिलाले रानीसँग भेट गरिरहेको देखिन्थ्यो । त्यसै बेला पूर्व युवराज पारशलाई केही मानिसहरुसँग उभिएको देख्यौं । हामी त्यतै लाग्यौं र वहाँसँग हाम्रो पालैपालो कुरा भयो । वहाँले बेलाबेलामा विभिन्न प्रश्न गर्नुभयो, जस्तै – ‘यो अवस्था ल्याउन को जिम्मेवार छ ? संविधानको पालना कसले नगरेको ?’ आदि । राजा र युवराजसँगको भेटबाट खासगरी युवराजसँगको कुराकानीबाट राजा सत्ता छोड्ने पक्षमा छैनन् भन्ने लाग्यो ।
म काठमाडौं आउनुभन्दा पहिले नै प्राध्यापक संघको अध्यक्षले राजासँग यस्तो कुरा राख्यो भने हल्ला भइसकेको रहेछ । बेलुका विभिन्न टेलिभिजन च्यानलहरुले खबर दिए । गिरिजाबाबुले पनि टेलिभिजनमा राजासँग भएको भेट देख्नुभएछ । मलाई भोलिपल्ट वहाँको निवास महाराजगञ्ज बोलाउनु भयो, म गएँ । गिरिजाबाबु, सुशील कोइराला र केही अरु काँग्रेसी नेताहरु हुनुहुन्थ्यो । मैंले राजासँग भएका सबै कुरा उहाँहरु समक्ष राखें । उहाँहरु खुशी भएको अनुभव भयो । सुशील कोइरालाले केही बोल्नु भएन ।
दिउँसो रिपोर्टर्स क्लबले व्यावसायिक संगठनका नेताहरु तथा नागरिक समाजका अगुवाहरु, जसले राजालाई भेटेका थिए – को कार्यक्रम आयोजना गरेको थियो र मलाई पनि त्यस कार्यक्रममा बोलाईएको थियो । बोल्ने व्यक्तिलाई बेलाबेलामा पत्रकार ऋषि धमलाका प्रश्न हुन्थे । मैंले बोल्ने क्रममा उनले सोधे, ‘राजासँग के भन्नुभयो ?’ मैंले राजासँग भएका कुरा गरें । फेरि प्रश्न राखे, ‘अब के मुलुकमा लोकतन्त्र फर्किन्छ ? राजासँग भेटेपछि कस्तो लाग्यो ?’
मैंले भनें, ‘अब सामान्य किसिमले लोकतन्त्र पुनस्र्थापना हुने म देख्दिनँ । यो नेपाली जनताको अठोट, त्याग र बलिदानमा भर पर्दछ । राजा सत्ता छोड्ने पक्षमा छैनन् । लोकतन्त्रलाई रगतको मोलमा किन्नु पर्दछ । हामी कति रगत बगाउन तयार छौं, त्यसैमा भर पर्दछ ।’
मैंले राजालाई आफ्नो हृदयबाट सल्लाह दिएको थिएँ । ‘बुझें, बुझें’ भन्नु भयो तर बुझेको देखिएन । बुझेको भए शायद यति चाँडो यो अवस्था हुने थिएन होला ।
(लेखक नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष हुनुहुन्छ)