मेलम्ची बाढीको ३ वर्ष: अझै ओभानो छैन भुपेन्द्रकुमारीका आँखा !
मेलम्ची । गत बैशाख २९ गते शनिबार हामी आमायाङ्ग्री जान हिडेको बसमा मेलम्ची कटेपछी भुपेन्द्र कुमारी भण्डारी सहित ३ जना यात्रु चढे। मेलम्ची बजारमा चिया खाजा खाएर अगाडी बढेको बसमा आधा मात्रै यात्रु थिए। ग्रामीण क्षेत्रमा बसोबास गर्नेको संख्या घट्दै गएर हो वा समय अनुकुल नभएर हो बसमा यात्रुको चाप नभएपछि सिटमा बस्नेले दायाँबायाँ जता मन लागेपनी झ्याल खोलेर बाहिरको दृश्य हेर्न सक्थे।
मेलम्ची बजार कटेपछी २०७८ असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्याएका भौतिक संरचना र बगाएको खेत अनि बस्ती र पाखा देख्न सकिन्थ्यो । त्यसैलाई नियालेर २/४ वटा फोटो खिच्न क्यामेरा निकालेपछि छेउमा बसेकि उनै भुपेन्द्र कुमारीले सोधिन् बाबुहरु सरकारी मान्छे हो ?
उनको प्रश्नले केही असजिलो बनाएपनी उनको रसाएको आँखा र लुकाएको आँसुले चाहिँ केही भन्न खोजेको जस्तो देखिन्थ्यो। हामीले हो/होइन भन्न नपाउदै उनले भनिन्-,’म पनि यहीँको बाढी पिडित हुँ,केही सोध्नुहुन्छ भने सोध्नुस् र फोटो खिच्नुहुन्छ भने खिच्नुस ! असार १ र साउन १६ को बाढीले मेरो बस्ने घर,खेती लगाउने खेतबारी केही बाँकी रहेन।’
उनको कुरा सुनेर हामी यात्रामा रहेका सबै अवाक भयौं । उनले आफ्ना कुरा एकै सासमा भनेर भ्याइन् । हरेक पटक मन्त्री फेरिएपछी गाउँ पुग्ने मन्त्रीदेखि आश्वासनको पोको बाड्ने ‘सरकारी ठुला मान्छे’,राजनीतिक दलका नेताकार्यकर्ता र सामाजिक अभियन्ता सम्मको कुरा गरिन् ।’खोलामा बाढी आएपछि हामीलाई हेर्न र सहयोग गर्छौं भन्नेको भिड लाग्थ्यो,जो आएपनी कुरा सुन्न नखोज्ने,आश्वासन मात्रै दिने,भाषण गर्ने,त्यसैमा थपडी मार्ने मात्रै भयो’-उनले भनिन्-,’आउन त मन्त्री पनि आउँछन् तर के गर्नु हाम्रो बिजोग हेर्ने अनि म मन्त्री भएर आएको भर्खरै हो,अगाडी के के भयो म जान्दिन, अब केही गर्छु भनेर फर्किन्छन् ! गएपछि अत्तोपत्तो हुँदैन।’
कुराकानीकै क्रममा उनको आँखा रसाइरहेको थियो। बाढी आएपछिको ३ बर्षदेखी भुपेन्द्रकुमारीका आँखा ओभाएका छैनन् । बाढीले उनको घरसहित भएको जमिनसमेत बगर बनेपछि अहिले सुकुम्बासी जस्तै हुनुपरेको उनी बताउँछिन् । बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियोे । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए ।

त्यो विपदले मेलम्ची मुहान, किनारका बस्ती तथा बजार र इन्द्रावती नदी किनार क्षेत्रमा कम्तीमा ८४ अर्ब रूपैयाँ बराबर आर्थिक क्षति भएको थियो। मेलम्ची मुहान झन्डै २७ किलोमिटर लामो सुरूङमार्फत् काठमाडौंको सुन्दरीजलसँग जोडिएको छ। सडक मार्गबाट त्यहाँ पुग्न राजधानीबाट करिब ६५ किलोमिटरको यात्रा गर्नुपर्छ।
यो सबै मेलम्चीको पानी काठमाडौं लैजान सुरुङ खनेपछी भएको भन्ने स्थानीयको बुझाइ छ।सुरुङ बनाउदा पहिरो गएको र त्यसले नदी थुनेको अनि एक्कासि बाढी आएको उनीहरुको भनाइ छ। पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको मेलम्चीमा भुपेन्द्र कुमारी जस्तै पीडा लिएर बाच्ने धैरै छन् । पहिले काठमाडौकै भाउमा रहेको हेलम्बु बजार अहिले अस्तित्वमा नै छैन। बाढीले तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए ।