‘बोक्सीको घर’मा कलझगडा !
काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र निर्माताबीचको घर झगडा बाहिर आएको छ।
चलचित्रकि मुख्य चरीत्र अभिनेत्री रमा थपलियाले चित्त दुखाएको भिडियो सार्वजनिक भएको केही दिनमा निर्देशक सुलक्षण भारतीले पनि तितो सत्य बोलेका छन् उनले आर्थिक रुपमा बलियो नभएकै कारण आफू अपमानित भएको समेत दुखेसो गरेका छन् । निर्देशक भारतीले आफ्नै कृतिमा आधारित रहेर चलचित्र बोक्सीको घरमा मुख्य कलाकार,निर्देशक र लेखकको रुपमा काम गरेका छन् । यद्यपि उनले निर्माण पक्षले यी सबै कुरामा आफूलाई बेवास्ता गरिरहेको भन्दै सामाजिक संजालमा दु:ख पोखेका छन् ।
चलचित्रमा सबै दु:ख आफुले गरेपनी नाम भने अर्कैको आएको उनको बुझाइ छ। निर्माता समेत रहेकी कलाकार केकी अधिकारी भने यहि चलचित्र प्रदर्शनको लागि भन्दै युरोप पुगेर फर्किएकी छन् ।उनले देशब्यापी प्रदर्शन हुँदा प्रचारप्रसारको क्रममा पनि निर्देशक भारती अन्य कलाकारलाई वेवास्ता गरेको गुनासो बाहिर आइरहेको छ।
निर्देशक सुलक्षण भारतीले लेखेका छन् :
मलाई जुन माया दर्शकहरुले दिनुभयो त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुको मायाले आज चलचित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ । यस चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा म सुलक्षण भारतीले काम गरेको छु ।
यहाँ आफ्नो लागि आफैंले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ । यी मेरा प्रश्नहरु हुन्, कसैप्रति आक्षेप भने होइन । प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो । यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरु हुन् । ‘काम गर्ने कालु माम खाने आलु’ के यो उखानले सार्थकता राख्छ ?’
यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वभाविक हो ?
जसले जे काम गरेको छ, त्यसको उचित मूल्यांकन हुन जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ?
बौद्धिक चोरी भनेको के हो ? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ?
अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र केका लागि बनाउने ? दर्शक र सर्जकबीचको पुल भनेको अहिलेको समयमा सञ्चारमाध्यम हो । यस विषयमा कसले ध्यान दिने ? एउटा सर्जक र उसको कामको मूल्यांकन के आवश्यकताको विषय होइन र ? ‘हिप्पोक्रेसी अन इट्स टप ।’